परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

थाहा छ?

(लघुकथा)

 ‘तपाईंले के काम गर्नुहुन्छ ?’

`सातआठ वटा औँलामा चम्किला पत्थरसहित मोटामोटा औंठी लगाएको तथा घाँटीमा सुनको दाम्लो जत्रो सिक्री लगाएको व्यक्तिले जवाफ दियो –‘म तास खेल्छु ।’

डा.शर्मा अक्क न बक्क परे । तैपनि संयमित भएर सोधे, ‘जागिर, व्यापार आदि केही काम गर्नुहुन्छ होला नि ?’

हाँस्दै उसले भन्यो –‘मैले तास खेल्ने बाहेक अरु केही काम गर्दिनँ ।’

डा.शर्माले सोच्न थाले, यसले पढेलेखेको पनि छैन, जागिर पनि खाँदैन, व्यवसाय पनि गर्दैन । भनेपछि यसले कसरी रवाफिलो जीवन बिताएको छ त ?

आम्दानीको स्रोत के होला तपाईंको ?’ खसखस लागेपछि डा.शर्माले आफ्नो छुच्चो बानी देखाइहाले ।

उसले गर्वका साथ भन्यो, ‘भाडा खान्छु । पैंसठ्ठीवटा सटरसहितका पाँचवटा घर भाडामा लगाएको छु ।’

डा.शर्माले पानी निकाल्न अझै इनार खन्ने बिचार गरे –‘राम्रो कमाउनुभएको रहेछ । कसरी छिट्टै प्रगति गर्नुभयो ?’

उसले उल्टै डा.शर्मालाई प्रश्न गर्यो –‘हजुरलाई सी माला थाहा छ ? प्राचीन ब्रिटिस रक्सीको बोतलको मूल्य थाहा छ ? गैंडाको खाग, कस्तूरीको नाभि, ठुलो हुचिलको मूल्य थाहा छ ? यार्शागुम्बा, पाँचऔंले, कुट्कीबारे थाहा छ ? एकमुखे रुद्राक्षको मूल्य थाहा छ ? केराको युगल बुंगामा एकमुखे रुद्राक्ष कहिले हुन्छ, थाहा छ ? चम्किने गह्रौं पत्थर चिन्नुहुन्छ ? प्राचीन छालाका सिक्काको मूल्य थाहा छ ? थाहा छ ?? थाहा छ ??’

डा.शर्माले भने – ‘थाहा छैन ।’

उसले भन्यो – ‘मलाई थाहा छ ।’

Facebook Comments