फुर्तिला खेलाडी र इमान्दार पत्रकार मणिबाबु
विक्रम संवत् २००० सालतिरको कुरा हो । गङ्गाप्रसाद भन्ने मकहाँ पहिलेदेखि आइरहन्थ्यो । मभन्दा एक कक्षा जुनियर थियो । मैले सात पास गरेपछि मेरो किताब उसलाई दिन्थेँ । आठ पास गरेपछि उसैलाई दिन्थेँ । बेलाबेलामा आइरहने उसै मार्फत एन. आर. टि. (न्युरोड टिम) का खेलाडीहरूसँग मेरो सम्पर्क भयो– मणिराज उपाध्याय, रामराजध्वज जोशी, ध्रुवराजध्वज । म पनि फुटबलको शौखिन । मेरो घरअगाडि माइतीघर मण्डलमाथि सेण्ट जेभियर्स कलेज अगाडि, अहिले जहाँ धेरै घरहरू देखिन्छन्, त्यो सबै खाली चऊर थियो । हामी त्यहाँ फुटबल, क्रिकेट खेल्थेम् । म चाहिँ त्रिचन्द्र कलेज पढ्दा कलेजबाट पनि फुटबल खेल्थेँ ।
२००१ सालतिर जुद्ध समशेरको पालामा नर शमशेरले लिग फुटबल शुरु गरे । त्यसमा नर शमशेरको टिम एउटा थियो, गोर्खा टिम भन्ने । सिंहदरबारको एउटा टिम थियो । साम्राज्य शमशेरको टिम, पाटनको टिम, पाँच–छ वटा टिम थिए । अनि हामीहरूले चाहिँ वाई. सि. एफ. (योङ्ग फुटबल एसोसिएसन) को नामबाट एउटा टिम बनाएर नक आउट फुटबलमा भाग लियौँ । अरु सबै टिमसँग बराबर जस्तो हुने । नर शमशेरको टिमसँग हारियो ।
मणिराज चाहिँ सेण्टर हाफ, मोष्ट इम्पोर्टेण्ट खेलाडी । किनभने सेण्टर हाफले डिफेन्स पनि गर्नुपर्ने, अट्याकलाई बल पनि सप्लाइ गर्नुपर्ने । मान्छे धेरै फुर्तिलो र खेल्न पनि जान्ने हुनुपर्ने । अपोजिसनको ग्राउण्ड पनि पुग्नुपर्ने । मणिराजजीमा स्टामिना गज्जबको थियो । मान्छे दुब्लो–पातलो, तर ज्यादै फुर्तिलो । पूरै ग्राउण्ड कभर गर्नुहुन्थ्यो । अनि नयाँ सडककै पूर्ण भन्ने फुलब्याक थियो । अर्को, मदन भन्ने सानो जिउ भएको थियो । ऊ राइट–इन खेल्थ्यो । पछि एन. आर. टि. का कोही कता गए, कोही कता गए.. । मेरो टिममा थिए मणिराज, मदन, पूर्ण । मेरो टिममा एउटा नाम चलेको शिव बिक्रम भन्ने थिए । उनलाई सबैले हवाइजहाज भन्थे । लिग सकिएपछि फेरि कोही कता गए, कोही कता गए । मणिराजजी एन. आर. टि. मा जानुभो । उतैबाट खेल्न थाल्नुभो । एन. आर. टि. को मुख्य प्रतिस्पर्धा डिल्लीबजारको महावीर टिमसँग हुन्थ्यो । ठमेलको टिमसँग त मारामार नै हुन्थ्यो ।
त्यसबेलाको खेलको एउटा घटना सम्झन्छु । एन. आर. टि. र ठमेलबीच खेल भइरहेको थियो । बल ग्राउण्डको बीचमा खस्यो । दुवै टिमका खेलाडी बल लिन दौडिए । एताबाट एन. आर. टि. को खेलाडी, उताबाट ठमेलको बस्नेत भन्ने सण्ड–मुसण्ड नै थियो । दुवैबीच बल हान्ने क्रममा बस्नेतको खुट्टाले एन. आर. टि. को खेलाडीको खुट्टा ठनक्कै भाँचिदियो । अब फेरि त्यस्तो होला जस्तो भयो । यताबाट मणिराज बल लिन कुद्ने, उताबाट त्यही बस्नेत बल लिन कुद्दै आउने । बल बीच मैदानमा । म के हुन्छ…. भनेर मन धक्–धक् भएको बेला, केही भएन । माने उहाँँ कसैसँग नडराउने, नदब्ने ।
त्यो बेलाको खेलको रोचक पक्ष सम्झन्छु, ठमेल टिम थियो । त्यो केशर शमशेरको छोरा साम्राज्य शमशेरले बनाएको टिम । गङ्गाबहादुर बस्नेत (ढेवा भन्ने) भन्ने थिए, राम्रो खेल्ने । साम्राज्य शमशेर आफैँ खेल्ने, मुरारी शमशेर पनि राम्रै खेल्ने । महावीर टिम पनि त्यो बेला नाम कहलिएको थियो ।
हामी कहाँ (वाइ. सि. एफ. मा) एन. आर. टि. को साधुराम भन्ने ठमेल टिमबाट आएको थियो । मोहन भन्ने थापाथलीकै थियो । हाम्रो डिफेन्स बलियो थियो । गोल स्कोररमा राइट–इन खेल्ने मदन सानो कदको भए पनि फुर्तिलो । हाहु गरेर राइट–इनबाट गोल छिराइहाल्ने । उसलाई बेबी अष्टिन भन्थे । सानो भए पनि त्यो बेला खुब कुद्ने । धेरैले मन पराउने, कार चिप्लेजस्तो छिटो । अनि शिवबिक्रम राणा उसलाई हवाइजहाज भन्थे । ऊ दौडेपछि उडे बराबर । राम्रो क्रस हान्ने । गोल किपरमा बटुक भन्ने थियो, मेरै घरको मान्छे । ज्यादै आँटिलो थियो । उताको फरवार्डलाई बल हान्ने मौकै नदिने । उफ्रेर बल समाइहाल्ने । मणिराज त झन् फूल ग्राउण्ड नै कभर गर्ने । तलदेखि माथि सबै भ्याउने ।
खेलको एउटा रोचक घटना सम्झना आउँछ । साम्राज्य शमशेरको टिम र हाम्रो टिमको खेल थियो । उनीहरूले पहिले नै एक गोल गरिसकेका थिए । उनीहरू जित्नेमा ढुक्क थिए । समय सकिनै आँटेको थियो । तर अन्त्यमा हामीले गोल फर्काएर बराबरी पार्यौँ । त्यसबेला दर्शकको उत्साह र हल्ला हेर्न लायक थियो ।
म आई. ए. पास भएँ । मेरो बुवालाई मैले आर्टस् पढेको पटक्कै चित्त बुझेको थिएन । उहाँँ मैले साइन्स पढोस् भन्ने चाहने । म म्याथमा कमजोर थिएँ । आर्टस् पढेँ, पास भएँ । आई. ए. पास भएपछि बम्बै गएर कमर्स पढ् भन्नुभो । बम्बै कलेजसँग चिठ्ठी–पत्र केही गरेको थिएन । तीन दिनको रेलयात्रा गरेर म बम्बै पुगेँ । Sydenham College of Commerce and Economics, B-Road Church Gjte Bombay पुगेँ । उनीहरूको नियमअनुसार एस. एल. सी. पछि आई. ए. पास गरिसकेकाले साइन्स, कमर्स पढ्न नपाउने । अनि म क्त। St. Xavier’s College मा वि. ए. पढ्न थालेँ ।
मणिबाबुलाई फेरि बम्बैमै भेटेँ । उहाँँ पनि इलाहाबादमा पढ्नुहुन्थ्यो क्यारे । बम्बै घुम्न आएर सानीमाकी छोरी सितारादेवीकहाँ बस्नुहुँदो रहेछ । त्यो बेला नाम चलेकी कलाकार सितारादेवीसँग भेटघाट गराउनुभयो । कतिपटक मैले मणिबाबुसँग सितारादेवीको घरमा रात बिताएको छु । सितारादेवी पनि मेरो घरमा आउनुभएको छ ।
मणिबाबुले त्योबेलाका कलाकार गोपी र अरुसँग पनि भेट गराउनुभएको थियो । केही समयपछि उहाँँ काठमाडौंँ फर्कनुभयो । उहाँँ पत्रकारितामा लाग्नुभयो । हाम्रो भेटघाट त्यसपछि टुट्यो ।
बम्बैमा एम. ए. पास गरेर २००५ सालमा म काठमाडौंँ आएँ । राणाजी भए पनि मणिबाबुसँग लागेर गोप्य रुपमा राणाशासन विरुद्ध नै काम गर्न थालियो । २००७ सालको परिवर्तन भयो । म अर्थ सचिव भएँ । उहाँँ सम्पादक, पत्रकार, भेटघाट भैरहन्थ्यो । टड्ढप्रसाद प्रधानमन्त्री हुनुभो । त्यहाँ पनि भेटघाट भैरहने । उहाँँ आफ्नाे पेशामा ज्यादै इमान्दार, राष्ट्रभक्त, विदेशी दवाव नसहने । उहाँँलाई एण्टिइण्डियन भन्थे । अर्थ सचिवबाट हटेपछि (राजा महेन्द्रले खोसेपछि) म २४ वर्ष विदेश गएँ । अनि मणिबाबुसँग भेटघाट बन्द भयो । पछि म विदेशबाट फर्केर आएपछि, बेलाबेलामा फोनमा उहाँँसँग कुरा हुन्थ्यो । पछि उहाँँ देवघाटतिर पनि बस्नुभो क्यारे ।
(नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर तथा हिमालयन बैंकका संस्थापक अध्यक्ष हिमालय शमशेर जबराको यो संस्मरणात्मक लेख भर्खरै प्रकाशित पुस्तक ‘पत्रकारिताका सतिसाल’ बाट साभार गरिएको हो । )