घुमघाम भारतको, सम्झना नेपालको
समाजशास्त्रीको तीर्थयात्रा विवरण
बाल्यकालदेखि नै पूर्व काँकडभिट्टाको मेची पुलसँग परिचित थिएँ । अझ भनौँ, आफ्नो स्नातकोत्तरको शोधपत्रको कार्यक्षेत्र अध्ययन पनि यही पुलको आसपासका बस्तीहरूमा विताएको थिएँ । यसका साथै भारतको सीमावर्ती सहर पानीट्यांकी, नक्सलवारी र सिलीगुडीसम्म किनमेल गर्न जाँदा ओहोरदोहोर गर्ने पुरानो पुल पनि हो, यो । तर गत वर्ष अक्टुवर १ तारिखका दिन विगतको भन्दा फरक सोच, विचार र जिम्मेवारीका साथ यो पुलबाट भारतका विभिन्न सहरहरूका लागि तीर्थयात्रामा निस्किएका थियाँै । जसमा परिवारका तीन पुस्ता; आमावुबा, सानी छोरी, म र मेरी श्रीमती थियाँै । त्यही मेची पुलवाट गाडीमा जाँदा मनमा नयाँ ठाउँ, सहर, रेल, तीर्थस्थान र विभिन्न मानिसहरूको जीवनशैलीको अवलोकन गर्न पाउने उत्सुकता र कौतुहलता त थियो नै । सँगसँगै मनमा केही प्रश्नहरू पनि उब्जिरहेका थिए – तीर्थयात्रा सहज होला कि नहोला ? के यी तीन पुस्ताको यात्राको उद्देश्य एकै होला ? अनि, यी तीन पुस्ताबीच घुम्ने, किन्ने, खाने, दर्शनका साथै अवलोकन गर्नेमा एकै मत होला, कि नहोला ?
सानो छँदादेखि गाउँका मानिसहरू भारतका विभिन्न स्थानहरूमा तीर्थयात्रा गएको याद ताजै थियो । शायद् त्यस समय तीर्थयात्रा गर्नु, घुम्नु, घुमेर प्राप्त गरेको ज्ञानका साथै अनुभव सबैलाई सुनाउनु त्यति बेलाको समाजको आवश्यकता पनि थियो होला । किनभने त्यति बेला अहिलेको जस्तो मनोरन्जनका साधनहरू पनि कम नै थिए । यसै क्रममा लगभग तीन दशकअघिदेखि तीर्थयात्रा गरेर आउनेहरूले सुनाएका अनुभवहरू पनि मानसपटलमा ताजै थिए । जस्तै सुरतको तीनपाते बर जो कहिल्यै तीन वटा पात भन्दा बढेन । धुवेलामा रहेको छत्रसाल संग्रहालय जहाँ आफ्नो जिउ आफैले ठूलो, सानो र पुड्को देखिने ऐना, जामनगरको श्रीकृष्ण प्रणामी मन्दिर, पोरबन्दरमा महात्मा गान्धीको जन्मघर र दिल्लीको समाधिस्थल आदि ।
यी सबै सम्झनालाई ताजा राख्दै मेचीपुलवाट दिउँसो १२ बजे न्यूजलपाईगुडी, सिलीगुडीतर्फ लाग्यौ । भोलिपल्ट दिउँसो १२ बजे इलाहाबाद पुगियो । त्यहाँबाट गाडीमा तीन घन्टाको यात्रापछि बेलुका चित्रकुट पुगियो । चित्रकुट त्यो ठाउँ हो जहाँ भगवान राम, सीता र लक्ष्मणले १४ वर्ष बनवास जादाँ केही वर्ष बिताएका थिए । त्यसैले त्यसलाई रामको तपोभूमि भनेर पनि चिनिँदो रहेछ । मन्दिरको छेउमा मन्दाकिनी नदी रहेछ । जहाँ प्रत्येक दिन साँझपख नदीतर्फ फर्केर गङ्गा आरती हुँदो रहेछ । सो नदीमा सिंगारिएका डुङ्गाहरू थिए । जसमा लगभग पन्ध बीस जना अटाउने क्षमता हँुदो रहेछ । रमाइलो त प्रायः सबै डुङ्गामा सेतो रङ्गका खरायोका जोडी राख्ने प्रचलन रहेछ । जसले नदीमा दर्शन गरुन्जेल तीर्थालुलाई मनमा शान्त बनाउन सहयोग गर्दछन् भन्ने मान्यता रहेछ ।
भोलिपल्ट बिहान चार घन्टाको यात्रापछि पन्नाको श्रीकृष्ण प्रणामी मन्दिर पुगियो । त्यहाँबाट छत्रपुरमा रहेको खजुरायो मन्दिर र छत्रसालको सङ्ग्रहालय अवलोकन गर्न लाग्यौँ । तीन घण्टाको यात्रा तय गरी खजुरायो मन्दिरको अवलोकन गर्न प्रवेशद्वारतर्फ लम्कदै थियौँ ।स्थानीय पथप्रदर्शकहरूले (गाईड) हामीलाई ‘राम्ररी घुमाइदिन्छौँ, तीन–चार घण्टा लाग्न सक्छ’ भनेर अनुरोध गरिरहेका थिए । एक वयस्क पथप्रदर्शकले मलाई नजिकै आएर उनीसँग भएको पथप्रदर्शक परिचयपत्र देखाउँदै नम्र लवजमा भने, ’म सरकारले तोकेको भन्दा बढी पैसा लिन्नँ, तपाईहरूलाई राम्ररी घुमाइदिन्छु, तपाईहरूले अरु कसैलाई लगे पनि त्यति नै पैसा तीर्नुपर्छ’ । त्यतिकैमा हामी प्रवेश शुल्क तिरेर मन्दिर परिसरभित्र प्रवेश गर्यौँ ।
‘धर्ममा पवित्र र अपवित्र दुबै चीज हुन्छन्, तर पवित्र चीज वा क्रियाकलापले व्यक्तिहरूलाई परिवारमा एकता कायम गर्दै समाजमा जीउन मद्धत गर्दछन्’
खजुरायो मन्दिरको अवलोकन गर्दा ढुङ्गाले बनाएको पाटनको कृष्ण मन्दिरको याद आयो । किनभने खजुरायो मन्दिर पनि विभिन्न कलात्मक रूपमा ढुङ्गाले कुँदेर बनाइएको रहेछ । त्यहाँका खजुरायो सहित अन्य मन्दिरहरू चन्देल बशंका हिन्दू राजाहरूले दशाँै शताब्दीमा बनाएका रहेछन । त्यसैले त्यहाँ हिन्दू मूल्य, मान्यता झल्किने खालका कलात्मक कृतिहरू ढुङ्गामा कँुदेको पाइयो । जसमा मानव जीवनका दैनिक क्रियाकलापहरूका साथै विशेषतः पुरुष, महिला, जनावर, चरा, योद्धा आदिका मूर्तिहरू थिए ।
अझ मानव जीवनको अर्को पाटो नग्न यौन क्रीडा झल्काउने ढुङ्गाका मूर्तिहरू मन्दिरको बाहिरी र भित्री भागमा कँुदिएका रहेछन । यी अवलोकन गरपछि मनमनै केही प्रश्नहरू उब्जिए र अनुत्तरित नै रहिरहे – आजभन्दा लगभग हजार वर्ष अगाडिको समाज कस्तो थियो होला ? त्यति बेला मन्दिरमा नग्न यौन क्रीडाका मूर्तिहरू बनाउँदा मानिसहरूले यसलाई कसरी ग्रहण गरे होलान् ? त्यति बेलाको समाजमा महिला र पुरुषको हैसियत कस्तो थियो होला ? यस्ता मूर्तिहरू मन्दिरमै किन बनाइए होलान् ? अनि, फेरि आफैँमा उत्तर खोज्ने प्रयास गरे, शायद यसको बारेमा पनि विभिन्न अध्ययन तथा अनुसन्धान भएका होलान । लाग्यो, मेरो अध्ययन कम भएको होला । तापनि यस मन्दिरको बारेमा लेखिएको पुस्तक किन्ने विचार आयो । र, प्रवेशद्धारवाट वाहिर निस्कने वेलामा रहेको पुस्तक पसलमा छिरँे । तर मैले खोजेको जस्तो पुस्तक पाउन सकिरहेको थिइनँ । पसलेले भनिरहेका थिए – ‘ मलाई कितावको नाम दिनुहोस । म खोजेर ल्याइदिन्छु ।’ त्यतिकैमा सोही पुस्तक पसलमा गफिइरहेका एक युवकले मेरो कुरा सुनेर मलाई वेबसाइट हेर्न सुझाए । त्यो सुझाव सही लाग्यो अनि मनमनै सोचेँ, यो पनि पुस्तान्तरको फरकपन होला । मनमनै प्रश्न गरेँ, अब यात्रामा पथप्रदर्शकको स्थान गुगल–वेबसाइटले त लिइरहेको छैन ?
त्यहाँवाट छत्रसाल सङ्ग्रहालय र सुरत सहर हेर्दै गुजरातको जामनगरस्थित श्रीकृष्ण प्रणामी मन्दिर पुग्न तीन दिन लाग्यो । यस मन्दिरलाई प्रणामी धर्मको उद्गमस्थलका साथै नवतनपुरी धाम भनेर पनि चिनिन्छ । जसको चर्चा लगभग ५ हजार वर्षअघिको ब्रज र रास (कृष्ण लिला) सँग जोडेर हेर्ने गरिन्छ । यस मन्दिरको स्थापना लगभग ४ सय वर्षअघि निजानन्द स्वामी श्री देवचन्द्रजी महाराजबाट भएको मानिन्छ ।
भोलिपल्ट महात्मा गान्धीको जन्मस्थल पोरवन्दर जानका लागि बिहानै झिसमिसमै ड्राइभरले आफ्नो इनोभा गाडीको हर्नवाट हामीलाई हतार लगाइरहेका थिए । गाडी चढेपछि ड्राइभरले आफ्नो सीटलाई नमन गरी शुभयात्राका लागि मनमनै कामना गरे, त्यसमा हामीले पनि सारमा साथ मिलायौँ । त्यहाँवाट केही समयको यात्रापछि हापामा गाडी रोकियो र ड्राइभरले चिया खाने जनाउ दिए । अझ उनले यात्रामा अगाडि यति मीठो चिया खान नपाइने भएकाले त्यहीँ चिया खानुपर्ने कुरामा जोड दिए । सुर्याेदय हुन लाग्दै थियो । हाम्रा पाइला विस्तारै चिया पसलतर्फ बढे । त्यहाँ चिया, विस्कुट र अन्य सामान राखेको देखिन्यो । चिया पसल राजमार्ग छेउमा जस्तापाताले छाएको थियो । मैले पनि पसलको नजिकै गएर हामी सबैलाई चिया बनाउन भनेँ । चिया पसलेले मलाई सानो डोरीको खटियामा बसेर चियाको प्रतिक्षा गर्न भने । हामी चिया खाने पर्खाइमा थियाँै त्यतिकैमा मेरा आँखा चिया पसलमा राखिएको सिसिटिभी क्यामरातर्फ सोझिए । ड्राइभरलाई सोधँे, ‘यति सामान्य पसलमा पनि किन सिसिक्यामरा ?’ उनले भने, ‘सर यहाँ दोकानवाट धेरै सामानहरू हराउँछन, त्यसैले यहाँका प्रायः चिया र सब्जी दोकानमा पनि सिसिक्यामरा लगाएका हुन्छन्’ । त्यसपछि लाग्यो, सीसीक्यामरा ठूला घर तथा मलमा मात्र होइन, साना पसलहरूमा पनि फिट हुँदो रहेछ । आखिर यो क्यामराले सुरक्षाका मामलामा ठूलो र सानो छुट्याउँदैन । बिना पक्षपात समान सुरक्षा दिइरहेको हुन्छ ।
चियापानपछि हामी अगाडि बढ्यौँ । नयाँ बाटोको दुबैतिर हरियाली फाँटलाई छिचोल्दै हाम्रो गाडी यात्रालाई छोट्याउँदै थियो । बाटामा हावाबाट ठूलाठूला फिर्फिरेहरू (विन्डमिल) देखिन्थे । कुनैका पङ्खा जोरसँग चलेका देखिन्थे भने कुनैका विस्तारै । ठूलो क्षेत्रमा कपास र सूर्यमुखी फूलको व्यवसायिक खेती लगाएको देखिन्थ्यो । खेती लगाएको जमिन कहीँ समथर र कहीँ सासानो पहाडी थुम्को जस्तो देखिन्थ्यो ।
लाग्यो, मुस्ताङ्ग लगायत अन्य हिमाली क्षेत्रमा पनि यस्तै हावाबाट घुम्ने ठूला फिर्फिरेवाट विजुली निकाल्न सके राष्ट्र कति समृद्ध हुन्थ्यो होला ? अनि मनमा प्रश्न आयो, यसैगरी चुरे शृङ्खलाका पहाडमा पनि ठूल्ठूला फिर्फिरेबाट विजुली निकाल्न सकिन्छ कि सकिदँैन होला ? यदि सकिएमा, किसानलाई कति राहत हुन्थ्यो होला ? उस्तै भूबनोट र जीवनशैली भएको हाम्रो देशमा चाहिँ किन विकास हुन नसकेको होला ? गाडीमै विकास र सम्भावनाका वारेमा छलफल गर्दै अरब सागरको किनारैकिनार पोरबन्दरतर्फ लाग्यौ । त्यहाँ पुग्दा ’पूज्य महात्मा गान्धीजी का जन्मस्थल’ लेखिएको मुख्यद्वारवाट भित्र छिर्यौँ । गान्धीजीको जन्मस्थल र अन्य सबै जानकारीलाई व्यवस्थित रूपमा संरक्षण गरी सङ्ग्रहालयको रूप दिइएको रहेछ । लाग्यो, सकरात्मक सोच, आत्मविश्वास र सादा जीवनशैलीले पनि लक्ष्यमा पुग्न सकिने रहेछ । भोलिपल्ट द्वारिका, भेट द्वारिका, गोपी तलाउ र रुक्मिणी मन्दिरको दर्शनपछि दिल्लीतर्फ लाग्याँै ।
पोरबन्दरमा गान्धीजीको जन्मघर अवलोकन गर्दा नै त्यहाँको राजघाटमा रहेको समाधिस्थल पनि अवलोकन गर्ने योजना बनाएका थियौ । सोही अनुरूप दिल्ली पुगेपछि राजघाटतर्फ लाग्याँै । गान्धीको समाधीस्थल यमुना नदीको पश्चिम किनारमा रहेछ । मुख्य प्रवेशद्वारवाट मानिसहरू भित्र छिर्दै थिए । विस्तारै अगाडि बढ्दा अर्को सानो प्रवेशद्वार आयो । जहाँ ‘जुत्ता चप्पल सेवा’ खण्डमा पुगियो । त्यहाँदेखि भित्र जुत्ता चप्पल लागाएर जान अनुमति रहेनछ । भित्र छिरेपछि ठाउँठाउँबाट दर्शनार्थीहरूको आवाज गुन्जिरहेको थियो । त्यहाँ ठूलो समथल चौरको बीच भागमा सङ्गमरमरले बनाएको समाधिस्थल रहेछ । जहाँ समाधिको अगाडि भागमा सुनौला अक्षरले ‘हे राम’ लेखिएको रहेछ । जुन गान्धीजीले अन्तिम श्वास जाने बेलामा वोलिएका शब्दहरू थिए । समाधिको एक छेउमा प्रज्वलित दीप देखिन्थ्यो । प्रायः सबै दर्शनार्थीहरू श्रद्धा सुमनपूर्ण भावमा अवलोकन गरिरहेका देखिन्थ्ये । जन्मघर र समाधिस्थलको अवलोकनपछि, यी दुई स्थानमा शान्ति, अहिंसा र स्वतन्त्रताको इतिहास छ भन्ने लाग्यो ।
दिल्लीको मेट्रो रेल पनि विकासको एक नमूनाको रूपमा आउँदो रहेछ । त्यहाँ मेट्रो रेल जमिनमुनि र जमिनमाथि दुबै ठाउँमा चल्दो रहेछ । भोलिपल्ट बिहानै ९ बजे जमिनमुनिको मेट्रो रेल स्टेसनमा पुगिसकेका थियाँै । टिकट काउन्टरमा लगभग चालीस जनापछि टिकट लिने पालो आयो । टिकट सँगसँगै प्रतिटिकट प्रवेश गर्नलाई सिक्का (कोइन) दिइँदो रहेछ । जुन सिक्का प्रबेशद्वारमा रहेको स्वचालित ढोकाको सानो प्वालमा छिराउँदै रेल चढ्ने ठाँउसम्म पुग्यौँ । लगभग पाँच मिनेटपछि रेल आयो र चढ्याँै । रेल एउटा स्टेसनमा लगभग २० सेकेन्ड जति रोकिदो रहेछ । त्यस समयमा ओर्लिने र चढ्ने दुबै काम गरिसक्नुपर्दो रहेछ । रेलभित्र ढोकाको भित्री भागको माथिपट्टि प्रत्येक रेल रोकिने अगाडिको स्टेसनहरूको नाम सहितको चित्र बनाएको रहेछ । त्यसमा रातो, पहेलो र हरियो रङ्गले जानकारी दिँदो रहेछ । सँगसँगै हिन्दी र अंग्रेजी भाषामा रोकिएको र अगाडि आउने स्टेसनको जानकारी दिँदो रहेछ । प्रत्येक स्टेसनमा रेलको ढोका स्वचालित खुल्ने र बन्द हुने रहेछ । प्रत्येक डिब्बामा महिला, अशक्त र बृद्ध–बृद्धाको लागि आरक्षित सिटहरूको व्यवस्था रहेछ । त्यसो त प्रत्येक रेलमा एउटा डब्बा नै महिला मात्रको लागि आरक्षित रहेछ । त्यस डब्बामा, ‘यो महिलाका लागि आरक्षित डव्वा हो, पुरुषले यात्रा नगर्नुहोला भनी जानकारी दिइरहँदो रहेछ । प्रायः प्रत्येक स्टेसन, प्लेटफर्म र रेलमा सबैतिर सिसि क्यामराले निगरानी गर्दो रहेछ ।
त्यसैगरी जमिनमाथि ठूलाठूला सिमेन्टका खम्वाहरूमाथि रेलको लिक बनाइएको रहेछ । जमिनमाथि रेल गुड्दो रहेछ । जमिनमा बनेका घर, मन्दिर र पुरै सहर मजाले अवलोकन गर्न पाइदो रहेछ । मेट्रो रेल प्रतिघन्टा ८० किलो मिटरको गतिमा चल्दो रहेछ । यसरी यात्रा गर्दा कोटेश्वरको जाम अनि गौशाला, चावहिल र जोरपाटीको धुलो र हिलोको याद आयो । लाग्यो, काठमाडांैमा पनि मेट्रोरेल चलेमा सडक जाम हट्नुका साथै प्रदूषण नियन्त्रणमा कति उपयोगी हुन्थ्यो होला ? देशको इन्धन र व्यक्तिको समयको पनि कति बचत हुन्थ्यो होला ? हामी कतिलाई निजी सवारी साधनको आवश्यकता पर्दैन थियो होला ?
भोलिपल्ट बिहानै ६ बजे सिलीगुडी आउन शक्तिनगरवाट प्लेटफर्मतर्फ लाग्दै थियाँै । झिसमिसै थियो । ड्राइभरले गाडीको लाइट बालेर कुदाउँँदा ठाउँठाउँमा चौकिदारले गाडी जाने दिशा देखाइरहेका थिए । बाटोमा दुबैतर्फ केही ठाउँमा कारहरू पार्किङ गरेर राखेका देखिन्थे । अनि, मैले ड्राइभरलाई सोधेँ, ‘किन यी कारहरू त्यतिकै बाटोमा राखेका होलान्, हराउँदैनन्? । उनले भने, ‘सर यहाँ भाडामा बस्नेहरूका पनि आफ्नै गाडी छन् । केहीले त दिनभरि अफिसमा काम गर्छन् अनि राती बाटैमा पार्किङ गरी राख्छन् । भोलिपल्ट अफिस जादाँ फेरि लिएर जान्छन् । लाग्यो, यो पनि ब्यस्त राजधानी सहरको वदलिँदो स्वरूप वा समस्या होला । किनभने दिल्ली यस्तो सहर रहेछ जहाँ हाम्रो देशको कुल जनसङख्याको आधाभन्दा बढी, लगमग एक करोड ७० लाख मानिसहरू बसोबास गर्दा रहेछन् भने सवारी साधनको सङ्ख्या मात्रै १ करोडभन्दा बढी नै रहेछ ।
समयमै रेलभित्र आफ्नो सीटमा बसिसकेका थियाँै । रेलमा दीपावली र छठ पूजाका लागि घर फर्कनेको लर्को थियो । केही यात्रुहरू वेटिङ टिकटका साथ उभिएरै यात्रा गरिरहेका थिए । रेल खचाखच भरिएको थियो । तापनि अधिकांश पूजाका लागि घर फर्कने भएर होला खुशी नै देखिन्थे । त्यति बेला कीर्तिपुरमा (त्रिवि) विद्यार्थी हुँदा वसको टिकट नपाएर मुढामै बसेर दशैमा झापा घर गएको याद आयो । यात्राभर रेलमा प्रायः युवायुवतीहरू मोबाइलवाटै जानकारी लिइरहेको भान हुन्यो । किनभने विभिन्न मोबाईल एप्सवाटै रेल चलिरहेको समय, रोकिने समय र ढिलो चलिरहेको समयको सम्पूर्ण जानकारी पाइँदोे रहेछ । हामी पनि त्यसमा अभ्यस्त भैसकेका थियाँै । लाग्यो, यात्रा पनि अव प्रविधिमैत्री बन्दै रहेछ । सँगसँगै रेलका स्टेसनहरूबाट प्रत्येक व्यक्तिले बिक्री गर्न ल्याउने चिया, विस्कुट, चटपटे, काँक्राले पनि यात्रालाई सहज बनाउँदै थियो । साथै, प्रत्यक्ष्य गीत सुन्दै र समथर जमिनका दृश्यहरू हेर्दै २६ घन्टा लामो रेलको यात्रामा सिलीगुडी आइपुगेको पत्तै भएन । साँझ पर्न लागेको थियो ।
मेची पुलवाट आफ्नो भूमिमा प्रवेश गर्दै थियौँ । लक्ष्मी पूजाको दिन थियो । काँकडभिट्टाको बाटोमा देखिने घर तथा पसलहरूमा केराका थम्बा र झिलिमिली बतीले सिँगारिएको थियो । त्यति बेला फ्रेन्च समाजशास्त्री ईमाइल दुर्खाइमको भनाइ – ‘धर्ममा पवित्र र अपवित्र दुबै चीज हुन्छन्, तर पवित्र चीज वा क्रियाकलापले व्यक्तिहरूलाई परिवारमा एकता कायम गर्दै समाजमा जीउन मद्धत गर्दछन्’, भन्ने भनाइ सार्थक भएको अनुभूत गरियो ।
(समाप्त)