परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मोबाइल फोनको गतिवान अनुभव

तपाई–हामीमध्ये धेरैसँग आज हातमा स्मार्ट फोन छ । हामी यसको ज्यादै प्रयोग पनि गर्छौँ । तर, हामीमध्ये कमैलाई मात्र थाहा छ, हामीले बोकेको फोन कुन अपरेटिङ सिष्टमको हो र कुन भर्जनको हो? किनकि हामीलाई यतातिर छिर्न कि मेसो आउँदैन, कि झर्को वा अल्छी लाग्छ ।

त्यसैले आज म तपाईलाई यो आलेखको सुरुमा केही प्रश्न गर्दैछु । प्रश्नको उत्तर मनमनै दिनुभए हुन्छ । पहिलो प्रश्न– तपाईको स्मार्ट फोन कुन हो? आइफोन वा अन्य? आइफोन भए तपाई स्टीब जोब्सको योजनामा पर्नुभयो । हैन, सामसुङ ग्यालेक्सी, हुवावे, एलजी, वान प्लस, मोटोरोला, सोनी एक्स्पेरिया, एचटीसी, ओप्पो, जिओनी, कलर्स यस्तै यस्तैमध्ये कुनै फोन छ भने तपाईको फोनलाई सञ्चालन शक्ति दिइरहेको छ- एण्ड्रोइड अपरेटिङ सिष्टमले । अहिलेको लोकप्रिय फोन अपरेटिङ सिस्टम भनेकै एण्ड्रोइड हो । एप्पलको आफ्नै अपरेटिङ सिष्टम छ । यो एकाधिकारयुक्त सफ्टवेयर हो भने एण्ड्रोइड खुल्ला प्रणालीमा आधारित सफ्टवेयर हो ।

अब अर्को प्रश्न, तपाईले कहिले एण्ड्रोइड फोन किन्नुभएको हो? यसको उत्तर आफैँले आफैँलाई दिनुहोला । र, आफ्नो मोबाइलको सेटिङ्गमा गएर हेर्नुभएको भए देख्न सक्नुहुन्छ- अबाउट फोन / अबाउट डिभाइस । त्यसभित्र पनि छिरेर हेर्नुभयो भने देख्नुहुन्छ– सफ्टवेयर इन्फरमेसन । तपाईको फोन कुन भर्जनको हो ? किटक्याट, ललिपप, मार्समेल्लो, नगट या ओरियो ? कतै जेलिबिन, आइसक्रिम वा जिन्जरब्रेड पो छ कि ? अनि अङ्क कति छ, भर्जनमा? २.३.७, ४.०, ४.१, ४.४, ४.४.४, ५.०, ६.०, ७.० वा ८.०, ८‍‍.१.0 ?

आउनुस्, आज तपाईकै एण्ड्रोइड स्मार्ट फोनबारे कुरा गरौँ । हेर्नुभयो त आफ्नो फोनको भर्जन-अङ्क कति रहेछ भनेर ? पक्कै पनि माथि भनिएमध्येकै एक  हुनुपर्छ । जति तल्लो अङ्क छ, त्यति नै तपाईको फोन पुरानो हो । त्यस्तै, जति माथिल्लो अङ्क छ, त्यति नै नयाँ ।

 

मोबाइलको अनुभव र एण्ड्रोइड फोनको कथा

सन् १९३८ देखि सैनिक प्रयोजनका लागि सुरु भएको मोवाइल फोन निर्माणको झण्डै चार दशकपछि मात्रै हाते मोबाइल फोनको आविष्कार सम्भव भयो । यसमा अमेरिकाको बेल, मोटोरोला, आइबिएम साइमनको महत्वपूर्ण योगदान रह्यो । सन् १९८९ मा आइपुग्दा मोटोरोलाको हाते फोन निकै सानो साइजमा आइसकेको थियो । क्वार्डी कि सिष्टम भएका यस्ता फोनको स्क्रिन निकै सानो हुन्थ्यो भने सेट निकै भारी । कुनै समय मोबाइल फोनको विश्वव्यापी बजारमा स्थान जमाएका मोटोरोला र साइमनलाई पछि पार्‍यो नोकियाले ।

नेपालमा नेपाल दूरसञ्चार संस्थानले २०५६ को असारदेखि गरेको मोबाइल फोनको परीक्षणमा फ्रान्समा निर्मित नोर्टेल फोन सेट बेचेको थियो, जुन अहिलेको हिसावले केही भद्दा नै थियो । त्यो फोन चलाउने पहिलो छिमलका पत्रकारहरूमध्ये रघु मैनाली, लक्ष्मण उप्रेती, विनय गुरुवाचार्य, गोपाल शर्मा, बैकुण्ठ मास्के, सुशील शर्माहरू पर्दछन्। मोवाइल फोनको सार्वजनिक वितरण नभएकै वेला परिक्षण कार्यमा हिँडिरहेका दूरसञ्चारका इन्जिनियरबाट लिएर रेडियो सगरमाथाले मोवाइल फोनबाट प्रत्यक्ष प्रशारण समेत गरेको थियो । नेपाल दूर सञ्चार संस्थानले पहिलो छिमलमा २० हजार लाइनको मोवाइल फोन प्रविधि भित्र्याएको थियो । त्यो फोन खुलेकै समयदेखि रेडियो सगरमाथाले पनि एक लाइन मोबाइल फोन जडान गरेकाले यो पङ्क्तिकारले पनि पहिलो मोटो, भद्दा फोन चलाउने मौका पाएको थियो । त्यसबेला एउटा मोवाइल फोन लिन सेट सहित ५२ हजार रुपियाँ तिर्नु पर्दथ्यो । भर्खरै सुरु भएको पेजर सेवाको बट्टालाई पछारेर नेपालमा मोबाइल फोन भित्रेको थियो ।

नेपालमा मोबाइल फोन चलेको केही समयमै नोकिया फोन अलिक बढी प्रचलनमा आयो । यसले आफ्नो सेटमा परिवर्तन गर्दै स्याम्बियन अपरेटिङ सिष्टम राखेर मोवाइल फोनलाई निकै लोकप्रिय पनि बनायो । टर्च लाइट, गेम र क्यामेरा लोकप्रियता मापन गर्ने आाधार बने । यस्तै सुधारका क्रममा तास लगायतका खेललाई राख्न सफल नोकियाको एन ७० निकै लोकप्रिय फोन थियो । यसको नेपाली बजारमा करीब २५ हजार रूपैँयाँ मूल्य पर्दथ्यो । २०६०/६१ तिर निस्केको यो फोन कार्यकारी तहका अधिकारीवर्ग र घरानावाला व्यापारीहरूको रूचिमा परेको  थियो । यसको क्यामेरा पनि निकै राम्रो थियो । संयोगवश, यो पङ्क्तिकारले पनि त्यो फोन रहरले किनेर चलाउने मौका पाएको थियो । जाभा अपरेटिङ सिष्टमले देवनागरी लिपि समेत संलग्न गरेका कारण पनि नोकिया एकताका नेपाल र भारतमा निकै लोकप्रिय रह्यो । मोबाइल फोन भनेकै नोकिया भनेजस्तो भएको थियो । तर यो फोनको अपरेटिङ सिष्टमलाई चुनौती दियो सोनी एरिक्सनको पिडिएले । यसको नेपाली बजार मूल्य थियो ५२ हजार रूपैँयाँ । यो समय थियो २०६१/६२ तिरको । यो सेट त्यसताका नेपालमा आएका मोबाइल फोन सेटमध्ये सबैभन्दा महँगोमा पर्दथ्यो । यो फोनमा वाईफाई टिप्ने क्षमता थियो भने यसको मेमोरी क्षमता पनि दुई जिबीको थियो । एक्टर्नल कार्ड समेत यसले लिने भएकाले यो निकै आकर्षक फोन मानिन्थ्यो । यसको फोटो खिच्ने क्षमता पनि राम्रो थियो । संयोग नै भन्नुपर्छ, यो पङ्क्तिकारले पनि यो फोन पहिलो छिमलमै चलाउने मौका पायो । क्वार्डी कि र अहिलेको ग्यालेक्सी नोटको जस्तो स्टिकबाट समेत चल्ने यो फोन नै स्मार्ट फोनभन्दा पहिलेको नयाँ भर्जन हुनपुग्यो ।

एप्पलको आइफोन र एण्ड्रोइडको विकास

स्टिभ जोब्सको सपना र योजनाका कारण एप्पलले सन् २००७ मा आइफोन बजारमा ल्यायो । यसबेलासम्म कसैले पनि आइफोनलाई टक्कर दिन एण्ड्रोइड फोन आउला भन्ने कल्पनासम्म गरेका थिएनन् । तर, एप्पलको आइफोन बाहिर आउँदा गुगल गुपचूप ढङ्गले एण्ड्रोइड सिष्टमको विकासमा काम गरिरहेको थियो । स्मार्ट फोन भन्ने नाम प्रचलनमा आउनुभन्दा निकै पहिले सन् २००३ मा क्यालिफोर्नियाको पालो अल्टोमा एण्ड्रोइड इङ्क  नामको कम्पनी खुलेको थियो । यो कम्पनीका संस्थापक थिए– रिच मिनर, निक सियर्स, क्रिस ह्वाइट र एण्डी रबिन । यी युवा एण्ड्रोइड सिष्टमलाई डिजिटल क्यामेराको अपरेटिङ सिष्टमका रूपमा फिट गर्न चाहन्थे । क्यामेरामा फिट गरिएको एण्ड्रोइड सिष्टमले रेडियो प्रविधिमार्फत् तस्बिरलाई कम्प्युटरमा खन्याउन सकिने यिनीहरूको परियोजना थियो । तर डिजिटल क्यामेराको बजार ओरालो लाग्यो र यिनीहरूको सपनाले पनि काम गरेन ।

एण्ड्रोइड कम्पनी स्थापना भएको २ वर्षपछि नै सन् २००५ मा गुगलले यसका चारै संस्थापकले एण्ड्रोइड परियोजनामा काम गर्नुपर्ने शर्तमा सो कम्पनी नै खरिद गरिदियो । त्यसपछि उनीहरूले एण्ड्रोइड अपरेटिङ सिष्टमलाई फोनमा हाल्ने निधो गरे र अगाडि बढे ।

गुगलले पहिलो एण्ड्रोइड अपरेटिङ सिस्टमको बेटा भर्जन १.० सन् २००७ को नोभेम्बरमा सार्वजनिक गर्‍यो । यही भर्जन मोटोरोला र एचटीसीका सेटमा प्रयोग गरियो । सन् २००८ मा टी मोबाइलमा यसको परीक्षण गरियो । यो फोनमा क्वार्टी किबोर्ड पनि थियो र स्क्रिन टच पनि । यो अपरेटिङ सिष्टममा गुगल मार्केट पनि राखिएको थियो । कम्पनी बाहिरबाट बनाइने एप्लिकेसन पनि इन्स्टल गर्न सकिने भएकाले यसको विकास तीब्र गतिमा हुन पुग्यो । एण्ड्रोइडको १.० र १.१ भर्जनको नाम सार्वजनिक गरिएन । सन् २००९ मा एण्ड्रोइडको १.१ भर्जनलाई कम्पनीभित्रपेटिट फोर’ नाम दिइएो भए पनि यो नाम बाहिर आएन । एण्ड्रोइडको १.५ भर्जनदेखि मात्रै यसको नाम सार्वजनिक गरियो । १.५ भर्जनको नाम थियो, ‘कप केक’ । यसपछिदेखि जति पनि नाम एण्ड्रोइडले पायो, ती सबै केक/मिठाईसँग सम्बन्धित रहँदै आएका छन् । किन यसो गरिएको होला भन्ने कुरा एण्ड्रोइडको किटक्याट भर्जन ४.४ सम्म आइ नपुगुन्जेल कसैलाई थाहा भएन । तर ४.४ किटक्याट भर्जन सार्वजनिक गर्दा गुगलले विज्ञप्तिमार्फत् एण्ड्रोइड भर्जनका फोन सेटहरू हाम्रो जीवनमा मिठाई जस्तै प्रिय भएकाले सबै भर्जनको नाम मिठाई/केकबाटै नामाकरण गरिएको सार्वजनिक गरेको थियो ।

एण्ड्रोइडको लोगो पनि रोबोट र शौचालयमा राखिने पुरुष र महिलाको आकृतिबाट प्रभावित भएर बनाइएको कुरा सार्वजनिक भइसकेकै छ।

एण्ड्रोइडका भर्जनहरूमा तपाई-हाम्रो अनुभव

तपाईले तलका भर्जनहरूमध्ये कुनदेखि एण्ड्रोइड फोन चलाउनुभयो, सम्झनुहुन्छ? एण्ड्रोइड १.५ – कपकेक, १.६ – डुनोट, २.० र २.१ -इक्लेयर (२००९),  २.२ – फ्रोयो (२०१०), २.३ – जिन्जर ब्रेड (२०१०), ३.० – हनिकम्ब (२०११ – यो भर्जन स्मार्ट फोनमा प्रयोग भएन तर ट्याबलेट फोनमा प्रयोग गरियो । हनिकम्ब त्यति प्रभावकारी नभएकाले लगत्तै आइसक्रिम स्याण्डविच भर्जन सार्वजनिक गरियो ।), ४.० – आइसक्रिम स्याण्डविच (२०११), ४.१ र ४.३ – जेली बीन (२०१२, २०१३), ४.४ – किटक्याट (२०१३), ५.० – ललिपप (२०१४), ६.० – मार्समेल्लो (२०१५), ७.० – नगट (२०१६) र ८.०, ८.१.० – ओरियो (२०१७, २०१८) । अहिलेका पछिल्ला नयाँ फोनहरूमा एण्ड्रोइडको ८.१‍‍.० भर्जन ओरियो चलिरहेको छ । यसपछि कुन्? अङ्ग्रेजी अक्षरको ‘सी’ (कपकेक) बाट सुरु भएको एण्ड्रोइड भर्जनको नाम अहिलेसम्म आइपुग्दा ‘ओ’ सम्म पुगेको छ । अब पीक्यू हुँदै अगाडि बढ्ने चर्चा चलिरहेकै छ । यो साल गुगलले एण्ड्रोइड – ९ ‘पी’ रोल गर्ने चर्चा चलिरहेको भए पनि आधिकारिक रूपमा सार्वजनिक भने भइसकेको छैन ।

यो स्तम्भकारसँग अर्को संयोग के छ भने एण्ड्रोइडको २.० भर्जन इक्लेयरदेखि स्मार्ट फोन चलाउने अवसर प्राप्त भयो । कोरियन कम्पनी सामसुङ प्रिन्टर, टेलिभिजन आदिमा केही चलेको नाम भए पनि नेपालमा भने फोनमा यो नाम जमेको थिएन । यसले एण्ड्रोइडको २.० भर्जन राखेर ग्यालेक्सी एस श्रेणीको पहिलो फोन सन् २००९ (बि.सं. २०६६ तिर) बजारमा ल्याएको थियो । त्यसबेला नेपाली बजारमा आएका स्मार्ट फोनहरूमध्ये यो फोन सबैभन्दा बढी विशेषता र सुविधायुक्त थियो । यो फोन खरिद गर्ने बित्तिकै २.१ भर्जनमा अपडेट भएको थियो । यसको मूल्य ५० हजारको हाराहारीमा थियो ।

एण्ड्रोइडका भर्जनहरूमध्ये २.३ जिन्जरब्रेडमा रोलिङ हुनुभन्दा अघिका स्मार्ट फोनहरूले देवनागरी लिपिका अक्षर पढ्न र यो लिपिलाई सिष्टममा अँटाउन सकेका थिएनन् । जिन्जरब्रेडमा अपडेट गरेपछि यो पङ्क्तिकारले बडो दुःखले नेपाली समाचार पढ्ने कोशिस गरेको अहिले पनि सम्झना आउँछ । यस क्रममा धेरै सफ्टवेयर विकासकर्ताहरू र नेपाली युनिकोडको विकासकर्ता मदन पुरस्कार गुठीसम्म नेपालमा घच्घच्याउनुका साथै, विदेशमा मोवाइल फोन र एण्ड्रोइड सिष्टम विकासकर्तालाई समेत देवनागरी लिपि समावेश गर्न माग गर्दै प्रतिक्रिया दिएको पनि अहिले सम्झना हुन्छ । यो अभियानमा छुट्टा्छुट्टै रूपमा केही भारतीय पनि सामेल थिए । किनभने, हिन्दी र केही भारतीय भाषा तथा नेपाली भाषा एउटै लिपिमा लेखिन्छन्–  देवनागरीमा । तर आइसक्रिम भर्जनमा अपडेट भएपछि भने सजिलै देवनागरी लिपि एण्ड्रोइड सिष्टमले पढ्न र सम्झन जान्यो । देवनागरी लिपिको प्रयोगमा पनि सहजता आयो । त्यसपछि मात्रै नेपाली अनलाइन मिडियाका खबर पढ्न र सामाजिक मिडिया प्रयोगमा एण्ड्रोइड मोबाइल फोन खरो उत्रिन सक्यो । विदेशमा फोन गर्न पनि आइसक्रिम भर्जनदेखि नै सहज भयो किनकि यसले स्काइपलाई समेट्न सक्यो । यही भर्जनदेखि नै एण्ड्रोइडले भाइबर पनि समेट्यो । जसको प्रयोगबाट टाढा रहेका आफन्त र साथीभाइलाई समेट्न सकियो । त्यसो त सन् २००४ मा आएको फेसबुक, २००५ मा आएको युट्युब र २००६ देखि झुल्किएको ट्वीटरलाई पनि आइसक्रिमले नै स्वागत गरेपछि त एण्ड्रोइड फोन झनै लोकप्रिय र अपरिहार्य बन्न पुग्यो ।

जेलिबिनदेखि अझ सुधार हुँदै किटक्याटसम्म आइपुग्दा एण्ड्रोइड अपरेसन सिष्टम निकै सुविधाले सुसम्पन्न हुनपुग्यो । अन्य भाषा जस्तै नेपाली भाषालाई नै एण्ड्रोइड फोनले छुट्टै समेट्न थाल्यो । नेपाली एप्लिकेसन पनि धेरै पाउन थाले । ललिपप, मार्समेल्लो, नगट हुँदै अहिले ओरियोमा आइपुग्दा एण्ड्रोइडले आफूलाई आइफोनको दह्रो प्रतिस्पर्धीका रूपमा उभ्याएको छ । भनिन्छ, एकपल्ट एण्ड्रोइड फोन चलाएको मान्छे एप्पलमा जाँदैन । धेरै खुल्ला स्रोतका एप्लिकेसन समेट्न सकेको र लगातारको परिमार्जनका कारण आज एण्ड्रोइड हाम्रो जीवनको प्रिय र अभिन्न अङ्ग बन्न पुगेको छ । अहिलेका एण्ड्रोइड स्मार्ट फोनहरूले महँगा क्यामेरा बोक्नुपर्ने झण्झटबाट समेत आम उपभोक्ता र तस्बिर प्रेमीहरूलाई मुक्त गरेका छन् । ल्यापटपको आधा काम घटाएका छन् । सेल्फीमा शक्तिशाली क्यामेरा र सुविधा दिएर स्वयं फोटो खिच्ने नयाँ संस्कृतिको विकास गरेका छन् । सेल्फी स्टिक सामूहिक तस्बिरका लागि बरदान नै बन्न पुग्यो । ती तस्बिरको सम्पादन र परिमार्जनमा भएका सहज प्रविधिले फोटोसप जस्तो जटिल कम्प्युटरको एप्लिकेसनलाई छायाँमा पारिदिएको छ । अनलाइन मिडिया र सामाजिक मिडियालाई सजिलै फोटो कैद गर्न र सम्पादन गरी तत्कालै पोष्ट गर्न सम्भव तुल्याइदिएका छन् ।

ल्यापटपकै बराबरको शक्तिशाली र्‍याम, ठूलो स्टोरेज क्षमता, हल्का र सजिलै पकेटमा अँटाउने विशेषताका साथै अक्टाकोर प्रोसेसरले एण्ड्रोइड स्मार्ट फोनहरू शक्तिशाली र अपरिहार्य बनेका छन् । तर यिनले नसकेको यौटै कुरा के छ भने ल्यापटपले प्रयोग गर्ने ट्र्यु टाइप फण्टमा टाइप गर्न मिल्ने, तिनलाई सम्पादन गर्न सक्ने तथा पेजमेकिङ र डिजाइन यिनमा हालसम्म सम्भव  छैन । यदि यो सम्भव हुने हो भने धेरै मान्छेले भारी ल्यापटपका ठाउँमा हल्का तर शक्तिशाली मोबाइल र ट्याबलेट/फ्याबलेट बोक्ने थिए । विश्वका करोडौँ उपभोक्तामा पर्ने तपाईमध्ये कति महानुभावहरू जस्तै यो पङ्क्तिकार पनि संयोगले एण्ड्रोइडको विकासको एक जना साक्षी र प्रयोगकर्ताको हैसियतले २.० – इक्लेयरदेखि अहिलेको पछिल्लो भर्जन ८.० प्रयोग र अनुभव गर्दै आएको छ । अब एण्ड्रोइडले ल्यापटपको क्षमतालाई मात गरेको र हत्केलामा हने त्यसभन्दा माथिल्लोस्तरको चमत्कार हेर्न र अनुभव गर्न लालायित छ ।  शायद् तपाई पनि !

(समाप्त)

 

Facebook Comments