लेख्नै नसक्ने भएँ
(कविता — शार्दूल विक्रीडित छन्द)
मान्छेका मन भित्रका सब कुरा लेख्नै नसक्ने भएँ
आगो भो धरती यहाँ जल बिना टेक्नै नसक्ने भएँ
आमाका नयनास्रु घोर नद झैँ देख्नै नसक्ने भएँ
आँधी चल्दछ शैलको शिखर भै छेक्नै नसक्ने भएँ॥१
छोरो जान्छ विदेश यो मुलुकको देखेर सुख्खा पन
आफू भन्दछु देश उत्तम छ यो के छैन यस्मा भन
टुक्रा हो खुद स्वर्गको धरण यो लौ गर्नु सम्बोधन
टल्केको छ हिमाल मौत्तिक बनी गङ्गा बगाईकन॥२
लाली चढ्दछ पूर्वबाट सहसा पाखा हिमाली र
पन्छी डाक्छ नयाँ प्रभात दिनहूँ गर्दै मिठो चिर्बिर
जागा भैकन शीघ्र ग्राम्म-रमणी पारेर ठाडो शिर
निस्कन्छन् सजिएर कर्मपथमा तोडेर नै जन्जिर॥३