गीति साहित्यमा पशु–पक्षी र कीट–पतङ्ग
चलचित्र २ रूपैँयाँको कीर्तिमानी गीत ‘कुटु म कुटु सुपारी दाना’ को एउटा पङ्क्ति यस्तो रहेको छ– ‘राजाको हात्ती मैसित, सोधौला सुन छ लाह्साको’ । यो गीत सुनेपछि मलाई राजाको हात्तीबारे सानामा सुनेको अर्को गीत याद आयो, ‘राजाको हात्ती नि फुकेछ राती ए लैलै तरेछ बागमती छेउ काटी रूमाल च्याट्टै, जन्म त लियौँ नि आमाको काखमा ए लै लै…।’ त्यसपछि फेरि हात्ती नै गीतमा सम्झिन खोजेँ, यसरी आयो– ‘चितौनका गैंडा हात्ती मुजुरका ताँती ।’ अनि एकछिनको विचारको मौनतालाई चिर्दै फेरि सोचेँ– नेपाली गीत–सङ्गीतमा के कति यसरी पशुपक्षीलाई जोडेर बनाइएका गीत होलान् त? नेपाली साहित्यका अन्य बिधामा पनि व्यापक रूपमा मानवले साहित्यमा पशुपक्षी र स्थान विशेषलाई छिराएको छ ।
कहिलेकहीँ जानी नजानी यसो साहित्यमा कलम चलाएको म जस्तो अदनालाई त यो जिज्ञासा लाग्यो भने अरुलाई पनि चासो होला । यही विचारका साथ केही बेर घोत्लिँदा मैले केही प्राणीलाई नेपाली गीतभित्र सम्झन सकेँ । लोकप्रिय गायिका अरुणा लामाको स्वरमा रहेको एउटा गीतमा प्रसिद्ध गीतकार राजेन्द्र थापाले लेख्नुभएको छ– ‘सलहको भाग्य मेरो, मर्ने बाँच्ने ठेगान छैन’ । सलहको अल्पायुलाई बिम्बमा खेलाइएको यो गीत सम्झेँ । अरु के होलान् त यस्तै? मनमा फेरि जिज्ञासा आयो । अनि त अब एउटा सूची नै बनाउँ न त कति सम्झिँइदो रहेछ भनेर सूची तयार पार्ने कोशिस गरेँ । अनि केही गीत यसरी याद आए–
‘मौरी घुम्यो रसैलाई, नभन्नू है कसैलाई ।’
‘ओल्लो खोलो हजुर पल्लो खोलो, कमिलाको गोलो भनेर हौ रानैज्यू,’
‘हिमालचुली पल्लोपट्टि दुम्सी लर्याक लर्याक’
‘चिर्बिरी चरीले गायो वनैमा, वनैमा लौ माया नमारे’
‘गाईगोरु बाँधेर उज्यालोमा आउनू’
‘सानो म सानो गाईको बाच्छो मगरा तर्दैन’
‘नरोऊ नरोऊ ए मैना चरी, हाम्रा दिन आउँदैछन् अब त’
‘कुखुरा बास्यो बिहानी हाँस्यो, भन माया गाँस्छौ कि गाँस्दैनौ’
‘बन्धनको क्यानरीले गाउँछ मीठो गीत
सुखी छ कि दुःखी छ त्यो थाहा कसलाई हुन सक्छ र !’
‘दिनभरि काग कराइरह्यो बेलको ठूटामा’
‘बाघ हैन झम्टिने, भालु हैन …’
‘जुनकिरी झैँ ज्योति बाली अन्धकारमा चम्किन्छ’
‘बल्ल पर्यौ माकुरी जालैमा’ / ‘माकुरो जाल बुन्छ यहाँ पर्दा पछाडि नै’
‘गाई सरि छन् साधु जो जो जगतभरिमा…’
‘पापी भमरा’
‘कोइलीको स्वर चोरेर तिमीले’
‘म माहुर हुँ राधा, तिमी आँपकी मन्जरी हौ’
‘हिमालैचुली त्यो पल्लोपट्टि जोर बसे हुटिट्याउँ’
‘रातो भाले क्वायक क्वायक सुत्केरीलाई ख्वाएँ’
‘सबैका बाख्रा उकाली लागे, घोर्ली बाख्रो खै भन हौ…’
‘डाँफेचरी झैँ म बेग मारी झुल्कौँला सामुमा’
‘नाच बेसारे नाच, खट्टे खाजा दिउँला / बेसारे नानीको लजाउने बानी’
‘लेकमा चर्ने चौरी गाई साँझ–बिहान मै दुहुँला’
‘फट्याङ्ग्राले डल्ला फोर्यो,
रूप्पीले कपाल कोर्यो’
‘हो हो तारे हो हो, हो हो माले हो हो’
‘नकरा ए कोकले, मारिदिउँला बैंसैको झोकले’
‘बाबुले बिहे गर्दैनन् भने भत्काइदिन्छु बाख्राको खोर पनि’
‘कम्मर बारुलै हो कम्मर बारुलै’
बारुले कम्मर हेर न कस्तरी हल्लाकी’
‘नाँचु नाँचु लाग्छ प्रभु भई वनको चरा…’
‘भैंसी लड्यो है माया भिरबाट हेर’
यी त भए सम्झिएका केही गीतका हरफहरू । सबै गीतका हरफ राख्न यो छोटो आलेखमा सम्भव पनि छैन । त्यसैले अब चाहिँ म गीतमा प्रयोग हुने जनावर, चराचुरूङ्गी र किटपङ्गको नामहरू सम्झन चाहन्छु । दुःखको भाव प्रकट गर्न न्याउली चरी प्रयोग गरिएको पाइन्छ । गीतकारहरूले प्रेमको भावना व्यक्त गर्न जोडी ढुकुरलाई प्रयोग गर्ने गरेका छन् । ‘आकाशैमा चिल घुम्यो फनन, …घर कहाँ हो भनन’ यो गीतमा चिल फनन र भनन जस्ता अनुप्रास मिलाउन प्रयोग गरिएका छन् । परेवालाई शान्ति र प्रेम दुबैका प्रतीकका रूपमा लिने गरिएको पाइन्छ । ‘चिर्र गर्छ भँगेरो, चिर्र गर्छे भँगेरी, यौटा आँखो म हेरी, यौटा आँखो तँ हेरी’ भनेर भँगेरालाई पनि प्रेमी जोडीको रूपमा हेरिएको पाइन्छ । काग कराउनुलाई धेरै गीतमा शुभ वा अशुभ खबर ल्याउने चराका रूपमा पात्रका मनोदशा देखाउन प्रयोग गरिएको छ । नागबेली शब्द युवतीको कम्मर जनाउन प्रयोग गरिएको पाइन्छ । माछाको पनि नेपाली गीतहरूमा प्रयोग गरिएको पाइन्छ । माछो भावनाभन्दा पनि गीतको बान्की, लय र प्रसङ्ग मिलाउन प्रयोग हुन्छ । जस्तैः ‘माछी मार न हौ दाइ हो, आजलाई चटनी माछी मार न’ । गीत, गायन, भावना अभिव्यक्तिको अर्थमा झ्याउँकिरी, मैना, कोइली र न्याउलीलाई प्रयोग गरिएको छ । डाँफे, मुनाल र मयुरलाई सुन्दरता, समृद्धि र प्राकृतिक सम्पदाको प्रतीकका रूपमा लिइएको छ भने हात्ती, गैँडालाई सम्पदाको रूपमा लिने गरिएको छ । प्रेममा धोका दिनेलाई छेपारोसँग तुलना गर्ने गरिँदो रहेछ । छेपाराले रङ्ग फेर्ने प्रक्रियालाई गीतमा मन फेर्ने र प्रेमी फेर्नेसम्मको बिम्ब र प्रतीकमा खेलाइएको पाइन्छ । हुन त वनस्पति यो आलेखको विषय हैन, तैपनि प्रसङ्गले सम्झाएको पिपपलाई पनि यहाँ जोडौँ जस्तो लाग्यो । पिपल शास्त्रीय हिसाबले शुभ र औषधीय हिसाबले गुणकारी मानिए पनि गीति साहित्यमा भने पिपलको पातलाई दुई जिब्रे र अडिग नहुने चरित्र देखाउन प्रयोग गर्ने गरेको पाइन्छ ।
नेपाली गीतमा प्रयोग हुने प्राणी जगतको सूची निकै लामो हुन सक्छ । आफ्ना वरिपरि भएका जनावर, कीटपतङ्ग र चराचुरूङ्गीहरूलाई मान्छेले आफ्ना मुद्रा, भाव वा भावना व्यक्त गर्न प्रतीकका रूपमा अभिव्यक्त गर्ने गरेको पाइन्छ । जस्तैः बाघलाई साहसिलो र आक्रामक भन्ने अर्थमा लिइएको छ । माहुरी/मौरीलाई प्रेमीको रूपमा चित्रण गरिएको छ भने भमरालाई स्वार्थीका रूपमा लिने गरिएको पाइन्छ । गीतहरूमा कमिलोलाई परिश्रमी वा समूह/समुदायको रूपमा लिने गरिएको छ । गोहीलाई कृतघ्नताको प्रतीकका रूपमा नेपाली गीतहरूमा प्रयोग गरिएको छ भने गाईबाख्रा, भैंसी, गोरु आदिलाई जनजिविका जनाउन प्रयोग गरिएको छ । सुँगा, क्यानरी आदिलाई स्वतन्त्रता र बन्धन देखाउन बढी प्रयोग गरिएको पाइन्छ । ‘हिमालचुली पल्लोपट्टि दुम्सी लर्याक लर्याक, उठ न बुढी भुट न मकै खाऊँ न कर्याककर्याक’ भनेर लय मिलाउनै भए पनि गीतमा दुम्सी समेत प्रयोग गरिएको छ ।
यी त थिए मैले सम्झेका त्यस्ता केही गीतहरू, जसले पशु–पक्षीलाई उल्लेख गरेका छन् । तपाईलाई पनि यो आलेख पढिरहँदा यहाँ मैले छुटाएका अनगिन्ती गीतका कैयन पशु–पक्षीको नाम स्मरण भइरहेको हुनसक्छ । तिनको टिपोट गरेर लेख्नुहोस् न । यहाँको त्यो लेखोटलाई यो आलेखको अर्को खण्ड बनाएर यसै पोर्टलमा राख्दा कस्तो होला ?
(समाप्त)