परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मानवीय जीवन, मृत्यु र कर्तव्य

बुढ्यौली कविता शृङ्खला -२१

जो जन्मन्छ सबै जना उपरको बाटो लिने हुन् खुदै

जाने हो कहिले र बाँच्न कति हो खाता कि बाँकी अझै

मेरा दाजु सबै जना अघि गए बाटो लिए स्वर्गको

आजैका दिन भाउजू पनि गइन कोभेडको देन हो ।

 

जानै पर्दछ जन्मिए पछि यहाँ को बस्छ आजीवन

मान्छेको जिउ घाटसम्म जिउँदो माटो छ जल्दा तन

छोरा हो रति ताप शोक मनमा केही नलेऊ अब

माटो नै हुनुपर्छ मानिस भई यो सत्य जान्नू सब ।

 

मेरा बाबु गए उतैतिर अघि आमा उतै जानु भो

काकाजी पनि धेर थे सब गए गन्तव्य सोही थियो

लीला गर्न भनेर यो धरणिमा मान्छे खटाए पछि

सोही कर्म सकेर पात्र उसले लैजान्छ पर्दा पछि ।

 

मान्छे जन्मनु बढ्नु मर्नु सब यी खेला बुझे हुन्छ रे

आफ्नो भाग र भोग के छ भवको पूरा उही गर्छ रे

यो सानो अहिले छ बालक ठुलो होला अवश्यै पनि

तातो घाम छ हेर जो गगनमा डुब्ने छ साँझै अनि ।

 

राजा वा बलिया सबै जन यही  गन्तव्य छान्दै गए

ज्ञानी धेर गए समाज ऋषिका बाटा यतै सोझिए

कोही झट्पट फिर्छ यो भुवनको फेरो रुचाउन्न र

कोही बेर लगाउने छ निजको बाटो हराउन्न र ।

 

अन्य आकर्षणहरू

भरोसाको त्यान्द्रो चुटेको बेला

फूल अर्पन्छु लौ प्रेमका निम्तिमा

आरन  हेर्न  आएँ

आँखा अस्पताल र भित्री आँखा

बुढ्याइँ दुखेको छ मेरो !

तिम्रो भाग्य रहेछ पुण्य सबले रामै गरेका थियौ

आमाको सब कार्य पूर्ण गर लौ छोरा भई जन्मियौ

आमा हुन् सब भाइकी रगतको नाता छ गाढा कति

आमाकै ममता र दिव्य करुणा सुम्पन्छ बाँच्ने गति ।

 

राम्रो काल भयो सबै घर थियौ तिम्रा यही काखमा

आमाको पर लोकको गमन भो पानी दियौ आँतमा

मेरा पुत्र त देश बाहिर गए केही नराम्रो भए

को होला गति अग्नि पिण्ड कसले देला मलाई हुने ?

 

आफ्नो जीवन जो बचाउन सक्यो कर्तव्य गर्दै रह्यो

भोका मानिसमा दयाद्र मनले अन्नादिको दान जो

गर्दै जीव समस्तका हृदयका भाषा बुझेका घडी

राम्रो दान र पुण्य यो जगतको के हुन्छ अर्को थरी ?

 

लोकाचार निभाउनू जननिको श्रद्धा मनैमा लिनू

आफ्नो ज्यान बचाउनू धनहरू सत्कार्यमा लाउनू

राम्रो रीत गरेर दान र सिदा सम्पन्न कार्यादि हुन्

सच्चा पुत्र कहन्छ यो विषयमा केही कमी नै न हुन् ।

 

(कोभिड-१९ का कारण मृत्यु भएकी भाउजूको दाह संस्कारपछि छोराहरू (भतिजाहरू) लाई सम्झाउँदै ७८ वर्षिय वृद्ध काका )

 

छन्द :- शार्दुलविक्रीडित

Facebook Comments