परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

काठमाडौँमा इन्द्रका अन्तिम दिन

विज्ञानोपनिषद् (भाग २)

शिवजीको दण्ड र कविज्यूको दमित चाहनारूपी करुणाले गर्दा इन्द्रले कान्तिपुरी नगरीमा जन्मिनु प¥यो । इन्द्र गर्भबाट बाहिर आएको दिन नेपाल देशमा हलचल हुनु स्वाभाविक नै थियो । त्यै दिन हो– राजा महेन्द्रले शासन सत्ता आफ्नो हातमा फर्काए । अब स्वर्गकै राजा पृथ्वीमा आउँदा यहाँका राजाको पनि त रौनक फर्किनुपर्‍यो !

इतिहास वेदान्तले २०१७ सालको परिवर्तनको जति कारण खोजे पनि परिणाम बाबाजीको चिम्टा ! ए, तपाईले ठुल्लु पढ्नुभएको थियो । हेर्नुस्, म यताउताबाट चोरी–चकारी गरे पनि मूल रूपमा मौलिकतामा विश्वास गर्ने मानिस हुँ । ‘कपी पेष्ट’ कर्ता होइन । शङ्कर लामिछानेबाट शब्द उन्नयन र वाक्य संयोजन सिक्न नसके पनि मान्नुस् केही त सिकेकै छु । मैले इतिहासवेत्तालाई पञ्चायत आउनुको ‘डिभाएन सिक्रेट’ भनिदिएँ । श्रद्धा हुनेले विश्वास गर्नुस् र दया एवम् विश्वासको अगुवाइमा श्रद्धा, आस्था, करुणा, नम्रतालाई छापामार युद्धमा सहिद बनाइसकेका वामपन्थीलाई त झनै सजिलो भयो । अब सोझै इन्द्रलाई गाली गरे भयो !

अब योे संयोग नै हो, इन्द्र आफ्नो श्रापावधि पूरा गरेर फर्किनुअघि ठमेलमा मसँग ठोक्किन पुगे । ‘एक्स्प्रेसो’ पिउने नयाँ–नयाँ सोख लागेको थियो मलाई । चाक्सीबारीमा गणेशमानजीको इच्छा अनुसार ‘मेमोरियल’ नबनाएर छोराहरूले ‘सपिङ कम्प्लेक्स्’ बनाए, त्यहीँ दोश्रो तल्लामा थियो हिमालयन क्याफे । त्यहीँ भेट भयो इन्द्रसँग, मभन्दा पहिलादेखि बसेर उनी ‘एक्सप्रेसो’ लिइरहेका थिए । उनकै सामुन्नेको टेबुलमा मैले पनि आफ्नो देह कुर्सीमा अड्याएर कफी अर्डर गरेँ । मसँग भएकी कन्याले ‘एक्सपे्रसो’ संँग ‘चीज केक’ को ‘टेष्ट’ मेरो पनि जिब्रोका लागि ‘वाह उस्ताद !’ बनाइसकेकी थिइन् । तीतो र मीठोको अपूर्व सङ्गम !

हुन त विज्ञानले घोषणा गरिसक्यो, हाम्रो जिब्रोसँग जम्मा पाँचवटा स्वाद चिन्ने क्षमता हुन्छ– गुलियो, नुनिलो, पिरो, अमिलो, र मासु (अजिनोमोटोमा मासुको स्वाद हुन्छ) यी बाहेकका समस्त स्वादका लागि जीब्रोसँग ‘रिसेप्टर्स’ (रिसेप्टर्सले मष्तिस्कमा सिग्नल पठाउँछन्) हुन्नन् । त अरु अन्य स्वाद हामीले कसरी पाउछौँ ? जवाफ छ हजुर नाक ! हाम्रो नाकसँग हजाराँै ‘फ्लेवर्स’ का लागि ‘रिसेप्टर्स’ हुन्छन । नाक बन्द गरेर खाएर त हेर्नुस्, स्वादको मस्ती ‘उडन्छु’ हुन्छ । हो, माक्र्सले भने झँै रोटी र पेटकै लागि सबै सङ्घर्ष हुन्छन् तर सबै भोक पेटका हुन्नन् । हामी त पेटको भोक अनुभव नै नगरी मस्तिष्ककै भोक शान्त गरिरहेका हुन्छौँ। नाकका ‘रिसेप्टर्स’ ले ‘फ्लेवसर्’ ‘ट्रान्समिशन’ गर्छन् मस्तिष्कलाई र सुगन्ध पाउनासाथ भोक जागृत भइदिन्छ । त के नाक हो भोक र स्वादको प्रमुख अङ्ग ? होइन पाठकबृन्द, मस्तिष्कभित्रको पनि एउटा सानो भागलाई ‘हैपोथालमस’ भनिन्छ । जिब्रो र नाकमा रहेका ‘रिसेप्टर्स’ ले सारा सन्देश यहीँ पुर्‍याउँछन, तृप्ति पेटको होइन, मस्तिष्ककै यसै सानो भागको सौभाग्य हो ।

हामीले तेश्रो ‘एक्प्रेसो अर्डर’ गर्दा सामुन्ने बसेका व्यक्ति हामीतिर हेरेर मुसुक्क हाँसे । मेरी जर्मन मित्रले पनि प्रत्युत्तरमा ‘वी लभ इट’ भन्दै ‘व्हाई नट यू ज्वाइन अस’ भनिन् ।

परिचय भयो, २० बेलायतमा पढाइ, बसाइ गरेर नेपाल फर्केका युवक। राजा महेन्द्रले आफ्नै अग्रसरतामा ‘अक्सफोर्ड’ पढन पठाएका थिए पञ्चायतकालमा। अणु भौतिकीमा ‘डक्टरेट’ गरेर विभिन्न ‘युनिभर्सिटी’ मा अध्यापन गरी एक महिना पहिला मात्र नेपाल फर्केका रहेछन् । मेरी जर्मन साथीले मलाई देखाउँदै, ‘ऊ पत्रकार र साहित्यकार हो र दर्शनमा पनि रुचि छ’, भनेर मेरो परिचय दिइन् । साहित्यमा रुचि सुनेर उनले बालकृष्ण समबारे सोधे, ‘‘के तपाईले ‘स्वास्नी मान्छे’ पढ्नुभएको छ ?’’ मैले स्वीकृतिमा टाउको हल्लाएपछि उनले औधी खुशी मान्दै भनेँ, ‘म यसबारे तपाईंसँग चर्चा गर्न र साथै चोभार डाँडा पनि हेर्न चाहन्छु, गजबकै कल्पना छ समज्यूको ।’ सौभाग्यले हामी तीनैजना ठमेलकै फरक–फरक गेष्टहाउसमा बसेका रहेछौँ । भोलिपल्ट ‘बे्रकफाष्ट’ पछि चोभार डाँडा घुम्न जाने भनी हामी छुट्टियौँ ।

‘तिम्रो आवेग स्वाभाविक हो निलोत्तमा ! र, तिमीले भनेको पनि सत्य हो, म देवराज इन्द्र हुँ । श्रापवश पृथ्वीलोकमा चालीस वर्षका लागि आएको थिएँ । पृथ्वीमा जन्मेदेखि मलाई यसको बोध थिएन, अब जब त्यो अवधि समाप्त हुन लागिरहेको छ, मलाई आफ्नो स्वरूपको बोध भएको छ । अब म देवराज इन्द्र आफ्ना सारा शक्तिले सम्पन्न छु । यस लोकमा मेरा लागि केही अशक्य

छैन ।’

दिनभरि चोभार डाँडा घुम्दै समका बारेमा अनेक कुरा गर्दै हामी साँझमा ठमेलकै एउटा रेष्टुरेन्टमा बसिरहेका थियौँ । मेरी महिला मित्रले भनिन्, ‘समको व्यक्तित्व वास्तवमै रहस्यमय छ, यस्तो प्रतीत हुन्छ, बेलामौका यिनको अन्य कुनै ग्रहसँग सम्वन्ध स्थापित हुन्थ्यो ।’ तर म हाम्रा नयाँ मित्रसँग अणु भौतिकीको बारेमा जान्न इच्छुक थिएँ । उनले ‘क्वान्टम फिजिक्स्’ माथि लामै व्याख्यान दिए । हाम्रा लागि अधिकांश कुरा बुझाइभन्दा बाहिरका थिए । भोजनपश्चात् हामी आ—आफ्ना गेष्टहाउसतिर लाग्यौँ ।

हाम्रो भेट भएको तेश्रो दिन बौद्धनाथ घुमिरहेका थियौँ । मेरी महिला मित्र बुद्धधर्म दर्शनकी स्व–अनुयायी थिइन् । तिब्बत, भुटान, भारत र नेपालका अधिकांश ‘मोनाष्ट्री’ पुगिसकेकी थिइन् । अनेकौँ लामा र रिम्पाेंछेहरूसँग उनको चिनजान थियो । आज उनै हामीलाई बौद्धनाथमा रहेका विभिन्न ‘मोनाष्ट्री’ घुमाउदै थिइन् । हामी थाकेर चुर भइसकेका थियौँ । एउटा ‘रूफटप रेष्टुरेन्ट’ मा हामी कफी पिउन बस्यौँ । थाकेकाले हामी सबै मौन थियौँ । टेबुलमा एकापट्टि म र जर्मन मित्र थियौँ भने अर्कोपटि ‘अक्सफोर्ड रिटर्न’ मित्र बसिरहेका थिए । अचानक उनको शरीरमा तीव्र कम्पन हुन थाल्यो, अनुहार पूरै निलो भयो, हामीले केही गर्नुभन्दा पहिला नै उनी हामीले नबुझ्ने भाषामा केही भन्न थाले । एक मिनेटमै उनको अनुहार यति तेजमय भयो कि हामीले सिँधै उनको अनुहारमा हेर्न सकेनौँ । मैले सोधेँ, ‘हैन तपार्इं सञ्चै हुनुहुन्छ, के भएको तपाईलाई ?

‘वत्स, जे हुनु थियो त्यै भयो’, उनको स्वर मैले पृथ्वीमा पहिला कहिल्यै पनि नसुनेको अद्भुत थियो । केही बुझ्न सकिँन, उनैले भने, ‘वत्स अव मसँग धेरै समय छैन, मेरो जाने बेला भयो । मलाई आफ्नो मूल स्वरूपको ज्ञान भयो, जुन कारणहेतु म पृथ्वीमा आएको थिएँ, त्यस कारणको अवधि समाप्त हुँदैछ । यो शेष रहेको अवधिभरि म तिमीहरूसँगै हुन्छु ।’
मेरी जर्मन मित्रले भनिन्, ‘शायद् तपाईलाई सञ्चो भएन, हस्पिटल जाने कि ?’

आहा के दिव्य हाँसो मानौ एकैपटक हज्जाराैँ षोडशी बालाहरूले खित्का छाडेका हुन । अनि उस्तै दिव्य स्वरमा सुनियो, ‘‘सौभाग्ये, यो जुन तिमीलाई आभाष हुन्छ, ‘टिग्रिस’ नदी किनारको सभ्यताकी तिमी रानी थियौ र भट्किँदै आएको एउटा युवकको प्रेममा समर्पित भएकी थियौ, यो सत्य हो र यो पनि सत्य हो – यो युवक पनि त्यही तिम्रो प्रेमी हो ।’’
महिला मित्रले रिसले मतिर हेरिन् ।

‘होइन, होइन, तिमी व्यर्थमा क्रोध नगर । यी युवाले तिम्रो विषयमा मलाई केही जानकारी दिएका होइनन् । स्मरण गर– हामी तीनैजना सँगै भेट्थ्यौँ । त्यो बाहेक यी युवा तिम्रै सान्निध्यमा हुन्थे ।’

‘ठीक हो तर तपाईंले कसरी थाहा पाउनु भयो ?’

‘सौभाग्ये, बुझ्ने प्रयास गर । अघिसम्म म पृथ्वीको सामान्य मानिस थिएँ, तर अब म त्यो होइन ।’

‘सामान्य मानिस नभए तपाई देउता हो ?’ महिला मित्रले अलिक तिखो स्वरमा सोधिन् ।

‘तिम्रो आवेग स्वाभाविक हो निलोत्तमा ! र, तिमीले भनेको पनि सत्य हो, म देवराज इन्द्र हुँ । श्रापवश पृथ्वीलोकमा चालीस वर्षका लागि आएको थिएँ । पृथ्वीमा जन्मेदेखि मलाई यसको बोध थिएन, अब जब त्यो अवधि समाप्त हुन लागिरहेको छ, मलाई आफ्नो स्वरूपको बोध भएको छ । अब म देवराज इन्द्र आफ्ना सारा शक्तिले सम्पन्न छु । यस लोकमा मेरा लागि केही अशक्य छैन ।’

हाम्रो मस्तिष्कमा दश ‘रेक्टर स्केल’ को भुँइचालो गयो । हाम्रो तर्फबाट कुनै प्रतिक्रिया नभएकाले देवराजले भन्नुभयो– ‘वत्स हो, तिमीहरू तन्त्रको माध्यमले परम ज्ञान पाउन चाहन्छौ, अहिले पृथ्वीमा यसको ज्ञान लोपप्रायः भइसकेको छ । म तिमीहरूलाई यो ज्ञान प्रदान गर्न सक्छु ।’

भएभरिको साहसलाई बटुल्दै मैले भनेँ – ‘प्रभो, हामी कसरी विश्वास गरौँ – हजुर देवराज होइसिन्छ ?’

तिमी आफ्नो कुनै इच्छा व्यक्त गर म निमेषमै त्यसलाई पूरा गरिदिन्छु, पृथ्वीदेखि सूर्यसम्म अनन्त विस्तारसम्म तिमीले जे चाहन्छौ, म त्यो पूरा गरिदिन्छु ।

‘हे देवराज ! मेरो अज्ञानतालाई क्षमा गर्नुहोस्, हजुरको अनुकम्पाले म बद्रीनाथ भगवानको दर्शन गर्न चाहन्छु ।’
इतिश्री अकर्मण्डेय पुराणे, विज्ञानोपनिषद् शीत ऋतुस्य पृथ्वीलोकखण्डे देवराज इन्द्र मैत्रीनाम द्वितीयो अध्याय समाप्तः। ओम शान्तिः शान्तिः शान्तिः ।

Facebook Comments