पीडामा बूढी आमा
बुढ्यौली साहित्य
कहीँ डुल्दैडुल्दै परतिर थिएँ गाउँ घरमा
कतै मान्छे होलान् यस घरतिरै छेउ सुरमा ?
भनी हेर्दै जाँदा कठिन थिति भो चित्रितमय
बसेकी बृद्धा ती धपधप हुने घाम समय ।१
भनेँ, ‘आमा ! सन्चै?’ सरल तरिकाले सब कुरा
म केही सोध्दै थेँ खरखर उनैतर्फ बिचरा
‘कता हो जन्मेको कति जति भयौ बर्ष ल भन
छ कोको यो घर्मा कति जति भए जाहन भन’ ।२
सुखा रोटी टोक्दै बरबर झरे आँसु उनका
हियामा बल्झेका अलिकति दुखे घाउ मनका
बगे धारा आँखातिर त नद भो घाउ गहिरो
गयो छातीबाटै अझ कति ठूलो लाग्छ पहिरो ।३
‘खलंगामा जन्मेँ, शिशु समय खेल्दै बितिगए
बिहाबारी सानै सरल वयमा नै हुन गए
थियो सानो छाप्रो घर र वर छायाँ कति मिठो
बगायो खोलाले अनि त बनी गो फाँट मरुको’ ।४
‘सबै डोका डाला सिरक डसना थाल तकिया
झिटी झाम्टा जम्मै सलिल पृय भै हात भरमा
तराईमा ओर्ली अलिकति कमाएर जमिन
गरेँ नापी, पैसा धन बहुत खर्चेर अमिन’।५
‘थियो जग्गा जम्मै वन चहुरको छेउतिरको
वनेलीका जम्मै वनकरहरू पीर वनको ।
यता खेतीपाती अलिअलि थियो धान सहित
सधैं दुःखै दिन्थे हरिण वनका खान पछि त’ ।६
‘कुनै साँझैसम्मै वनतिर चरी गोरु घरको
नआएकाले लौ गर अब भनी खोज उसको
भनेँ लोग्नेलाई खुरुखुरु उता खेततिर गै
ल काले ला ला ला भनिकन त डाके स्वर दिँदै’ ।७
‘गए लोग्ने डाक्दै परपर उता बोल अघिको
थियो कालो थुम्को परतिर उता गोरु सरिको
कुनै मत्ता हात्ती वनतिर कतैबाट चरदै
लुकी बस्दो ताहीँ अलिअलि अँध्यारो छ बढ्दै’ ।८
‘पुगे थुम्कोनेरै अनि त कहन थाले घर हिँड
तँलाई काले हो ! ल झटपट चाँडै घर फिर
गिज्याएको जस्तो उसकन भयो भान मनमा
उठायो, पट्क्यो रे अनि त सब भो जीवन बिदा’ ।९
‘निकै धायौँ अड्डा अलिअलि मिलोस् क्षति भरणा
कहाँ सुन्थे जङ्गी नियम र दफा भो उप–दफा
बूढा लागे स्वर्गै, अब पछि म बस्दै छु दुःखमा
यिनै लालाबाला भरण परि पोसेर दुःखमा’।१०
‘पढाएँ छोरा नि अलिकति गुनी साक्षर भयो
जवानै भो लोर्के रमसम उही बाबु सब यो
अठारौं पुग्दा त्यो अलिक बलियो हृष्ट तनको
सिपाही बन्नाको मनसुब लिई भर्ती पनि भो’ ।११
‘दुई बर्षै खायो नविन दुलही भित्र घरमा
म सम्झन्थेँ मेरो अब सुख दिनै चल्छ सुखमा
भए बच्चाबच्ची कति रहरका नाति नतिना
यही नै पृथ्वीको अतुल सुख हो जन्म भरमा’ ।१२
‘पुगे गस्ती गर्दै सब जन उता सैनिक कता
थियो पासो ताहीँ प्रजलित भयो डम्म पटका
सबै गाडी ध्वस्तै सब जन मरे सैनिकहरू
गयो छोरो मेरो, अब त शिव जान्थेँ खुद बरु’ ।१३
‘यता भै गो कोलाहल सब जना मृत्यु नमिठो
न ता टारी टर्ने कतिकति तितो खेल विधिको
गरी क्रियाकाष्टा जब सब जना चोखिनु यता
बुहारीले छोडी नव घर गरी दूर पथका’ ।१४
‘यिनै लालाबाला सबकन बढाएँ दुःख गरी
छ आँखा कम्जोरी कतिकति हुने हो दुःख हरि !
कुनै आयै छैनन्, अब कसरी यो फारम भरौँ
यिनै मेरा भाका कसकस गरी भर्न छ भरौँ ‘।१५
‘छ बारी यो बाँझो अलिअलि यता उब्जन हुने
छ पैसाको खाँचो अलिकति कतै मिल्दछ भने
भरी देऊ आफैँ म त अनपढा बृद्ध वयकी
तिमी सर्कारी हौ सबसब कुरा लेख घरकी’ ।१६
( जनगणनाका क्रममा गाउँ घुम्दा भेटिएको कथा)