चिकित्सकलार्इ कृत्रिम ढङ्गले विशिष्टीकरण गरिएको छ
संसद्मा विचाराधीन चिकित्सा शिक्षा सम्बन्धी विधेयकबारेमा अहिले विवाद सुरु भएको छ – के स्वास्थ्य सेवा उपलब्ध गराउने भनेका डाक्टर मात्रै हुन् ? डा. गोविन्द के.सी. को पटक-पटकको अनसनपछि गठित माथेमा आयोगले दिएको साँघुरो प्रतिवेदनलाई सम्पूर्ण आधार मानेर ल्याइएको यो विधेयकले स्वास्थ्य विज्ञान शिक्षाका समग्र पक्षलाई समेट्न सकेको छैन । यस सन्दर्भमा परिसंवाद् डट कमले यसअघि “अतिरञ्जित चिकित्सा शिक्षा” शीर्षकमा परिसंवाद् चलाएका थियो । त्यसै बहसलाई निरन्तरता दिन आज हामीले स्वास्थ्य विज्ञानका ज्ञाता तथा वरिष्ठ सर्जन प्रा. डा. सरोज धितालसँग कुराकानी गरेका छौं । कुराकानीको मूल अंश यहाँ प्रस्तुत गरिएको छः–
चिकित्सा शिक्षाका बारेमा जुन विधेयक संसद्मा विचाराधीन रहेको छ, वास्तवमा त्यो चिकित्सक शिक्षाको विधेयक मात्रै भयो कि स्वास्थ्य शिक्षा विधेयक हुनुपर्ने थियो तपाईको विचारमा डा. धिताल ?
डा. धितालः तपाईहरूले अस्ति एउटा परिसंवाद् (परिसंवाद् डट कममा) प्रकाशन गर्नुभएको मैले पढेँ । रमाइलो लाग्यो । त्यो चाखलाग्दो र उपयोगी छलफल भएको रहेछ । आजको अहम् प्रश्न भनेको स्वास्थ्य शिक्षा कि चिकित्सक शिक्षा भन्ने होइन । अहिलेको प्रश्न भनेको स्वास्थ्य विज्ञान शिक्षामध्येको एउटा बिधा चिकित्सक शिक्षा पनि हो । त्यसमा नर्सिङ शिक्षा र चिकित्सा शिक्षा फरक चीज हुन । जनस्वास्थ्य शिक्षा, नर्सिङ शिक्षा, चिकित्सक शिक्षा, औषधी विज्ञानको शिक्षा (जसलाई हामी फार्मेसी शिक्षा पनि भन्छौँ) यी भनेका फरक–फरक चीज हुन् भन्ने कुरा बुझ्न जरुरी छ । यी सबै स्वास्थ्य शिक्षाभित्रका फरक बिधाहरू हुन् । तपाईहरूले भने जस्तो स्वास्थ्य शिक्षा भन्ने हो यसलाई दुई प्रकारले लिनु सान्दर्भिक हुन्छ जस्तो लाग्छ । पहिलो हो– स्वास्थ्य विज्ञानको शिक्षा हो भने दोस्रो भनेको – आम नागरिकलाई सचेत र जागरुक बनाउने शिक्षा पनि स्वास्थ्य शिक्षा नै हो । अब प्रश्न आउँछ, स्वास्थ्य दर्शनको शिक्षा पनि किन हुन सक्दैन ? स्वास्थ्य अर्थशास्त्रको शिक्षा हुनसक्छ । स्वास्थ्य-अर्थशास्त्रका बारेमा जति चर्चा र छलफल हुनुपर्ने थियो, त्यो त हुन सकेको छैन ।
संसद्मा विचाराधीन विधेयकमा चिकित्सक शिक्षाका रूपमा मात्रै अगाडि बढाएको सन्दर्भमा यसलाई बहस–पैरवीको विषय बनाउनु उचित होइन र ?
डा. धितालः चिकित्सक शिक्षा, नर्सिङ शिक्षाका बारेमा तत्काल विधेयक ल्याउनुपरेको छ भनेर सरकारलाई महसुस हुन्छ भने साँघुरो विषयमा विधेयक ल्याउन नै पाइँदैन भन्ने मलाई लाग्दैन । त्यो परिस्थितिले निर्धारण गर्ने विषय हो जस्तो लाग्छ मलाई ।
अहिलेको परिस्थितिमा चिकित्सक विधेयक मात्रै ल्याउनु भनेको स्वास्थ्य विज्ञानका अन्य विधालाई वेवास्ता गर्नु जस्तै भएको छ । यस्तो
साँघुरो विधेयक ल्याएर समस्या समाधान हुन्छ त ?
डा. धितालः यसरी ल्याइएको साँघुरो विधेयकले समस्या समाधान गर्दैन । सरकार वा संसद्ले के प्रष्टीकरण दिन सक्नुपर्यो भने अहिले चिकित्सा शिक्षामा यो÷यो कारणले तत्काल यो परिस्थिति सृजना भएको कारण यो विधेयक ल्याउन बाध्य भएका हौं भन्न सक्नुपर्दछ । हामी समग्र रूपमा स्वास्थ्य विषय र बिधाको शिक्षाका बारेमा थप कानून पनि ल्याउने तयारीमा छौ भनेर सबैलाई आश्वस्त गराउन सक्नुपर्दछ । तत्काल आवश्यकताको आधारमा सरकारले त्यो विधेयक ल्याएको हो भने त्यसलाई छुट दिनुपर्छ भन्ने होे। तर, मुख्य कुरा भनेको के हो भन्दा स्वास्थ्य प्रणाली कस्तो बनाउने भन्ने नै अहिलेको प्रमुख सवाल हो । स्वास्थ्य सेवा कस्तो हुने, स्वास्थ्य विज्ञानका विविध विधाहरूका बारेमा प्रष्ट हुनुपर्यो नि ?
दुर्भाग्यको कुरा के छ भने स्वास्थ्य भन्नाले तपाईको दिमाखमा के आउँछ ? एकपटक सोच्नुहोस् त ? तपाईले विभिन्न मानिसहरूलाई सोध्नुभयो भन्दाखेरि फरक खालको निष्कर्ष निस्कन सक्छ। खासगरी नीति–निर्माता वा स्वास्थ्यकर्मी लगायत सम्बन्धित मानिसहरूका फरक–फरक बुझाइ तपाईहरूले पाउनुहुनेछ । स्वास्थ्य भन्नाले कसैले चिटिक्क परेको जीउडाल, भुँडी नभएको मानिस बुझ्न सक्छ भने धेरैले त स्वास्थ्य भन्नाले हस्पिटलको सेतो एप्रोन, सिरिन्ज वा हस्पिटलको गन्ध वा एम्बुलेन्सलाई बुझेको पाउनुहुन्छ । स्वास्थ्य भनेको त्योभन्दा धेरै बृहत् कुरा हो । स्वास्थ्य र स्वास्थ्य दर्शनका बारेमा यति धेरै अन्योल पाइन्छ, स्वास्थ्यका बारेमा विश्व स्वास्थ्य सङ्गठनले गरेको परिभाषा नै ठीक छ कि छैन ? त्यो परिभाषा अचम्मको छ नि ? रोग नलाग्नु मात्र स्वास्थ्य होइन । पूर्णरूपेण मानिस ठीकठाक हुनुपर्यो भन्ने हो। पूर्ण त संसारमा कोही पनि हुँदैन । तपाई–हामी पनि छैनौँ । अर्कोतर्फ स्वास्थ्य पूर्ण हो भने बिकलाङ्गहरू अथवा उमेर ढल्केका व्यक्तिहरूमा स्वास्थ्यको महत्व कम हुने हो ? हाम्रा थुप्रै चीजहरू गडबड भइसके। त्यसो भएको हुँदा स्वास्थ्य अधिकार भनेको के हो भन्ने प्रश्न आउँछ । कतिपय सवाल स्वास्थ्य दर्शनको तहमा समाधान गर्नुपर्ने विषयहरू पनि कार्यान्वयनको तहमा समाधान खोज्दा पनि धेरै खालका समस्या देखिएका हुन् । त्यतातर्फ हामी प्रवेश नै गरेका छैनौँ । स्वास्थ्यको परिभाषाका बारेमा केहीकेही जर्नलहरूले लेखहरू प्रकाशन गर्न थालेको हामी पाउँछौ । स्वास्थ्य अर्थशास्त्रको कुरा भन्नुहुन्छ भने कति पैसा खर्च गर्दा कति हजार वा कति सय मानिसले सेवा पाउँछन् भन्ने कुरा होइन । यो सम्भव छ कि छैन भनेर हिसाब गर्ने विषय पनि होइन स्वास्थ्य भनेको ? स्वास्थ्यलाई मौलिक अधिकार हो भनेर मान्नेबित्तिकै एउटा टापुमा १० जना छन् भने तिनले स्वास्थ्य अधिकार त पाउनुपर्यो नि ? त्यो टापुमा हेलिकप्टर पठाएर हुन्छ कि के गरेर हुन्छ, त्यो सेवा त्यहाँ पु¥याउनुप¥यो । यति जनाको लागि यत्रो खर्च भयो भनेर राज्यले भन्न पाइँदैन । अब अर्को विषयमा तपाई कुरा गर्नुहुन्छ भने अर्थशास्त्रले भनेको जस्तो बजारको माग र आपूर्तिको विषय जस्तो होइन स्वास्थ्य । यो बिल्कूल फरक विषय हो यो । अन्य विषयमा तपाई आवश्यक भएको कुरा खरीद गर्न सक्नुहुन्छ । त्यहाँ दिने र लिने दुई पक्ष हुन्छ । तर स्वास्थ्य सेवामा एउटा यस्तो तेस्रो पात्र हुन्छ, जो हो डाक्टर । जसले विरामीले यो खरीद गर्ने वा नगर्ने भनेर निर्धारण गरिदिने काम गर्छ । स्वास्थ्य सेवालाई यदि किनबेचको विषय बनाउने हो भने त्यो के किन्ने भन्ने अधिकार समेत विरामीलाई हुँदैन । त्यो चिकित्सकले मात्र निर्धारण गर्नैपर्ने हुन्छ । स्वास्थ्य भनेको अर्थशास्त्रको समान्य मान्यता – माग र आपूर्ति खालको भन्दा पनि विशिष्ट खालको विषय हो भन्ने बुझ्न जरुरी छ ।
राज्य सञ्चालक वा सरकारको हिसाबले हेर्नुभयो भने यो खर्च होइन । यसलाई लगानीका रूपमा लिनुपर्छ र बुझिनुपर्छ । यसमा पनि प्रष्ट हुन जरुरी छ । स्वस्थ नागरिक हुँदा राज्यले हजारौं किसिमले फाइदा लिइरहेको हुन्छ । त्योभन्दा ठूलो कुरा प्रहरी राख्नुहुन्छ, सेना राख्नुहुन्छ, न्यायालय राख्नुहुन्छ, ठूल्ठूलो सहर बसाल्नुहुन्छ, व्यापार र खेतीपाती गर्नुहुन्छ, शिक्षा दिनुहुन्छ । यी सबै केका निम्ति ? अन्ततः त्यो नागरिकको खुशी र सन्तुष्टिमा परिणत हुनुपर्यो होइन र ? राष्ट्रिय सुरक्षा पनि त्यही हो, मानिस स्वास्थ नभई यी काम हुन सक्दैन। अतः मानिसलाई स्वस्थ राख्नका लागि गरिने खर्चलाई लगानीको रूपमा नलिनु भनेको अर्को मुर्खता हो । त्यसो भएको हुँदा स्वास्थ्य अर्थशास्त्रलाई भिन्न हिसाबले नबुझी धरै छैन । स्वास्थ्य क्षेत्रमा यति धेरै बिधाहरू छन् । यी बिधाहरूका बारेमा गणुस्तरीय शिक्षा र जानकारी नपाउञ्जेल स्वास्थ्य सेवा राम्रो हुनेवाला छैन । यति धेरै बिधामध्ये चिकित्सा शिक्षा एउटा बिधा हो ।
चिकित्सा शिक्षालाई मात्र विशिष्टीकरण र अतिरञ्जित गरिराखिएको छ, होइन र ?
डा. धितालः हो, केही विषयमा कृत्रिम ढङ्गले विशिष्टीकरण गरिएको छ । केही कुरामा स्वाभाविक पनि छ । जस्तै, अघि हामीले तेस्रो पात्रको कुरा गर्यौं नि ? कुनै मानिस विरामी भयो भने उसलाई कस्तो खाले सेवा दिने भन्ने निर्णय गर्ने प्रमुख भूमिका त चिकित्सकको हुन्छ होइन र ? भलै त्यहाँ चिकित्सक टिमको पनि भूमिका पनि हुन्छ। त्यो हदसम्म स्वाभाविक मान्नुपर्छ कि हामीले स्वास्थ्य सेवालाई पूरै रूपान्तरण गरेर लैजानुपर्यो होइन भने केहीहदसम्म विशिष्टीकरण स्वाभाविक हो भन्ने हो ।
एक्लै चिकित्सकले स्वास्थ्य सेवा दिन सम्भव छ कि छैन ?
डा. धितालः सक्दैन । स्वास्थ्य सेवा चिकित्सकले मात्र दिन सम्भव छैन । त्यसै कारण मैले सुरुदेखि नै स्वास्थ्य प्रणालीलाई जोड दिएको । त्यसैले स्वास्थ्य प्रणालीले महत्व पाएको हो । तर पनि कस्तो खालको सेवा प्रदान गर्ने, कुन खालको हस्तक्षेप गर्ने भन्ने निर्णय गर्ने व्यक्ति चिकित्सक हो । प्राकृतिक कुराहरूमा विचलन आयो भने त्यसमा हस्तक्षेप गर्ने हो स्वास्थ्योपचार गर्ने भनेको । कि प्रकतिले जे गर्छ–गर्छ भनेर छोडिदिनुपर्यो । होइन भने कुनै न कुनै खालको हस्तक्षेप गर्नुपर्यो । यो हस्तक्षेप भनेको नै चिकित्सा हो। प्रकतिले जे गर्छ, त्यसमा चित्त नबुझाएर हस्तक्षेप गर्ने हो । चिकित्सा भनेको त्यही हो । कस्तो खालको हस्तक्षेप गर्ने भन्ने निर्धारण गर्ने प्रमुख जिम्मेवारी चिकित्सकको हो । यद्यपि उसले आफ्नो पछाडि रहेको ठूलो टिमको सहयोग लिएर यो फैसला लिने हो ।
चिकित्सकले लिने निर्णयका लागि आधारहरू अरुले तयार गरिदिनुपर्छ भन्न खोज्नु भएको हो ?
डा. धितालः मुख्यतः त्यो आधार विरामीले तयार गरिदिएको हुन्छ । तर चिकित्सकले विरामीको आधारमा गरिएको परीक्षण ल्याब वा रेडियोलोजीले सही खालको रिपोर्ट आएन भने चिकित्सकले मात्र के गर्न सक्छ ?
मैले भनेँ नि, दिशा निर्धारण चिकित्सकले गर्ने हो। रिपोर्ट आउनुभन्दा पहिला परीक्षण नै केको गर्ने निर्णय चिकित्सकले गर्ने हो। मैले यो खालको हस्तक्षेप गर्नुपर्छ भनेर सुरुमा केही फिजिकल परीक्षण र आकस्मिक उपचारपछि कुन विषयमा परीक्षण गर्ने भन्ने कुरा नै महत्वपूर्ण भइसक्यो। प्रमुख हस्तक्षेपकर्ता चिकित्सक हुने भयो। तर उसले जे निर्णय लिन्छ, त्यो सार्थक हुनका लागि सिङ्गै टिमको भूमिका हुन्छ नै। तर त्यसमा चिकित्सकको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने कुरा मात्र हो। उसको भूमिकालाई तपाईले भने जस्तो कृत्रिम तरिकाले अतिशयोक्ति रूपमा ठूलो पारिएको भन्ने मेरो पनि बुझाई छ। यसका लागि स्वास्थ्यभन्दा बाहिरका अन्य सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक कुराहरूले काम गरिरहको छ । सुरुमा कतैबाट आक्रमण भयो अब के गर्ने भन्ने भनेर लड्ने लडाईको नेता चाहिँ फेरि पनि डाक्टर नै हो । अहिले रहेको स्वास्थ्य प्रणालीमा ।
संसदमा जुन स्वास्थ्य विज्ञान शिक्षाभन्दा पनि चिकित्सक शिक्षा ल्याइएको छ त्यसको प्रस्तावनामा नै किन चिकित्सक शिक्षा विधेयक भनी औचित्य पुष्टि गर्नुपर्ने थियो, त्यो भएको छ त ?
डा. धितालः अहिले जुन विषयमा कुरा उठिराखेको छ । यसमा धेरै असन्तुष्टि देखा परिराखेका छन्। त्यसलाई सम्बोधन गर्न अति आवश्यक देखिइसकेको छ । यो कारण तत्काल यो कारणले यो विधेयक ल्याउनुपर्यो भनेर भन्न सक्नुपर्छ ।
प्रस्तावनामा औचित्यको पुष्टि गरिएको पनि छैन । यसले के देखाउँछ भने जस्ले माग गरे र जसले कानून प्रस्ताव गरे उनीहरूले स्वास्थ्य शिक्षा भनेको नै चिकित्सक शिक्षा हो भन्ने बुझाइको धरातल देखिन्छ ! प्रस्तावनाले ओचित्य पुष्टि गरिनुपर्छ कि पर्दैन ?
डा. धितालः मैले पनि यसलाई त्यही ढङ्गले हेरिनँ । आद्योपान्त रूपमा मैले हेरेको छैन । कानून प्रस्ताव गर्नेहरूले त्यो औचित्य पुष्टि गर्नुपर्छ भन्ने कुरामा मेरो पनि सहमति छ । स्वास्थ्य शिक्षा भनेको स्वास्थ्य विज्ञान शिक्षा मात्र होइन, स्वास्थ्य विज्ञान शिक्षा भनेको चिकित्सा विज्ञान शिक्षा मात्र होइन भन्ने कुरा प्रष्ट हुन जरुरी छ ।
तर यो कानून प्रस्तावको सन्दर्भमा हेर्दा स्वास्थ्य विज्ञान शिक्षा भनेको चिकित्सक शिक्षा मात्र हो भन्ने बुझाउन खोजिएको छ हो ?
डा. धितालः अर्को कुरा पनि छ । एउटा त तपाईले भने जस्तै के कारण यो ल्याउनु पर्यो भन्ने औचित्य पुष्टि नगरी ल्याएको सन्दर्भ छ । अर्को कुरा के ख्याल गर्न जरुरी छ भने कुनै पनि विधेयक ल्याउँदा दबावका आधारमा ल्याउने गरिएको तपाई पाउनु हुन्छ । डराएर ल्याइन्छ । आफ्नो स्पष्ट दिशाबोधका साथ लिएर आइँदैन । दिशाबोधका साथ उत्तरदायित्व बहन गर्ने र त्यसप्रतिको समर्पणभावका साथ लिएर आइँदैन । बाहिरबाट ठेलठाल गरेर ल्याइन्छ । आफू दिशाबिहीन छ । बहिरबाट दबावमा आउँदा यस्तै हुन्छ । यस्तो दबाव कहिले राम्रो हुन्छ, कहिले स्वार्थप्रेरित हुन्छ । कहिलेकाहिँ त्यो दबाव बुद्धिमत्ता दबाव हुन्छ । कुनैबेला त्यो बुद्धिमत्ता नहुनसक्छ । त्यस्ता विभिन्नखाले दबावमा मात्र काम गर्ने हो भने यस्तो आउनुलाई अनौठो मान्नु आवश्यक छैन ।
त्यसो हो भने राज्यको काम त्यति मात्रै हो त ? दबाव समूहको प्रभावमा मात्र काम गर्ने ?
डा. धितालः बिल्कूल हैन। त्यसैले त म के भनिरहेको छु भने अहिलेको राजनीति हेर्दा के लाग्छ भने मुलुकमा प्रमुख पार्टी खोल्दा उनीहरूका निश्चित उद्देश्यहरू थिए । विस्तारै–विस्तारै उनीहरूको त्यो दूरदृष्टिमा स्खलन हुँदै गएको तपाई पाउनुहुन्छ ।
दलहरू स्वास्थ्यका बारेमा दिशाबिहीन छन र यस्तो परिणाम आइरहेको छ भन्न सकिन्छ ?
डा. धितालः दलहरू कता जाने भन्नेबारेको दिशाबोध झन्झन् अस्पट हुनथाल्यो । दिशाबोध गुम्न थाल्यो । तर नाम त बनिसक्यो । त्यो नाम विभिन्न क्लबको जस्तो भयो क्या ! त्यो क्लबमा संलग्न हुने मानिसहरूको सोच एकै खालको हुनुपर्छ भन्ने जरुरी छैन । तर जब आफू आवद्ध क्लबले जित्यो भने खुशी हुने नै भयो । यहाँ चुनाव कस्तो भयो भने क्लब–क्लबबीचको खेल जस्तो भयो । म अमूक पार्टीमा छु भन्ने कुराको अर्थ के लाग्यो भन्दाखेरि उसले जित्नुपर्छ र हार्नुपर्छ भन्नेमा सीमित हुन्छ । जब पार्टीहरूमा दिशाबोध हराउँछ, तब तिनीहरू क्लबमा रूपान्तरित हुन्छन् । उद्देश्य नै छैन । क्लबमा रूपान्तरित भएपछि जसरी भए पनि सत्ता हातमा लिनुपर्यो सत्तामा पुगेपछि जेजे गर्दा सहज हुन्छ अथवा सत्ता टिक्छ सोहसोही गर्ने । मूल कुरा भनेको सत्तामा टिकिरहने हो । त्यो उद्देश्यबिहीनता भइसकेपछि सरकारले गर्ने कुरा यस्तै–यस्तै हुन्छ – कि दबावमा गर्ने कि प्रभावमा गर्ने। राज्यले भनेको बिल्कूल दवाव र प्रभावमा काम गर्ने होइन । जव आफ्नो दृष्टि अस्पष्ट हुन्छ, आफ्नो दिशा र लक्ष्य महत्वपूर्ण हुँदैन, त्यसपछि त यस्तो हुँदैन । दबाव र प्रभाव नै सुरु भइहाल्छ ।
त्यसो हो भने दुईवटा अवस्था आए । पेशेवर वा व्यावसायिक व्यक्तिहरू पनि निश्चित स्वार्थ केन्द्रित छन् र सरकार दिशाबिहीन छ भने नागरिकले दुःख पाउनुको विकल्प । नागरिकको पनि केही भूमिका हुन्छ ?
डा. धितालः हामीले माथि जुन परिस्थितिको आंकलन गर्यौँ, अब नागरिकको भूमिका मात्र बाँकी छ भन्ने मलाइ लाग्छ ।
यस्तोमा के गर्न सक्छ नागरिकले ?
डा. धितालः जे तपाईहरूले परिसंवाद् डट कम मार्फत् गरिरहनुभएको छ । यी विषयमा अझ गहिराइमा गएर छलफल गर्नुपर्यो । बाटो खोलिदिनुप¥यो । अघि सुरुमा नै भनिएको परिसंवाद डट कमको नीति सम्वन्धी भनाइसँग म सहमत छु । तपाईहरूले गरिरहेको बिल्कूल राजनीति हो तर यो राजनीति भनेको गैरदलीय राजनीति हो -‘ननपार्टीजम् पोलिटिक्स’ । यस्तो खालको राजनीतिको आवश्यकता बढिरहेको देखिराखेको छु । जुन राजनीतिले दलहरूले पत्ता लगाउन नसकेको दिशा पत्ता लगाउन सहयोग गरोस् । अहिले परम्परागत दलहरूलाई मलाई सिंहासन देऊ, म रामराज्य दिन्छु भन्ने मान्यताबाट अलग गर्नुपर्छ । यसका लागि गैरदलीय राजनीति अहिलेको आवश्यकता हो । नागरिकले सबै खत्तम भयो भनेर रोएर बस्ने त होइन । नागरिकले सबै क्षेत्रमा बैकल्पिक सोच विकास गर्न जरुरी छ । तपाईहरू जस्ता मानिसहरूको भूमिका महत्वपूर्ण हुन्छ ।