सन्तान बिग्रेपछि
बुढ्यौली साहित्य शृङ्खला -१३
जताततै चाड छ हेर रन्को
टीका र टालो जमरा छ फन्को
कतै खुसी छन् कति हो असाध्यै
कतै पुराणादि अनेक बाच्दै ।१
छिमेकमा एक कथा रहेछ
यो शृङ्खला धेर पुरानु रैछ
मार्यो नि आमा र बुवा भनेर
गुहार माग्दो करुणा छ फेर ।२
कविता
चीत्कार आयो परबाट एक
बच्चासँगैमा थप अर्त नाद
आवाज चर्को अझ बन्न आयो
छिमेकमै रै छ र बल्ल था भो ।३
साना दुई छन् तनया उसैका
सुन्दैन केही कहनी कसैका
पिएर लोग्ने घर फर्किएछ
मातेर छोरी दुलही पिटेछ ।४
मार्यो नि आमा यसले सताई
बुबा मरें लौ न गुहार आई
भन्दै कहाली अझ धेर रुन्छे
आधार आफ्नो अब को छ भन्छे ।५
जैलेसुकै मत्त पिएर आई
निर्दोष साना कलिला सताई
बहादुरी धेर सधैं उकेल्छ
मनुष्यको मानवता निकाल्छ ।६
केही भनेमा अझ जङ्गिइन्छ
सबै जना सज्जनमा खनिन्छ
आमा बुवाले पनि हार खाए
लैजा तँ अंशै भनि पार लाए ।७
बुवा र आमा कति गर्न सक्छन्
सन्तानले लाइन छोड्न लाग्छन्
मैमत्त साँढेसरि उफ्रिएर
पोखिन्छ भाँडाभर उम्लिएर ।८
पढे गुनेको सुत भो नजाती
पिरोल्छ छाती जब पर्छ राति
त्राही यहाँ लौ हर साँझ पार्छ
कटक्क टुक्रा मुटु नित्य गर्छ ।९
सबैजना चाड मनाउँदै छन्
आनन्द आफ्नो पनको लिँदै छन्।
सन्ताप पार्छस् कति बाबु आमा
यस्तै फलाक्दै बिचरी छ आमा ।१०
खपेर पीडा मनभित्र धुन्छन्
ती वृद्ध आमा अनि बाबु रुन्छन्
सन्तान यस्तो कसरी सहन्छन्
हुन्थ्यो न जन्मे बरु दुष्ट भन्छन् ।११
माया यिनैको कति लाग्छ धेर
रुवाउने झन् अझ बारबार
सुनाउने के पर पात्रलाई
सन्तान बिग्रेपछिको दुखाइ ।१२
सानो हुँदामा पिठतर्फ बोकी
हिँड्यौँ उकाला कति भार थेगी
गरेर माया पर जान रोकी
स्याहार गर्ला मनभित्र सोची ।१३
गरेछ के के र थुना छ एक
पुगेर भेट्नै पनि लाग्छ दिक्क
अर्को छ फौजी परदेश बस्छ
जहान बच्चासँगमा उतै छ ।१४
ज्ञानी थियो यो पहिले प्रशस्त
कामै नपाई अलमस्त बस्छ
साथी यसैका कति छन् जँड्याहा
पिएर गर्छन् सब हूल दंगा ।१५
समाज कस्तो छ सधैं उचाल्छ
चखाउने फेरि बिगार्न लाग्छ
बानी बिगारेपछि धुत्न थाल्छ
गयो भने फेरि कहाँ बनिन्छ ।१६
कि काम होस् देशतिरै बसे नि
कानून होस् दण्ड दिने पिए नि
कर्तव्य सम्झे सब थोक हुन्थ्यो
आमा बुवाको मन शान्त हुन्थ्यो ।१७
सबैजना सज्जन भै दिए त
संसार यो सुन्दर बन्न के छ
ती दिक्क आमा अनि बाबु हुन्छन्
सन्तान बिग्रेर जहाँ पिरोल्छन् ।१८
(छन्द : उपजाति)