आनन्दका तीन टुक्रा
साहित्य
१.
जमिनको हरेक पत्थरलाई तिमी मूर्ति नबनाऊ
केही कुरा जमिनमा रहन देऊ, तिमी शिर नलगाऊ
सबको जीवन चल्थ्यो, चल्छ, चलि नै रहनेछ
को, कहाँ, किन, कसरी? प्रश्न बुनी तिमी पीर नबढाऊ !!
२.
यतै कतै जाँदै गरेकी महिला देख्नु भो?
भिजेका उनका आँखा रसिला देख्नु भो?
घाऊ र चोटले भरिएको उनको शरीरमा
पिटाइका डामहरू नीला भएका देख्नु भो?
जड्याहा लोग्नेले कुटेछ रातभर उनलाई
पुरुषार्थको पनि चरम लीला भएको देख्नु भो!?
खोज्दैछिन् अझै उसैलाई भेटिन्छ कि भनी
आशाको दियो कतै–कतै धमिलो देख्नु भो ?!!
३.
आँखा खुल्ला राखी जब–जब शहरलाई हेर्छु म,
निन्याउरा मान्छे अनि भत्किएका घरलाई हेर्छु म
धेरै रफ्तारले माथि पुग्छन् जो मान्छेहरू
उनीहरूलाई भीँडमा एक्लोप्रायः देख्छु म
चक्र समयको हो, जब फर्कन्छ समय लिएर
टाँसिएको सबैका अनुहारमा मौन उत्तर देख्छु म
खबर सोधेँ दियोलाई कुशल–मङ्गल के छ भनी
बोलेन केही उसले, मात्र मुस्कुराएको देख्छु म !
फलफूल, अन्न, कपडा सबैसबै भरिपूर्ण छ
तर आत्माको अन्तर–कुन्तरमा सुक्खा देख्छु म !!