परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

गुरुबिनाको वस्तु र चेलो नबनेको मानिस छैन

सन्दर्भ : गुरुपूर्णिमा

अस्ति गुरु पूर्णिमाको बिहान गुरुहरूको सम्झना भयो । मैले पनि उहाँहरूप्रति मनबाटै आदर एवं श्रद्धा अर्पण गरेँ । अनि जाग्यो गुरुबारे जान्ने इच्छा । पल्टाएँ नेपाली बृहत् शब्दकोश । त्यहाँ गुरुको अर्थ यस्तो रहेछ-

गुरु ना०सं०
१. कुनै पनि विद्या वा शिक्षा प्रदान गर्ने व्यक्ति; शिक्षक; अध्यापक ।
२. सङ्गीतकला आदि सिकाउने व्यक्ति; उस्ताद ।
३. गायत्री, वेदमन्त्र आदि दीक्षा दिने व्यक्ति; आचार्य ।
४. बुद्धि, बल, उमेर, विद्या आदिमा श्रेष्ठ तथा आदरणीय वा पूज्य व्यक्ति मान्य जन ।
५. छन्दशास्त्र अनुसार दुई मात्रा हुने अक्षरस दीर्घ अक्षर वा सो जनाउने चिह्न (ऽ) ।
६. सङ्गीतमा एउटा दीर्घ वा दुइटा लघु मात्रा हुने तालको अंश ।
७. नवग्रहमध्ये एक; बृहस्पति ।
८. वि. तौल वा भार भएको; कठिन (गुरुभार, गुरुकार्य इ०) ।
९. गाह्रोसित पच्ने वा पाक्ने (गुरूपाक) ।
१०. वजनदार, गहकिलो ।
११. बडेमाको; महत्त्वपूर्ण; ठूलो । –आमा– ना० १. गुरूपत्नी; गुरुमा । २. अध्यापन गर्ने महिला; शिक्षिका ।

विशिष्ट प्राणी मानिने मानवका रूपमा यस लोकमा गति मिलाउन उहाँहरूबाट पाइएका अमूल्य ज्ञान एवं प्रेरणा बिर्सन सकिने कुरै भएन। आद्य (सबैभन्दा पहिलो) गुरुका रूपमा रहनुभएकी मेरी आमा भूवनेश्वरी दहाल सुवेदीको स्वरूप आँखा अगाडि आयो नै । अनि आउनुभयो दाजुहरू भरतमणि र झलकमणि सुवेदी, दिदी मेनुका कोइराला, दाजु भीमप्रसाद भण्डारीसँगै ती सबै गुरु, जसले व्यवहारदेखि अक्षरमा रहेका ज्ञान दिनुभयो ।

व्यवहार कसरी गर्ने भन्ने, समाजमा कुन कुरा कसरी गर्दा ठीक हुन्छ भनेर सिकाउनुहुने परिवारका सदस्य, छरछिमेकी, इष्टमित्र सबै सबैका तस्बिर मनमा आए । यसक्रममा छिमेकी काका ठाकुरनाथ पोखरेल पनि आउनुभयो । घरमा पालेका बाख्रापाठा, गाईबाच्छा बाँध्न चाहिने दाम्ला बाट्न सिकाएर उहाँले ठूलो गुन लगाउनुभएको छ ।

खेतमा बीउ कसरी छर्ने, हलो कसरी जोत्ने भनेर सिकाउने परिवारकै सदस्यसरह रहनुभएका सीताराम मेहता कोइरीलाई बिर्सन सकिन । परिवारको सदस्यसरहकै रूपमा रहनुभएका पलट बाँतर सरदार, भोला सरदार, कृष्णा सरदार, चैतु सरदार, बौवालाल सरदार सबै सम्झनाको लहरोमा पर्नुभयो ।

सबैभन्दा पहिले सावा अक्षर चिनाउने रामचन्द्र पोखरेल दाई नआउने कुरै भएन सम्झनामा । त्यसपछि आउनुभयो कायस्थ सर (क्षमा गर्नुहोला, उहाँले पढाउनुभएका हामीमध्ये धेरैलाई उहाँको नाम थाहा छैन । ‘काइते सर’ नै हो हामीले जानेको उहाँको नाम), जसले ठूलो वर्णमालामा रहेका हिसाब र अंग्रेजीको शिक्षा दिनुभयो । शशीप्रसाद बजगाईँ, गुरूप्रसाद पोखरेल, कुमार पोखरेल आदि नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बलाहाका शिक्षकहरूलाई पनि सम्झेँ ।

माध्यमिक विद्यालय तहको शिक्षा पाएको चन्द्र साङ्ग वेद महाविद्यालय, धरान (चन्द्र संस्कृत माध्यमिक विद्यालय) का गुरुहरू सर्वश्री गोपीकृष्ण गौतम, लोकनाथ लुइँटेल, उमानाथ पोखरेल, दयाराम चौधरी, मिश्र, नेत्रप्रसाद काफ्ले, भीमप्रसाद गौतम, रुद्रनारायण झा, शशीसेखर श्रेष्ठ, विश्वनाथ साह, वासुदेव भण्डारीलाई कसरी पो बिर्सन सक्थेँ र !

उच्च शिक्षा संस्थाका सर्वश्री छविलाल पोखरेल, टीकाप्रसाद वस्ती, पुरुषोत्तम भट्टराई, भोग्यप्रसाद भण्डारी, रघुनाथप्रसाद बर्मा, नारायणप्रसाद कट्टेल, मानबहादुर श्रेष्ठ, पन्त गुरु, बालकृष्ण पोखरेल, भानुभक्त पोखरेल, नरेन्द्रराज चापागाईँ, घटराज भट्टराई, रमेश भट्टराईलगायतले मलाई समाजमा अहिलेको अवस्थामा पुग्न बाटो देखाई दिनुभयो ।

तीसको उमेर कटिसकेपछि सुरु गरेको पत्रकारिताका गुरुहरु पनि स्मरणमा आउनुभयो । अनि आउनुभयो वातावरणका क्षेत्रमा विभिन्न अवसरमा ज्ञान दिनुहुनेहरु । जागिर खाँदाका राधेश्याम भट्टराई, शशीकान्त मैनाली, शरच्चन्द्र कोइरालाहरुबाट अमूल्य व्यावहारिक ज्ञान पाएको छु ।

आफू पनि बाँच्ने र अरूलाई पनि शीतल छहारीसँगै प्राणवायु अक्सिजन प्रदान गरेर रुख विरुवाले ज्ञान बाढिरहेकै छन् । आफ्नै शरीर दान गरेर उनीहरूले प्राणीको आहारा उपलब्ध गराइ रहेकै छन् । काठका रूपमा शरीरका टुक्रा दिएर बस्ने ओत पु¥याइ दिएका छन् । मानवको स्वभाव र कर्म त्यस्तै हुनुपर्ने ज्ञान दिने प्रकृतिका ती गुरुहरूलाई पनि यस अवसरमा सम्झिई रहेको छु ।

गुरुको महिमा कति छ भनेर नाप्न नसकेर नै हुनुपर्छ, पूर्वीय मनिषीहरूले पहिले नै समग्रमा भनेका– गुरु भनेका परब्रह्म अर्थात कुनै पनि आकार र उपाधिरहित परम सत्ता हुन् ।

गुरुका प्रकार

जसबाट ज्ञान पाइन्छ, उनै गुरु हुन् । बारम्बार असफल भए पनि प्रयास गर्न नछाड्ने ज्ञान दिने कमिलालाई गुरु मान्न सकिन्छ । नामचिन्तामणि नामक ग्रन्थमा १२ किसिमका गुरुका बारेमा उल्लेख छ, जुन यस्ता छन्–

धातुवादी गुरु : यस्तो गर्नु हुन्छ, यस्तो गर्नु हुँदैन भनेर उपदेश दिनेहरूलाई धातुवादी गुरु भनिन्छ ।

चन्दन गुरु : यस्ता गुरुले वनमा रहेको चन्दनको रुखले आफू नजिकको रुखलाई पनि सुगन्धित बनाउँछन्, त्यस्तै काम गर्छन । उनीहरू भनेर नभई उदाहरणीय आचरण प्रस्तुत गरेर आफू नजिक पर्नेहरूलाई पनि त्यस्तै व्यवहार गर्न प्रेरित गर्छन् ।

विचारप्रधान गुरु : यो सृष्टिको सार भनेको ब्रह्म वा परमात्मा हुन् । असार भनेका प्रकृतिबाट बनेको शरीर हो । त्यसैले प्रकृतिबाट बनेको शरीर प्राकृतिकरूपमा चलिरहोस् तर तिमी चाहिँ आफ्नो ब्रह्मस्वभावमा रहू भन्ने जस्ता ज्ञान दिने गुरु –आत्म) विचारप्रधान गुरु हुन् ।

कृपाप्रधान गुरु : दया वा कृपाद्वारा आफ्ना शिष्यहरूलाई सफल पार्न लागिपर्ने गुरु । यस्ता गुरुले शिष्यहरूलाई बाटो देखाउने, राम्रो काम गर्न प्रोत्साहन गने र नराम्रो गर्दा चित्त दुखाउने गर्छन् ।

पारस गुरु : पारस नामको मणिले फलामलाई छुवाउँदा त्यो फलाम सुन हुन्छ भन्ने कथन पाइन्छ । त्यसैगरी, आफूसँग आउनेहरूलाई उनीहरूमा रहेका दोष हटाएर योग्य एवं शान्त बनाउन सक्ने गुरुलाई पारस गुरु भनिएको छ ।

कछुवा गुरु : पोथी कछुवा वा आमाले हेरेरै नै आफ्न सन्तानलाई अघाउछन् (खुवाउँछन्) भनिन्छ । यसखाले गुरुले आफू जहाँ भए पनि दृष्टिबाट आफ्ना शिष्यलाई ‘गुरु त मसँगै हुनुहुन्छ’ भन्ने पारेर उनीहरूलाई मार्गनिर्देशन गरिरहेका हुन्छन् ।

चन्द्र गुरु : देख्दा नै वा सम्झँदामात्र पनि मनमा श्रद्धा, आदर उत्पन्न हुने गुरुलाई चन्द्र गुरु मानिन्छ ।

दर्पण गुरु : ऐनाको अगाडि पुग्दा आफ्नो अनुहार जसरी देखिन्छ, त्यसरी नै गुरुका अगाडि पुग्दा शिष्यलाई आफ्ना गुण वा दोष देखिने क्षमताका गुरुलाई दर्पण (ऐना) गुरु भनिन्छ ।

छायानिधि गुरु : आकाशमा उड्ने तर नदेखिने अजगैबी नामको चरोको छाया जसमा पर्छ, ऊ राजाबन्छ भन्ने दन्त्यकथा छ । त्यसैगरी, आफ्ना शिष्यप्रति सधैँ कृपा प्रदान गर्ने गुरुलाई छायानिधि गुरु भनिएको छ ।

नादनिधि गुरु : नादनिधि मणिले कुनै पनि धातुलाई छुवाउँदा त्यो सुन बन्छ भन्ने भनाइ छ । पारस नामको मणिले चाहिँ फलामलाई छुवाउँदामात्र त्यो फलाम सुन हुन्छ भनिन्छ । यस्तै शक्ति वा प्रभावका गुरुलाई नादनिधि गुरु भनिएको छ ।

क्रौञ्च गुरु : खानेकुराको खोजीमा आफ्ना बच्चा छाडेर हिँडेकी पोथी क्रौञ्च (आमा क¥याङकुरुङ) बेलाबेलामा आकाशतिर हेरेर आफ्ना बच्चालाई सम्झन्छन् । उनीहरूले यसो गर्दा उनका बच्चा अघाउँछन् भन्ने विश्वास छ । त्यसैगरी, जहाँसुकै भए पनि यस्ता गुरु आफूसँग रहेको शिष्यहरूलाई भान परिरहेको हुन्छ ।

सूर्यकान्त गुरु : सूर्यकान्त नामको मणिमा सूर्यको किरण पर्दा मणिमा आगो उत्पन्न हुन्छ भन्ने भनाइ छ । त्यसैगरी, आफ्ना शिष्यलाई देख्ने वित्तिकै उनीहरूको भलो गरिदिने गुरुलाई सूर्यकान्त गुरु भनिएको छ ।

यसैगरी, सहप्राध्यापक माधवप्रसाद पाण्डेय ‘विद्यावारिधि’ ले एउटा लेखमा ‘गुरुगरिमा’ शीर्षकमा गुरुका प्रकारबारे उल्लेख गर्नुभएको छ । त्यसमा उहाँले सूचक, वाचक, बोधक, निषिद्ध, विहित, कारण र सद्गुरु अर्थात् परम गुरु गरी ७ प्रकारका गुरुको उल्लेख पाइन्छ भन्नुभएको छ । उहाँले गुरुहरूको चर्चा यसरी गर्नुभएको छ-

सूचक : वर्ण र अक्षरद्वारा सिद्ध गरिने बाह्य लौकिक शास्त्रको अभ्यास गर्ने व्यक्तिलाई सूचक गुरु भनिन्छ ।

वाचक : धर्म र अधर्म निश्चय गर्ने, वर्ण र आश्रम अनुसारको विद्याको प्रवचन गर्ने व्यक्तिलाई वाचक गुरु भनिन्छ ।

बोधक : पञ्चाक्षरी आदि मन्त्रहरूको उपदेश दिने व्यक्तिलाई बोधकगुरु भनिन्छ ।

निषिद्ध : मायामा फसाउने, वशमा गराउने, मार्ने, मारण, मोहन, उच्चाटन आदिको प्रयोग गर्ने÷गराउने जस्ता तुच्छ कार्यप्रदायक मन्त्रहरू सिकाउने व्यक्तिलाई निषिद्ध गुरु भन्दछन् ।

विहित : संसार अनित्य र दुःखहरूको घर हो भन्ने सम्झी वैराग्यको मार्गमा हिँड्ने÷हिँडाउने व्यक्तिलाई विहित गुरु भनिन्छ ।

कारण : तत्वमसि आदि महावाक्यहरूको उपदेश दिने र संसाररूपी रोगहरू निवारण गर्ने व्यक्तिलाई कारणाख्य गुरु भनिन्छ ।

परम वा सद् : सबै प्रकारका सन्देहहरू पूर्णरूपमा निवारण गरी जन्म–मृत्युको भयबाट मुक्ति दिलाउनेलाई परमगुरु अथवा सद्गुरु भनिन्छ ।

यसैगरी, पद्मपुराणको खण्ड ३ (स्वर्गखण्ड), अध्याय ५१ मा पठाउने व्यक्ति, आमा, वुवा, दाजु, हजुर आमा–हजुरबा, ठूलाबा–काका, मामा, सासू–ससुरा, फुपू–फुपाजु, आफूभन्दा जेठा मानिस, गुरु आमा आदिलाई गुरु मान्नुपर्छ भनिएको छ । तीमध्ये पनि पाँचखालका गुरु विशेष मानेर आमालाई चाहिँ सर्वश्रेष्ठ गुरु मानेको पाइन्छ ।

तन्त्र शास्त्रमा गुरु, परमगुरु, परात्पर गुरु र परमेष्ठी गुरु गरी चार थरी गुरुको वर्णन पाइन्छ ।

संसारका सबै वस्तुले केही न केही ज्ञान दिइरहेकै हुन्छन् । त्यसैले ढुक्क भएर भन्न सकिन्छ– गुरुबिनाको वस्तु छैन । शिष्य (चेलो) नबनेको मानिस छैन । जय गुरु !

Facebook Comments