परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मदन–आश्रितप्रति शब्दश्रद्धा

हरेक जेठ महिनाको ३ गतेले मदन मण्डारी र जीवराज आश्रितलाई सम्झाउने गर्दछ । सम्झाउने भन्ने शब्दले सायद सबै नेपालीको भाव–अवस्थालाई पूरापूररूपमा समेट्दैन होला कि ! तर, त्यसभन्दा अर्को शब्द खोज्नतिर लाग्न मेरो मनस्थितिले अहिले दिइरहेको छैन । त्यसैले त्यतातिर लागिन । हा ! त्यो दासढुङ्गा, त्यो पजेरो, ती ड्राइभर अनि त्रिशूली नदी ।

आजको यो दुर्भाग्यपूर्ण घटना भएको मिति नदोहोरिए हुन्थ्यो भन्ने लागिरहन्छ। नचाहँदा नचाहँदै पनि उहाँहरूको अनुपस्थिति स्वीकार्न वाध्य हुनुपरिरहेको छ। यति हुँदाहुँदै पनि मदन भण्डारीले प्रतिपादन गर्नुभएको राजनीतिक ढाँचाले मूर्तरूप लिए हुन्थ्यो भन्ने मनमा भइनै रहन्छ। उहाँ दुवैप्रति भावपूर्ण शब्दश्रद्धा!

नेपाली राजनीतिमा मदन भण्डारीको नाम अब सम्भवतः मेटिने छैन । उहाँको नाम आउनासाथै उहाँलाई काँधमा काँध मिलाएर सहयोग गर्नुभएका जीवराज आश्रितको नाम पनि आइरहने छ । विश्व राजनीतिमा जताततै कम्युनिष्ट दर्शन कमजोर भयो भनिरहिएका बेला नेपालमा त्यसको उल्टो दिशामा हावा बगाउन सफल हुनुभएकाले उहाँहरू सदा सम्झना गरिनेमा पर्नुभएको हो ।

मैले यहाँ मदन भण्डारीसँग सम्बन्धित मेरा केही सम्झना लेख्न खोजेको छु । सामान्य नेपाली परिवारमा त्यतिबेलासम्म टेलिभिजन पुगिसकेको थिएन । जसका घरमा हुन्थ्यो, त्यो घरमा टेलिभिजन हेर्न धेरै छरछिमेकी भेला हुन्थे । टेपरेकर्डर भने अलि बढी घरमा पुगेका थिए ।

त्यतिबेला टेपरेकर्डरमा सुनिनेमा गीतपछि हास्यब्यङ्यात्मक कार्यक्रम हुन्थे । छिमेकी श्यामका घरमा एउटा टेपरेकर्डर थियो । गाउँका हामी प्रायः त्यहाँ बसेर मह जोडीका, गाइजात्राका हास्यब्यड्य, नेताका भाषणका टेप सुन्थ्यौँ ।

एक दिन छिमेकी नन्दराजले भने– इनरुवामा भोलि पद्मरत्न तुलाधरलगायतका नेताले आमसभालाई सम्बोधन गर्ने अरे । त्यतिबेलाका नेतामा तुलाधरको भाषणलाई धेरैले मनपराउने गरेका थिए । मैले त्यस अघि पनि उहाँलगायत त्यहाँ आउने भनिएका नेताहरूका भाषण धेरै पटक सुनिसकेको थिएँ । कतिपयका भाषण त प्रत्यक्ष उपस्थित भएरै सुनेको थिएँ ।

मन हुँदाहुँदै पनि खेतीको कामले गर्दा म त्यहाँ जान सकिँन । साँझमा फेरि नन्दराजसँग भेट भयो । मैले सोधेँ– कस्तो लाग्यो त पद्मरत्नको भाषण ? उनले सुरुमा केही उदास र पछि प्रशन्नभावमा भने– पद्मरत्नहरू त आउन भ्याउनुभएन छ तर उहाँहरू नआए पनि केही गुनासो छैन । गज्जबको भाषण सुन्न पाइयो।

उनको यो जवाफपछि मेरो मनमा कुतुहल जाग्यो– पद्मरत्नभन्दा पनि राम्रो भाषण कसले ग¥यो होला ? त्यसपछि उनले नेकपा (एमाले) का महासचिव मदन भण्डारीको भाषणको ज्यादै प्रशंसा गरे । उनले, मैले र सम्भवतः सुनसरी जिल्लाको सदरमुकाम इनरुवावरिपरिका धेरैले पहिलो पटक मदन भण्डारीको नाम सुनेका हौँ त्यतिबेला ।

त्यसको भोलिपल्ट हुनुपर्छ, खै कहाँबाट आयो, हामीले उहाँको भाषणको टेप सुन्यौ । म त्यतिबेला काठमाडौँमै बस्ने गर्थें । यसबीचमा धेरैका भाषण सुन्ने अवसर पाएको थिएँ । त्यति जोडदार अपिलसहितको भाषण मैले सुनेकै थिएन । हामी सबै मुग्ध थियौँ । सबैका मन जोशले भरिएका थिए ।

इनरुवाको त्यो आमसभा मदन भण्डारीले खुलारूपमा सम्बोधन गरेकामध्ये पहिला पहिलामा पर्छ होला भन्ने मलाई लाग्छ । त्योभन्दा पहिले काठमाडौँमा पनि उहाँले आमसभालाई सम्बोधन गरेको सम्झना छैन । झापा हो वा मोरङ जिल्लामा चाहिँ गर्नुभएको समाचार सुनेको थिएँ जस्तो लाग्छ ।

उहाँहरूसँगको अर्को सम्झना दुर्घटना भएको दिनको हो । विक्रम संवत २०५० जेठ ३ (सन् १९९३ मे १६) को त्यो दिन म इनरुवा नै पुगेको थिएँ । संयोग पनि कस्तो– उहाँले पहिलो आमसभालाई भगवती माध्यमिक विद्यालयको चौरमा सम्बोधन गर्नुभएको थियो । जेठ ३ गते म त्यही चौरभन्दा सय मिटर जतिमात्रको दूरीमा थिएँ । त्यहीँ मैले यो त्रासद् समाचार सुन्नुप¥यो ।

त्यतिबेला म संसद् सचिवालयमा रिपोर्टरको रूपमा काम गर्थें । मलाई प्रतिनिधिसभातिर खटाइएको थियो । राष्ट्रिय पञ्चायतका २०४५ र २०४६ सालका अधिवेशनमा पनि काम गरिसकेको र प्रजातन्त्र पुनर्वहालीपछि पनि संसद् सचिवालयमा काम गरिसकेको हुँदा म सबैसँग परिचित थिएँ ।

प्रतिनिधिसभातिरको रिपोर्टिङ शाखाका प्रमुखमा मेरा आदरणीय राधेश्याम भट्टराई हुनुहुन्थ्यो । उहाँले मलाई अलि बढी नै प्रोत्साहन गर्नुहुन्थ्यो ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले देशैभरिको प्रहरी प्रशासनको अवस्था अध्ययन गर्ने निर्णय गरेछ । त्यसका लागि पाँच वटा विकास क्षेत्रका लागि पाँचवटै टोली बनाएछ । समितिका सभापतिमा अशोककुमार राई हुनुहुन्थ्यो । पूर्वाञ्चल विकास क्षेत्र जाने टोलीको नेतृत्व उहाँले गर्ने हुनुभएछ । त्यो टोलीको सचिवको कामका लागि कर्मचारीको खोजी हुँदा मलाई खटाइयो ।

सचिवका रूपमा मेरो काम टोली नेताका साथै सदस्यहरूको सल्लाहमा कहिले कहाँ पुगेर के गर्ने भन्ने तय गर्नु थियो । त्यहाँ भएका कुराहरूको टिपोट गरेर सचिवालयमा रिपोर्ट बुझाउने जिम्मा पनि मेरै थियो ।

त्यसक्रममा सबैभन्दा पहिले विराटनगर गएर सुनसरीमा बास बस्ने निधो भयो । निर्धारित कार्यक्रम अनुसार हामी सुनसरी जिल्लाको इनरुवा पुग्यौँ । त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रमादेव जोशीसँग भेट भयो । उहाँले सांसदहरूसँगै मलाई पनि आफ्नै सरकारी निवासमा बस्ने व्यवस्था मिलाउनुभयो ।

मेरो घर त्यहाँबाट मुस्किलले दुई किलोमिटर हुँदो हो तर उहाँले मलाई जान दिनुभएन । बिहान जाउँला भन्नुभयो । साँझ पर्न लागिसकेको थियो । चिया, खाजा खान आग्रह भयो । सांसदहरू अशोककुमार राई, दुर्गानन्दप्रसाद सिंह थारू र सन्तप्रसाद चौधरी हुनुहुन्थ्यो त्यतिबेला । टोलीका अन्य सदस्यले आफूहरू पछि सामेल हुने भन्नुभयो ।

साँझको बेला बसेर चिया, खाजा खाँदै कुराकानी भइरहेको थियो– राज्य व्यवस्था समिति अन्तर्गत पर्ने निकायहरूका बारेमा । यसैबीचमा इनरुवा अस्पतालमा कार्यरत डाक्टर ‘सिडिओ सा’प’ भन्दै अत्तालिँदै आउनुभयो ।

सिडिओ जोशी अलिक ठट्यौलै मिजासको हुनुहुन्छ । उहाँले मुस्कानका साथ ‘हैन के भयो हौ डाक्टर सा’प ?’ भन्नुभयो । त्यसपछि जुन समाचार सुन्नुप¥यो, त्यो सुन्नका लागि कोही पनि तयार हुँदैन । हामी पनि थिएनौँ ।

ती डाक्टरले भर्खरै रेडियोमा ज्यादै दुःखद् समाचार आयो मात्र भन्नुभयो । थप सोद्धा उहाँले त्यतिबेलाका ज्यादै लोकप्रिय नेता मदन भण्डारी र नेकपा (एमाले) को संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको पजेरो त्रिशूली नदीमा खसेको समाचार सुनाउनुभयो ।

डाक्टरले यति के सुनाउनुभएको थियो अशोककुमार राईको होसहवासै उड्यो । उहाँले तुरुन्तै काठमाडौँमा फोन गर्नुभयो । समाचारको आंशिक पुष्टी भएपछि उहाँ त्यतिबेलै विराटनगर जाने र भोलिपल्टको विमानबाट काठमाडौँ पुग्नेगरी हिड्नुभयो । हामीलाई भने निर्धारित कार्यक्रम अनुसार नै गर्दै रहनुहोला भन्नुभयो ।

संसद्कै कर्मचारी भएका नाताले मदन भण्डारीलाई नजिकबाट हेर्ने मौका पाएको छु । अन्य सांसदसँग कुरा गरेको नजिकबाट सुनेको छु । क्यान्टिनमा खाजा–खाना खाँदा पनि उहाँलाई विपक्षका समेम सांसद्ले घेरेर सम्मानपूर्वक कुराकानी गरेको देखेको छु । उहाँको त्यो फरासिलो व्यक्तित्व सम्झनामा आइरहन्छ । उहाँको आत्मविश्वासपूर्ण प्रस्तुतिले मेरो मनलाई लोभ्याइरहन्छ ।

संसद्मा उहाँले गरेका सम्बोधन मेरा सम्झनामा आइरहन्छन् । अरूले सम्बोधन गर्दा सांसदहरूको उपस्थिति फाट्टफुट्टमात्र हुन्थ्यो । दर्शकदीर्घा त प्राय खाली नै हुन्थे। उहाँको चाहिँ कुरै अर्कै हुन्थ्यो । आकर्षण नै बेजोड थियो । संसद्मा सबैभन्दा बढी सुनिने सम्बोधन नै उहाँको हुन्थ्यो । अरू त अरू हामी कर्मचारी पनि सबै काम छाडेर प्रतिनिधिसभाको त्यो हलमा भीड लागेका हुन्थ्यौँ ।

आजको यो दुर्भाग्यपूर्ण घटना भएको मिति नदोहोरिए हुन्थ्यो भन्ने लागिरहन्छ । नचाहँदा नचाहँदै पनि उहाँहरूको अनुपस्थिति स्वीकार्न वाध्य हुनुपरिरहेको छ । यति हुँदाहुँदै पनि मदन भण्डारीले प्रतिपादन गर्नुभएको राजनीतिक ढाँचाले मूर्तरूप लिए हुन्थ्यो भन्ने मनमा भइनै रहन्छ । उहाँ दुवैप्रति भावपूर्ण शब्दश्रद्धा !

Facebook Comments