गणतन्त्र दिवसः एउटा प्रगतिशील परम्पराको शुरुवात
सन्दर्भ गणतन्त्र दिवस
आज म गणतन्त्र प्राप्तिको गौरवशाली स्मृति यहाँहरु समक्ष सङ्क्षेपमा राख्न चाहन्छु । जनताको वलिदानपूर्ण संघर्ष, र जनताकै आकांक्षाअनुरुप वंशाणुगत उत्तराधिकारको तन्त्रलाई तोडेर ११ वर्ष अघि आजकै दिन जननिर्वाचित संविधानसभाले गणतन्त्रको घोषणा गरेको थियो ।
गणतन्त्रात्मक परम्परा हाम्रो आफ्नै स्वस्थ्य प्रतिस्पर्धाको परम्परा हो । हाम्रो गौरवपूर्ण परम्परालाई एकैछिन सम्झने कोसिस गरौं त, रजौटाकालीन समयमा पनि गणतन्त्रात्मक विधिबाट रजौटा छानिन्थे । दौडमा प्रतिस्पर्धा गरेर भए पनि जीत हासिल गरेरै राजा हुने प्रचलन त्यसैको उदाहरण थियो । पछि विना प्रतिस्पर्धा अस्वस्थ्य र हिंसाको बाटो अवलम्वन गरी राज्य सत्ता प्राप्त गर्ने चलन सुरु भयो । अनि, सत्ता भनेको जालझेल, षडयन्त्र, हिंसा र हत्या मात्रै हो भन्ने भान पार्न खोजियो । गलत मूल्य मान्यताहरुबाट देशलाई अगाडि बढाउने दुष्प्रयास हुँदै गयो ।
- गणतन्त्र – गणहरु, सर्वसाधारणको शासन व्यवस्था ।
- गणतन्त्र – जनताका प्रतिनिधिहरुले जनताकै अभिमतमा आधारित भएर शासन गर्ने उच्चतम लोकतान्त्रिक प्रणाली ।
- गणतन्त्र – जनताका सन्तान मुलुकको सर्वोच्च प्रतिनिधि, राष्ट्राध्यक्ष बन्न पाउने प्रणाली ।
- गणतन्त्र – जनताले रुचाएको र जनताले रोजेको व्यक्तिबाट मुलुकको शासन व्यवस्था सञ्चालन हुने प्रणाली ।
- राम्रो काम गर्न नसके गणसभाले उनीहरुलाई हटाएर नयाँ व्यवस्था गथ्र्यो ।
- विद्वताको गौरवशाली परम्परा भएको प्राचीन मिथिलामा महर्षीहरुले नायकत्व गर्थे । उनीहरुको सभामा दर्शन र संस्कृतिबारे शास्त्रार्थ हुन्थ्यो । महिलाहरुको उच्च स्थान थियो । गार्गी, मैत्रेयी र आरुणी जस्ता विदूषीहरु औंलो ठड्याएर ठूला विद्वानहरुलाई चुनौती दिने हैसियत राख्थे ।
- प्राचीन शाक्य गणराज्यका शुद्धोधन यस्तै गणनायक थिए । सिद्धार्थ गौतम त्यही परिवारमा जन्मेका थिए ।
- मानव जीवनका दुःख, पीडा, द्वन्द्व र अशान्तिको अन्त्यहीन शृङ्खला देखेर द्रवीभूत भएका सिद्धार्थ त्यस्तो कूचक्रको अन्त्य गर्न सुख सयल, पारिवारिक माया र स्नेह सबै त्यागेर ज्ञानको खोजीमा निस्केका थिए ।
- चार सय एकसठ्ठी बर्ष अघि शाहबंशीय राजतन्त्र सुरु हुनुपूर्व, हरेक साल विजया दशमीको दिन हुने लिगलिगकोटको दौडमा जो जित्थ्यो, त्यही नै बर्षभरीका लागि राजा हुने परम्परा विद्यमान थियो ।
मैले बारम्बार भन्दै आएको छु– गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन् । यी सँगसँगै अघि बढ्न पनि सक्दैनन् । त्यसैले सुशासन र विकास आज हाम्रो प्राथमिकता हुन । हाम्रा सम्पूर्ण पाइला सुशासन र विकासतर्फ अग्रसर छन् ।
विकासका लागि हाम्रो प्रस्थानविन्दू सवैलाई खाद्य व्यवस्था, सवैलाई आवास र कपडा, सवैलाई शिक्षा र सवैलाई स्वास्थ्य एवं सुरक्षा हो । यसै कारण मैले भन्दै आएको छु– गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै होइन, समग्र सामाजिक रुपान्तरणको व्यवस्था हो । ‘सर्वजन हितायः सर्वजन सुखायः’हाम्रो गणतन्त्रको आत्मातत्व हो । त्यसैले जनताको अनुहार मलीन हुने विवशता अन्त्य गर्ने संकल्प हामीले लिएका छौं ।