तिमी

कविता

तिम्रो पूरा मोल तिरिसकें

तिमीलाई आफ्नो बनाईसकें

एकचोटी माथिबाट तल हेरिसकें

अगाडि र पछाडि भव्य पाइसकें

श्रृङ्गार राम्रैसंग तिम्रो भएछ

बान्की राम्रैसंग थप्ने काम भएछ

म त रात दिन तिम्रै खोजीमा थिएँ

तिमीलाई पाउँदा हर्षले विभोर म भएँ

अव तिम्रो रसस्वादन राम्ररी म गर्छु

न्यानो काखमा तिमीलाई म राख्छु

तिम्रो सुगन्ध नाकमा जब पर्न जान्छ

आनन्द स्वर्गीय तब मिल्न जान्छ

 

छोड्दिन तिमीलाई कसैगरी

जकडेर राख्छु तिमीलाई वेस्सरी

स्थल हो विछ्यौना आनन्दसंग रसपान गर्ने

नियम छैन है कहिले कसरी त्यो गर्ने

जब सूर चल्छ अनि कस्सिन्छु

एकै चोटी रस रित्याउन मन गर्छु

धेरै हारे पनि थोरै म जित्छु

नजिते म मस्तसँग सुत्छु

 

काम सकिएपछि तिमीलाई मागे कसैले

सुम्पिदिन्छु तिमीलाई तर सर्त राख्छु मैले

छिट्टै उनीहरूले तिमीलाई फर्काउनु पर्दछ

जतन गरी तिम्रो आनन्दपान गर्नुपर्दछ

तिम्रो प्रेम कहिल्यै नभुल्ने पागल प्रेमी म

तिमी जस्तै धेरै धेरैलाई प्रेम गर्ने म

न हौ तिमी पहिलो मेरो जीवनमा आउने

न हौ तिमी अन्तिम मेरो जीवनमा आउने

थन्क्याइदिन्छु तिमीलाई जब काम हुन्छ पूरा

अर्कोको खोजीमा लाग्छु पाउन आनन्द अधुरा

 

आऊ तिम्रो वासस्थान म तिमीलाई चिह्नाइदिन्छु

अरूले झैं त्यसलाई पुस्तक दराज म भन्दछु

तिमी जस्तै छन् पुस्तक त्यहाँ केही हजार

पुस्तक दराज ल्याउदछन् कोठामा बहार

कोठा जहाँ देखिदैन पुस्तकको दराज

लाग्दछ मलाई त्यो धेरै उराठ उराठ !

Facebook Comments
banner
Comments (0)
Add Comment