काठमाडौंको सफा वातावरण
कोरोना डायरी–४
आज चाहिँ छतमा चड्दिन भन्ने सोचेको थिएँ थाहै नपाई छतमा आई पुगेंछु । कोठमा कति बस्नु ! समाचार कति हेर्नु ! अनि कोरोना र कोरेन्टाइनको बारेमा कति सोच्नु !
काठमाडौं सुनसान र चकमन्न मात्र होइन सफा, स्वच्छ र निर्मल पनि भएछ । धेरै वर्ष पछि काठमाडौंको आकास अनौठो गरी सफा देखिएको छ । र, हेरी रहुँ जस्तो लाग्ने भएको छ । वायु प्रदुषण, ध्वनी प्रदुषण र कोलाहलपूर्ण वातावरणबाट अहिले काठमाडौं मुक्त छ । प्रकृतिले बल्ल आफ्नो रुप पाएको छ ।
विध्वंसकारी मान्छे कोठामा थुनिए पछि कोरोना मात्र होइन, धुलो, धुवाँ, फोहोर र गञ्जागोलबाट पनि धर्ती मुक्त हुदो रहेछ । डाक्टरहरु भन्दै थिए आफैं गएर ल्याउँदा मात्र कोरोना भाइरस आउछ नत्र आउँदैन भनेर । अहिलेसम्मको कोरोना भाइरस फैलावटको अवस्था बुझ्दा पनि विदेशबाट आएकामा मात्र देखिएको छ । उनीहरु आफैं गएर लिएर आएका हुन् । उनीहरु आए पछि जति जनासँग सम्पर्क भयो ती सम्पर्कमा आउनेहरुमा देखियो भने अन्यथा भन्न मिलेन । फोहोर युक्त प्रदुषण पनि मान्छे आफैंले गर्दो रहेछ । वातावरणका लागि मान्छे चैं कोरोना ।
अहो ! बेजोडको घाम लाग्यो । छतमा बस्नै नसक्ने गरी । किताब पढौ त अल्छी लाग्छ, लेख्न बसौं त दिमागमा केही छैन । निरुपाय, निरुद्देश्य छु । यो अवस्था कति दिन भोग्नु पर्ने हो थाहा छैन । मान्छेलाई चेतनशील प्राणी भनेर कसले भने छ कुन्नि ! म चैं हो भने ज्यान गए त्यसो भन्ने थिइन । जब पर्छ अनि मात्र चेतना आउदो रहेछ ।
म ओर्लिएँ तल । तल पनि वातावरण उस्तै छ । मुर्झाएको परिवेश मेरो स्वागत गर्न तम्तयार भएर तलै बसेको रहेछ । म त्यसमै पसेर पूर्खाहरुलाई सम्झन थाले । हाम्रा बाउ बाजेका पालामा अहिले जस्तो साधान स्रोत थिएन । यातायातका साधन थिएनन् । यस्तो घच्चपच्च र फोहोरी वातावरण पनि थिएन । प्रकृति माथिको ठाडो हस्तक्षेप र अनावश्यक दोहन पनि थिएन । स्वच्छ वातावरणमा हाम्रा पूर्खा स्वास्थ्य भएर दीर्घजीवन बाँचेका थिए ।
हामीले विज्ञानको कमाल भन्दै पूर्खा भन्दा आफूलाई विशिष्ट ठान्न थाल्यौ । प्रकृतिलाई मनलाग्दी गिजोल्यौ । यसैको परिणति हो विभिन्न प्रकारको भाइरस र प्राकृतिक प्रकोप ।
बाहिर पुलिसको गाडी साइरन लगाउँदै दौडियो । मेरो सोचाई पनि भङ्ग भयो । यसो झ्यालबाट हेरें । गाडी देखिन, आवाज भने निकै बेर सुने । यो एउटा आवाजले पनि चकमन्न वातावरणलाई एकसरो खलबल्याएर गयो ।
टेलिभिजन हेर्न आफ्नो बानी छैन । नेट खोलेर कति बेर घोरिने ! नघोरिएर पनि के गर्ने ! यसो मोवाइल खोलेर अनलाइनहरुमा लेखहरु हेर्न थालें । कोमल भट्टराईले लेख्नु भएको लेखले मन छोयो । ‘समुदायको चनाखोपन नै कोरोना विरुद्धको औषधी हो’ भन्ने शीर्षक भएको लेख सबैले पढ्दा राम्रो हुन्छ । कोरोना भाइरसको विस्तार (फैलावट) का बारेमा बडो मिहिन पाराले यथार्थमा आधारित भएर लेखिएको छ । लेखमा कोरोनाको औषधी सचेत रहने मात्र हो भनिएको छ । र नेपाली सचेत रहेको र अब पनि रहनु पर्ने जानकारी गराइएको छ ।
लेख पढी सकेपछि फेरि छटपटी सुरु भयो छतमा जाउँ भने ओल्लो घर पल्लो घरका कोही पनि निस्किएका छैनन् । कसैलाई फोन ग¥यो भने भ्रष्टाचारले मुलुक समाप्त भएको, प्रधानमन्त्रीले तुरुन्त राजिनामा दिनु पर्ने, अहिलेको अवस्था यही सरकारले सिर्जना गरेको लगायतका ब्याख्या सुन्नलाई किन फोन गर्ने ? आsss ! कतिपय साथीहरु कोरोना भाइरसले गर्दा लकडाउन भएपछि व्यापार व्यवसाय ठप्प भएकोले विक्षिप्त बनेका छन् ।
तोडा तोड पैसा कमाउने वर्ग र उच्च कुलिन वर्ग लकडाउनका कारण निकै तड्पिएका छन् । बंैकको ब्याज के गरी तिर्ने ? करोडौं ऋण कहिले बुझाउने ? घुम्न डुल्न कहिलेदेखि पाइन्छ जस्ता तर्कनाले उनीहरु पागल हुने बेला भएको छ । ठूलो जमात जो खेती किसानी गरेर बाँच्नेहरु काममा ब्यास्त छ । त्यो समूहलाई मल खाद भए हुने थियो भन्ने मात्र लागेको छ ।
आज विहान झापा सुरुङ्गाबाट फोन गरेर नारायण ओली भन्दै हुनुहुन्थ्यो – अब किसानलाई मल खादको जरुरत छ । यसको ब्यवस्थापन भए अहिलेलाई अरु सामानको खासै जरुरत छैन ।
आज चर्कोसँग घाम लागेको कारणले होला छतमा कोही निस्किएका छैनन् । छत वार्ता स्थगित हुने हो कि भन्ने डर पो भयो । छिमेकीसँग भलाकुसारी र ब्यवहारका कुरा गर्न छत वार्ताले निकै सहयोग पु¥याएको छ । तर, कहिले काँही ती वार्ताहरुमा पनि राजनीति, भ्रष्टाचार, अर्थनीति र अन्य पट्यार लाग्ने कुरा हुन्छन् । जो रुचिकर लाग्दैनन् ।
आफ्नो दिउँसो सुत्ने, टेलिभिजन हेर्ने वानी छैन । धेरै मान्छे फिल्म हेरेर बस्न सक्छन् । म पटक्कै सक्तिन । अब के गर्ने, दिमाग भाव शुन्य भएको अनुभूति हुन्छ । साँचै तपाई भन्नु न त अब के गर्ने ? यो गन्थन कति गर्नु । केही नभएपछि विदा माग्ने बहाना त गर्ने हो रहेछ । अहिलेलाई नमस्कार भन्दा नै राम्रो हुन्छ होला । तपाईलाई नमस्कार है त ।