यात्रा
कविता
यात्री उही, यात्रा नाैलाे,
बाटाे उही, गन्तव्य नाैलाे,
स्थिर छ, तर यात्री अशान्त
हिँड्दैछ, तर मन आक्रान्त ।
सुन्दै चित्कार डुबी वेदनामा
फेरि, यात्री हिँडदै छ, समय सीमामा ।
कहिले उकाली, कहिले ओराली,
खाेज्दै, छहारी, बिसाउन मनको भारी ।
क्षणभर, विश्रामकाे खाेजीमा,
विचलित छ मन,
थकित छ तन, तर
आँखा झिम्कन्नन् एक झण ।
सहारा र साहसकाे
लाैराे टेकी,
शिथिल शरीर धकेल्दै,
अन्य आकर्षणहरू
फेरि, सहारा खाेज्दा,
मक्किएकाे लाैराे छ हातमा ।
दायाँबायाँ,
तलमाथि, चारैतिर हेर्दा,
ऊ आफ्नाे एक्लाे छायाँ मात्र देख्छ ।
साेच्छ, श्रृष्टि रचना कस्ताे,
मानव चाेला किन यस्ताे, सस्ताे ।
निरीह सुस्केरा छाड्दै,
बसाइ, बिसाइ
विवश, ऊ पारि हेर्छ ।
एउटा सपनाकाे गाउँ छ,
बयली खेल्दै हुर्केकाे ठाउँ छ,
यात्री उहीँ, यात्रा भने अनेक छ ।
Facebook Comments