फलको आशा पनि गर
कविता
तिमी कर्म गर
फलको आशा पनि गर
फल मिले खुसी होऊ
यत्ती खुसी कि सबथोक छोडेर
दुईचार हप्ता मोज गर
दुईचार हजारसँग भोज गर
अनि बेलैमा होस् गर
दैनिकीमा लुरुक्क फर्क
आफ्नो कर्म गरिरहू
फलको आशा पनि गरिरहू
फल नमिले दु:खी होऊ,
यत्ती दु:खी कि कुना पसेर
छाती र थाप्लो पिटीपिटी रोऊ
मैलिएको मन आँशुले धोऊ
त्यतिले नपुगे भुत्ते खुर्पामा सेरिए हुन्छ
दाम्लो अथवा पटुकीमा बेरिए हुन्छ
जाने नै हो भने फटाफट गइदेऊ
घिटीघिटी लडेर लामो समय
आफन्तको हैरानी नभइदेऊ
तर तिमी कर्म गर
फलको आशा पनि गर ।