परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

प्लाष्टिक प्रदूषण एक बिकराल समस्या

सभ्यतको विकाससँगै मानव जातिले विविध क्षेत्रहरुमा परिवर्तन गर्दै आइरहेको छ । आर्थिक तथा भौतिक रुपमा आजको मानव सभ्यता चरम अवस्थामा पुगे पनि सामाजिक तथा सांस्कृतिक रुपमा क्रमश विचलन भइरहेको छ । अझ वातावरण क्षेत्रमा भौतिक विकासले गर्दा अति नकारात्मक असर परेको छ । जनसंख्याको वृद्धि, औधोगिकरण तथा शहरीकरणले गर्दा जल,थल तथा वायुक्षेत्र प्रदूषित भईरहेको छ । अझ यो भन्दा वातावरण क्षेत्र प्लाष्टिक तथा प्लाष्टिक जन्य पदार्थबाट प्रदूषित भइरहेको   छ ।
प्लाष्टिक प्रदूषण भन्नाले अनियन्त्रित रुपमा जम्मा भएको प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थहरुबाट वातावरणमा पर्न गएको नकरात्मक असर हो जस्ले मानवलाई मात्र होइन समस्त प्राणी तथा वनस्पती जगतलाई प्रत्यक्ष तथा अप्रत्यक्ष दुश्प्रभाव पारेको छ । आजको आधुनिक युगमा आणविक फोहोरपछि मानव जातिको लागि प्लाष्टिकजन्य फोहोर एउटा विकराल समस्याका रुपमा रहेको छ ।
मूलतः प्लाष्टिकको उत्पादन खनिज तेल वा ग्याँसलाई परिवर्तन गरी ठोस स्वरुपमा ल्याएर गरिन्छ । मूलरुपमा प्लाष्टिक सिंथेटिक पोलिमर हो, जस्मा धेरै कार्वनिक तथा अकार्वनिक यौगिक हुन्छन , जो धेरै जसो पेट्रो–केमिकल्सबाट प्राप्त हुन्छ । प्लाष्टिकलाई दुई तरिकाले वर्गीकरण गर्न सकिन्छ ।

१. थर्मोप्लाष्टिकः जो विभिन्न स्वरुपमा तापको माध्यद्वारा बदल्न सकिन्छ
२. थार्मोसेटिङ्ग प्लाष्टिकः जो एकचोटी एउटा स्वरुप लिएपछि रुप परिवर्तन गर्न सकिन्न ।

प्लाष्टिकको कम घनत्वको स्वरुपलाई पोलिथिन व्याग जस्ता स्वरुपमा निर्माण गरिन्छ भने उच्च घनत्व भएको स्वरुपलाई विभिन्न प्लाष्टिकका समानहरु जस्तै बाल्टी, भाँडाकुँडा,बोरा, बोतल आदि रुपमा निर्माण गर्न सकिन्छ । एक टन प्लाष्टिक बनाउन करिब ११ ब्यारेल खनिज तेलको प्रयोग हुन्छ ।

प्लाष्टिक निर्माण एउटा जटिल कार्य हो र यो निर्माण गर्दा खतरनाक रसायनहरु प्रयोग गरिन्छ । प्लाष्टिक निर्माण गर्दा एथिलिन अक्साइड, जायालिन, बोन्जिन जस्ता रसायनहरुको प्रयोग हुन्छ र निर्माण प्रक्रियामा हानिकारक पदार्थहरु निष्काशन हुन्छ, जस्को व्यावस्थापन गर्नु एउटा समस्याको रुपमा रहेको पाइन्छ । हुन त  मानव निर्मित प्रथम पोलिमरको आविष्कार सन् १८६९ मा जोन हाइटबाट भएको हो । तर प्रथम प्लाष्टिकको निर्माणको श्रेय भने हेन्डिरिक नामक अमेरिकी नागरिकलाई जान्छ । निर्माण भएको सय वर्षको अन्तरालमा प्लाष्टिकको प्रयोग व्यापक रुपमा बढेको छ । कसैकसैले यसलाई अदुभूत पदार्थको रुपमा पनि लिएका छन् । यसको प्रयोग हाम्रो दैनिक जीवनदेखि अन्तरिक्ष विज्ञानसम्म भएको छ ।

हामी विहान उठ्ने वितिकै प्लाष्टिकबाट निर्मत टुथब्रस प्रयोग गर्दछौं र प्लाष्टिकबाट निर्मित बाल्टीको पानीले नुहाउँछौ । हामीले खानाखाने प्रयेाग गर्ने चम्चा, प्लेट, गिलास पनि प्लाष्टिकबाट भएका हुन्छन् । हामीले प्रयोग गर्ने कलम, ल्यापटप, घडी लाइटरदेखि लिएर यातायातको रुपमा प्रयोग गर्ने साइकल, मोटरसाइकल, कार तथा बसमा पनि प्लाष्टिक नै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रयोग भएको पाइन्छ । बजारमा किनमेल गर्दा प्रयोग गर्ने पोलिथिन ब्यागदेखि खाना तथा विविध समानहरु प्याकिङ्ग गर्न पनि प्लाष्टिकको नै प्रयोग गर्दछौ । आजकल साजसज्जाका समानहरुदेखि बच्चाहरुको खेलौनामा समेतमा प्लाष्टिकको प्रयोग भएको पाइन्छ । अस्पतालमा प्रयोग हुने सिरिन्जदेखि निर्माण कार्यमा प्रयोग हुने औजारहरुमा पनि प्लाष्टिकको व्यापक प्रयोग भएको पाइन्छ । अतः आजको युगलाई प्लाष्टिक युग भन्दा खासै अशोभनीय हुन जाँदैन ।

एउटा अध्ययनले बताएअनुसार हरेक वर्ष १० करोड टन प्लाष्टिक उत्पादन भइरहेको छ । जसमध्ये साढे दुर्इ कराेड टन नष्ट गर्न नसकिने फोहोरको रुपमा जम्मा भइरहेकोे छ । र, करिव ७० हजार टन प्लाष्टिक समुन्द्रको पानीमा मिसिन पुग्छ । यी प्लाष्टिकहरुलाई समुन्द्री जीव तथा माछाहरुले खाद्य पदार्थको रुपमा खाँदा तिनीहरुको पेटमा जम्मा भइ, यी जीवहरु मरीराखेका छन् । यही गतिमा जाने हो भने सन् २०५० सम्ममा ११२४ मेट्रिक टन प्लाष्टिक उत्पादन हुने देखिन्छ । समुद्रमा भएको प्लाष्टिक र माछाको अनुपात विचार गर्दा हाल १ः५ रहेकोमा सन् २०५० सम्म १ः१ हुने अनुमान गरिएको छ । अहिले विश्वको कच्चा तेलको ६ प्रतिशत प्लाष्टिक उत्पादनमा प्रयोग भइरहेको छ भने सन् २०५० सम्म २० प्रतिशतसम्म पुग्ने अनुमान गरिएकाे छ ।  हालसम्म विश्वमा करिव ९ अरब टन प्लाष्टिक उत्पादन भइसकेको छ, जसवाट पृथ्वीलाई ५ चोटी बेर्न सकिन्छ ।

संसारमा सबैभन्दा बढी प्लाष्टिकको प्रयोगको तयारी खाना तथा खाद्य पदार्थहरु प्याकिङ्ग भएको छ, जो १९ प्रतिशत छ । विभिन्न खालका पानी, जुस आदि पेय पदार्थको बोतलको रुपमा १८ प्रतिशत फोहोरमैला उठाउने थैलीको रुपमा करिव ७ प्रतिसत र सबैभन्दा उदेक लाग्दो, स्ट्र (Straw) मा ६ प्रतिशत प्लाष्टिक प्रयोग भइरहेको छ । प्रत्यक मिनेटमा करिव ३० लाख प्लाष्टिकका झोला तथा बोतलहरु विश्वबजारमा  विक्री भइरहको छ ।

प्लाष्टिकको बढी उत्पादन तथा दुरुपयोग भएको क्षेत्र हो पोलिथिन ब्याग । पोलिथिन ब्याग अति कम खर्चमा उत्दान गर्न सकिन्छ र यसले आफनो तौल भन्दा दुईहजार गुणा भार उठाउन सक्छ, यसै कारण हरेक क्षेत्रमा  दुरुपयोग भइरेहको छ । विश्वमा करिव ५० खरव प्लाष्टिकका झोलाहरु उत्पादन भइरहेका छन् । जसमध्ये ४० प्रतिशत खानेकरा र अन्यकुराहरु प्याकेजिङ्गको रुपमा प्रयोग हुन्छ । करिव ९४ प्रतिशत प्लाष्टिक झोलाहरु जमीनमा अलपत्र रुपमा फालिएको हुन्छन् । र, ४ प्रतिशत मात्र पुर्नप्रयोगको निम्ति प्रयोग गरिन्छ ।

नेपालको सन्दर्भमा काठमाडौं उपत्यकामा मात्रै २० लाख प्लाष्टिकका झोलाहरु प्रतिदिन प्रयोग भइरहेकाे  छ । नेपालभरी करिव १.२५ अरव प्लाष्टिकका झोलाहरु एकचोटी प्रयोगका रूपमा प्रति वर्ष खपत भइरहेको छ । एकचोटीमात्र प्रयोग गरिने प्लाष्टिकका झोलाहरु जाे करिब ४० माइक्रोन भन्दा तलका हुन्छन्, । नेपालको मूलभूत प्लाष्टिकजन्य प्रर्दूषनको कारकतत्व  हो । हुन त सन् २०१५ मा काठमाडौ उपत्यकामा प्लाष्टिकका झोलाहरु उत्पादन, विक्री वितरण तथा प्रयोगमा बन्देज लगाएपनि त्यो कार्यन्वयन हुन भने सकेन । सन् १९९८ मा हेटौंडा नगरपालिकाले प्लाष्टिकका झोला मुक्त अभियान नै चलाएको थियो । त्यसको सिको गर्दै अन्य नगरपालिकाले पनि कोशिस गरेका थिए । तर दुर्भाग्यवस सरकारको इच्छाशक्तिको अभावले गर्दा कार्यान्वयन हुन   सकेन ।

संसारमा मूलभूत रुपमा क्यान्सरको कारण प्लाष्टिकजन्य पदार्थको उपयोगवाट हुन गइरेहको छ । यदि तातो खानेकुरा तथा पेय पदार्थको लागि प्लाष्टिकको भाँडा तथा कपको प्रयोग गर्दछौं भने यसवाट अति हानिकारक विषदी निर्माण हुन्छ । यसवाट क्यन्सर हुने सम्भावना बढी हुने समेत उक्त अध्ययनले देखाएको छ । हामीले पिउने करिब ८३ प्रतिशत पानिमा प्लाष्टिकका आति सक्ष्म कणहरु पाइएको छ । हामी पानीमा हुने फेकल कलोरिफम व्याकटोरियाको बारे चर्चा गर्दछौं तर अति विषालु सुक्ष्म प्लाष्टिक कणबारे कमै चर्चा गर्दछौ । विषालु कणको कारण स्नायु सम्बन्धी समस्या हुन सक्ने र हारमोनमा परिवर्तन भई डाइवेटिज तथा थाइराइड सम्बन्धी समस्या हुनसक्छ ।

हुन त नेपाली समाजमा प्लाष्टिक प्रदूषण बारे जानकारी हुँदैनभएको चाहि होइन । एउटा अध्ययनले के देखाएको छ भने ९० प्रतिशत जति मानिसहरु प्लाष्टिकबाट हुने हानीका बारेमा जानकारी राख्दछन् । र, ८४ प्रतिशत जति प्लाष्टिक मुक्त समाजको पक्षमा भएको देखाएको छन । धेरै जसो जनता प्लाष्टिक मुक्त समाजको पक्षमा हुँदाहुँदै पनि सरकारी तवरले प्लाष्टिक मुक्त समाजको लागि नीति निर्माण तथा कार्यान्वयन गर्न नसक्नु अति लज्जावोधको विषय हो । यदि प्लाष्टिक मुक्त समाज बनाउन सकेमा १२ प्रतिशत जति फोहेर संकलनमा कमि आउँछ । फोहोर प्रशोधनमा करिव ५० प्रतिशत खर्चमा कमी हुन्छ । यदि पूर्णरुपले प्लाष्टिक झोला नेपालभरी निषेध गर्ने हो भने करिव १२५ करोड प्लाष्टिक झोलाबाट हुने प्रदूषणबाट मुक्त भइन्छ ।
प्लाष्टिक बहुउपयोगी पदार्थभएपनि हाल आएर सम्पूर्ण मानव जातिको लागि खतराको विषयबस्तु भएको छ । यस्तो दुरुपयोग जमीन, समुन्द्र, नदीनालादेखि सगरमाथा तथा उत्तरी र दक्षिण ध्रुर्वसम्म फैलिएको छ । सम्पूर्ण जगत प्लाष्टिक प्रदूषणवाट ग्रस्त छ । प्लाष्टिकले शहरी क्षेत्रको ढल निकासलाई वाधा गरिराखेको छ । नदी किनारमा फोहार जम्मा भई त्यहाँको प्रर्यावरणमा असर गरिराखेको छ । प्लाष्टिकलाई गाईवस्तुले खाँदा उनीहरूकाे मृत्यू भइरहेको छ । समुद्रमा प्लाष्टिकका समान तथा जालीहरुमा अड्केर समुन्द्री जीवहरु मरिराखेका छन् । एक चौथाई समुन्द्री माछाको पेटमा प्लाष्टिकजन्य पदार्थहरु भेटिएका छन् ।

प्लाष्टिक पानीमा मिसिंदा र घामको रापमा, रासायनिक प्रक्रिया भई हानिकारीक पदार्थ निर्माण भई पानी नै दूषित हुन जान्छ । प्लाष्टिक सयौं वर्षसम्म नष्ट नहुने हुँदा नदीनालामा पानीको वहावलाई असर गरेको छ । प्लाष्टिक विघटन प्रक्रियामा जान करिव ५ सय वर्ष लाग्न सक्छ र जमीनमा माटो मुनी रही उर्वरा शक्तिमा ह्रास ल्याइदिन्छ । यदि प्लाष्टिकमा आगो लागेमा वा लागइएमा अति विषालु ग्यास निश्कन्छ । जस्ले मानिसको स्वास्थ्यमा प्रतिकुल असर गर्दछ । प्लाष्टिक जलाउँदा कार्वनडाइअक्साइड, कार्वनमनोअक्साइड तथा क्लोरोफ्लोरो कार्वन जस्ता ग्यसहरु निस्कन्छ,। त्यो ओजाेन तहको विनास तथा जलवायु परिवर्तनका कारण हुने अनुमान गरिएको छ ।

हालैको एउटा अध्ययनले के देखाएको छ भने संसारमा मूलभूत रुपमा क्यान्सरको कारण प्लाष्टिकजन्य पदार्थको उपयोगवाट हुन गइरेहको छ । यदि तातो खानेकुरा तथा पेय पदार्थको लागि प्लाष्टिकको भाँडा तथा कपको प्रयोग गर्दछौं भने यसवाट अति हानिकारक विषदी निर्माण हुन्छ । यसवाट क्यन्सर हुने सम्भावनानामा बृध्दि हुन्छ । हामीले पिउने करिब ८३ प्रतिशत पानीमा प्लाष्टिकका आति सक्ष्म कणहरु पाइएको छ । हामी पानीमा हुने फेकल कलोरिफम व्याकटोरियाको बारे चर्चा गर्दछौं तर अति विषालु सुक्ष्म प्लाष्टिक कणबारे कमै चर्चा गर्दछौ । यी विषालु कणको कारण स्नायु सम्बन्धी समस्या हुन सक्ने र हारमोनमा परिवर्तन भई डाइवेटिज तथा थाइराइड सम्बन्धी समस्या हुनसक्छ ।

धेरैजसो प्लाष्टिक जैविक रुपले अवक्रमणिय छ । जस्ले गर्दा फोहोर व्यावस्थापनमा ठूलो समस्या देखिएको छ । केही प्लाष्टिकको पुर्नउपयोग गर्न सकिन्छ भने केही प्लाष्टिकलाई रिसाइकल गरी व्यावस्थापन गर्न सकिन्छ तर यस्तो प्लाष्टिकको गुणस्तर अति न्यून हुन जान्छ । रिसाइकल पद्धति आर्थिक रुपले फाइदाजनक नहुने हुँदा प्लाष्टिकको फोहोर व्यावस्थापन गर्न ठूलो समस्याका रुपमा रहेको छ ।

प्लाष्टिक प्रदुषण सम्पूर्ण मानव जातीको लागि ठूलो समस्या हो । यसको समाधानको लागि सम्पूर्ण जनता, नागरिक समाज,राजनीतिक पार्टी तथा सरकारको सयुंक्त प्रयासवाटमात्र सम्भव छ । नागरिकको स्तरवाट यसको नियन्त्रणको लागि, सकभर प्लाष्टिकजन्य बस्तुहरु बहिस्कार गर्ने, बजारमा समान खरिद गर्दा कपडाहरुको झोलाहरु प्रयोग गर्ने, प्याकेजिङ गर्नु पर्‍यो भने प्लाष्टिकको सट्टा कागजजन्य सामग्री प्रयोग गर्ने आदि । यदि प्लाष्टिकको प्रयोग नै प्रयोग गर्नु पर्‍यो भने त्यसलाई पुर्नउपयोगमा ल्याउने प्रयास गर्ने, प्लाष्टिकको फोहोर जम्मा भएमा सबैलाई एकै ठाउँमा जम्मा गरी रिसाइकल प्रोसेसमा ल्याउने प्रयत्न गर्ने । प्लाष्टिकलाई आफैले नष्ट गर्ने कोशिस नगर्ने र यस्को दुश्प्रभाववारे जनचेतना जागृत गर्ने कार्य गर्न सकिन्छ ।

जीवनको हरेक क्षेत्रमा प्लाष्टिकको प्रयोग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भइरहेका छन । प्लाष्टिकको प्रयोगलाई पूर्णरुपमा निषेध गर्न असम्भव छ तर बुद्धिमत्ता पूर्वक  प्लाष्टिक झाेला तथा सामाग्रीहरू वहिस्कार गरेर, र केही प्लाष्टिक बस्तुहरू पुर्नउपयाेग गरेर वा केही प्लाष्टिक समानहरू रुपान्तरित गरेर यस्को ब्यवस्थापन गर्न सकिन्छ । राज्यस्तरवाट एकचोटीमात्र प्रायोग हुने, ४० माइक्रोन भन्दा कमका प्लाष्टिकका झोलाहरु पूर्णरुपले बन्देज गर्नु अति जरुरी छ । सकभर सम्पूर्ण समाज पनि प्लाष्टिकका भाँडा तथा कपलाई पूर्ण रुपले बहिस्कार गरी प्लाष्टिकबाट हुने प्रदूषणलाई केही हदसम्म न्यूनिकरण गर्न सकिन्छ ।

Facebook Comments