परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बुढ्यौलीको आवाज

 कविता (छन्द: शार्दूल विक्रीडित)

पैलेका दिन सम्झिँदै रुन बसे ती वृद्ध वृद्धा सब
साह्रै उत्तम बैँसका दिन थिए लागे ती पाखा अब
हाँसो ओठविषे थिए बल छँदा साथै थियो वैभव
           ऐले ती सब चीज खोसिन गए बन्दै गए दुर्लभ॥१

 

घाँडो साबित गर्दछन् दुःख दिँदै छोरा र छोरी पनि
जेथा हात लगाउँदै, प्रभु भजी पाइन्छ बस्नै भनी
लैजान्छन् तब राख्न हो छल गरी वृद्धाश्रमैमा अनि
बाँच्नै पर्दछ वृद्ध धेर जनले त्यो बे-सहारा बनी॥२

 

जो वृद्धाश्रममा पुगे जन बुढा छैनन् कुनै ओजिला
ढल्ने केवल बिस्तरा विच हुँदा गो देह बन्दै शिला
पैले वज्र थिए बने दिनदिनै यी हात गोडा गिला
हाँसो ओठविषे हुँदैन सहसा आँखा बने ओसिला॥३

 

त्यो वृद्धाश्रमभित्र बाबु छ रुने, छन् वृद्ध आमाहरू
हाँस्दैछन् दरबारतुल्य घरमा छोरा–बुहारी अरु
भाग्यो मानवता पशुत्व सबमा छायो पलायो बरु
मान्छेले अब मातृ पितृ ऋण यो भुल्दैगए के गरुँ?४

 

मान्छे पाउन धेर मुस्किल भयो देखिन्न यौटै निका
भज्दै राम बिताउने दिन भयो सम्झी खुदा माथिका
आँखामा छ बलिन्द्र धार सहसा ती आँसुका नै ढिका
बोलीमा पनि छाउँदै शिथिलता भो दृष्टि साह्रै फिका॥५

 

बाँच्ने चाह हुँदैन भित्र मनमा आउन्न मृत्यु पनि
साह्रै नाजुक हालमा बिपतमा गुज्रिन्छ हा जीवनी !
कस्ले गर्छ बिसेक दर्द मनको को गर्छ रे सोधनी?
कस्ले राख्दछ वृद्धका उपर खै सद्भाव बुद्धै बनी?॥६
Facebook Comments