दरौंदीको पानी गोरखा बजारसम्म पुर्याउने आयोजना सम्पन्न हुँदै
उक्त आयोजनाबाट करिब साढे २४ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुने आयोजना प्रमुख झाको भनाई छ । गोरखा नगरपालिकाको सो क्षेत्रमा ४ हजार ८ सय ५३ निजी धाराहरु जडान भईसकेको आयोजना प्रमुख झाले बताउनुभयो । यो आयोजनाको ठेक्का सम्झौता लागत रकम ४२ करोड ८ लाख १० हजार रुपैंयाँ रहेको छ ।
आयोजनाका प्रमुख झाले भन्नुभयो, ‘स्थानीय व्यक्तिहरुले विद्युतको काममा अवरोध गरेकाले केही समय काम ढिला भयो । तर अब आयोजनाको काम पुस मसान्तभित्र सकिने छ ।’
पानी प्रशोधन गर्ने प्लान्टमा पानी शुद्धीकरण गर्न फिल्टर मिडिया (ग्रेड अनुसारको गिटी बालुवा) राख्ने र फिनिसिङको काम मात्र बाँकी रहेको आयोजना प्रमुख झाले बताउनुभयो । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पानी शुद्धीकरण गरेर आम उपभोक्तालाई वितरण गरिने उहाँले जानकारी दिनुभयो ।
यो आयोजना गोरखा जिल्लाकै एक नमुना र बृहत आयोजना हो । गोरखा बजारका आम उपभोक्तालाई सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले सन् २०१६ मा खानेपानीको सर्भे गरिएको थियो । १५ बर्षका लागि डिजाइन गरिएको उक्त खानेपानी आयोजना निर्माणका लागि २०७४ असार २७ गते ठेक्का सम्झौता भएको थियो । आयोजना कार्यालयका अनुसार ३४ दशमलब ८७ किलोमिटर मुख्य पाइपलाइन तथा ९९ दशमलब ३ किलोमिटर वितरण लाइन र ७ वटा रिजर्भवायर ट्याङ्की मार्फत खानेपानी वितरण हुनेछ ।