परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

‘स्यो’ सम्मान कि अपमान !

तिम्रा बा खोई ? नानी,

खेतमा गकाचन्,

अनि आमा ?

घाँस काट्न गइचन्,

घरमा तिमी एक्लै, अरु कोहि छैनन् ?

अँ, म एक्लै चु, भाइ खेल्न गइच,

तिम्रा बालाई भेट्न आएको, कतिखेर आउनुहुन्छ ?

म बोलाउँचु नि ! ‍‍‍…एऽऽऽ बा भेट्न मान्छे आकाचन्, छिट्टै घर आउनु ।

आँगनको डिलबाट बालाई बोलाउँछिन् ।

उनका बा नआउन्जेल म उनैसँग कुराकानी गरेर बिताउँछु ।

काभ्रे जिल्लाको एक गाउँमा काम विशेष्ले भेट्न जाँदाको एउटा सानी नानीसंग भएको संवादको एक अंश हो यो ।

अनुभूति

म काठमाडौं निवासी हुँ । मेरो घरको बोलीचाली भाषामा ‘स्यो’ लाग्छ । गइस्यो, आइस्यो, लिस्यो, खाइस्यो…. आदि । सामान्य बोलिचालीको भाषामा मेरो घर तथा समाजमा ‘स्यो’ लगाएर बोलिन्छ । सम्मान र आदर गरेर बोल्नु पर्दा शब्दै पिच्छे ‘स्यो’ झुन्ड्याइन्छ अझ त्यसमाथि पनि हजुर लगाइन्छ । खाइस्यो हजुर, गरिस्यो हजुर……आदि । यहाँ, मानिसहरू ‘स्यो’ लगाएर बोल्दा आफूलाई सभ्य सम्झने गर्दछन् । सहरतिर ‘स्यो’ लागाएर बोल्ने बोलिचालीको भाषालाई सभ्य मानिन्छ ।

किन हो कुन्नि मलाई ती नानीले ‘च’ लगाएर बोलेको सारै मन प¥यो । घरमा फर्किएपछि म ‘च’ लगाएर वोल्न थालेँ । आउच, गर्च, खान्च, बस्चन्…..आदि । मैले बोलेको घरमा कसैले मन पराएनन् । मलाई घरमा मात्र होइन, बाहिर पनि होच्याउन थाले ।

अन्य आकर्षणहरू

अझ भनौँ भने, ‘च’ लगाएर बोल्न बन्देज नै लाग्यो । घरमा मात्र होइन बाहिर पनि ‘च’ लागाएर बोल्न मनाही गरियो । मलाइ पनि रिस् उठ्यो । घरकासँग रिसाएँ । यताउता सवैतिर सवै ‘स्यो’ लगाउनेका सामु म अब को को ? सँग रिसाउने । मैले हार मानेँ ।

तर म पनि चुप लागेर बसिनँ । ‘स्यो’ र ‘च’ को नालीबेली केलाउन थालेँ । ‘च’ लगाउँदा कतै सम्मानमा लाग्ने आदरार्थी शब्दमा कमी पो भयो कि भनेर हेरेँ । उनले ‘छ’ को बदला ‘च’ बोलेको मात्र रहेछ । बा र आमालाई जानुभएको छ भन्नु पर्नेमा गकाचन र गईचन भनेकी छन् ।

लिंग अनुसार सम्बोधन गरेकी छन्, ठिकै लाग्यो । यसमा सम्मानको आदरार्थी शब्द पुगेन कि भनुँ भने कर्णाली प्रदेशमा गएका हुन्, आएका हुन्, भनिँदो रहेछ । ठाउँ अनुसारको लवजको मात्र फरक देखियो ।

ती नानीले आफ्ना बा आमालाई पक्कै आदर नगरेकी त होइनन् भन्नेमा म अडिएँ । शब्दले बाहिरीपनमा र भावले भित्री रूपमा आदर प्रकट गर्दछ । कहिलेकाहीँ आफूभन्दा ठूलालाई पनि तिमी पनि भन्ने गरिन्छ । यसरी बोल्दा आदर नगरिएको भन्ने हुँदैन । बहुसंख्या र ओहदालाई सम्बोधन गर्दा सम्मानको आदरार्थी शब्द प्रयोग नगर्दा पनि हुने चलन हाम्रो भाषामा रहेछ । जस्तै, प्रधानमन्त्रीले कडा कदम चाल्दैछन्, प्रधानमन्त्रीले भने । राष्ट्रपति आउँदै छिन्,….आदि । आदरार्थी शब्द र भावको चिरफार मैले यत्तिमै रोकिदिएँ ।

अब आयो ‘स्यो’, यो कहाँबाट आएको हो ? भनेर हेर्दा, दरबारिया भाषाको बक्स्योस् भन्ने शब्दबाट आएको मेरो ठम्याइ रह्यो । अरु कुनै भाषामा मपाईंत्व गरेर बोलिन्न । हामीकहाँ राजाहरूले औपचारिक रूपमा बोल्दा मपाईंत्व प्रचलनमा ल्याएका हुन् । जस्तै, हामीले गरिबक्सेका छौँ । तर यो चल्तीको भाषा मानिँदैन र नेपाली ब्याकरणमा समेटिएको पनि छैन ।

बक्स्योस् शब्द दरबारिया वोलीचालीको भाषामा लिइँदो रहेछ । पुराना राजघरानाका सन्ततीहरू, दरवारिया, भाइभारदारहरू, राणा, शाह, शाही, ठकुरिहरूले बक्स्योस् नै भन्ने गर्दछन् भने उनीहरूको सङ्गतमा आउनेहरू, हजुरियाहरू, उच्च घरानियाहरूले बक छोडेर स्योस् भन्ने गरेका रहेछन् । स्योस् प्रयोग गर्ने वर्गको संगतमा आउने सर्वसाधारणले स्योस् को अन्तिम स झिकेर स्यो भन्न थालेका रहेछन् । यसरी एउटै बक्स्योस् शब्द तीन टुक्रा भएर अपभ्रंश हुँदै ‘स्यो’ बन्न पुगेको रहेछ । पछि गएर सहरी बोलीचालीको भाषामा ‘स्यो’ प्रचलनमा आएको रहेछ । बक्स्योस् बाट स्योस् र स्यो हुँदै यसले जीवन स्तरको वर्ग पनि छुट्याएको रहेछ । यो कसैले गरेको नभई आफैं हुँदै आएको रहेछ । अहिले ‘स्यो’ भन्ने र नभन्नेबीच सहरिया र गाउँले भन्ने छुट्टिँदो रहेछ ।

बक्स्योस् बाट टुक्रिँदा तेस्रो स्तर (थर्ड क्लास) जनाउने ‘स्यो’ ले सभ्य जनाउने ? सहरिया जनाउने ? यसमा मेरो घोर आपत्ति छ । मैले आजसम्म ‘स्यो’ प्रयोग गरेकोमा पश्चाताप लागेको छ ।

स्थानीय बोलीचालीका भाषा र लवज भूगोल र परिवेश अनुसार फरक हुनसक्दछ । गाउँ र सहरमा भिन्न हुन सक्दछ । उपत्यकाको गाउँदेखि पूर्वका काभ्रे, सिन्धुपाल्चोक लगायत केही जिल्लामा ‘छ’ को बदलामा ‘च’ बोलिन्छ । काठमाडौंबाट उत्तर पश्चिमका गोर्खा लगायत केही जिल्लामा ‘छ’ को बदलामा ‘ह’ बोलिन्छ ।

हिन्दु शब्दको उत्पत्ति केलाउँदा, स्पेनिसको साम्राज्य फैलिएको बेला सिन्धु शब्दबाट हिन्द् भएको रहेछ । स्पेनीसहरूलाई स उच्चरण गर्न नआउँदा सिन्धु घाँटीका हाम्रा पूर्खालाई हिन्धु भन्ने गरेका रहेछन् । ‘स’ को बदला ‘ह’ उच्चारण हुँदा सिन्धुबाट हामी हिन्धु भएका रहेछौंं । यसमा त कसैले असभ्य देखेनन् । गाउँले, देहाती भाषा मानेनन् । सामान्य रूपमा चलन चल्तीमा आयो र सवैले स्वीकारे । भाषामा शब्द निर्माण र परिवर्तन निरन्तर भइरहेका हुन्छन् । भूगोल र समुदायअनुसार लवज फरक पर्दछ । यो सामान्य पनि हो । तर मैले ‘छ’ को बदलामा ‘च’ बोल्दा असभ्य, गाउँले भनेर मलाइ होच्याउने काम यो समाजले गरेकोमा मेरो आपत्ति हो ।

म विशेष वर्गमा पर्दिनँ, सर्वसाधारण हुँ । मेरो चासो ‘स्यो’ रहेको छ । बक्स्योस् प्रयोग गर्ने दरवारियाहरूको चाकरीवालाहरूको पनि चाकरी गर्ने चाटुकारले प्रयोग गर्ने ‘स्यो’ कसरी सम्मानजन्य आदरार्थी शब्द सर्वसाधारणले प्रचलनमा ल्याए ? यसलाई अरुले स्वीकारे भन्दैमा मैले पनि किन स्वीकारेँ ? यतिखेर मलाई ग्लानी भएको छ । मैलै कुनै वर्ग विशेषको विरोध गरेको होइन । मात्र मेरो असन्तुष्टी ‘स्यो’ मा रहेको हो । काभ्रेकी ती नानीले बोलेको ‘च’ लागेको लवज मन पराउँदा म यतिसम्म घोत्लिन पुगेँ ।

छेउ न टुप्पो, न ब्याकरण, न त शब्दावली, बोल्दै चाकरी जनाउने, ताईं न तुईंको शब्द रहेछ ‘स्यो’– मेरो विचारमा । पुरुषले भन्दा प्रायः गृहणी महिलाहरूले बढी प्रयोग गर्ने रहेछन् । बक्स्योस् बाट टुक्रिँदा तेस्रो स्तर (थर्ड क्लास) जनाउने ‘स्यो’ ले सभ्य जनाउने ? सहरिया जनाउने ? यसमा मेरो घोर आपत्ति छ । मैले आजसम्म ‘स्यो’ प्रयोग गरेकोमा पश्चाताप लागेको छ ।

तेस्रो स्तर (थर्ड क्लास) जनाउने ‘स्यो’ ले सम्मान जनायो कि अपमान? अथवा यसलाई कसरी लिने ? यसको उत्तरको खोजीमा म ’लागेको चु’ ।

Facebook Comments