परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सातै प्रदेशका अर्थशास्त्रीहरूबीच प्रदेशगत बजेटबारे भोलि बहस हुने

आज प्रदेश बजेट सार्वजनिक हुँदै

काठमाडौँ, असार १ । आज असार १ गते सातै प्रदेशका सरकारले बजेट सार्वजनिक गर्दैछन् । यसै सन्दर्भमा, प्रदेश सरकारहरूले बजेट सार्वजनिक गरिसकेपछि देशका अर्थशास्त्रीहरूले अनलाइन माध्यमको प्रयोग गरी पहिलोपल्ट प्रदेशस्तरीय बजेटबारे राष्ट्रव्यापी रूपमा बृहत् बहस गर्ने भएका छन् ।

युवा अर्थशास्त्री डा. दिलनाथ दंगालको संयोजन एवं सञ्चालनमा भोलि असार २ गते अपरान्ह ३ बजेबाट जुम कन्फरेन्स मार्फत् सातै प्रदेशका अर्थशास्त्रीहरूलाई जम्मा गरेर आआफ्नो प्रदेशको प्रस्तुत बजेटबारे बहुआयामिक पक्षहरूको साङ्गोपाङ्गो विश्लेषण गर्ने कार्यक्रम रहेको छ ।

यो बृहत् अन्तरक्रियामा भाग लिने अर्थशास्त्रीहरूमा प्रदेश एकबाट प्रा. डा. पि. के. झा, प्रदेश दुईबाट प्रा. डा. सुरेन्द्रलाभ कर्ण, वागमती प्रदेशबाट प्रा. डा. केशवराज खड्का, गण्डकी प्रदेशबाट प्रा. डा. लेखनाथ भट्टराई, प्रदेश पाँचबाट प्रा.डा. रामचन्द्र आचार्य, कर्णाली प्रदेशबाट सह–प्रा. डा. लीलाधर तिवारी र सुदूर पश्चिम प्रदेशबाट प्रा. डा. हेमराज पन्त सहभागी हुँदैहुनुहुन्छ । यस्तो सातै प्रदेशको बजेट एकै थलोमा बहस भएको यो पहिलो कार्यक्रम भएको र डा. दंगालले सञ्चालन गरेको यो उच्चस्तरको प्राज्ञिक कार्यक्रमले लकडाउनको समयमा धेरैजना लाभान्वित भएको सहभागीहरूले बताएका छन् भने सहभागीहरूको माग बढेको हुनाले लकडाउनपछि पनि यो कार्यक्रमलाई समय मिलाएर निरन्तरता दिने आयोजक डा. दंगालले जानकारी दिनुभएको छ ।

डा. दंगालले लकडाउन सुरु भएदेखि नै  गएको चैत १४ देखि अनलाइन कार्यक्रम र बहस् सञ्चालन गर्दे आउनुभएको छ । अहिलेसम्ममा लगातर ६० ओटा यस्ता कार्यक्रमहरू सम्पन्न भइसकेका छन् । लकडाउनको लगत्तै देशमा देखापरेको करको समस्या उजागर गर्ने तथा त्रिवि अर्थशास्त्रका विद्यार्थीहरू र करसँग चासो राख्नेहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले एक दर्जन जति करका कक्षाहरू सञ्चालन भइसकेका छन् ।

करसम्बन्धी यी कार्यक्रमहरूमा अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी लगायत त्रिविका प्राध्यापकहरूले अतिथि प्राध्यापकका रूपमा कक्षा लिनुभएको थियो । त्यसपछि कोरोनाले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पार्ने प्रभावका बारेमा नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर दीपेन्द्र ब. क्षेत्री लगायत अन्य विभिन्न क्षेत्रका विज्ञहरूले कक्षाहरू लिइसक्नुभएको छ ।

यो कार्यलाई निरन्तरता दिने क्रममा कस्तो हुनुपर्छ आगामी वर्षको बजेट भनेर पूर्व अर्थ सचिवहरू रामेश्वर खनाल, कृष्णहरि बाँस्कोटा र डा. शान्तराज सुवेदी तथा दुईजना पूर्व अर्थमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी र सुरेन्द्र पाण्डे, पूर्व ऊर्जा मन्त्री जनार्दन शर्मा, पूर्व नागरिक उड्ड्यन मन्त्री एवं ड्रागन फ्रुट उत्पादक लोकेन्द्र विष्ट मगरले कक्षा लिइसक्नुभएको छ । कोरोना र बजेटपछिको स्वास्थ्य भन्ने विषयमा भाइरोलोजिस्ट डा. शेरबहादुर पुन तथा कोरोना र बजेटपछिको शिक्षा विषयमा शिक्षाविद् प्रा. डा. वासुदेव काफ्लेले कक्षा सम्पन्न गरिसक्नुभएको छ ।

सङ्घीय बजेट प्रस्तुत भएपछि गएको जेठ २२ गते प्रदेशगत सात जना अर्थशास्त्रीहरूको जमघटमा सङ्घीय बजेटको बहस सम्पन्न भइसकेको अवस्थामा साठीऔँ कार्यक्रमको रूपमा सातै प्रदेशका अर्थशस्त्रीहरुको सहभागितामा बहस हुन लागेको जानकारी आयोजक डा. दंगालले दिनुभयो ।

 

Facebook Comments