परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हिजो पनि भत्किएन !

फुटानी

होइन आज त घरको पाखो नै उडाउला जस्तो गरेर हावा चल्यो त झुम्री ! चोया लेले मूल बलो कस्नु पर्‍यो । होइन फुइँकी पनि कस्तो चलेको हँ ? हेर्त बोस्तेको तिर हावा चलेकै छैन । हाम्रो भने अस्ति मात्रै जोडेको यो पाली (घरमा थपेको अर्को भाग) उछिट्टेला जस्तो छ ।

के गर्छौ त बुढा ! ठयाक्कै एमालेमा माओवादी जोडे जस्तो भा’को छ । उछिट्टिन वेर लाग्दैन । फेरि यसैलाई चैं टिनको छानो । रंग रोगन पनि यसैलाई दली दिएको छ । जति सिंगारे पनि टिकाउ हुने छाँट छैन ।

पछि जोडेको एउटा पालीले घरै भत्काउछ कि भन्ने डर ! हाम्रो घरको पाली पनि नेकपाको प्रचण्ड जस्तै …!

के नचाइने कुरो गर्छेस् झुम्री ! जता पनि राजनीति देख्छे ! जता पनि हाम्रो अध्यक्ष काम्रेड प्रचण्डलाई दोष दिन्छे । एमालेलाई मुल घर मानेर प्रचण्ड त्यहाँ गएका होइनन् । तेरो एमालेको पनि के चैं थियो र ! हाम्रो प्रचण्ड काम्रेड नगाको भा तिमार्को पनि गति देखिन्थ्यो !

नमस्कार है काका-काकी ! काका चैं टिनको छानो माथि, काकी चैं चोया बोकेर आँगनमा ! के गरेको !

होइन, यो पछि गाँसेको टिनको छानो उडाउला जस्तो भएर मूल खाँबोमा चोयाले बाँधेर दह्रो बनाउँकी भनेको हौ भतिज !

अब दह्रो हँुदैन काका ! पछि गाँसिएका, टाँसिएका, लेपासिएका, मिसिएका, समावेश भएका केही पनि दह्रो हुँदैन । त्यसलाई विरुवामा भए ऐंजेरु, मकैमा भए काली पोके, रुखमा भए शाखा, राजनीतिक पार्टीमा भए घाँडो, घरमा भए पाली अथवा वार्दली यस्तै भन्छन् है काका ! छैन भनौं भने छ, छ भनौ भने घाँडो । यो यस्तै हो ।

ठिक भन्यो भिरघरेले ! अहिले हेर्न नेकपामा देखिएको बिजोग ! त्यसैलाई घाँडो भन्छन् क्यारे !

राजनीतिसंग नजोड । यहाँ घरै भत्काउला जस्तो भै सक्यो ।

भत्किदैन काका ! भित्रका यी खाँवाहरु तीनवटै दह्रा छन् । अन्तिममा एकले अर्काको भरथेग गर्छन् । घुस्किए यही पछि थपेको पाली फुस्किन्छ । घर केही हुदैन ।

लु हावा पनि थामियो अब ! फेरि केही दिन पछि आउँछ होला । त्यसपछि चैं यो थपेको जति बतासिन्छ होला । नजोडेको भा पनि घर दह्रो छँदै थियो । चोटा कोठा छँदै थियो । यसो राम्रो हुन्छ कि भनेर थपेको झन डरमर्दो पो भयो ।

अँ भिरघरे काठमाण्डौंतिर हिजो हाम्रा प्रचण्ड काम्रेडले ‘फाइनल’ हान्ने भन्दै थिए । के गरेछन् हँ ?

प्रचण्डले होइन हौ काका ! शक्तिजति ओली र माधवसँग छ, तुजुक, आवेश र लोभजति प्रचण्डसंग छ अनि केको फाइनल हान्नु ! ‘बेला न कुबेला धौ बजी नेयला’ भन्छन् काठमाण्डौतिर त्यही भईराछ ।

कुन भाषामा के भनेको त्यो भतिज भिरघरे ! नेवारीमा हो कि क्या हो ।

बेला न कुबेला दही च्यूरा खाने भनेको हौ काकी ! नेकपामा अहिले त्यही दही च्युरा खाने कार्यक्रम हुँदैछ । नेकपा लठिभद्र छ । प्रचण्डले सक्छन् होला । कि कसो काकी !

सक्न त गाह्रै पर्छ ! माधव नेपालले बोकेर बैर्तनी तार्दिनु पर्ने ! आफु मध्येका घ्यु थप्न बाहेक केही जान्दैनन् । केही ब्यक्तिले केही दिन आगो ताप्छन् । त्यस पछि प्रचण्ड जस्ता व्यक्ति चिलिमच्वाँट ! कि कसो काका !

भिरघरे ! यो वाइयात कुरा नगर ! अहिले नेकपाका केही ब्यक्तिले प्रचण्डको थाप्लामा गिर खेल्न पा’का छन् । प्रचण्डले चाहे भने डोको मात्र फिर्ता गर्न सक्छन् । भारतसंग युद्ध गर्न हिमालतिर सुरुङ खन्ने व्यक्ति प्रचण्ड नै हुन ! अरु कसैले सोच्न पनि सक्तैन ! यो कुरा के गर्नु, बरु भन हिजो काठमाडौमा नेकपामा के भए छ ? त्यो चैं सरसरी वता त !

के बताउनु हौ काका ! केही पनि भएन । अब १६ गते पर्सी फेरि सचिवालय बैठक बस्ने अरे । ओलीले सचिवालय सदस्यहर्लाई अध्ययन गर्न खाममा बन्द गरेर प्रतिवेदन दिएछन् । त्यही पढेर आम्छन् र मिलौं हौ भन्छन् अरु केही हुँदैन ।

होइन…! प्रचण्ड जस्तो जब्बर मान्छे पनि गले कि क्या हो ?

त्यस्ता त गल्नु त पर्छ त बुढा ! तिमी प्रचण्डले चाहे भने त उ.. परको अपी हिमाल नै उचाल्छन् भन्ने ठान्छौ !

नकरा झुम्री ! बैद्य, भट्टराई, मोहन विक्रम सिंह जस्तो लोतीखरे चै ओली हैन रान ! प्रचण्ड जस्तो ३२ वर्षसम्म जुनसुकै पार्टीमा नेतृत्व गरेर एकलौटी शासन गरेको मान्छे ओलीको छेउमा सेप लागेको हल्लुडे झार जस्तो चैं भा’कै हुन ।

अब प्रचण्डले एउटा गीत गाउने बेला भयो काका !

तिमी-हामी जाउँ उँधै-उँधै

कहिले रुदै, कहिले मन बुझाउँदै !

तँ नचाहिने कुरो गर्छस् क्या भिरघरे ! हाम्रो प्रचण्डले अहिलेसम्म हारेको इतिहास छैन । माओवादी युद्ध बाहेक अरुतिर काहीँ कतै हारेकै छैन !

हौ काका ! माओवादी वितण्डा बाहेक प्रचण्डले अरु के नै गरेका थिए र ! त्यही एउटा उपद्रो गरेका थिए त्यो पनि हारे । अनि सप्पै कताबाट जिते !

के कुरो गर्छ ! स्थानीय चुनापमा तिमार्को पार्टी काँग्रेसलाई प्रयोग गरेर जिते । संघीय संसद र प्रदेश संसदमा एमालेलाई प्रयोग गरेर जिते । माओवादीको उच्च छलाङमा पनि भारतलाई प्रयोग गरेको त हो तर तलवितल पर्न गयो र पो !

अब ओलीसंग पनि यही तलवितल पर्छ । अनि काकाको प्रचण्ड हेरेको हेर्‍यै ! लु काका काकी अब म घरतिर लागें ।

जै नेपाल !

Facebook Comments