परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

गठबन्धनमा: झड्केलालाई अंशको अाश!

सम्भवतः अब अाउने मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने छ । यदि नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तिकडममा फसेन भने समयमै चुनाव हुन्छ भनेर विश्वास गर्न सकिन्छ । अहिले चुनावको मिति घोषणा गर्न सरकारलाई कुनै रुकावट छैन । तथापि वर्तमान गठबन्धन सरकार चुनावको मित घोषणा गर्न ल्याङल्याङ गर्दै अल्झी रहेको छ । किन मिति घोषणामा अस्वाभाविक रुपमा सरकार मौन रहेको हो त !

भागबन्डाको झ्याउलो 

अब अाउने निर्वाचनमा नेपाली काङ्ग्रेसले गठबन्धनका मसिना दलहरूलाई कति सिट दिन सक्ला ? पहिलो लफडा यही प्रश्नले निम्त्याएको छ । धूर्ततापूर्ण चलाखीका अातेजाते खेलाडी पुष्पकमल दाहाल चुनाव पछि नेपाली काङ्ग्रेसलाई अाफ्नो दलले साथ नदिए सरकार बनाउन नसक्ने स्थितिमा राख्ने ध्याउन्नमा हुनुहुन्छ । यता दाहालको तिकडम बुझेका काङ्ग्रेसका नेता भने प्रत्यक्ष र समानुपातिक गरी अाफ्नो बहुमत अाउने गरी सिट राख्ने पक्षमा देखिनु हुन्छ । एक सय ६५ सिटको अंश लाउदा अाफ्नो भागमा ९७ सिट नघटाउने पक्षमा काङ्ग्रेस रहेको बुझ्न सकिन्छ । यस्तो भागबन्डालाई माओवादी अध्यक्ष दाहाल मान्य पक्षमा देखिनु हुन्न । यही कारणले होला काङ्ग्रेससँग कडा `वार्गेनिङ´ गर्न मात्र भए पनि दाहालले अाफ्नो नेतृत्वमा `समाजवादी केन्द्र´ निर्माण गर्न भगिरथ प्रयत्न गर्नु भएको थियो । तर, त्यो प्रयत्न असफल भएको उहाँ अाफैले भाषणमा सुनाइ सक्नु भएको छ ।

नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा बाहेक अन्य काङ्ग्रेसी नेताले दाहालको पार्टी माओवादी केन्द्रलाई खासै महत्व दिएको पाइँदैन । यसको पुष्टि काङ्ग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको बैठकमा गर्नु भएको छ । उहाँले अाफ्नो सभापतिको भावनाको कदर गर्दै चुनावसम्म गठबन्धन अाबस्यक छ भने पनि एक्लै चुनावमा जान सकिने अाशय प्रकट गर्नु भयो । सायद सुरक्षा निकायको रिपोर्टको अाधारमा उहाँले अाफ्नो धारणा राख्नु भएको थियो । गृहमन्त्री खाँडले माअोवादी केन्द्रको अाठ सिट, नेकपा समाजवादी र मजदुर किसान पार्टीको एक एक सिट साथै जसपा चार सिट र लोसपाले दुई सिट जित्ने गृहमन्त्रालयको सर्वेक्षणले देखाएको पनि उल्लेख गर्नु भयो । गृहमन्त्रीको यो खुलासाले माओवादीका अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई चोट पुग्नु स्वभाविकै थियो। र, उहाँहरूमा त्यसले पुराएको चोटिलो रनथनाहट् केही दिनमा नै देखा पर्यो ।

यो अवस्थामा नेपाली काङ्ग्रेसले माधव नेपालको पार्टीलाई खासै महत्व दिने देखिदैन । उपयोगको नीति अनुसार काङ्ग्रेसले `काम लागो भाँडो, अाफल तेरो ठाँडो´ बनाउन सक्छ । काङ्ग्रेसका केही नेताहरूले माअोवादी र नेकापा एसका एक दुई नेतालाई सहानुभूति राख्दै सम्बन्धीत क्षेत्रको सिट छाड्न सकिए पनि `झड्केलो छोरालाई अंश दिन नसकिने´ तर्क गर्न थालेका छन् । काङ्ग्रेसको ठम्याइमा माओवादीलाई अाठको दोबर सिट दिएपछि थान्को लाग्छ । र, नेकपा एकीकृत समाजवादीसँग कार्यकर्ता नै नभएकाले सिट छाड्नु पर्ने अावस्यकता छैन । यही नै नेपाली काङ्ग्रेसले अहिले गरिरहेको विश्लेषण हो । हुन पनि माधव नेपालका पार्टी नेताहरूले अाफू जित्न होइन एमाले हराउन हामीलाई भोट दिनुहोस् भन्दै हिडेको स्थानीय निर्वाचनमा देखिएकै हो । अनि काङ्ग्रेसले किन नहेपोस् !

एमालेतिर इसारा

माओवादी अध्यक्ष पुष्पकमल दाहाल धुर्त खालको धुरन्धर चलाख हुनुहुन्छ । काङ्ग्रेससँग मिलेकै भरमा उहाँले स्थानीय चुनावमा ६० प्रतिशत सिट बढी नै हात पार्नु भयो । उहाँलाई राम्रोसँग थाहा छ यदि काङ्ग्रेसले नडोराएको भए अहिलेको भन्दा ६० प्रतिशत सिट घटी हुने थियो । यसरी गोत्र नै नमिल्नेको घर भित्रको भोटले चुनाव जितेपछि उहाँमा स्वभाविक रुपले महत्वकांक्षको बढोत्तरी भयो । र, भन्नु भयो – नेपालको विकास गर्न मैले बाहेक अरुले सक्तैन । त्यसै कारण अबको चुनावपछि माओवादी दोस्रो ठूलो पार्टी बन्छ र सत्ताको बागडोर म समाल्छु । तर, विडम्बना यज्ञमती र खहरे नमिसिएसम्म चखुँचा खोला बन्दैन र वग्दैन । तब के गर्ने त !

जसरी हुनसक्छ ती हतकण्डाहरू अपनाएर होस् वा तिक्डम गरेर होस् काङ्ग्रेसलाई अाफ्नो बसमा राख्ने । अध्यक्ष दाहालले यही नीति अपनाएर `काङ्ग्रेस हो तिमीहरू मातिने होइन, मात्तियौ भने तिमीहरू मात्र छैनौ´ भन्दै एमालेतिर इसारा गर्न भ्याउनु भयो । त्यस बेला `पीँध नभएको लोटाको के विश्वास´भन्दै काङ्ग्रेसी नेताहरू तर्सिनु भयो । काङ्ग्रेसीजनले त्यसताका अध्यक्ष दाहाल जस्तो अधर्य व्यक्तिलाई एमालेले लिन्छ कि लिदैन, विश्वास गर्छ कि गर्दैन भनेर पर्गेल्ने कामसमेत गरेनन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष माधव नेपाल बाहेक त्यहाँ भित्र रहेका अन्यलाई अाफ्नो पार्टीमा प्रवेश गर्न अाव्हान गरिसक्नु भएको छ । यसै गरी एमालेका महासचिव शंकर पोखरेलले पनि दाहाल र नेपाल बाहेक भ्रमबस् ती पार्टीमा रहेका अन्य नेता साथै कार्यकर्तालाई कम्युनिष्ट पार्टीको मूलाधार (मूलघर) एमालेमा फर्किएर पार्टीहितमा काम गर्न अाव्हान गर्नु भएको छ । यी भनाइहरूको भाष्य काङ्ग्रेसले बुझ्न सकेको देखिएन ।

काङ्ग्रेसले काखी नच्याप्ने हो भने केही कम्युनिष्ट पार्टीको चुनावी अस्तित्व निश्चित रुपमा समाप्त हुन्छ । यही अस्तित्व जोगाउनलाई नै काङ्ग्रेसका झड्केलाहरूले केही समय पहिले `तिमीहरूले नरुचाए हाम्रा लागि एमालेको ढोका खुला छ´ भनेर धम्क्याए । वर्षमान, नारायणकाजीहरूलाई ओली निवास बालकोट पठाएर काङ्ग्रेसलाई देखाएर तर्साउने काम पनि गरे । झडकेलाहरूको यो रणनीति ओलीले फड्कारेपछि भूत्ते भयो । कुनै हालतमा ओलीले काखी नच्याप्ने अवस्था हुदाहुदै नेपाली काङ्ग्रेस भने अझै झड्केलाहरूतिर हेरेर `के हो के हो´भनेर अलमली रहेको छ ।

अन्य आकर्षणहरू

समाजवादी केन्द्रको त्रुप 

गृहमन्त्रीको खुलासा पछि माओवादी अध्यक्ष दाहाल, वामदेव गौतम, नारायण काजी, झलनाथ र माधव नेपालहरूको बैठकले समाजवादी केन्द्र गठन गर्ने निर्णय गर्यो । बजारमा त्यसको खुब हल्ला भयो । यो हल्ला `वार्गेनिङ पावर´ बढाएर नेपाली काङ्ग्रेससँग धेरै भन्दा धेरै सिट हत्याउनका लागि चलाइएको थियो । तर, समाजवादी केन्द्र गठनको बजार हल्लालाई काङ्ग्रेसले हाँसोमा उडाइ दियो । कुनै प्रकारको क्रिया प्रतिक्रिया काङ्ग्रेसबाट अाएन । खासमा भन्ने हो भने काङ्ग्रेसले पत्याउदा पनि पत्याएन । तर, पछिल्लो समय भने एमालेसँग तर्सित नेपाली काङ्ग्रेस झड्केलाहरूलाई थोरै-थोरै अंश दिएर भए पनि झिटिगुन्टा बोकेर फेरि बसाइँ सर्न नदिने पक्षमा पुगेको देखिन्छ । यता नेपाली राजनीतिक नेता मध्य अस्थिर पात्रका रुपमा परिचित अध्यक्ष दाहाल अबको चुनाव पछि पनि स्थिर सरकार बन्न नसकोस भनेर निरन्तर लागिरहनु भएको छ । उहाँको ध्याउन्न नेपाली काङ्ग्रेसलाई साइजमा राखेर काङ्ग्रेसकै भोटबाट सत्ताको साँचो अाफूसँग सुरक्षित राख्नेमा रहेको जगजायर छदै छ ।

एमालेसँग चुनावी मोर्चा बनाएर अगाडि बढन सक्ने कल्पित कल्पना र समाजवादी केन्द्र निर्माणको हल्लाको त्रुप असफल भएपछि `कतै काङ्ग्रेस बिच्किने हो कि´ भन्ने शंकाले दाहाल ग्रस्त हुनुहुन्छ । एकातिर एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेलाई रोक्ने असम्भव कल्पना छ भने अर्कातिर काङ्ग्रेस भड्कियो भने `झड्केलाहरूलाई अंश नदेला´ भन्ने चिन्ता छ । नेपाली काङ्ग्रेसका केही नेताले अाफ्नो पार्टी सभापतिलाई `थर, गोत्र, जात, दर्शन र व्यवहार केही नमिल्नेहरूलाई कहिलेसम्म बोकेर हिड्नु पर्ने हो ?´ भनेर सोध्न थालेका छन् । वास्तवमा अहिले काङ्ग्रेसले अाफ्नो जिउ (शरीर) टकटक्यायो भने उसको जिउमा टाँसिएका अगोत्रीहरू धुलो झै जमिनमा झर्ने छन् ।

माओवादी अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालको अहिलेसम्मको त्रुपको खेलोफड्को सकिएको छ । तर, नविर्सिए हुन्छ उहाँहरू त्रुपको माहिर खेलाडी हो र त्रुपको अरु खेल खेल्न सक्नु हुन्छ । अंश दावी गर्न अरुलाई नसुहाए पनि  काङग्रेसले भित्र्याएका अगोत्रीलाई सुहाउछ ।

केपी ओली र एमाले

केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बनेपछि भूकम्पको ताण्डव र भारतीय नाकाबन्दीको सामना गर्नु पर्यो । त्यसबेला उहाँले चिनसँग पारवहान सन्धि गरेर ऐतिहासिक काम गर्नु भयो । भूकम्पले क्षतविक्षत बनाएका संरचनाहरू उहाँकै कार्यकालमा पुननिर्माण भए । अोलीकै अाव्हानमा नेपाली जनताले नाकाबन्दीको डटेर सामना गरे । पछिल्लो कार्यकालमा चुच्चे नक्शा पास गर्न दलालहरूलाईसमेत बाध्य पार्ने व्यक्ति ओली नै हुनुहुन्थ्यो । जुन नेपाल राष्ट्र र जनताको पक्षमा ऐतिहासिक काम भयो ।

जनताका लागि उक्त दुवै ऐतिहासिक काम वर्तमान गठबन्धनका नेताहरूलाई अहिले अपाच्य भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका पछुवा दाहाल, नेपालले सक्ने भए उक्त नक्शा खारेज गर्नु हुन्थ्यो । तर, सक्ने अवस्था अहिलेलाई छैन । छिमेकीलगायत अन्य मित्र राष्ट्रहरूसँग समान सम्बन्ध राख्नु नै ओली कालिन गम्भीर गल्ती भए जस्तो गरी गठबन्धनका नेताहरू अहिले व्याख्या गर्दै हुनुहुन्छ । उहाँहरूको मनमा भने `ओली प्रधानमन्त्री भएकै अवस्थामा उक्त ऐतिहासिक काम नहुनुपर्थ्यो´ भन्ने लागेको हुन सक्छ । यसैको प्रतिशोध स्वरुप देउवा, दाहाल र नेपाल मिलेर एमसिसी पास गर्नु भयो । अहिले यिनै नेता मिलेर अमेरिकासँग सैनिक (एसपिपी) सम्झौता गर्ने कोसिस गर्दै हुनुहुन्छ ।

नेपाली जनताले एसपिपीको डटेर विरोध गरेपछि सरकारले `एसपिपी नेपाललाई अावश्यक छैन´ भन्ने निर्णय गर्यो र अमेरिकालाई सोही अनुसार तुरुन्त पत्र लेख्ने घोषणा पनि गर्यो । केही मन्त्री र गठबन्धनका नेताले `पत्र पठाइ सकियो´ भनेर सदनलाई जानकारी पनि गराए । तर, त्यो पनि एमसिसीमा `फातिमालाई पत्र लेखेकै छैन र होइन´ भने जस्तै सफेद झुठ थियो । अहिले फेरि पत्र पठाइ सकियो भनिदै छ । तर, जनता भने सरकारको उक्त भनाइको विश्वास गर्न सकिरहेका छैनन् । र, सरकारले अहिलेसम्म विश्वास गर्न सक्ने व्यवहार पनि गरेको छैन ।

एमाले अध्यक्ष ओली `सम्बृद्ध नेपाल सुखी नेपाली´ को नारा बोकेर राष्ट्र विकास गर्ने विचार व्यक्त गर्दै हिडिरहनु भएको छ । उहाँको पालामा कमसेकम विद्यार्थीले किताबको अभाव र किसानले मलको अभाव भोगेका थिएनन् ।अहिलेको परमादेशी सरकाले भने किसान, विद्यार्थी दुवैलाई निराश बनायो । लाज घिनसमेत हराएका गठबन्धनका नेताहरू भने किसानलाई मल र विद्यार्थीलाई किताबसमेत दिन नसकेकोमा  लाचारी प्रकट गर्न पनि सकिरहनु भएको छैन । यस्तो अवस्थामा अब अाउने चुनाव काङ्ग्रेसका झड्केलाहरूको लागि पहाड बनेर खडा हुनु स्वभाविकै हो । एकातिर एमाले जस्तो सुदृढ संगठन, सशक्त  कार्यकर्ता पङत्ती र जनताले विश्वास गरेको पार्टी विपक्षमा खडा छ  भने अर्कातिर नेपाली काङ्ग्रेसले `झड्केलो अंश´दिएन भने अाफूहरू मटियामेट हुने डर छ ।

Facebook Comments