परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अटल रहेनछ ध्रुवतारा पनि

‘ध्रुव’ शब्द अटल र अपरिहार्यको पर्यायसूचक हो ।
जो अटल हुन्छ, त्यो ‘ध्रुव’ कहलाउँछ । ‘ध्रुवपंक्ति’ सरह अटल, ‘ध्रुवसत्य’ सरह सम्पूर्ण, ‘ध्रुवतारा’ जस्तै अडिग !
‘धुरी’ एउटा सीधा रेखा हो भने ‘ध्रुव’ त्यो रेखाको दुई किनार हुन्, दुई टुप्पा ।
धुरीलाई ‘अक्ष’ भनिन्छ । ‘ध्रव’ कतिसम्म विपरित हुन्छ भने ‘ध्रवीकरण’ जस्तो शब्द त्यसैले जन्मिए । ‘ध्रुव’ ले यो शब्दको जन्म दिए । ‘पोल्स् अपार्ट’ ।
मनुष्यले जव आफ्नो वरपरको संसारलाई हेर्न–बुझ्न शुरु गरे, उनीहरुले के पत्ता लगाए भने कुनै चीज आफ्नो स्थानमा घुम्नका लागि ‘धुरी’ चाहिने रहेछ । घुम्ने चीजको आफ्नो कुनै ‘धुरी’ हुनैपर्छ र धुरी अडिग हुनु अनिवार्य छ ।
‘किला’ अडिग भएमा मात्र पाङ्ग्रा घुमिरहन्छ । घुमिरहेको ‘पाङग्रा’ हजारौं कोस दूरी पार गर्नसक्छ, तर ‘किला’ आफ्नो ‘धुरी’बाट डेग चल्दैन ।
यो अर्कै सन्दर्भ हो, अचल किला पनि गुडिरहेको पाङग्राकै साथ हजारौं कोस यात्रा गर्छ ।
यी जीवनका केही सुन्दर रहस्य हुन्, जो हाम्रा वरिपरि छन् ।
पृथ्वी भकुण्डो जस्तो होस् वा जस्तोसुकै होस्, गोलो छ र घुमिरहन्छ ।
मनुष्यले सोच्यो, पक्कै पृथ्वी पनि कुनै ‘धुरी’ मै घुम्छ होला ।
तर, पृथ्वीको त त्यसतो कुनै ‘किला’ भेटिएन, अथवा त्यो ‘किला’ भौतिक आँखाले देख्न नसकिएको हो कि !
त्यसपछि मनुष्यले एउटा ‘धुरी’ को कल्पना ग¥यो, जो पृथ्वीको अक्ष थियो । यसअनुसार ‘उत्तरी’ र ‘दक्षिणी’ दुई ध्रुव स्वीकार गरियो ।
‘उत्तरी ध्रुव’बाट सीधा रेखामा जुन तारा आकाशमा सदैव देखिन्थ्यो, त्यसलाई मनुष्यले ‘ध्रुवतारा’ संज्ञा दिए ।
पुरानो जमानामा लामो दूरीको यात्रामा निस्कने यात्रीहरुले यही ‘ध्रुवतारा’ हेरेर आफ्नो निर्दिष्ट दिशा तय गर्ने गर्थे ।
‘ध्रुवतारा’ लाई अनेक संस्कृतिहरुमा विभिन्न नामले संवोधन गरियो ।
यो तारालाई ‘उत्तरी तारा’ भनियो, अर्थात ‘नर्थ स्टार’ ।
यसलाई ‘पोलारिस’ भनियो अर्थात ‘पोल स्टार’ ।
अरबीहरुले यसलाई ‘नजूम–अल–शुमाली’ भने ।
फारसीमा यसलाई ‘कुतबी सितारा’ भनियो ।
चीनमा यो तारालाई ‘राजनक्षत्र’ को संज्ञा दिइयो ।
जुन संसारमा सबै चीजवस्तु क्षणभंगुर थिए, सबै मरणधर्मा, पलपल परिवर्तित प्रकृति ! यस्तो स्थितिमा आकाशमा टाँगिएको ‘ध्रुवतारा’ मनुष्यलाई पूर्णताको छनक दिन्थ्यो, यसले उसलाई सन्तुष्टि गराउँथ्यो ।
अरु चाहे जे सुकै होुस्, यो ‘ध्रुवतारा’ हरहमेशा आकाशमा त्यही स्थानमा स्थित रहनेछ । आ–आफ्नो डुँगामा आफ्नो अज्ञात नियतितर्फ प्रस्थानरत यात्री यही सोचेर तथा यसै विश्वासमा आनन्दले निदाउँन सक्छन् ।
यो त धेरै पछि मात्र पत्ता लाग्यो, आकाशमा कुनै एक मात्र ‘ध्रुवतारा’ हुँदैन, कैयन् ‘ध्रुवतारा’ हुन्छन् ।
यो संज्ञानमा आएपछि मनुष्यको अन्तस्करणमा कति कम्पन भयो होला ? ‘शेष’ को फणा पनि कम्पित हुनगयोे । धुरी नै डगमगायो । ‘ध्रुवतारा’ पनि एक थिएन ।
‘ध्रुवतारा’ पनि अटल थिएन ।
ज्ञान साँच्ची नै एक किसिमको मरण हो !
कहिले ‘अल्फा’ ध्रुवतारा बन्न पुग्छ, कहिले ‘बिटा’ ।
कहिले ‘पोलारिस’ ध्रुवतारा कहलिन्थ्यो, त कहिले ‘भेगा’ ।
कहिले ‘क्रतु’ ध्रुवतारा त कहिले ‘पुलह’ ।
पहिले ध्रुवतारा ‘सप्तर्षि मण्डल’ मा रहेको मानिन्थ्यो । पछि मात्र पत्ता लाग्यो, यो त ‘लघु सप्तर्षि मण्डल’ मा पो रहेछ ।
वैदिक कालमा जसलाई ‘ध्रुवतारा’को मान्यता दिइएको थियो, त्यो ‘ध्रुवतारा’ त अब छँदै छैन ।
यसको कारण, पृथ्वीको ‘धुरी’ संधै चलायमान रहन्छ । पृथ्वीको ‘धुरी’ अचल छैन । यसैले उत्तरी तारा पनि सतत् गतिमान रहन्छ ।
धरतीको धुरी २६ हजार वर्षमा आफ्नो एक अग्रगमन पूर्ण गर्छ । यस अवधिमा ‘ध्रुवतारा’ पनि बदलिन्छ ।
धरती धुरीमा चलायमान छ, धुरी के मा चलायमान छ ?
धुरीको धुरी पनि कहीं त होला ?
यो पत्ता नलगाएसम्म मोक्ष सम्वव छैन ।
र, हाम्रो चेतनाको कुन विन्दूमा हाम्रो अस्तित्वको ध्रुवतारा प्रदीप्त हुन्छ ? यो नजानेसम्म मुक्ति कसरी पाउँन सकिन्छ, वन्धुवर !

सुशोभित भारतीय मासिक पत्रिका ‘अहा जिन्दगी’ का सहायक सम्पादक हुन् ।

पुर्नलेखन ः माेहनकुमार दाहाल

Facebook Comments