परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

रानुदेवीसँगै गुमनाम शान्तिलाई पनि श्रद्धान्जलि

रानुदेवी र शान्तिमध्ये को पहिलो? 

रानुदेवीभन्दा पहिले तारिणीले गायिकाको रूपमा शान्ति नामकी नर्सलाई उल्लेख गर्नुभएको छ । शान्ति नामकी नर्सले आफूसँग गीत बनाइमागी गाएको कुरा पहिले र त्यसपछि मात्रै रानुदेवीको प्रसङ्ग उहाँले संस्मरणात्मक लेखमा उल्लेख गर्नुभएको छ । तर शान्ति नामकी ती युवती कहाँकी हुन् र पछि कता गइन् भन्ने हेक्का उहाँलाई नभएको आभाष सो संस्मरण लेखले दिन्छ ।

नेपाली रेडियोकी पहिलो गायिका ठानिएकी रानुदेवी अब हामीमाझ रहुनभएन । विहीबार राती उहाँको निधन भएको थियो । उहाँ २००७ सालको क्रान्तिताका गायन र सामाजिक कार्यमार्फत् क्रान्तिमा संलग्न हुनुभएको थियो । तर रानुदेवीभन्दा पहिले शान्ति नाम गरेकी गायिकाले रेडियोमा गीत गाएको हो वा रानुदेवीले भन्ने एउटा उल्झन् नेपाली सङ्गीत क्षेत्रमा रहेको छ ।

राणाशासन विरुद्धको क्रान्तिमा सञ्चालन गरिएको प्रजातन्त्र नेपाल रेडियोमा गीत गाएकी रानुदेवी पछिसम्म प्रजातान्त्रिक सेनानीका रूपमा सक्रिय हुनुभएको थियो । उहाँले आज देशको क्रान्तियुद्धमा हाम्रो एक पुकार होस्, लड्दा लड्दै मरे मरौला यो नै एउटा नारा होस् शीर्षकमा गीत गाउनुभएको थियो । यो सहित उहाँका ६ वटा गीत रेकर्ड भएका थिए । पञ्चायतीकालमा उहाँका क्रान्तिकारी गीतमा प्रतिबन्ध लगाइएको थियो । विद्यालयमा पढाउनेदेखि महिला संघमा रहेर पनि उहाँले काम गर्नुभएको थियो । नेपाली रेडियोकी पहिलो गायिका रानुदेवीले ७२ वर्षको उमेरमा सुमित खड्कासँग ‘जाग नेपाली’ शीर्षाकको गीत गाउनुभएको थियो । उहाँले गाएका गीत प्रायः सबै चर्चित थिए । ती गीतहरूमा ‘जुनेली रात हजुर’, मेरो मुटुको माझमा कसको तस्बिर’, ‘चरी भुर्र उडी जा, ‘तिमी दूर देशका परदेशी’, ‘जुनेली रात हजुर गम्किन्छ बात हजुर’, ‘जागे नेपाली उठे नेपाली’, ‘फागुनको शीतल बतास’ छन्। रानुदेवीको चर्चा जीवित अवस्थामा र दिवंगत भएपछि पनि भइरह्यो भने शान्तिको नाम चर्चायोग्य रहेको पाइँदैन । योगदानका हिसाबले पनि रानुदेवीको रेकर्डमा देखिन्छ भने शान्तिको बारेमा जानकारी पाइँदैन ।

रानुदेवी अधिकारी

क्रान्तिकारीहरूको प्रसारण संस्था प्रजातन्त्र नेपाल रेडियोका संंस्थापक एवं रेडियो नेपालका पहिलो निर्देशक तारिणी प्रसाद कोइरालाले रेडियो नेपालको स्थापनाको संस्मरण गर्ने क्रममा रानुदेवी र शान्तिलाई सम्झिनुभएको पाइन्छ । उहाँले रानुदेवी र शान्ति दुबैलाई नर्स भन्नुभएको छ भने रानुदेवीलाई पहिलेदेखि नै आफूले जानेको उल्लेख गर्नुभएको छ । रानुदेवीभन्दा पहिले तारिणीले गायिकाको रूपमा  शान्ति  नामकी नर्सलाई उल्लेख गर्नुभएको छ । शान्ति नामकी नर्सले आफूसँग गीत बनाइमागी गाएको कुरा पहिले र त्यसपछि मात्रै रानुदेवीको प्रसङ्ग उहाँले संस्मरणात्मक लेखमा उल्लेख गर्नुभएको छ । तर शान्ति नामकी ती युवती कहाँकी हुन् र पछि कता गइन् भन्ने हेक्का उहाँलाई नभएको आभाष सो संस्मरण लेखले दिन्छ । रानुदेवीका ६ वटा गीत रेकर्ड हुँदा शान्तिका कतिवटा गीत रेकर्ड भएका थिए भन्ने उल्लेख भएको पाइँदैन । साथै रानुदेवीको जति चर्चा तारिणीले शान्तिको सो संस्मरणमा गर्नुभएको पाइँदैन । रानुदेवीको चर्चा चलिरहँदा शायद् शान्तिको पनि विद्वान अन्वेषकहरूले समयक्रममा खोजी गर्लान् र यो उल्झन सल्टाउलान् । किनभने तारिणीको सो आलेखले शान्ति र रानुदेवीमध्ये पहिले कसले गीत गाएको थियो भन्ने दुविधा उत्पन्न गराएको छ । कतै शान्ति नै पो रेडियोकी पहिलो गायिका थिइन् कि भन्ने शङ्कालाई पनि ठाउँ दिन्छ । तर दुनियाँले रेडियोकी पहिलो गायिका रानुदेवीलाई मानिरहँदा यत्तिकै अल्पज्ञानका आधारमा मात्रै शान्तिलाई पहिलो भन्ने आँट पनि गर्न सकिएन । त्यसैले नै यसको छिनोफानो गर्ने जिम्मा विद्वान वर्गलाई नै छोड्नु मुनासिब ठानेको छु ।

तारिणी प्रसाद कोइराला

रेडियो नेपालको मुखपत्र झङ्कार, वर्ष १, अङ्क ५, २०१६ मा प्रकाशित तारिणी कोइरालाको संस्मरणात्मक आलेख रेडियो नेपालको जन्म मा शान्ति र रानुदेवीको प्रसङ्ग उल्लेख गर्नुभएको हो । सो लेख सबै यहाँ साभार गरिएको छैन । इच्छुक पाठकले मार्टिन चौतारीले प्रकाशन गरेको रेडियो नेपालको सामाजिक इतिहास नामक पुस्तकमा समेत यो आलेख पढ्न सक्नुहुनेछ । त्यसो त तारिणी कोइरालाभन्दा पहिले भोजपुरका कमाण्डर नारदमुनि थुलुङले भोजपुर कब्जा गरेपछि त्यहाँस्थित मोहन आकाशवाणीको ट्रान्समिटरबाट रेडियो प्रसारण गरेको इतिहास पाइन्छ । नारदमुनि थुलुङले आफ्नो आत्मकथा बिर्सेका अनुहारहरूः विर्सन नसकेका घटनाहरूमा यसबारे  प्रसङ्ग उठाउनुभएको छ । २५ मङ्सिर २००७ देखि भोजपुरबाट प्रसारण गरेको रेडियो ट्रान्समिटर विराटनगर पठाइदिएपछि माघ २० देखि विराटनगरबाट प्रसारण भएको कुरा प्रत्युष वन्तले रेडियो नेपालको सामाजिक इतिहास पुस्तकको ‘रेडियो नेपालभन्दा पहिलेको युगमा नेपालीको रेडियो अनुभव’ शीर्षकको अध्यायमा उल्लेख गर्नुभएको छ । भोजपुरको प्रसारणमा जयन्त थपलिया समेत प्रसारक रहेको कुरा पनि यहाँ भुल्न मिल्दैन ।

तारिणी प्रसाद कोइरालाले सम्झेकी रानुदेवी हामी सबैको मनमा हुनुहुन्छ । उहाँका गीत रेडियो नेपालले बजायो भने रेडियो सगरमाथा स्थापना भएपछि त्यसका संस्थापक रघु मैनालीको पहलमा रेडियो नेपालमा रहेका पुराना र आधुनिक गीत, लोकगीत, राष्ट्रिय चेतका गीत आधिकारिक रूपमा बजाउन सम्झौता गरी रेडियो सगरमाथाले प्राप्त गर्यो । पुराना गीत बजाउने क्रममा रेडियो सगरमाथाले रानुदेवीका जुनेली रात हजुर, चरी भुर्र उडी जा  लगायत गीत बजाएको अहिले मलाई सम्झना हुन्छ ।

नारदमुनि थुलुङ

रानुदेवीप्रतिको श्रद्धाञ्जजलि स्वरूप तयार गरिएको यो आलेखमा उहाँसँगै गुमनाम शान्तिलाई पनि श्रद्धान्जलि दिँदै २०१६ सालको झङ्कारमा प्रकाशित तारिणी प्रसाद कोइरालाको संस्मरण यहाँ साभार गरेको छु । पृष्ठभूमि बुझ्न सजिलो होस् भनी विराटनगरमा रेडियो प्रसारण हुँदाको प्रसङ्गदेखि सो आलेख यहाँ साभार गरिएको छ:

‘‘…रघुपति जुट मिल्स हाम्रो ‘वार हेडक्वार्टर’ थियो । त्यहीँबाट नेपालका विभिन्न मोर्चालाई विपि कोइरालाको आदेश जान्थ्यो । एक दिन दिउँसो लगभग १२ बजे विराटनगरको मोर्चाबाट फर्किएर हेडक्वार्टरमा केही गोली गट्ठा लिन जाँदा म हाम्रो अफिसको लामो बरण्डाबाट अगाडि बढिरहेको थिएँ । पहिलो कोठाको ढोकामा लेखिएको थियो— यहाँ सोधपुछ गर्नुस् । अर्को ढोकामा सप्लाई अफिस, अर्कोमा क्याजुअल्टी तथ्यांक र झन अर्कोमा वायरलेस लेखेको थियो । वायरलेस लेखेको मुनि सानो अक्षरमा लेखिएको थियो, लापरवाही साथ कुरा गर्नाले शत्रु बलियो हुन्छ– बोल्नुभन्दा पहिले सोच्नुहोस् । म आफ्नो कामको निमित्त एक सुरले अगाडि बढ्दै थिएँ कि एक्कासी वायरलेस अफिसबाट कसैको आवाज आयो— ‘तपाई आफ्नो मुक्ति सेनाको एउटा सानो टुक्रालाई ओखलढुङ्गाको मद्दतमा पठाउनुहोस् र ठूलो टुक्रालाई चाहिँ धनकुटातर्फ पठाउनुहोस् । धनकुटालाई पश्चिमतर्फबाट तपाईले हमला गर्नुपर्दछ र पूर्वतर्फबाट विराटनगरको सेना तमर नदीसम्म पुगिसकेको छ । शत्रुले तमरको पुल विगारिदिएका छन् । पश्चिमरिरतबाट तपाईहरूको हमला भयो भने शत्रु तपाईतिरै अल्झन्छ अनि पूर्वका मुक्तिसेनालाई तमर तर्न सजिलो हुन्छ । आजै यो काम हुनुपर्छ ।’

हाम्रा क्रान्तिकारी नेता विपि कोइराला भोजपुरका कम्याण्डर नारदमुनि थुलुङलाई यो अर्डर दिँदै हुनुहुन्थ्यो । म रोकिइनँ, अगाडि बढिरहेँ र गुप्तचर अफिस, सुरक्षा अफिसपछि म त्यो कोठाको ढोकामा उभिएँ जसको अगाडि लेखेको थियो— वार कमाण्ड । स्टेनगन लिएको एउटा भोलेन्टियर ढोकामा उभिएको थियो । मैले सोधेँ— बेक हुनुहुन्न?

‘वायरलेस जानुभएको छ । भित्र गएर बस्नुहोस् ।’ क्रान्तिका समय हामीले विपि कोइरालाको गोप्य नाम बेकर राखेका थियौँ । मोर्चामा गोलीको कमी भएको थियो । बेकर आउनुभएपछि अभिवादन गरेर मैले विराटनगर मोर्चाको स्थिति बताएँ ।

‘मुक्ति सेनाका प्रत्येक सिपाहीसँग अहिले कति गोली होला ?’– उहाँले सोध्नुभयो ।

मैले भनेँ— ‘गोली बिल्कुलै छैन भने पनि हुन्छ – कसैसँग दुईटा होला, कसैसँग तीनओटा होला । गोली माग्दैछन् ।’

अरुले भएको भए विपि कोइरालाको अनुहारमा देखिएको अत्यन्त फिका चिन्ताको रेखालाई ठम्याउन पनि सक्दैनथे, तर म केटाकेटीदेखि नै उहाँको साह्रै नै आत्मीय भएर बसेको हुनाले त्यसबेला उहाँको अनुहारमा आएको सक्ष्म परिरवर्तनलाई देखेँ । गोली सकिएको थियो र कतैबाट आउने आशा थिएन । र, शत्रुहरू आत्मसमर्पण गर्न किञ्चित पनि तैयार थिएनन् ।

एकछिन् सोचेर उहाँले दृढतापूर्वक भननुभयो— ‘भोलि दिउँसो नभई गोली हुन सक्दैन । हाम्रा सिपाहीहरूले शत्रुको मोर्चालाई केबल घेरेर मात्र राखून्, एक फायर पनि नगरून् । आजको रात बिचाएपछि भोलि गोली सप्लाई गरिन्छ । अब तिमी जाऊ, म सुत्छु ।’

उहाँले सत्ने कुरा गरेपछि पो मैले थाहा पाएँ कि गोलीको अभावको कुरा सुनेर उहाँ कति घबडाउनु भएको रहेछ । उहाँको बानी नै छ कि जब जब उहाँ असाध्य चिन्तित हुनुहुन्छ र जब कुनै उपाय नदेखेर घबडाउनुहुन्छ, उहाँ मस्त सुतिदिनुहुन्छ ।

म फनक्क फर्किएँ र कोठाबाट बाहिर मात्र निस्किएको थिएँ कि बरण्डामा मैले आफ्नो जी.ओ.सी याक्थुम्बालाई भेटेँ । उहाँ पनि गोलीकै कुरा लिएर बेकरसँग सल्लाह गर्न आउनुभएको रहेछ । मैले उहाँलाई सबै कुरा सुनाइदिएँ र यो पनि भनेँ कि उहाँ भर्ख सुत्न लाग्नुभएको छ ।
याक्थुम्बाले पनि बुझिसक्नुभएको थियो कि विपि कोइरालाको सुत्नु भनेको क्या हो । ‘भैगो, त्यसो भए म चिन्ता अझ थप्दिनँ’, भनेर उहाँ पनि फर्किनुभयो ।

अन्य आकर्षणहरू

उनै कोठाहरू हुँदै म पनि चिन्तित मुद्रामा अगाडि बढ्दै थिएँ । म सोचिरहेको थिएँ कि के युद्धमा गोली भएन भने मोर्चामा पराजय हुन्छ? गोली नहुनु कति घबराहटको कुरा थियो त्यो त्यसै बेला थाहा हुन्छ— अहिले.मुखले वर्णन गरेरर या लेखेरर थाहा हुन्न, म पनि आत्तिएको थिएँ । दिनभरि त त्यति खतरा थिएन, त शत्रुहरू राती बढ्ता अग्रसर हुन्छन्, राती उनीहरू मुक्ति सेनाको घेराभित्र पस्न तम्सिन्छन् । त्यसबेला रित्तो नाल लिएका हामी सिपाहीहरू कसरी शत्रुको मुकाबिला गर्ने?

‘हैलो भोजपुर…भोजपुर’– वायरलेसको कोठाबाट आवाज आयो । मैले सोचेँ– यहाँ त यो हाल छ भने झन् बिचरा भोजपुरको के हाल होला ! भोजपुरबाट वायरलेसले प्रष्ट र दृढताका साथ बोल्यो— ‘तपाईहरू निश्चिन्त रहनोस्, हाम्रा सिपाहीहरू उत्साही छन्– विाटनगरबाट गई तममा रोकिएका सिपाहीहरूलाई हामी यताबाट मद्दत पु¥याउँछौँ, पश्चिमबाट शत्रुलाई हमला गर्छौँ…।’

्मलाई बल मिल्यो । यस्तो लाग्यो मानौँ एकैपटक मैले लाखौँ गोली पाएँ । आवाजले गोलीको काम ग¥यो । यही आवाज किन प्रयोग नगरौँ? म वायरलेस अफिसभित्र पसेँ ।

खुशीले उफ्रँदै गुरुङले भने— ‘वण्डरफुल, वण्डरफुल !’ भोजपुर हाम्रो कन्ट्रोलमा आयो । हामीले क्याप्चर ग¥योँ र त्यहाँको सेनामा असाध्य जोश छ । आज उनीहरू ओखलढुङ्गा र धनकुटातर्फ बढ्ने भएका छन् । थुलुङसँग बेकरको कुरा भयो ।’
मैले त्यो सानो वायरलेस सेटलाई अचम्म मानेर पत्यार नपर्ने कुनै ढुङ्गाको देउतालाई हेरेजस्तो गरी एकटक हेरेँ । गुरुङले भने– ‘के हेरेको, वायररलेस देखेको छैनौ?’

इन्जिनियर मेहराले ठट्टा गर्दै भने– ‘बाबुसाहेबलाई आज स्यालले दुःख दिएछ क्यार ! निकै रिसाएको अनुहार छ ।’ हामी हाम्रा शत्रुलाई स्याल भन्ने गथ्र्याँै । मेहेराले माइकतिर औँला देखाउँदै फेरि मलाई भने— ‘बोलो, बोलो, कुछ तो बोलो ।’ म थ्याच्च कुर्सीमा बसेँ । मोर्चाबाट भर्खर आएको हुनाले मेो कारबाइन बन्दुक काँधमा झुण्डिएको थियो । मैले हातमा माइक लिएर कराएँर भनेँ— ‘हैलो भोजपुर ! यहाँको मोर्चा पनि बलियो छ । शायद् आज हामी शत्रुको मोर्चाभित्र पस्छौँ । भोलिसम्म विराटनगर मोर्चा शान्त हुन्छ अनि कोशी तर्ने बन्दोबस्त गर्छौँ । आज एक्कासी शत्रुको मोर्चामा हमला गर्नुछ । आज मुक्तिसेनामा ३०० भोलेन्टियरले नाम लेखाए । सबलाई हतियार बाँड्दैछन् । पहिले गोलीको कमी थियो, अब त्यो पनि पूरा भयो । अब हामी भोलि या पर्सि धनकुटामा भेटौँला । जय नेपाल !’
कोठामा तीन चार जना अपरेटरहरू थिए । आश्चर्यचकित भएर उनीहरूले मतिर हेरे । मेरो कुरा सकिनासाथ गुरुङले ट्रान्समिटरको स्वीच बन्द गरिदिए । स्वीच बन्द हुनासाथ मेहरा, गुरुङ, बद्री र अरु एक जना अपरेटरले मलाई घेरेर प्रसन्नतासाथ भने— ‘गज्जब ग¥यौ तारिणी, गज्जब ग¥यौ । हजारौँ गोली एकैसाथ पड्कायौ । शत्रुको होश उड्यो होला । अब आज राती हामीलाई ढुक्क भो । हामी कुनै बेला पनि हमला गर्न सक्र्छौँ भनेर शत्रुहरू रातभरि मोर्चामा सास बाँधेर पर्खिररहनेछन्, हाम्रो मोर्चातिर आउने प्रयत्न पनि गर्ने छैनन् ।’
मेहराले थपे— ‘र हाम्रा समर्थकहरूले, जसले अहिले रेडियो खोलेर सुनिरहेका होलान्, झन् तिनीहरूलाई कति बल मिल्यो होला, वण्डरफुल किया तारिणी तुम ने । गजब का गोली चलाया ।’

मलाई लाग्यो– यसैलाई रेडियो स्टेसन किन नबनाउनू । मैले भित्तामा टाँगेको घडी हेरेँ – (दिउँसोको) १२ बजेर ४५ मिनेट गएको छ । मेहरालाई भनेँ, ‘आज दुई बजे दिउँसोदेखि म यहाँबाट ब्रोडकास्ट गर्छु । सारा देशवासीलाई हाम्रो मोर्चाको खब बताउँछु । जोशिला गीत सुनाउँछु । क्रान्तिको निम्ति आह्वान गर्छु र राणशाहीलाई तिमी जहाँ छौ, त्यहीँ खतम गरर भन्ने नारा सुनाउँछु । म ब्रोडकास्ट गर्छु मेहरा, आजदेखि म ब्रोडकास्ट गर्छु ।’

विपि कोइरालाले दुश्मनलाई घेरेर बसेका मुक्ति सङ्ग्रामको मोर्चाका सिपाहीहरूलाई दिएको अर्डर सुनाउन म मोर्चातर्फ गएँ । जीपमा एक घण्टा चारैतिर डुलेँ र सब मोर्चाका कमाण्डरलाई बेकरको आदेश सुनाए म वार हेडक्वार्टर फर्किएँ किनकि मलाई आजदेखि एउटा अर्को थप काम गर्नुपरेको छ ।

एक दिन शान्तिले आएर भनिन्– म पनि गाउन जान्दछु । मलाई पनि एउटा गीत बनाइदिनुहोस् ।’ शान्ति को हुन्, अझ पनि राम्ररी मैले चिनेको छैन । तर एक्कासी उनलाई मैले रेडक्रसमा गुण्टाका साथ देखेको थिएँ ।

‘तपाई को?’ मैले सोधेँ ।

‘म नर्सको काम गर्छु, मलाई पनि भर्ना गर्नोस् ।’

‘कहाँबाट आउनु भएको ?’ मैले फेरि सोधेँ ।

उनले कुनै यस्तो ठाउँ बताइन्, जुन नाम मलाई सम्झना छैन । भर्खर रेलबाट ओर्लिएर सोझै रेडक्रसमा आएकी थिइन् । मैले उनलाई डाक्टरको क्वार्टरतिर दे्खाएर भनेँ, ‘त्यहाँ जानुहोस् । त्यहीँ सोधपुछ गर्नुहोस् ।’

उनी (शान्ति) भर्ना भइछिन् । त्यसको तीन–चार दिनपछि एक्कासी उनी रेडियो स्टेसन (के त्यसलाई रेडियो स्टेसन भन्ने?) मा आइन् र उही अघिको कुरा भनिन्, ‘मलाई पनि गाउन आउँछ । मलाई पनि क्रान्तिको एउटा गीत बनाइदिनुहोस् ।’
यस प्रकार उनले हामीलाई मद्दत गर्न लागिन् ।

एउटी अर्की नर्स मकहाँ आइन् – रानू । उनलाई मैले पहिलेदेखि नै चिनेको थिएँ । नवयुवा भन्ने साप्ताहिकको मुखपृष्ठमा छापिएको एउटा कवितामा लय भरिवरि तैयार भएर आएकी रहिछन् । त्यो गीत थियो—
‘वीर विश्वेश्वर जिन्दावाद !
शोषित जनहित जीवन निर्मित
अमर पिताका स्मृतिमय अर्पित
जन जागृतिको तरुण प्रभात
वीर विश्वेश्वर जिन्दावाद !’

अरु पनि यसका पङ्क्ति छन् र निकै राम्रा पङ्क्ति छन्, तर मलाई यति नै याद छ । रानूले यो गीत साँच्चै नै राम्ररी गाइन् । मैले उनको निम्ति अर्को गीत बनाइदिएँ, त्यसको पनि पूरा सम्झना त छैन, तर दुई चा लाइन याद छः
आज देशको क्रान्ति युद्धमा
हाम्रो एक पुकारा होस् !
लड्दा लड्दै मरे मरौँला
यो एउटा नै नारा होस् ! खडा भयो जनतन्त्र फौज लौ आऊ, आऊ नेपाली
मातृभूमिले मुक्तकण्ठमा डाक्छिन्, आई गोर्खाली
………………….
…………..(यी दुई लाइन विर्सिएँ)
नेवार आऊ, पर्वते आऊ, आऊ वीर गुरुङ, राई
मधेशी, क्षेत्री, बाहुन आऊ, तामाङ अरु मगर भाइ
सबै जातिको रक्त मिलेको
बग्ने एउटै धारा होस्
लड्दालड्दै मरे मरौँला
यो एउटा नारा होस् ।

यसको अरु पङ्क्ति पनि छन् क्यार, तर सम्झना हुन सकेन । जे होस्, यो पनि एउटा जोशिलो कविता थियो र यसको तर्ज पनि निकै जोशिलो भरिएको थियो । त्यसबेला रानूले यसलाई रेकर्डमा पनि भरेकी थिइन् र बजामा प्रचूर मात्रामा बिकेको पनि थियो । कुन्नि अचेल पाइन्छ कि पाइन्न ।

र अर्को गीत जो आजसम्म पनि नेपालका बच्चाबच्चाको मुखबाट सुनिन्छः ‘नेपाली ! अघि बढ हातमा क्रान्ति झण्डा लि !’
यो एउटा ऐतिहासिक गीत निस्क्यो । यस गीतको रचनाकारका सम्बन्धमा अचेल मानिसमा यो भ्रम परेको छ कि यो मेरो रचना हो । यदि यो गीत मैले बनाएको भए मेरो ठूलो सौभाग्य हुने थियो । आज मैले स्पष्ट भन्दिने मौका पाएको छु कि यो गीतको रचनाकार म हैन । यसलाई शायद् गुरुङले बनाएको हो, या शायद् कुनै ‘सुब्बा’ ले बनाएको हो । मलाई राम्ररी सम्झना छैन । यसको ग्रामोफोन रेकर्ड भरिएको छ । त्यही रेकर्डमा यसका रचनाकारको नाम स्पष्टलेखिएको छ । क्रान्तिका समय मैले आफ्नो पाँचओटा रचना र माथि मनिएको ‘नेपाली अघि बढ हातमा क्रान्ति झण्डा लि !’ को रचनाकारको एक गीत गरी ६ वटा गीतको रेकर्ड भराएको हुँ । रानुदेवीले गाएका पाँचओटा गीत छन् र उक्त कोरस गीत चाहिँ रानुदेवी समेतको समूह गीत हो ..(झङ्कार, वर्ष १, अङ्क ५, २०१६) ।’’

यो आलेख अझै लामो छ । यहाँ शान्ति र रानुदेवीसँग सम्बन्धित सन्दर्भ मात्रै साभार गरिएको अनुरोध छ । इच्छुक महानुभावहरूले रेडियो नेपालको मुखपत्र झङ्कार, वर्ष १, अङ्क ५, २०१६ मा प्रकाशित तारिणी कोइरालाको संस्मरणात्मक आलेख रेडियो नेपालको जन्म वा मार्टिन चौतारीले प्रकाशन गरेको रेडियो नेपालको सामाजिक इतिहास  नामक पुस्तकमा यो आलेख पढ्न सक्नुहुनेछ । धन्यवाद ।

स्रोत सामग्रीका लागि रेडियो नेपाल, झङ्कार; प्रत्यूष वन्त, मार्टिन चौतारी र नारमुनि स्मृति परिषद्प्रति आभार। 

Facebook Comments