कोरोनासित युद्ध
कविता (छन्द: शार्दूल विक्रीडित)
पेशा बन्द भयो यहाँ श्रमिकको साह्रै रुवायो मन
जेथा छैन विशाल, छैन घरमा बाँकी जगेडा धन
चुल्हो बल्न सकेन रे उदर नै खोक्रो बनायो झन
कोरोनासित युद्ध लड्छ कसरी भोको सुतेको जन?॥१
रित्तो भो घरको भँडार पनि यो पानी पखाले सरि
गिठ्ठा, भ्याकुर खोज्न जान बनमा पाइन्न यसै घरि
पानी मात्र पिएर यो शरिरमा के हुन्छ खै पोषण
कोरोनासित युद्ध लड्छ कसरी भोको सुतेको जन?॥२
चौरासी सब नै थरी सरसिला चाहिन्न रे ब्यञ्जन
पाए दाल र भात गुन्द्रुक ढिँडो होला सुधा नै झन
कस्ले सङ्कट पार गर्छ अहिले को बन्छ खै मोहन !
कोरोनासित युद्ध लड्छ कसरी भोको सुतेको जन?॥३
आयो रे सरकार गाउँ घरमा भन्छन् सबैले यहाँ
के गर्दैछ, कहाँ रहन्छ, कसरी खोजेर जाने कहाँ?
दाताको छ यहाँ ठुलो जगतमा टार्ने सबै उल्झन?
कोरोनासित युद्ध लड्छ कसरी भोको सुतेको जन?॥४
भन्छन् हात पखाल साबुन घसी लाऊ मुखौटो भनी
पैसा छैन यता, उता पसलमा पाइन्न किन्नै पनि
साँच्चै काल बनेर सङ्क्रमण यो आयो गरीबै कन?
कोरोनासित युद्ध लड्छ कसरी भोको सुतेको जन?॥५
हारे आज विशाल राष्ट्रहरू नै, विज्ञान हार्यो जब
सातो जानु गयो परन्तु जनमा प्यारो भयो वैभव
बाँडेनन् किन स्रोत साधन हरे भोका र नाङ्गाकन !
कोरोनासित युद्ध लड्छ कसरी भोको सुतेको जन?॥६
आयो राहत रे असंख्य पहिले भूकम्प जाँदा हरे
सारा पीडितमा पुगेन छ अझै सेवा र टेवा अरे
दाताको धन ढुक्कसाथ अरुले गर्छन् यहाँ दोहन
कोरोनासित युद्ध लड्छ कसरी भोको सुतेको जन?॥७