परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

श्रद्धाञ्जली मणिदाइ !

संदर्भः वार्षिक स्मृति

लायक कुरालाई हासिल गर्ने मामिलामा भगवानको मन पनि कमजोर हुन्छ रे । होला पनि, बोटमा फुलेका सबैभन्दा सुन्दर फूल उनकै पाउमा चढ्छन्, मिठास भरिएका दूध र घिउ पनि उनकै शिरमा पोखिन्छन् । अनि वास्तविकतामा भगवानको कुनै लोक छ भने मनमा सफा भएका मानिसहरु पनि कलिलैमा उनको त्यही लोकको बाटो तताउँदा रहेछन् । कति आफ्नै कारणले कति अरुका कारणले ।

लेखक

नेपाली फुटबल घेराको मात्र कुरा गर्ने हो भने त्यस क्षेत्रबाट केही लिएकाभन्दा पनि आफैंले धेरै दिएका मणि शाहको नामको अगाडि आजभन्दा ठ्याक्कै एक वर्षअघि स्वर्गीय शव्द लेखिन थालिएको छ । नेपाली औषत आयुभन्दा निकै कम समय उनले यहाँ बिताए । त्यसैले होला, वर्तमान र भविष्यमा नेपाली फुटबलका बारे जे केही लेखिएलान्, त्यसबेला मणिविक्रम शाहको नाम छुट्दैन, छुटाउन पनि मिल्दैन ।

खेलाडीका रुपमा अन्य कसैले दर्शकको मनमा छाड्न नसकेको छाप उनले छाडेका छन् । नयाँ हुन् वा पुराना, हरेक पुस्ता उनको जादुगरी फुटबलबाट कायल छ । उनले खेलेको प्रत्यक्ष हेर्न नपाएकाहरुको मनमा सधैं केही गुमाए झैं लागिरहन्छ होला । उनको खेल जतिले हेरे, उनीहरु उनको ड्रिब्लिङ र देब्रे खुट्टाको प्रहारबाट सधैं रोमाञ्चित बन्थ्ये । नेपाली फुटबलमा उनी जस्तो दोस्रो सेलिब्रेटी अहिलेसम्म जन्मिएका छैनन् भन्दा अरुमाथि घोर अन्याय पनि नहोला । हुनसक्छ, रंगशालामा खेल्दासम्म सेलिब्रेटीमा गनिनेहरु खेलाडीका रुपमा सन्यास लिएपछि कता हराउँछन्, उनीहरुलाई नै पत्तो हुँदैन ।

हो अव मणिको नाम अगाडि स्वर्गीय थपिएको छ । मात्र ५१ वर्ष कै उमेरमा उनले फुटबल प्रेमीलाई रुवाए । घर परिवारलाई एक्लो बनाए । १३ वर्ष कै उमेरमा थाइल्यान्डमा सम्पन्न प्रिन्सेस कपबाट राष्ट्रको प्रतिनिधित्व गरेका ती खेलाडीले जीवनमा खेलेर के कमाए अनि के गुमाए ? लेखाजोखा राख्न कठिन नै छ ।

मणिलाई परिपक्व खेलाडी बन्न आफ्नो मात्र होइन, बुवा लक्ष्मणविक्रम शाहको लगानी पनि छ । बुवा शाह आफैं पनि फुटबल, ज्याभलिङ थ्रो र एथलेटिक्सका राष्ट्रियस्तरका खेलाडी थिए, एथलेटिक्सका प्रशिक्षक पनि । त्यसैले मणिलाई खेल करियर बनाउन संघर्ष गर्नु परेन । बरु उल्टै बुवाबाट उनले खेल्ने प्रेरणा नै पाए । घरभित्रै खेल्ने माहौल भएकै कारण उनको खेल निकै कलात्मक पनि बन्यो । त्यसैले जुनकुनैबेलामा पनि मैदानमा उनको उपस्थिति नै दर्शकलाई मुग्ध बनाउन पर्याप्त रहन्थ्यो ।

उनी आफैं भन्थ्ये, ‘मेरो नशा–नशामा राष्ट्र बगेको छ, मैले सधैं नेपाललाई मनमा राखेर खेलेँ । अनि त्यसैले नाम र शान  दिलायो ।’ हिजोआजका खेलाडी आवश्यकताभन्दा बढी व्यावसायिक बनेकोप्रति उनको चिन्ता थियो । खेलाडीको मनबाट राष्ट्र हराउँदै गएको छ कि भन्ने चिन्ताले उनलाई सधैं सताउँथ्यो । एकहिसाबमा उनको चिन्ता जायज पनि छ । ‘फुटबलर्सको समर्पण फुटबलर्सलाई’ नामक पुस्तकमा प्रकासित उनको जीवनको अन्तिम आत्मसंस्मरणमा उनले त्यो चिन्ता व्यक्त गरेका थिए ।

सन् १९९३ मा ढाकामा सम्पन्न छैटौं दक्षिण एसियाली खेलकुदमा जितेको स्वर्ण पदकलाई उनी सधैं मनमा राख्थ्ये । त्यो खेलकुदमा नेपालले एकमात्र जितेको स्वर्ण पदक त्यही फुटबलबाट थियो । खेल सकिन मात्र ३० सेकेन्ड बाँकी रहँदा १–२ ले पछाडि रहेको नेपालका लागि फ्रि किकमा गोल गर्दै उनले खेललाई बराबरीमा ल्याएका थिए । अनि टाइब्रकेकरमा नेपालले स्वर्ण पदक घर भित्राएको थियो । यद्यपि त्यही ढाकामा सन् १९८५ मा सम्पन्न दोस्रो दक्षिण एसियाली खेलकुददेखि उनले आफूलाई राष्ट्रिय टोलीको जर्सीमा सजाए । सन् १९९८ मा राष्ट्रिय टोलीबाट बिदाइ लिनु अगाडि उनी दुई वर्ष राष्ट्रिय टोलीको कप्तान समेत बने । डेढ दसक लामो करियरमा उनले सबैलाई आफ्नो खेलबाट मन्त्रमुग्ध बनाए । मैदानमा उनको खेल कहिल्यै हारेन । टोली हार्दा पनि उनले दर्शकको मन जितिरहे । अनि फुटबलका पारखीका लागि जीवन पर्यन्त सेलिब्रेटी बनिरहे ।

तीतो सत्य, खेलाडीपछि मणिको जीवन त्यति गर्व गर्न लायक रहेन । कमजोर मनका मणि अरुको स्वार्थलाई सफल बनाउन पनि कम्मर कसेर लागे । केही वर्ष फुटबलमा नेतृत्वका लागि हुने राजनीतिमा उनको पनि सक्रिय सहभागिता रहन्थ्यो । तर, शरीर कमजोर हुँदै गएपछि उनको त्यो क्रियाकलाप पनि बन्द झै भयो । अरुका लागि ज्यान दिएर लाग्ने मणि बिस्तारै एक्लिदैं पनि गए ।

हुनसक्छ, खेलाडी जीवनपछि अचानक घटेर जाने ‘सेलिब्रेटी क्रेज’ले पनि उनलाई गाँज्यो । स्टारडम कमजोर बन्दै गयो । समर्थकको संख्या घट्दै गयो । अनि मणि डिप्रेसनमा पनि गए । हजारौं समर्थकको तालीखाने बानी परेका मणि कालाधाराको मणि गल्लीस्थित निवासको चारघेरामा रुमल्लिन थाले । प्राय सेलिब्रेटीले व्यहोर्नुपर्ने यो बाध्यता उनको जीवनमा पनि आयो ।

जीवनमा कमाएको दर्शकको मायाको बोझलाई उनले सम्हाल्न सकेनन् शायद । अन्य पेशा व्यवसायमा हात हालेको भए सम्भवत उनको मन पन रुमलिन्थ्यो होला । उनले त्यो कोसिस पनि गरेनन् । केही समय होटल व्यवसायमा हात हाले तर सफल हुन सकेनन् । त्यसले पनि उनलाई निरास    बनायो । उनी आफैं भन्थ्ये, ‘मैले जीवनमा केही जानेको छैन । केही जानेको छुँ त मात्र फुटबल ।’

अन्य आकर्षणहरू

देउवा दाइसंग अनुनय विनय !

बोलाउँछु फोन गरेर

आन्दोलनको अपिल

माघी

हुनत उनी केही समय एन्फाको उपाध्यक्ष पनि भए । जबसम्म शरीर थियो, जोस थियो, मणिलाई काँध थाप्ने पनि प्रसस्त थिए । जब शरीर कमजोर   बन्यो । रोगले गल्न थाल्यो, मणिलाई माया गर्नेहरु नै उनीहरुबाट टाढा हुन थाले । त्यसपछि उनको संसार साँधुरिदै गयो । संगत फेरिंदै गयो । दिनभर बस्ने ठेगाना परिवर्तन हुँदैगयो । तरपनि, उनलाई जतिले मनदेखि माया गर्थे । तिनीहरु अन्तिम धुकधुकीसम्म साथ रहे ।

मणि आफैं भन्थ्ये, ‘मेरो नशा–नशामा राष्ट्र बगेको छ, मैले सधैं नेपाललाई मनमा राखेर खेलेँ । अनि त्यसैले नाम र शान दिलायो ।’ हिजोआजका खेलाडी आवश्यकताभन्दा बढी व्यावसायिक बनेकोप्रति उनको चिन्ता थियो । खेलाडीको मनबाट राष्ट्र हराउँदै गएको छ कि भन्ने चिन्ताले उनलाई सधैं सताउँथ्यो । एकहिसाबमा उनको चिन्ता जायज पनि छ । ‘फुटबलर्सको समर्पण फुटबलर्सलाई’ नामक पुस्तकमा प्रकासित उनको जीवनको अन्तिम आत्मसंस्मरणमा उनले त्यो चिन्ता व्यक्त गरेका थिए ।

उनको ‘लुक्स’ र खेलशैली प्रसिद्ध फुटबलर डियगो म्याराडोनासँग धेरै मिल्थ्यो । उनी पनि चाहिन्थे नै, उनलाई पनि सबैले नेपालको म्याराडोना
भनिदियोस् । त्यो सम्बोधनमा उनी गर्व अनूभुति पनि गर्थे । तर, मेरो नजरमा उनी हाम्रा आफ्नै ‘मणि’ थिए । विशुद्ध आत्मविश्वासी खेलाडी । जसलाई हामीले जोगाउन सकेनौं । राज्यले सम्बद्र्धन गर्न सकेन, मुलुककै ‘मणि’ लाई ।

हुनत चिकित्सकीय भाषामा लिभर सिरोसिसले उनको ज्यान लियो । तर, धेरै पटक उनको मन र भावनासँग खेल्नेले पनि उनको ज्यान लिए । रोगका कारण अल्कोहल खान हुन्न भन्ने चिकित्सकको सल्लाहलाई चुनौती दिंदै उनलाई त्यही पिउन हौसाउनेहरुले पनि उनको ज्यान लिए ।

खेलाडी जीवनपछि उनको खुबीको फाइदा लिन राज्य र एन्फा असमर्थ भयो । धेरै खेलाडीले राज्यबाट धेरै पुरस्कार पाए तर उनले याद गर्न लायक केही सम्मान पाएनन् । हो, राष्ट्रिय खेलकुद परिषद्ले उनलाई सहायक प्रशिक्षकको नोकरी दिएको थियो । खेलाडीका रुपमा उनले जुन कद नापे, त्यसको तुलनामा त्यो पद अति तुच्छ थियो ।

मणिले समेत आफ्नो जीवनमा आफूले सिकेका कुराबाट धेरै उपलब्धि कमाउन सक्थ्ये । तर, उनले त्यसतिर पनि कहिल्यै चाहना प्रकट गरेनन् । नीजिरुपमा एउटा फुटबल एकेडेमी भएपनि संचालन गर्न धेरैले आग्रह गरे तर उनले कहिल्यै टेरेनन् । फुटबल मै केही गर्न उनलाई हौसाउनेको कमी थिएन तर त्यसलाई पनि उनले कहिल्यै बुझेनन् । मात्र ५१ वर्षको उमेरमा संसारबाट बिदा लिनुमा कहिँ कतै उनको कमजोरी पनि कारक बन्यो । भन्न दिक्क पनि लाग्छ, शायद आफूभन्दा बढी माया गर्ने पत्नी र छोरीको अनुहार समेत उनले मनमा राखेनन् । बरालिन छाडेनन् । यस्तो कमजोरीले उनको साथ कहिल्यै छाडेन ।

उनी सधैं आफूलाई लडाकु खेलाडी मान्थे । जहाँ र जोसुकैसँग पनि लड्न सक्ने घमण्ड थियो । तर उनले बिर्सिए, मृत्युसँग कसैले सक्दैन । कालको अगाडि कसैको बुता चल्दैन । यस्ता घमण्ड पनि उनको शरीरबाट प्राण खोस्ने कारण बन्यो ।

मनाङ मस्र्यांग्दी क्लबलाई लगातार सी डिभिजनदेखि ए डिभिजन लिग च्याम्पियन बनाएको उमेरको झैं जोस उनमा सदा देखिन्थ्यो । तर त्यो उनको भ्रम मात्र थियो । मैले जसलाई गरेँ, उनीहरुले मलाई पनि अवश्य केही गर्छन् भन्ने जुन विश्वास थियो, त्यो पनि समयसँगै चकनाचुर बन्दै गयो । तरपनि मैदानमा मुलुकका लागि खेल्दा देखाउने अदम्य साहस उनको मनबाट कहिल्यै बिलाएन । उनी कहिल्यै थाकेनन् । शरीर गल्दै गयो तर, साहस कहिल्यै गलेन ।

कतिपय अवस्थामा उनका पिडाका साक्षी म आफैं पनि बने । तर त्यस्ता कुरा लेखेर उनको र परिवारको आत्मा र मन दुखाउने पक्षमा म छैन । जसले जे भनेपनि उनी मेरो पनि फुटबल हिरो थिए र हुन । निधन हुनु केही दिनअघि मात्र उनले मलाई भेटौं है भनेका थिए केही दिनसम्मको नर्भिक हस्पिटलको बसाइबाट फर्किएपछि । मैले हुन्छ भनेको थिएँ तर भेट्न पाइन । मनमा कताकता लागेको पनि थियो, अब उनको आयु धेरै लामो छैन । तर यति छोटो छ भन्ने चाहिँ पक्कै लागेको थिएन । नत्र हानिएर उनलाई भेट्न पुग्थ्येँ । अहिले चुकचुक लागिरहेको छ । अब मेरो मुलुकका फुटबलको ‘मणि’सँग कहिल्यै भेट हुनेछैन । उनका पीडा सुन्न पाउने छैन । उनका उपलब्धिका गाथा उनकै मुखबाट सुन्न पाउने छैन । हेर्दा हेर्दै एक वर्ष पनि वितेछ मणि गएको । हार्दिक श्रद्धाञ्जली मणिदाइ !

Facebook Comments