सबैभन्दा बढी गति कसको ?


आज स्कूलमा रचयिताको शान र फुर्तीको सीमाना थिएन । उनी पढ्ने बृहस्पति विद्या सदन स्कूलले आज उनका अङ्कललाई निमन्त्रणा गरेको थियो । हुन त स्कुलले गरेको निमन्त्रणाका पछाडि रचयिताको ठूलो भूमिका थियो । उनले अङ्कलबाट सुनेका विज्ञान सम्बन्धी अनेकन कुराहरू सहपाठीहरूसँग भनेकी थिइन् । विस्तारै रचयिताले भनेका कुरा ‘साइन्स टिचर’ ले सुने, र कुरा ‘प्रिन्सीपल’ सम्म पुग्दै ब्यवस्थापनसम्म पुग्यो । र, स्कु्लले रचयिताका अङ्कललाई विद्यार्थीहरूसँग ‘साइन्स’ विषयक गोष्ठी गर्ने निम्तो गरी बोलायो ।
एउटा ठूलो हलमा गोष्ठी गर्ने प्रबन्ध गरिएको थियो । ६ देखि १० कक्षासम्मका विद्यार्थी हलमा पर्खिरहेका थिए ।
ठीक १० वजे प्रिन्सीपल, साइन्स टिचर र रचियताका अङ्कल आइपुग्नुभयो ।
अङ्कल– ‘गुड मर्निङ’ मेरा प्यारा विद्यार्थी भाइ–बहिनीहरू !
‘गुड मर्निङ सर,’ सबै विद्यार्थीले एक स्वरमा भने ।
हेर ! म तिमीहरूको साथी रचयिताको अङ्कल हुँ । ल भन त साथीको अङ्कललाई तिमीहरू के भन्छौ ?
हामी पनि अङ्कल नै भन्छौँ, सारा विद्यार्थीले जवाफ फर्काए ।
‘गुड’ आज म तिमीहरूसँग रमाइलो गफगाफ गर्न आएको हुँ । तिमीहरूले आफूलाई मन लागेको प्रश्न सोध्न सक्छौ । ल हात उठाएर भन त, कति जना प्रश्न गर्न चाहन्छौ ?
वीसभन्दा वढी विद्यार्थीले हात उठाए ।
‘भेरी गुड,’ ल, अब एक–एक जना गरी प्रश्न सोध ।
अङ्कल, मेरो नाम मन्जु शेरचन हो । म कक्षा सातमा पढ्छु । म सोध्न चाहन्छु– यो संसारमा सबैभन्दा बढी गति कसको छ ?
ल अब सबै विद्यार्थीले ध्यान दिएर सुन, मन्जुको यस प्रश्नको म तिमीहरूलाई एकदम सरल र बुझने उत्तर दिन्छु ।
विज्ञानले हामी मानिसहरूलाई ‘होमोे सोपिन्यस’ नाम दिएको छ । आजसम्मको इतिहासमा सबैभन्दा बढी गतिले दौडने मान्छे हुन्– उसैन बोल्ट (USAIN BOLT) । सन् २००९ को बर्लिन ओलम्पिकमा उनले प्रतिसेकेण्ड १२ दशमलव २७ मिटरको गतिसम्म छोएका थिए । सय मिटरको दौड प्रतिस्पर्धा बोल्टले ९ दशमलव ५८ सेकेण्डमा पूरा गरी विश्व रेकर्ड कायम गरेका थिए । यो सय मिटरको दौड पूरा गर्नमा उनको औसत गति १० दशमलव ४४ मिटर/सेकेण्ड रहेको थियो । यो औसतले उनको प्रतिघण्टा गति २३ दशमलव ३५ माइल हुुन    आउँछ । र, यो दौड पूरा गर्ने अवधिमा उनको गति १२ दशमलव २७ मिटर/सेकेण्डसम्म पुग्यो, जुन प्रतिघण्टा २७ दशमलव ४४ माइल (४३ दशमलव ९० किमि) हुन्छ । र, तिमीहरूका लागि एउटा खुशीको कुरा । बैज्ञानिकहरूले गरेको अनुसन्धानवाट ज्ञात भएको छ, मानव शरीरको वनावट र यसको क्षमता ३५/४० माइल प्रतिघण्टासम्म दौडिन सक्ने रहेको छ । तिमीहरूमध्ये नै कसैले उसैन बोल्टको रेकर्ड तोड्न सक्छौ !
यो त भयो मानिसको तीव्रतम् गति । तिमीहरूलाई थाहा छ, एउटा विरालो मानिसभन्दा बढी गतिले दगुर्छ । बिरालो ३० माइल, अफ्रिकन लायन ५५ माइल र चितुवा ७२ माइल प्रतिघण्टासम्म दौडिन सक्छ ।
यो त भयो जीवित प्राणीहरूको अधिकतम गति । विज्ञानले योभन्दा धेरै गतिले गुड्ने वस्तु बनाइसकेको छ । के तिमीहरू भन्न सक्छौ सबैभन्दा बढी गतिले हिँड्ने के हो ?
कार, हवाईजहाज ‘सव–मेरिन’ ‘बुलेट टे्न’, ‘रकेट’, अनेकन विद्यार्थीले जबाफ दिए ।
ल अब सुन, आजको दिनसम्म कारको अधिकतम गति ‘हेनेसे भेनोम जीटी (Hennessey Venom GT) सुपर कार’ ले कायम राखेको छ । २७० दशमलव ४९ माइल प्रतिघण्टाको बेगले गुडेर यसले विश्व रेकर्ड राखेको छ । सामान्यतया कारको ‘स्पीड’ ६०–७० माइल प्रतिघन्टा हुन्छ ।
त्यसैगरी सबैभन्दा गतिले हिड्ने ‘बुलेट ट्रेन’ चीनको शाङ्घाई माग्लेव (Shanghai Maglev) हो । यो ट्रेन २६७ माइल प्रतिघण्टसम्म गुड्छ ।
‘सब–मेरिन’ ले पानीमा हिडनुपर्छ, तिमीहरूलाई थाहै छ । पानी हावाभन्दा वाक्लो हुन्छ । अतः पानीमा हिड्न धेरै बल लाउनुपर्छ । सामान्यतया ‘सबमेरिन’ को गति त्यति धेरै हुँदैन । आधिकारिक जानकारी अनुसार, रसियन के–२२२ ले ३० मार्च १९७१ म ५१ माइल प्रतिघण्टाको गति रेकर्ड कायम गरेको थियो ।
यसका साथै मसँग एउटा ‘अन अफिसियल’ जानकारी छ । चीनले २०१४ मा ‘सुपरसोनिक सब–मेरिन’ बनाएको छ । यो ‘सुपरकैभिटेसन’ प्रणालीमा आधारित छ । भनिन्छ, यसले साङ्घाईदेखि सान फ्रान्सिस्कोसम्मको छ हजार माइलको दूरी जम्मा १०० मिनेटमा पूरा  गर्यो ।
के तिमीहरूमध्ये कसैले भन्न सक्छ, ‘साउण्ड’को ‘स्पीड’ कति हुन्छ ?
‘साउण्ड’ लाई गति गर्न माध्यम चाहिन्छ । हावाको माध्यममा ‘साउण्ड’ ले ३४३ मिटर/सेकेण्डको गतिले ‘ट्राभल’ गर्छ । कक्षा ८ मा पढने रश्मिले उत्तर दिइन् ।
‘गुड’ तिमीले ठीक भन्यौ रश्मि, ‘साउण्ड’ ले माध्यम नभई गति गर्न सक्दैन । हावाको आद्र्रता र शुष्कताले ‘साउण्ड’ को गति प्रभावित हुन्छ । यो ३४३ मिटर/सेकेण्डलाई माइल प्रतिघण्टामा ढालेर कसले भन्न सक्छ ?
सबैभन्दा ‘फाष्ट’ जवाफ दिए रोशनले, किमिमा १२३४ दशमलव ८ र माइलमा ७६७ प्रतिघण्टा हुन्छ ।
अब तिमीहरूलाई म एउटा रमाइलो जानकारी दिन्छु । ‘साउण्ड’ को यो जुन ‘ट्राभल स्पीड’ छ । यसलाई उछिन्ने कुनै पनि विज्ञान निर्मित उपकरणलाई ‘सुपरसोनिक’  (Supersonic) अथवा पराध्वनिक भनिन्छ । अब भन ‘सुपरसोनिक जेट’ कसलाई भनिन्छ ?
जुन ‘जेट प्लेन’ १२३५ किमी /घण्टाभन्दा बढी गतिले उड्छन्, ती सबै ‘सुपरसोनिक’ हुन्छन, कक्षा ९ की अनुभा अग्रवालले जवाफ दिइन् ।
‘भेरी स्मार्ट गर्ल !’ सवैभन्दा बढी गतिले ‘प्लेन’ उडाउने रेकर्ड पाइलट विलियम जे दशमलव पेटे नाइटको नाममा छ । उनले अमेरिकन X–15 नामक ‘एअरक्राफ्ट’ लाई ‘साउण्ड’ भन्दा झण्डै ६ गुनाको स्पीड ७२०० किमि/घण्टाले उडाएका थिए । यसैगरी १६ नोभेम्बर सन् २००४ मा नासाले मानवरहित ‘एअरक्राफ्ट’ NASA’s X–43A लाई ‘साउण्ड’ भन्दा १० गुना बढी स्पीड (११८५० किमि) ले उडाएका थिए । यी सबै ‘एअरक्राफ्ट फाइटर जेट’ श्र्रेणीमा आउँछन् । सामान्यतया ‘प्यासेन्जर प्लेन’ को गति ‘साउण्ड’ को गतिभन्दा कम्ती राखिन्छ ।
अब हामी गतिको क्रममा आकाशतिर लाग्छौँ । पृथ्वी छाडेर अन्तरिक्षमा जान गति अझै बढाउनुपर्छ । अन्तरिक्षमा पुग्न ‘मिनिमम’ गति ११ दशमलव २ किमि/सेकेण्ड आवश्यक हुन्छ । यसलाई पृथ्वीको ‘स्केप भेलोसिटी’ (Escape Velocity) भनिन्छ । तिमीहरूले ११ दशमलव २ किमि/सेकेण्ड अथवा ४०,३२०/घण्टाको बेगले कुनै वस्तु पृथ्वीदेखि माथि हुत्याउँछौ भने त्यो फर्केर तल खस्दैन । के कसैले भन्न सक्छ, पृथ्वीवाट माथि जानलाई ११ दशमलव २ किमि/सेकेण्डको गति किन आवश्यक हुन्छ ?
जवाफ १० कक्षा पढने रोशनले दिए, किनकि ग्रह, उपग्रह, ताराको आ–आफ्नो गुरुत्वाकर्षण बल (Gravitational Force) हुन्छ । गुरुत्वाकर्षणका कारण पृथ्वीले प्रत्येक वस्तुलाई आफूतिर तान्छ । पृथ्वीबाट माथि जानलाई गुरुत्वाकर्षणका विरूद्ध बल लगाउनुपर्ने हुन्छ । ११ दशमलव २ किमि/सेकेण्डको वेग नै त्यो बल हो, जसले पृथ्वीको गुरुत्वाकर्षणका विरुद्ध अगाडि बढ्ने क्षमता राख्दछ ।
‘गुड’ रोशन, अब तिमीहरूलाई स्पष्ट भयो होला, पृथ्वीको सतहबाट अन्तरिक्षमा जानलाई ११ दशमलव २ किमि/सेकेण्डको ‘स्पीड’ आवश्यक हुन्छ । वैज्ञानिकहरूले अन्तरिक्षमा स्थापित गरेका सबै ‘स्याटेलाइट’, जुन रकेटबाट पठाइन्छन्, ती रकेटको ‘स्पीड’ ‘स्केप भेलोसिटी’ भन्दा बढी हुन्छ । आफ्नो निर्धारित ‘अर्बिट’ मा स्थापित भइसकेपछि ‘स्याटेलाइट’ हरू आफ्नो गतिले ‘अर्बिट’ मा घुमिरहन्छन् ।
तिमीहरूलाई एउटा रमाइलो जानकारी, ‘स्पेस’ सम्म अधिकतम उचाइमा पुग्ने पहिलो ‘रकेट’ वास्तवमा एउटा ‘मिसाइल’ रहेको थियो । V2 नामक मिसाइल जर्मनीले सन् १९४२ मा ‘स्पेस’ मा दागेको थियो ।
यसपछि पहिलो ‘स्याटेलाइट’ जसको नाम स्पुतनिक (Sputnik) थियो । रशियाले ४ अक्टुबर १९५७ मा R-7 ICBM ‘रकेट’ बाट प्रक्षेपित गरेको थियो । यो मानवरहित उडान थियो । किनकि, हाम्रो आजको छलफलको प्रसङ्ग गति सम्बन्धी हो । यस कारणले हामीले ‘जूनो स्पेसक्राफ्ट’ लाई सम्झिनुपर्ने हुन्छ । पृथ्वी ग्रहको सबैभन्दा ठूलो छिमेकी ग्रह ‘जूपिटर’ को अध्ययनका लागि नासाले पठाएको ‘जूनो’ यान ४ जुलाई २०१६ मा ‘जूपिटर ग्रेभेटी’ मा पुग्दा यसको ‘स्पीड’ २,६५,००० किमि/घण्टा हुन पुग्यो । यो गति नै मानव निर्मित कुनै पनि आविष्कारको सर्वाधिक गति हो । यसलाई किमि ÷सेकेण्डमा गणना गर्दा ७३ दशमलव ६१ किमि/सेकेण्ड हुन आउँछ ।
के यो नै हाम्रो संसारमा भएको सबैभन्दा बढी गति हो ? कक्षा ८ की रश्मिले अचम्म मान्दै सोधिन् ?
होइन रश्मि ! मानिसले बनाएको कुनै पनि वस्तुको सर्वाधिक गति हो यो तर संसारमा उपलब्ध गतिको तुलनामा यो केही पनि होइन । जस्तो कि तिमीहरूलाई थाहा छ– हामी वसेको पृथ्वी, चन्द्रमा, अन्य ग्रह, सूर्य लगायत सबै–सबै आफ्नो जन्मदेखि नै गतिमान    छन् । ल कसलाई थाहा छ, पृथ्वीको आफ्नो अक्ष ९(Axis) मा घुम्ने ‘स्पीड’ के हो ?
पृथ्वीले आफ्नो अक्षको एउटा चक्कर पूरा गर्न २३ घण्टा, ५६ मिनेट, ४ दशमलव ०९ सेकेण्डको समय लगाउँछ । यस अवधिमा पृथ्वीले ४६० मिटर/सेकेण्ड अथवा १६५६ किमि/घंटाको ‘स्पीड’ ले ४००७५ किमि यात्रा गर्नुपर्छ, रोशनले जवाफ दिए ।
र, पृथ्वीले सूर्यको चारैतिर घुम्ने कार्य कुन ‘स्पीड’ ले गर्छ ?
पृथ्वीको सूर्यलाई चक्कर लगाउने गति ३० किमि/सेकेण्ड अथवा १,०८,००० किमि/घण्टा हो, यसपटक जवाफ ८ कक्षाका विद्यार्थी केशवले दिए ।
‘अलराइट’ केशव ! जस्तो कि तिमीहरूलाई थाहा छ, पृथ्वी र सूर्यबीचको दूरी १४ करोड ९६ लाख किमि छ । यस दूरीलाई ‘एस्ट्रोनोमिकल युनिट’ (AU) भनिन्छ । पृथ्वीले सूर्यको एक चक्कर पूरा गर्न झण्डै ३६५ दिनको समय लाग्छ, यसलाई नै एक वर्ष भनिन्छ । सूर्यको एक चक्कर पूरा गर्न पृथ्वीले झण्डै ९४ करोड किमिको यात्रा गर्नुपर्छ ।
पृथ्वीले सूर्यको परिक्रमा गरे झैँ सूर्यले आफ्ना सौर्यपरिवारका सबै सदस्य, भनौँ, हाम्रो सौर्यमण्डलसहित ‘मिल्की वे’ आकाशगङ्गाको केन्द्रको चक्कर लगाउँछ । सूर्यले यस केन्द्रको परिक्रमा गर्ने गति २३० किमि /सेकेण्ड हो । सूर्यको एक चक्कर पूरा हुन झण्डै २५ करोड वर्षको समय लाग्छ । यसलाई नै ‘ग्यालेक्टिल इअर’ अथवा ‘कस्मिक इअर’ भनिन्छ । यसरी नै ‘मिल्की वे’ आकाशगङ्गा पनि परिक्रमारत छ । परिक्रमाका क्रममा यसको गति १००० किमी /सेकेण्ड छ । पृथ्वी ‘मिल्की वे’ मा अवस्थित छ, हामी पृथ्वीमा । यस हिसावले हामी सबै १००० किमी दशमलव /सेकेण्डको ‘स्पीडले’ सधैँ गतिमान भइरहेका हुन्छौँ । तिमीहरूमध्ये कतिपयलाई थाहा होला, प्रकृतिमा योभन्दा बढी गति उपलब्ध छ । कसैले भन्न सक्छ, त्यो के हो ?
विजुली, मन, चट्याङ, रेडियो तरङ्ग, एक्स–रे, अनेकन विद्यार्थीले आ–आफ्नो जवाफ दिए ।
रचयिताका अङ्कलले हाँस्दै भन्नुभयो, मन बाहेक सबै उत्तर ठिक हुन् । समग्रमा यी सबै प्रकाशकै रूप हुन् । प्रकाशको गति यो संसारमा सबैभन्दा बढी छ । प्रकाश एक सेकेण्डमा २,९९,७९२ किमिको गतिमा यात्रा गर्छ । आधुनिक भौतिक विज्ञान अनुसार, प्रकाशभन्दा तीव्र गति हुनु सम्भव छैन । आजको गति सम्बन्धी चर्चालाई यहीँ विराम दिऊँ ।
स्कूलका साइन्स टिचरले वक्तालाई धन्यवाद दिँदै सहभागी सबै विद्यार्थीलाई आजका पाहुनासँग ‘क्यान्टिन’ मा चियापानका लागि सम्मिलित हुन भन्नुभयो । साथै उहाँले वक्तासँग चियापानको अवधिमा आजको चर्चामा आफूसँग वा विद्यार्थीहरूसँग रहेका पूरक प्रश्नको जवाफ दिन अनुरोध गर्नुभयो । ‘लेट्स गो अल टु पार्टिसिपेट इन क्यान्टिन, देयर वी मीट अगेन फर शर्ट मिटिङ्ग ।’

Facebook Comments
Comments (3)
Add Comment
  • Vedna

    सारै ज्ञानवर्धक अन्तर्वार्ता बच्चाहरूको लागि।

  • lokendra pokharel " The pillar "

    रोचक बार्तालाभ ।।।

  • amish bhattarai

    nice article