मान्छे उभिने सगरमाथा
कविता
चाकडी चुक्ली र चाप्लुसीहरुका मुसे दौडमा
बाजी मार्नेहरुले
जब गलामा माला पहिर्याए
निधारमा शानसित रातो टिका थापे
अनि भिरे छातिमा बडेमानको तक्मा
त्यसै त्यसै चौरस्तामा उभिएर
तमसा हेरी रहे / हेरी…..रहे।
अचानक थाहा भो
माथिकाहरुका आशिर्वादले
पुरस्कृत हुनु भनेको के हुन्छ
अनि त्यसभन्दा पर छुट्टै उभिनुको अर्थ के हुन्छ
थाहा भो
जीवनको अर्के स्वाद र सुगन्ध पनि हुँदो रहेछ
अर्कै मूल्य र मान्यता अनि सौन्दर्य पनि हुने रहेछ
थाहा भो जीवन ज्यूने जिन्दगीको
अर्कै इन्द्रणी रंग र सुन्दर मानवीय ढङ्ग पनि हुने रहेछ।
अर्थात् मान्छे उभिने अर्कै सगरमाथ पनि हुने रहेछ।।