परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

प्राज्ञिक रसमा भिज्दै, भिजाउँदै

काठमाडौँ । काम थियो विश्वविद्यालयहरूको । झण्डै आधा दर्जन विश्वविद्यालय छन् । तिनका विभिन्न संकाय छन्, विभाग छन्, अनुसन्धान केन्द्र छन् र केन्द्रीय क्याम्पस छन् । प्राज्ञिक अनुसन्धानमा यिनले आवश्यक जनशक्ति उत्पादन गर्न जति गर्नु पर्ने थियो, त्यो गर्न सकिरहेका छैनन् । तर पछिल्लो समय त्रिभुवन विश्वविद्यालयकै एक जना उप–प्राध्यापकलाई प्राज्ञिक अनुसन्धानरूपी रसको माद लागेको छ । उनी व्यक्तिगत तहमै लागिपरेका छन्– विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि, दर्शन शास्त्र र स्नातकोत्तर तहका विद्यार्थीहरूलाई निःशुल्क चरण चरणका प्राज्ञिक अनुसन्धानसम्बन्धी अनलाइन तालिम सञ्चालन गरेर मद्दत गर्न ।

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका उप–प्राध्यापक डा. दिलनाथ दंगालमा यो गज्जबको उदाहरणीय जाँगर पलाएको हो । गएको साल चैत्रमा लकडाउन सुरु हुनेवित्तिकैदेखि यिनले सुरुमा अर्थशास्त्रका प्राध्यापकहरूलाई जुटाएर अनलाइन कक्षा सञ्चालन गर्दै इच्छुकहरूलाई खुला प्रवेशको वातावरण मिलाए । अलिक पछि अर्थशास्त्रकै विभिन्न विद्वान र पूर्व मन्त्रीहरूलाई जम्मा गराएर अनलाइनबाटै बजेट केन्द्रित बहस कार्यक्रम सञ्चालन गरे । खाने मुखलाई जुँघाले छेक्दैन भने जस्तै न यिनलाई कोरोनाको कहरले छेक्यो, न त लकडाउनले नै रोक्यो ।

समाचार/ टिप्पणी

दशैँ अगाडि प्राज्ञिक अनुसन्धानको निःशुल्क प्याकेज लिएर यी फेरि अनलाइन कक्षामार्फत् झुल्किए । जुमको प्रवेश क्षमता पाँच सय पु¥याउँदा पनि अनलाइन तालिममा बस्ने सबैको इच्छा पूरा हुन सकेन । फेसबुकबाट लाइभको व्यवस्था समेत गरे । हजारौँ अनुसन्धानका पथिकले लाइभ हेरेर ज्ञान प्राप्त गरे । देशका घघडान विद्वानहरूलाई निःशुल्क तालिम दिन यिनले मनाए । कोरोना कहरका बेला पाँच दिनको निःशुल्क प्राज्ञिक अनुसन्धानको प्याकेज पूरा गरेर दशैँको रमझममा लागे । कार्यक्रममा यतिसम्म भयो – बोलाइएका अतिथिले समेत जुममा पहुँच पाउन कुर्नुपर्यो । प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सचिब समेत रहेका दिलनाथ दंगालका मनमा दशैँ मान्दामान्दै अर्को निःशुल्क प्राज्ञिक अनुसन्धानको प्याकेज फुर्‍यो ।

अघिल्लो जुम तालिमका सहभागीहरूको प्रतिक्रिया, विद्वानहरूको सुझाव र आफैँलाई पनि यिनलाई लागेका आधारमा अर्को पाँच दिने प्याकेज तयार भयो । कक्षा १२ मा पढ्ने छोरी दिलासाले प्राविधिक सहयोग गर्ने भइन् । तिहारअघि सुरु भयो प्राज्ञिक अनुसन्धानको दोस्रो प्याकेज । निःशुल्क दैनिक १२/१३ घण्टा खटेर यो प्याकेज पनि यिनले सफल गराइछाडे । पहिलोभन्दा अझ धेरै अनुसन्धाताहरू र विद्वानहरू यो तालिममा जोडिए । प्रा.डा. चैतन्य मिश्र, प्रा.डा. मनप्रसाद वाग्ले, प्रा.डा. वासुदेव काफ्ले, प्रा.डा. ध्रुवकुमार गौतम, प्रा.डा. महानन्द चालिसे, प्रा.डा. शिवराज अधिकारी, प्रा.डा. प्रेमराज पन्त, प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. महानन्द चालिसे, प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा.डा. चक्रपाणी लुइटेल, प्रा.डा. शंकर खनाल, डा. राम निरौला र डा. राजन पराजुली, डा. भरत पौडेल लगायतका प्राज्ञिक व्यक्तित्वहरू कार्यक्रममा प्रशिक्षक भएर जोडिए ।


(१) सहभागी संख्याः जुमको पूर्ण क्षमता ५०० सम्म जुममा (२) ३५,००० सम्मले भिडियो हेरेको (३) १५ जना देश र विदेशका मूर्धन्य स्रोत ब्यक्तिहरू (४) प्रमुख अतिथिहरूः विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, ६ ओटा विश्वविद्यालयका उपकुलपतिहरू, त्रिविका रेक्टर, तीनओटै प्राध्यापक संघका अध्यक्षहरू


लकडाउनयता डा. दिलनाथ दंगालले अर्थ, कोरोना र उच्च शिक्षासँग सम्बन्धित रहेर आजसम्म ९१ ओटा कार्यक्रमहरू सम्पन्न गरिसकेका छन् । उनका कार्यक्रममा पूर्व मन्त्रीहरू, नेपाल सरकारका पूर्व र वहालवाला सचिवहरू, नेपाल राष्ट्रबैंकका पूर्व गभर्नर र कार्यकारी निर्देशक, योजना आयोगका पुर्व उपाध्यक्ष, नेपाल सरकारका मुख्यमन्त्री, विभिन्न विश्वविद्यालयका पदाधिकारीहरू, कोरोनाका जानकार डाक्टरहरू र अनुसन्धानको क्षेत्रमा ख्यातिप्राप्त विज्ञहरूले स्रोत व्यक्तिको रूपमा कक्षा लिइसकेका छन् भने एउटा कार्यक्रमलाई ३५ हजारसम्म दर्शकले प्रत्यक्ष र भिडियोमार्फत हेरेर लाभ लिइसकेका छन् ।

विश्वविद्यालयको प्राज्ञिक उन्नयनमा केही गर्नुपर्छ भन्ने भावना भएका विभिन्न प्राध्यापकहरूको सल्लाह, सहयोग र स्यावासी उनले पाइरहेका छन् । धेरैले क्याबात् भनेका छन् तर कसैकसैलाई भने यस्ता कार्यक्रमले चिन्तित पनि तुल्याएको छ । कतै आफ्नो बजार सुक्ने पो हो कि भनेर चिन्ता गर्ने र यस्तो कार्यक्रम गर्नुहुँदैन भन्नेलाई उनी हाँसेर टारिरहेका छन् । विश्वविद्यालयका छेउछाउ पसलपसलमा र पोलमा थेसिस यति रूपैयाँमा यहाँ पाइन्छ भनेर विज्ञापन गरेर अनुचित पैसा कुम्ल्याउनेका लागि यस्ता निःशुल्क कार्यक्रम चुनौती बन्नु स्वाभाविकै हो तर विश्वविद्यालयको शाखलाई उठाउन काम गर्नेहरूका लागि त यो खुशीको कुरा हो । यस्ता कार्यक्रम त अरु धेरै शिक्षक, विभाग, संकाय र केन्द्रहरूले गर्न सके सुनमा सुगन्ध नै हुन्छ ।

अनुसन्धानको क्षेत्रमा विश्वविद्यालयका प्राध्यापक, विद्वानहरू, विद्यावारिधि र दर्शनशास्त्रका पथिकहरू यति ठूलो संख्यामा एउटै थलोमा जम्मा भएर कार्यक्रम आयोजना भएको नेपालमा यो पहिलो अवसर समेत बन्न पुगेको छ । कार्यक्रमका संयोजक एवं सञ्चालकको हैसियतमा डा. दंगालले आगामी दिनहरूमा विषयगत अनुसन्धान सम्बन्धी थप निःशुल्क कार्यक्रम चलाउने सबन्धमा सहभागीहरूलाई सूचित पनि गरिसकेका छन् । कोरोनाका बेला घरै बसीबसी दूरदराजका अनुसन्धाताहरूले अनुभवी विद्वानहरूसँग साक्षात्कार गरेर ज्ञान पाउनु आफैँमा सुखद् कुरा हो ।

कार्यक्रमको समापनपछि दंगालले भिडियोलाई युट्युवमा अपलोड गरेर फेसबुकमा समेत शेयर गरेर पछिसम्म हेर्न सकिने  बनाएका छन् । आफूहरूले पनि आफ्ना विद्यार्थीहरूलाई समेत ती भिडियोहरू शेयर गर्ने गरेको सहभागी प्राध्यापकहरूले बताएबाट पनि अब नेपालमा पनि युट्युवमा पाठ्य सामग्री अपलोड गर्ने र ज्ञान बाँड्ने कार्यको अघि बढ्दै गएको छ ।

आफू प्राध्यापक संघको नेतृत्वमा रहेको र आफूले सकेसम्म विश्वविद्यालय, प्राध्यापक, विद्यार्थी र उच्च शिक्षाको क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर लागेको र लागिरहने विचार डा. दंगालको छ । दुई दर्जन जति अर्थशास्त्रका पाठ्यपुस्तक, त्यति नै संख्यामा अनुसन्धानात्मक लेख र दर्जनौँ संख्यामा दैनिक पत्रिकामा अर्थ र उच्च शिक्षाका क्षेत्रमा लेखहरू लेखिसकेका डा. दंगाल आफू पूर्ण रूपमा विश्वविद्यालयमा मात्र काम गर्ने जनाउँछन् । विश्वविद्यालयले आफ्ना लागि ठूलो लगानी गरेको हुनाले अब आफूूले पनि विश्वविद्यालयका लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले प्राज्ञिक कर्ममा लागेको र लागिरहने उनी बताउँछन् ।

डा. दंगाललले आयोजना गरेको निःशुल्क अनुसन्धान प्याकेज कार्यक्रमलाई शुभकामना दिने क्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भीम सुवेदीले यो अनुसन्धानको भर्चुअल कक्षामा सहभागीहरूको ठूलो उपस्थितिले प्रवेश पाउन गाह्रो हुनु नै कार्यक्रमको सफलता भएको र अनुसन्धान भन्ने कुरा गरेर मात्र जानिने र यहाँ यही कुरा सिकाउन खोजिएको कुरा व्यक्त गर्नुभयो ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले कोभिडले आक्रान्त पारेको अवस्थामा विद्वान स्रोत व्यक्ति र अनुसन्धानका दिग्गज विद्वानहरूलाई जोड्ने कार्यक्रम सञ्चालन गरेर सञ्चालकले स्तुत्यको काम गर्नुभएको कुरा व्यक्त गर्नुभयो ।

सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.अम्मरराज जोशीले विश्वविद्यालयका प्राध्यापक र अनुसन्धानमा लागेका साथीहरूमा अनुसन्धानको बानी परोस् भनेर यो कार्यक्रमको आयोजना गरिएको मत राख्नु भयो ।

यस्तो कर्म गर्नेले पनि बरालिनु र बाटो भुल्नु हुँदैन अनि अरुले पनि यसरी निस्वार्थ प्राज्ञिक उन्नयनमा लागेकालाई हौसला र सहयोग दिनुपर्छ । माद लागोस् त यस्तो पो लागोस् । क्याबात् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले अनुसन्धानमा प्राध्यापकहरू लाग्ने हो भने विश्वविद्यालयहरू आशाको केन्द्र हुन्छन् त्यसो भयो भने मानिसहरूको विश्वविद्यालयप्रति विश्वास बढ्छ, शाायद् यही दृष्टिकोण पूरा गर्न हामीलाई कोभिडले यो अवसर दियो भन्दै शुभकामना ब्यक्त गर्नु भयो । त्यसैगरी खुला विश्वविविद्यालयका उपकुलपति प्रा. डा. लेखनाथ शर्मा, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा. भरत झा र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले समेत कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

त्रिविका रेक्टर प्रा.डा. शिवलाल भूषालले प्राज्ञिक अनुसन्धानका क्षेत्रमा पुराना विद्वानहरूको ज्ञानलाई नयाँ पुस्तासम्म पुर्याउने काम यो कार्यक्रमले गरेको, पिएचडी र एमफिलका विद्यार्थीहरूलाई अनुसन्धानको क्रममा जहाँ समस्या पर्छ, त्यहीँ व्यवहारमा खड्किएका कुराहरू प्रश्न गरेर वा पौडी खेल्नलाई कुवा बाहिर बसेर हैन कुवाभित्रै पसेर सिकाउने काम यो कार्यक्रमले गरेको र विश्वविद्यालयले गर्ने यस प्रकारका कार्यक्रम केन्द्रिकृत गरेर गर्न नसकेको सन्दर्भमा डा. दंगालले गरेको भन्दै आभार प्रकट गर्नु भयो ।

प्रगतिशील प्राध्यापक संगठनका का.वा. अध्यक्ष प्रा.डा. कल्याणी मिश्रले एक जना प्राध्यापकले गर्न चाह्यो भने धेरै गर्न सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण यो हो भन्दै प्राध्यापकहरू जतिसुकै सक्षम भए पनि अनुसन्धानको क्षेत्रमा कमजोर भएको कारणले सरकारले विश्वास नगरेका सन्दर्भमा यो कार्यक्रमले प्राध्यापकहरूलाई अनुसन्धानको क्षेत्रमा अगाडि बढ्न हौसला प्रदान गरेको कुरा व्यक्त गर्नुभयो । नेपाल प्राध्यापक संंघका अध्यक्ष प्रा.डा. बुद्धबहादुर थापा र त्रिवि प्राध्यापक संघका सभापति प्रा.डा. वसन्त ढकालले पनि कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

अन्त्यमा भन्नैपर्छ, क्याबात् डा. दंगाल । अनुसन्धानको रसमा भिज्दै र भिजाउँदै अघि बढेको यात्रा छोटो दूरीमा नरोकियोस् । लामो दूरी तय गरेर अघि पनि बढिरहोस्, बाटो नछोडियोस् र चारैतिर पनि फैलियोस् । यस्तो कर्म गर्नेले पनि बरालिनु र बाटो भुल्नु हुँदैन अनि अरुले पनि यसरी निस्वार्थ प्राज्ञिक उन्नयनमा लागेकालाई हौसला र सहयोग दिनुपर्छ । माद लागोस् त यस्तो पो लागोस् । क्याबात् ।

Facebook Comments