परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

भो देशकै दुर्गति

छन्दः शार्दूलविक्रीडित

लागे केवल झूठमा र लुटमा दर्जा बढेका जति
बज्रैस्वाँठ अयोग्य योग्य दरिए आएन चेतै रती
छाती पोल्दछ देशभक्तजनको देखेर छाडा मति
पर्दा चङ्गुलभित्र भ्रष्टजनको भो देशकै दुर्गति॥१

कविता

रामशरण न्यौपाने

 

चल्छन् न्याय मिचेर एकमतले सत्ता पसेका जति
महाराज बनीसके दिनदिनै यो लूट चल्ला कति?
चोटैचोट छ देशको सुजनको छातीभरी लाल ती
पर्दा चङ्गुल भित्र भ्रष्टजनको भो देशकै दुर्गति॥२

 

पापाचार जताततै छ अहिले साह्रै भयो शोषण
मालमाल भए छली र खलले पाए यहाँ पोषण
फैलाए नरलोकमाथि सहजै सामन्तले जाल कि
पर्दा चङ्गुल भित्र भ्रष्टजनको भो देशकै दुर्गति॥३

 

आँखामा भल आँसुको धरधरी देखिन्छ चारैतिर
नेपाली जनमाथि लादिनगयो हो हार नै आखिर
सारा दोहनमा परेर मनुवा अन्याय खेप्छन् अति
पर्दा चङ्गुल भित्र भ्रष्टहजनको भो देशकै दुर्गति॥४

 

धेरै मानिस देशको हित भुली बिग्रेर द्रोहै गरे
दासै मात्र बनेर भ्रष्टजनको सङ्घार कुर्दै मरे
माटोकै पनि श्राप थुप्रिन गयो मान्छेहरुमै अति
पर्दा चङ्गुल भित्र भ्रष्टजनको भो देशकै दुर्गति॥५
Facebook Comments