स्वतन्त्र बाँच्ने गर
कविता (शार्दूल विक्रीडित छन्द)
अर्काको दरबारभित्र दबिँदा खुशी कहाँ मिल्दछ ?
आफ्नो वास छ झोपडी पनि भने स्वर्गै त्यहाँ मिल्दछ ।
हीरा–मोतीविषे छ चित्त त दुःखी, के गर्नु त्यो शानले?
झुत्रा लाऊँ, सहूँ अभाव र पनि, शिर् उठ्छ सम्मानले ।। (१)
चौरासी थरी भोजनादि त रुचि के हुन्छ भोकै बिना !
विछ्यौना सुनका, भुवा सिमलका के गर्नु निद्रा बिना !
सम्पत्ति, सुविधाहरू महलका के गर्नु स्वास्थ्य बिना !
एक्लै हाँस्नु र बाँच्नुमा चयन के आफन्त, साथी बिना !! (२)
दुक्खैमा पनि स्वाभिमानी अरुको सम्पत्ति ठान्छन् धुलो
आत्मा शान्त भए र लोभ नभए सन्तोष नै हो ठूलो
गुन्द्रीमै सुतूँ, खाऊँ गुन्द्रुक भलै, स्वाधीन होस् यो मन
पैसाले निँद, भोक किन्न कसले सक्ला र कैले भन ? (३)