दुई टुक्रा कविता
ईच्छा
गौँथलीले बिष्ट्याएको झोंकमा
घरको छानामा राँको झोसेर
आँगनमा मादल ठोक्दै नाच्दै
गाएथ्यो रे कसैले:
“खुचिङ् पर्यो गौँथली
भरेदेखि काँ बस्छेस् बास् !”
यस्तै-यस्तै गरूँ झैँ भइरहेछ
मलाई पनि हिजोआज,
झ्याल-ढोका र ताला-चाबी बेचेर
दाम कमाउने झोँक जागेको छ,
आफ्नै ईनारमा बिख हालेर
नाम कमाउने भोक लागेको छ।
यसरी नै बित्ला जस्तो छ
यो जूनी, हे श्रृष्टिकर्ता,
मान्छे नै बनाउने भए मलाई
अर्को जूनीमा,
निर्लज्जताको हद दिनू,
बुद्धि अनुसारको कद दिनू !
बहिष्कार
यता आफूलाई,
शब्दसँग चल्ने अनि वाक्यसँग खेल्ने तलतल लागिरहने
कहिले बिम्ब अनि कहिले अलंकार फुत्त-फुत्त भागिरहने
उता भने,
मेरा अल्पविराम, पूर्णविराम अनि विसर्गहरूले समेत घोचेको रे
बिम्ब र अलंकारहरूमात्र कहाँ मलाई नै बहिष्कार गर्ने सोचेको रे!