हाम्रो आगत
कविता
एउटा पुस्ता थियो,
हामीभन्दा अघि थियो,
हामी उसको पछि-पछि थियौँ,
‘हाम्रो विगत थियो, र त वर्तमान छ’
उसले यही भनिरह्यो,
हामीले सुन्यौँ शायद लाखौँ पटक,
र विश्वास गर्यौँ उसैगरीः
‘हो विगत हुन्छ, र त वर्तमान हुन्छ’।
अरे… आगत पनि त थियो नि
हामी दुबै थरिको!
तर हामीले वेवास्ता गर्यौँ
वा उसलाई कहिल्यै सोधेनौँ;
उसले बुझेरै भनेन आफ्नो आगत
किनभने त्यसमा उसले आफूलाई देखेन,
उसले जानीजानी भनेन हाम्रो आगत
किनभने त्यसमा हामीलाई मात्र देख्यो।
अहिले हाम्रो वर्तमान सक्रिय छ
र आगतको चासो बढेको छ,
तर शायद उसबेलाको रटानको असरले
वा वेवास्ताबाट आर्जेको अल्पज्ञानले,
हामी झक्झक्याउन वाध्य छौँ
फेरि उही थला परिसकेको पुस्तालाई,
र बारम्बार सोध्दैछौँ उसैलाईः
‘के हो हाम्रो आगत?’
ऊ पनि बुझाउन खोज्दैछ मरितरीः
‘हाम्रो विगत थियो, र त वर्तमान थियो…!’