परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कोरोना र नर्स

न म सूर्य हु, उज्यालो प्रकाशले राप दिने,
न म रुख हु, छहारीले शितलता प्रदान गर्ने,
म त एक नर्स हु, बिरामी हुनबाट जोगाउने,
म त एक नर्स हु भएको बिरामीलाई उपचार र रेखदेख गर्ने ।

बिरामीको स्वास्थ्य समस्या र मनोभावनाका आभासहरु पहिचान गर्ने,
ती आभासबाट हुने परिणाम मापन गर्ने,
राम्रा पक्षलाई फलीभूत गराउने,
नराम्रा पक्षलाई सदाका लागि अन्त्य गराउने ।

नर्सको आफ्नै कार्य दायरा छ,
त्यसको अनुशरण गर्ने मात्र म एक नर्स हुँ,
म त समूहमा विश्वास गर्ने,
समूहलाई संयमित, अनुशासित राखी समन्वय गर्ने एक नर्स हु,

मेरो अभ्यास आदर र सम्मानबाट प्रारम्भ हुन्छ,
पूर्ण प्रजातान्त्रिक तबरबाट संचालित हुन्छ,
म नर्स सहभागी र साझेदारीमा विश्वास गर्दछु,
एकाङ्की र अहम्पनलाई निस्तेज,
पार्दै अगाडि बढ्छु ।

सायद मात्र महिला हावी भएर होला,
सायद गरिबी र अशिक्षा बढी नै भएर होला,
विश्वमा अब्बल पेशा भएता पनि,
इमान्दारिता, पार्दर्शिता र ब्यवस्थापकीय नेतृत्वकर्तामा प्रथम भए तापनी,
हामी नर्स राज्य र सहकर्मीबाट अपहेलित भएका छौं ।

त्यसैले मैले लेख्नु परेको छ,
त्यसैले मैले निर्धक्कसाथ बोल्नु परेकोको छ,
लेख्दा र बोल्दा धेरै विरोध खेप्नु परेको छ,
विरोधीले त विरोध गरे गरे,
आफन्तहरुले पनि तर्साउने गरी विरोध गरे ।

किन लेख्नु हुन्छ, किन बोल्नु हुन्छ ?
के तपाईँ मात्र हो र नर्स ?
यस्तै प्रश्नहरु धेरै थोपर्ने गरिन्छ,
तर म पछाडि हट्दिन, किनकि म हु एक नर्स ।

मैले प्रमाणित गर्नु परेको छ,
कुनै अन्य पेशाका लागि यो पेशा होइन पर्स,
अरुले बोलुन या नबोलुन,
मेरो अन्तरमनले भन्ने गर्छ,
मैले नर्स भै नर्सका लागि बोल्नु पर्छ,
अरूले लेखुन या नलेखुन मैले लेख्नु पर्छ,
धम्की आउँछ अनगिन्ती मलाई,
सार्वजनिक रुपमा तेरो बदनाम गर्नेछु भनी,
मेरो जबाफ यही ठान्नु
सकेसम्म मेरो बदनाम गरिरहनु ।

हो मेरो आदर्श एउटै छ, न बिराउनू न डराउनु
जो डरायो ऊ हरायो यो धर्तीबाट
मनमा सदा यही राख्नु,
मैले सुनेको छु,
सत्य कालजयी छ ।

म सुरिनै पर्छ,
यो पेशाका धमिराहरु सफा गर्न,
मैले खुट्टा कमाउनु हुन्न, सही के गलत के भनी पर्गेल्न,
मलाई त्यसैले नधमकाऊ,
म डराएर बस्ने नर्स होइन,
कसैले मलाई नअह्राउ,
म कसैको घरको दास होइन ।

मेरो आफ्नै चेतना छ,
मेरो आफ्नै मुल्य छ
सामुन्नेको कोरोना विश्वव्यापी महामारीमा,
नर्स भै अग्र पङ्तीमा लड्नु छ,
हाम्रो अटल प्रयत्न लगाएर,
कुनै हालतमा कोरोनाको महामारी रोक्नु छ,
सकेसम्म मिलेसम्म यसलाई,
जरै शुद्ध निमिट्यान्न पार्नु छ ।

त्यसैले युद्धभूमिमा होमिएको म हुँ एक नर्स,
कसैको धाक र धम्कीमा नडराउने नर्स,
कदापि बन्ने छैन कसैको खल्तीको पर्स,
किनकि म हु एक नर्स,
किनकि म हु एक नर्स ।

Facebook Comments