मीत्बा उबाचः ह्याप्पी–बर्थडे
लघुकथा
“ए बुढीमाउ, पाँच बजिसक्यो । उ डाँडाको टुप्पोमा उषा देखापर्न थाल्यो। आज जेठो–छोरोको जन्मदिन हो। यसो पुजाआजा सकेर उसलाई जापान तिर फोन गर्न पनि पर्ने। हैन, खोइ त्यो कान्छी, भन्या? अझै उठिन जस्तो छ।”
***
आफ्नो छोरो बिरुलाई भेट्न काठमाडौँ पुगेको भोलिपल्टै घर–पेटी बुढा यसरी गुनगुनाएको मीतुबाले सुने र मनमनै सोचेः
“को रैछे यो कान्छी, कुन्नि?”
बासँग एउटै सिरकमा गुट्मुटिएर सुतेको बिरु पनि यसो चल्यो, जिउ तन्कायो र बोल्योः
“बा’पनि ..। किन यति चाँडै उठ्नुु’भा? बाहिर निकै जाडो छ, सुत्नुस”।
***
“कति गनगन हो बुढा, बिहान–बिहानै ! आ.. ।”
घरपेटी बज्यैको टाठो स्वर झन सबैको कानमा पर्यो ।
***
बाजेको भन्दा पनि बज्यैको आवाजले घरकी कान्छीलाई पनि पिरोलेछ क्यारेः
“उठेँ बाजे उठेँ,
म उठेँ। म अब छिट्टै नुहाएर पुजाको भाँडा ठीक गर्छु अनि नास्ता बनाउन थाल्छु।”
***
“लौ, राम्रो। जे होस्, भगवानले हाम्लाई दिएका चाहिँ हुन है, यो बुढेसकालको सहारा । नत्र कसले गथ्र्यो हाम्रो हेरचाह यो बेलामा। ल ल, कान्छी, छिटो गर्।”
***
बाजेको कुरो कान्छीले राम्ररी सुनी।
“कुरो त हो नि, बाजे। तर के गर्नु? यो घरमा काम गरेको पनि छ महिना भन्दा बढी भैसक्यो। सँधै आफ्नै छोरो, बुहारी, नाती, नातिनी, जापान, अमेरिका र क्यानाडाको गफ मात्रै छ यता। यसो मेरो पनि पाकेको तलब पाएको भए एउटो बाक्लो पलास्टीको पाल र अलिकति लुगा किनेर गाउँ पठाइदिम्ला भनेर हिजो बज्यैसंग कुरो राखेको– ‘अझै एक–दुइ महिना कुर्’ पो भन्नुभो।
खै, म त अब अर्कै काम खोज्न पर्ला जस्तो छ।”
***
“हेर, हेर यो नकचरी, बिहान बिहानै यसरी बाजेसंग बात मारेकी। आज झन मेरो बाबुको बर्थडे। राम्रो राम्रो बोलेर मीठो मीठो सुन्न पर्ने दिन। यसलाई ! बास्मतीको भात नपचेको !”
***
सँधै जसो मृदुभाषी कान्छीको मन बज्यैको यस्तो बोली सुन्ने बित्तिकै अलि नराम्ररी नै दुखेर होलाः
“हस् बज्यै हस्, आफ्नो श्रमको ज्याला बेलैमा पाएको भए म किन यसरी बोल्थेँ होला र? बाजेको पुजाको सामग्री ठीक बनाइदिए पछि म आजै आफ्नो बाटो लाग्छु।
मीठो–पीठो जे खाए पनि आखिर ज्यानै पाल्ने हो, हामी दुखीले ! हजुरको छोरोलाई मेरो तर्फबाट पनि ह्याप्पी बर्थडे सुनाइ दिनुहोला।
***