मेरो गाउँप्रति गीति समर्पण
धेरै पछि
धेरै पछि गाउँ गएँ
एकलै डुलेँ बन-पाखा,
यस्तो लाग्यो भेट भए
छुट्टिएका मीतहरू
ठाउँ उही दृश्य अलग
अलग लाग्यो ज्युने कला,
आफ्ना बैरी पार्ने सबै
तोडिएका रीतहरू
मान्छे उही मुस्कान उही
उस्तै लाग्यो मन मुटु
मनै त हो जोडी आएँ
छोडिएका प्रीतहरू
भोको पेटमा गाएको थेँ
नाचेको थेँ नाङ्गो पाउ
सम्झी सबै गाउँछु अब
बिर्सिएका गीतहरू
कहिले हुने
मेरो पनि नाम हुन्छ भन्ने आज मैले सुनेँ
आफ्नो आँगनभन्दा पर काम लाग्ने कहिले हुने?
तिम्रो भाग्य ठूलो बन्छ भन्दा मैले भोट दिएँ
छानोभरि दुलो सम्झी अलिकति नोट लिएँ
छानो टाल्नुमात्र भाग्य होइन भन्ने मैले सुनेँ
आफ्नो आँगनभन्दा पर काम लाग्ने कहिले हुने?
ऋण बोकी छोरो उड्यो जेनतेन भित्तो टालेँ
एक टुक्रो माटो जोडेँ दुई छाक खान थालेँ
छाक टार्नलाई मात्र जूनी होइन मैले सुनेँ
आफ्नो आँगनभन्दा पर काम लाग्ने कहिले हुने?