परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दुई शब्द

 

 

आधा घण्टा अघिबाट बोल्न सुरु गरेका हाम्रा बरिष्ठ विद्वानले आफ्नो अभिव्यक्तिलाई टुङ्ग्याउने छाँट्काँट देखाउनु भएन । झन् मच्चीमच्ची हात हल्लाउँदै धाराप्रवाह बोल्न थाल्नुभयो । अघिसम्म आ–आफ्नो तालमा गफ गर्दै गरेका सहभागी दर्शकसमेत पातलिन थाले । कोही भने यही मौका छोपी शौचालयतिर छिरे । हेर्दाहेर्दै दर्शकदीर्घा खाली देखिन थाल्यो । त्यसपछि वक्ता विद्वान् मञ्चमा आसाीन भलाद्मीतर्फ फर्की आफ्नो प्राध्यापकीय शैली देखाउन थाल्नुभयो । उही बासी कुरा, उही असन्तोष सहमति यसो भएन, उसो भएन । औपचारिकताको लागि कार्यक्रममा सहभागी भए पनि कार्यक्रम सुन्ने धैर्यता कुनै श्रोतामा रहेन ।
वक्ताविद्वान्को प्रवचन अझै रोकिएन । अब त मञ्च पनि खाली भइसक्यो; सभापति र अरु एक दुई जना बाहेक । आयोजकबाट मात्र पाँच मिनेटको समय पाएका वरिष्ठ विद्वान एवम् अतिथिले लगभग एक घण्टापछि आफ्नो लामो गन्थनलाई विट मार्दै भन्नुभयो ‘… मेरा दुई शब्द यही टुङ्ग्याउँछु । धन्यवाद !’
त्यसपछि सभापति एक्लैले ताली बजाउनुभयो ।

(२०७५ भाद्र ६ गते बुधबारका दिन विमोचान हुने सहित्यकार गणेश श्रमणको लघुकथासङग्रह ‘गुलियो काठमाडौ’ बाट)

Facebook Comments