यही धर्ती स्वर्ग बन्छ
छन्द :- शिखरिणी
पहाडी पाखामा अघि जनम भो चञ्चल थिएँ
बुवा आमासाथै टुकुटुकु हिँडें हर्षित थिएँ
हुँदा बाह्रै वर्षे अतिथि किन हो आँगनभरि
जुटेका बाजामा घर सगर चिर्दै धुन गरी ।१
उता हेर्ने ईच्छा मनभरि थियो बालक थिएँ
सबै भित्रै डाक्थे अबुझ बिचरा चिन्तित भएँ
सखी सारा लागी किन किन लगे भित्र मकन
भने फेर्नू पर्ने अब त गहना वस्त्र नुतन ।२
बुढ्यौली साहित्य
सबै काका मामा जति पनि थिए कामतिर छन्
बनाए यज्ञैको असल रचना सुन्दर छ झन्
कतै केरा खम्बा अनि त झलरी तोरण कतै
सजाए मालाले खुबसित सिगारे कुसुमितै ।३
भयो सन्ध्या बेला तुमुल धुनले मंगल बजे
बुवाका साथी ती गुरु जनहरू देखिन पुगे
कुनै नौलो केटो खुरुखुरु पुगे यज्ञ नजिक
मलाई बोलाए अब अलि छिटो निस्क दुहिता ।४
नजान्दा मैले त्यो पहिरिन सिकाए सब लुगा
कुशे औंठी पैह्री नजिक बसियो दङ्ग सब हा !
भयो पूजाआजा म त शिव हरे जान्नु कसरी
जता भन्थे ढोग्थें नमन भगवान् धन्य छ हरि ।५
बिहानी बेलामा सब जन हिँडे चाल सयमा
मलाई बोकेका सब जनहरू नाचेर लयमा
खट्यौलीमा राखी नव घर पुगेका समयको
हिजै जस्तो लाग्ने मन अझ अहो सम्झन छ यो ।६
अहो त्यो बेलाको अलिअलि यता याद मनमा
गयो बालो जोवान् अब त छ यता खिन्न मन हा
गए मेरा स्वामी मकन त यहीँ बस्न परिगो
झरे सारा दाँतै तन पनि निकै दुर्वल भयो ।७
थिए गाई भैंसी कति कति अहो सम्पत्ति थियो
थिए गोडा सग्ला मन पनि दह्रो स्वप्निल थियो
घरैमा पाँचोटा शिशु जनम कामै हर घडी
यिनैलाई हुर्काइ घर र वनका कर्मण गरी।८
भयो वृद्धावस्था अब म त भएँ हेलित अहो
यिनै छोरा मोरा नजिक अब छैनन् किन विभो
अहो लाठे तन्नेरी सब जन भए साहु घरका
सबै छुट्टा भिन्दै घर र परिवारादि सबका ।९
न जेठाले हेर्ने न त अब छ दोस्रो र परको
बसें कान्छा साथै जग पनि पुरानो छ घरको
कहीँ रोगै लागे पनि अब हरे छैन रकम गए
एक्लै छोडी जुन दिन उतातर्फ खसम ।१०
चलेको कोरोना कहर कति लामो जगतमा
न ता आऊ जाऊ सब जन भए बन्द घरमा
विधाताले ठग्दो भनिकन दिएको रकम सो
कता मिल्ने होला अलिकति त थेग्थ्यो पर अहो ।११
सधैं एक्लै बस्दी मन भर छ पीडा कति भनूँ
दिए खाना पानी अलिकति म निल्दै अब बचूँ
यिनैको राम्रो होस् भनिकन बचाएर रुपियाँ
सँगाली राखेका अब सब जना ठान उपिया ।१२
न भो शिक्षा दीक्षा न त छ वय यो कर्म म गरूँ
बुढ्यौलीले चाप्यो सुखसित कहाँ मिल्छ र मरूँ
म जस्तै कैयौं छन् भुवन भरमा ग्रस्त दुःखमा
अहो धेरै पोखें मन अलि दुखेका बखतमा ।१३