सुन्नुभयो भान्सा कोठाको विलौना !
कोरोना डायरी–६
विहान साग, सब्जी खोज्दै नजिकै रहेका तरकारी पसलतिर पुगें । तरकारी किन्ने भीड राम्रै थियो । गृहिणीहरु एकले अर्कोलाई ठेल्दै आफूलाई चाहिने सामान लिदै थिए । सडकमा हिँडीरहेका केही व्यक्ति भने दुरी कायम गर्ने असफल कोसिस गर्दै थिए । लकडाउन भनेको एक समय कोठामा थुनिने र एकछिन पछि बाहिर जाँदा पनि हुन्छ भन्ने बुझाइ छ कतिपयको । कतिपयले चाहिँ यसलाई सरकारले लगाएको कफ्र्यु ठानेका छन् ।
मानिसलाई दैनिक उपभोग्य वस्तुहरु चाहिन्छ । शहर बजारमा त किनेर खानेहरु पसल नपुगी सुखै छैन । तर, कोरोना भाइरसले मानिसको यो पीडा बुझ्दैन । तसर्थ आफै सतर्क हुन जरुरी छ ।
सब्जी लिएर फर्किदै गर्दा एकजना मित्रले निजी अस्पतालहरुको कुरा गर्नु भयो । उहाँ भन्दै हुनुहुन्थ्यो परेको बेलामा निजी अस्पतालहरु असहयोगी बन्छन् भने विशेष कानून बनाएर भए पनि यी अस्पताललाई सरकारले कब्जा गर्नु पर्छ । अहिले रुघा, खोकीको सिजन छ । रुघा, खोकी र सिजनेवल ज्वरो आएको ब्यक्तिको उपचार नगर्ने हो भने ती अस्पतालमा भएका बिरामी सरकारी अस्पतालमा पठाएर त्यहाँ आगो झोस्नु पर्छ ।
मित्र निकै आवेशमा आउनु भयो र भन्नु भयो– अस्पताललाई भन्सार छुटमा सामानहरु प्राप्त छ । सरकारले मानवीय सेवाका लागि यी अस्पताललाई सहयोग गरेको छ, र सहुलियतमा विभिन्न छुट दिएको छ । कुनै पनि अस्पताल मापदण्ड पुरा गरेर खुलेका रहेनछन् भन्ने कुरा अहिले प्रष्ट भयो । यी अस्पताल मान्छे मार्ने ठाउँ रहेछन् ।
म उहाँसँग विदा भएर घरतिर लागें । वास्तवमा यी मित्रले भनेको कुरा बेठिक होइन । अस्पतालहरु ब्यापारिक केन्द्र बनेका छन् । ‘इक्युपमेण्ट’ मापदण्ड अनुरुपका छैनन् । कतिपय सामान झारा टार्ने खालका मात्र छन् । अनि यिनीहरु केही ट्याब्लेट खादा निको हुने रोगलाई पनि एकभारी औषधी र हरेकका सामान किन्न लगाउँछन् । कतिपय डाक्टरले जुकाको औषधी नदिएर तीन वर्षसम्म टिवीको औषधी खुवाएको पनि हामीलाई थाहा छ ।
काठमाडांै लगायत नेपालका शहरी क्षेत्रमा टोलैपिच्छे भब्य तामझामका साथ खुलेका नाम चलेका अस्पताल छन् । कतिपय अस्पतालले त बिरामी लिएर आएको हेलिकोप्टर आफ्नै छतमा बस्ने भवन बनाएका छन् । यस्ता अस्पताल यो संकटका बेला काम लाग्ने देखिएनन् । यहाँका मालिक र डाक्टरहरुमा सेवाको भावना लेस मात्र पनि देखिएन । यस्ता अस्पताललाई सरकारले निमोठ्नै पर्छ । कब्जामा लिएर सरकारले आफैं सञ्चालन गर्नु पर्छ ।
भयो अब यो कुरालाई नखोतलौं । फेरि पनि कुरो आउँछ ‘भाउजु परिन दाजुको हात, रिस प¥यो मेरो हात’ भन्ने नै । अनि किन खोतल्नु !
कोठा भित्र छिरें । अझै कति दिन यी कोठामा थुनिएर बस्नु पर्ने हो थाहा छ्रैन । आज कोठा पनि अर्कै देख्छु । मैले कोठालाई बढी नै हेपेको हुँदा मसँग रिसाए जस्तो गरेर बसेको र’छ । कोठा यसरी रिसाएको मलाई थाहा थिएन । यसलाई हिजोसम्म मैले यो रुपमा देखेको थिइन । म बैठक कोठासंग डराएँ र लुुसुक्क भन्सा कोठातिर पसें ।
अहो भन्सा कोठाले मुसुक्क हाँसेर स्वागत गर्ला भनेको त एक्कासी विलौना पो गाउन थाल्यो । लु… अब के खान्छौंं ? दाल, चामल, नून, भुटुन, चिनी, चियापत्ती केही पनि छैन । भोकै बस्ने दिन आए अब । मैले त सूचना मात्र दिएको । अब बाँच्ने उपाय गर !
भान्सा कोठाको यथार्थ अभिब्यक्तिले मलाई पीडा बोध गरायो । म किंकर्तब्यविमुड भएँ । अनि फेरि बैठक कोठाकै शरणमा आएँ । बैठक कोठा त्यसै च्याँठिएर घोक्र्याउँदै निकालौला जस्तो गरेर मलाई हेर्दै थियो । हैट ! यस्तो पनि हुन्छ । हतार हतार माथिल्लो कोठामा रहेका किताबहरुसँग भलाकुसारी गर्न पुगें । किताबहरुले एक स्वरमा भने जब अभाव सुरु हुन्छ तब यस्तो हुन्छ । यस कुराले मलाई होसमा फर्कायो । हो त… अब के खाने ?
खाना खाई सकेपछि म निरुद्देश्य चौरसम्म पुगें । भाइ अच्युत नेपाललाई फोन गरें । नजिकैबाट उहाँ आई पुग्नुभयो । चौरको छेउमा बसेर कोरोना, लकडाउन, सुनसान वातावरण र घर जान नपाएकोमा भोग्नु परेको अवस्था बारे कुरा ग¥यौं । त्यसपछि कोठामा आएँ ।
शहरी क्षेत्रमा बसोबास गर्ने मध्यम वर्गलाई समेत अभावले ऐठन पार्दै छ भने दैनिक ज्यालादारीमा बाँचेका श्रमिक वर्गको परिवारको अवस्था के होला ! एउटा ठूलो समुह अभावग्रस्त जीवन भोग्दै छ । कोरोना भाइरसको डर र सर्ने रोगलाई सराप्तैमा समस्या समाधान हुदैन । जब भान्साले टकटकिएर खाने कुरा सिद्धिएको सूचना दिन्छ, जब भोकका मारे पेटले विद्रोह गर्न प्रेरित गर्छ तब मान्छेले पुराण होइन डकैती पढ्छ ।
अहो ! दिमागमा पनि कति कुरा खेलेको ! यो दिमाग शुन्य, निर्विकार, निर्गुण हुन सक्तैन ! विचित्र विचित्र कुरा खेलाउने विश्वका दिमागहरुले कोरोना भाइरसको खोप भने किन पत्ता लगाउन नसकेका होलान् ! आsss जे सुकै होस् है । अब काम केही छैन । डङग्रङ्ग लडेर विस्तरामा सुत्नु बाहेक केही काम देख्दिन । अनिकालको ढिकी भैयो । केही काम नभए पनि मलाई हतार भयो । हवस्त, नमस्कार है ।