इमरानको उदयसँगै नयाँ युगमा पाकिस्तान
पाकिस्तानी आमचुनाव २०१८
पाकिस्तानी पूर्व क्रिकेट-कप्तान इमरान खानले अब देशकै कप्तानी सम्हाल्ने अवसर पाएबाट उनी विश्व–चर्चित बनेका छन् । स्वतन्त्र पाकिस्तानभन्दा पाँच वर्ष कान्छा इमरान खानले २५ जुलाईमा भएको आम निर्वाचनमा ११५ स्थानमा पाएको विजयले पाकिस्तानमै मात्र हैन, दक्षिण एशिया र विश्वमै तरङ्ग उत्पन्न गरेको छ । इमरान खान जन्मिनुभन्दा ४६ वर्ष पहिले सन् १९०६ मा भारतमा बनेको मुस्लिम लिगको मूल ढिक्को अलि जिन्हासँगै पाकिस्तान अवाममा छिरेपछि मुस्लिम लिग एउटा इतिहास बोकेको पाकिस्तानी पार्टी बन्न पुगेको थियो । यो पार्टीको आरोह र अवरोहका विभिन्न चरणमा इमरान खान टक्कर दिने हैसियतमा थिएनन् । किनकि उनी युवा समयमा क्रिकेट खेलाडी थिए । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदै इमरान खानले झण्डै साढे सात हजार रन जोड्दा पाकिस्तानका संस्थापक अलि जिन्हाको पार्टी मुस्लिम लिगसँग उनको सम्बन्धको कुनै हिसाब कसैलाई खोज्न फुर्सद पनि थिएन र मतलब पनि थिएन । त्यस्तै इमरान खानले झणडै २७ हजार जति बलिङ गर्दा पनि उनलाई राजनीतिक आँखाले कसैले हेर्ने कुरै थिएन । उनका छक्का र चौकोको बौछारमा मुस्लिम लिगका कार्यकर्ताले ताली नलगाउने कुरै थिएन । अर्थात्, मुस्लिम लिगको विजयमा इमरान खानलाई कुनै आपत्ति थिएन र इमरान खानको विजयमा मुस्लिम लिगलाई ।
तर पाकिस्तानको बारम्बारको सैनिक तख्ता पलटले मुस्लिम लिगको राजनीतिक यात्रा भने सधैँ सुखद रहेन । मुस्लिम लिग पनि बेला बेलामा टुक्रियो । १९८८ को परिवर्तनपछि नवाज सरिफ केन्द्रीय राजनीतिमा आए । पूर्व प्रधानमन्त्री अलि भुट्टोले स्थापना गरेको पाकिस्तानी पिपुल्स पार्टीकी नेतृ थिइन् उनैकी छोरी बेनजिर भुट्टो । नेपालमा वि.सं. २०४६ सालपछिका राजनीतिक शक्ति नेपाली कांग्रेस र नेकपा (एमाले) जस्तै पाकिस्तानमा नवाज सरिफ र बेनजिर भुट्टोका पार्टी बन्न पुगेका थिए । एउटा सत्तामा भए अर्को विपक्षमा । जनरल परवेज मुसर्ररफले १९९९ मा राजनीतिक तख्ता पलट नगरेसम्म यी राजनीतिक शक्ति कायम रहे । भ्रष्टाचारले डुङडुङ गन्हाएरै यी राजनीतिक शक्ति अगाडि बढिरहे ।
क्रिकेट खेलाडी इमरान खानले यिनै पार्टीको दबदबाका बीचमा सन् १९९६ मा खेल जीवनलाई राजनीतिमा मोड्दै तहरिक – ए – इन्साफ पार्टी स्थापना गरे । त्यतिखेर धेरैलाई लागेको रहेछ, इमरान खानको पार्टी लहडमा खोलिएको हो र समयसँगै यो हराएर जान्छ । इमरान खान हारबाट नडराउने खेलाडी थिए भन्ने कुरा त पहिले नै पुष्टि भएको थियो । तर क्रिकेट खेल र राजनीतिक खेल फरक कुरा थिए । उनलाई राजनीतिमा जम्न त्यति सजिलो थिएन । पाकिस्तान स्थापना भएदेखि यताको आधा दशकको इतिहासमा सन् १९९७ को आम निर्वाचनबाट अलि जिन्हाले स्थापना गरेको पार्टीको मूल घटक पाकिस्तान मुस्लिम लिग -एन दुई तिहाई बहुमत ल्याउन सफल भयो । त्यसको नेतृत्व गरेका थिए नवाज सरिफले । उनको दुई तिहाई बहुमतको सरकारले सेनाका प्रमुखलाई हटाएर परवेज मुसर्ररफलाई प्रधान सेनापति बनाएपछि उनै मुसर्ररफले १९९९ मा बिनारक्तपात तख्तापलट गरी सरीफलाई विदेश निर्वासन गरिदिए । सरिफ विदेश भ्रमणमा रहेका बेला उतैबाट देश नफर्कन आदेश दिई मुसर्ररफले सत्ता सम्हाले र केही समयपछि आफूलाई राष्ट्रपति घोषित गरे । मुस्लिम लिगमा फुट आयो । ठूलो गुट मुसर्ररफको समर्थक बन्यो । यहीबीचमा इमरान खानले पनि मुसर्ररफकै समर्थन गरे । मुसर्ररफ खानले पाकिस्तान मुस्लिम लिग स्थापना गरी जिन्हाको असली उत्तराधिकारी आफू नै भएको सन्देश दिए ।
सन् २००२ को आम चुनावमा इमरान खानले मुसर्ररफकै विरोध गरे । सन् २००८ मा बामपन्थी दल पाकिस्तानी पिपल्स पार्टीकी नेतृ बेनजीर भुट्टोको चुनावी र्यालीका क्रममा आतङ्ककारी आक्रमणका कारणा ज्यान गयो भने यो चुनावसँगै परवेज मुसर्रफको बहिर्गमन भयो । २०१३ को चुनावमा नवाज सरिफ फेरि प्रधानमन्त्री भए । त्यसो त बेनजीर भुट्टो पनि दुई पल्ट पाकिस्तानको प्रधानमन्त्री बनिसकेकी थिइन् । पनामा पेपर्स काण्डपछि सरिफको राजनीतिक भविष्यमा ब्रेक लाग्यो ।
यसरी बारम्बार पाकिस्तानी मुस्लिम लिगको सत्ता आरोहण र सन् १९८८ को परिवर्तनपछि पाकिस्तानी पिपल्स पार्टीको सत्ता आरोहणका क्रममा नेपालमा जस्तै भ्रष्टाचार व्यापक भएको चर्चा जनस्तरमा चुलियो । आतङ्कवाद पाकिस्तानको क्यान्सर नै बनेको छ । पाकिस्पातानको राजनीतिक अस्थिरताका लागि त्यहाँको सेना प्रमुख जिम्मेवार रहँदै आएको छ । सेनाले पाकिस्तानको राजनीति नियन्त्रणमा लिएका कम्तीमा आधा दर्जन बढी उदाहरण छन् ।
इमरान खानको विजय यात्रा
पाकिस्तानी जनताको भावना र राष्ट्रियता भारत विरोधी रहेको छ । भारतसँग पाकिस्तानको सन् १९६५ र १९७१ मा भएको युद्ध पाकिस्तानीले बिर्सेका छैनन् । साथै, उनीहरूमा १९९९ मा भएको कार्गिल युद्धमा पनि पाकिस्तानको हारले मन कुँडिएको छ । उता आतङ्कवादले पाकिस्तानमा दहै जरा गाडेको छ । विकासका एजेण्डा छरिबरी छन् । राजनीतिक संरक्षण र मिलेमतोमा भ्रष्टाचार व्याप्त भएको अवस्थामा दह्रो नेतृत्वको खोजी हुनु स्वाभाविक थियो । इमरान खान भारत र अमेरिका विरोधीका रूपमा चिनिएका छन् । भारत र अमेरिका विरोधी छवि हुनु भनेको राष्ट्रवादी छवि त हुनु नै हो, साथसाथै चीनउन्मुख परिचय पनि हो । उनको यो छवि र परिचयलाई सेनाले समेत नियाल्यो र साथ दियो । महिला र युवालाई उनका आक्रामक भाषणले छोयो र एकताकाका खेलाडी र हिरो इमरान समयको खेलाडी र हिरो बन्न पुगे ।
सन् २००२ मा भएको आमनिर्वाचनमा १ मत मात्र ल्याउन सफल इमरान खानको पार्टी अहिले पहिलो ठूलो दल बनेकोमा विपक्षीहरूलाई पच्न सकेको छैन । आफूलाई पाकिस्तानका संस्थापक अलि जिन्नाहको असली उत्तराधिकारी जताउँदै आएको पाकिस्तानी मुस्लिम लिग – एन ६४ सिटमा मात्रै खुम्चेको छ भने अरेको एेतिहासिक पार्टी मानिएको भुट्टोले स्थापना गरेको पाकिस्तान पिपुल्स पार्टीले त केबल ४३ सिट पाएको छ । सन् १९९६ मा राजनीतिमा देखापरे पनि राजनीतिमा इमरान खानको उदय सन् २०१२ बाट मात्रै हुन पुगेको थियो । यति छोटाे समयिभत्रै इमरानले धेरै मत ल्याउलान् भनेर नचिताएका विपक्षी दलहरू भने अहिले धाँधली भएको आरोप लगाइरहेका छन् । यसरी पाकिस्तानका संस्थापक अलि जिन्हाको उत्तराधिकारी रहेको पाकिस्तानी मुस्लिम लिगको वर्चस्व र दुर्ग क्रिकेट खेलाडी इमरान खानले यसपल्टको चुनावमार्फत् भत्काइदिए । उनलाई आफ्नो पार्टीको बहुमत आउँछ भन्ने लागेको रहेछ । तर त्यो भने सम्भव भएन । अझै उनलाई सरकार बनाउन २८ सिट नपुग देखिएको छ । यसका लागि उनले झण्डै आधा दर्जन जति साना दलका १९ सिट र १३ स्वतन्त्र सांसदहरूलाई फकाउनु आवश्यक रहेको छ । त्यसो त उपनिर्वाचनमा उनको पार्टी पाकिस्तान तेहरिक – ए – इन्साफ (पिटिआई) ले पाँचमध्ये केही सिट त जित्न सक्छ तर यो सरकार बनाउन पर्याप्त हुँदैन ।
इमरान खानका चुनौती
क्रिकेटका सफल खेलाडी र कप्तान इमरान खानले राजनीतिको पोख्त खेलाडीका रूपमा चिनिन अब परीक्षा दिनु पर्नेछ । विपक्षमा बसेर विरोधको राजनीति गर्नु र सत्ता सम्हाल्नु नितान्त फरक कुरा हुन् । यसर्थ उनका तीनखाले चुनौती रहेका छन्ः
१) आफैभित्रको चुनौतीः पहिलो चुनौती त आफूले फुकेर राजनीतिक गोटी चाल्नु र जनविश्वास कायम रहनसक्ने क्याबिनेट बनाउनु रहेको छ । उनले गरेका चुनावी बाचा व्यवहारमा कति उतार्न सक्ने भन्ने प्रश्न अहम् हुन पुग्छ । साथै, योग्य, अनुभवी र भरपर्दो टिम बन्न सकेन भने छिटै सत्ताबाट बहिर्गमन हुन सक्दैन भन्न सकिन्न । भ्रष्टाचारको मुद्दा उठाउन जति सजिलो छ, त्यसलाई नियन्त्रण गर्न त्यति नै चुनौतीपूर्ण छ । किनकि पाकिस्तानमा भ्रष्टाचार समाज र राष्ट्रको संस्कार र परम्परा भएर बसेको छ । ट्रान्सपरेन्सी इन्टरन्यासनलने गरेको सन् २०१७ को सर्वेक्षण प्रतिवेदन अनुसार पाकिस्तान ३२ अंक पाएर ११७ औँ स्थानमा रहेको छ । यो भनेको व्यापक भष्टाचार हुने देश भनेर बुझिन्छ ।
२) देशभित्रका चुनौतीः इमरान खानको सरकार एकमना बन्न नसक्ने हुनु भनेको नै यो बलियो सरकार नहुन सक्छ । पाकिस्तानको आधा शताब्दी लामो अस्थिर र तरल राजनीति केलाउने हो भने बहुमत ल्याएकै सरकार पनि बारम्बार अपदस्थ भएका छन् । सन् १९४७ मा पहिलो प्रधानमन्त्री बनेका लियाकत अलि खानको सन् १९५१ मा हत्या गरिएसँगै सुरु भएको पाकिस्तानको सत्ता अस्थिरताको श्रृङ्खला अहिले साइद खकन अब्बासीसम्म आइपुग्दासम्म कायमै छ । पाकिस्तान स्वतन्त्र भएयता अहिलेसम्म १८ जनाले प्रधानमन्त्री पद सम्हालेकामा कसैले पनि पूरा कार्यकाल बिताउन नपाएको इतिहास छ ।
पिपुल्स पार्टीका नेता पिता जुल्फीकर अलि भुट्टोदेखि पुत्री बेनजिर भुट्टोसम्म र मुस्लिम लिगका लियाकत अलिदेखि नवाज सरिफसम्म (पाकिस्तान मुस्लिम लिग – एन) सम्म सबैका नियति उस्तै छन् – कुनै न कुनै रूपले सत्ताबाट असमयमा हट्नु । यस्तो राजनीतिक पृष्ठभूमि भएको देशमा इमरान खानले पूरै समय सत्ता चलाउन पाउने सीँधा अनुमान गर्न कठिन छ ।
फेरि, पाकिस्तान भनेको देखिएर भए पनि नदेखिएर भए पनि सत्ता सञ्चालन गर्ने सेनाले नै हो । सेनाको इच्छा विपरीत न त त्यहाँ कुनै न्यायाधीश रहन सक्छ न प्रधानमन्त्री नै । यतिसम्म कि राष्ट्रपति पनि सेनाको इच्छा विपरीत पदमा रहन सक्दैन । पाकिस्तानमा जति पनि प्रधानमन्त्री असमयमै गए, तीमध्ये प्रायः सबै सेनाकै इच्छा अनुसार बहिर्गमनमा परे । अहिले इमरान खान पनि सेनाकै कठपुतली भएकै कारण चुनाव जितेको बुझ्नेहरूको संख्या पनि सानो छैन । प्रतिशोधपूर्ण पाकिस्तानको राजनीतिमा सेनाको स्वार्थ पूरा गर्न नसके इमरान खानले जत्रै भारी मत ल्याएर सत्तारोहण पनि कुनै पनि दिन झर्नुपर्ने निश्चित छ ।
पाकिस्तान आतङ्कवादले नराम्ररी घेरेको देश हो । अफगानिस्तानको सीमा जोडिएका क्षेत्रमा तालिबानी र अमेरिकी युद्ध खुलेआम छ भने अन्य धार्मिक कट्टरपन्थी संगठनहरूलाई कज्याउनु आफैँमा फालामको च्यूरा चपाउनु सरह हुनेछ । यसैगरी रोजगारी, शान्ति, सुरक्षा, महिलालाई शिक्षा र अवसर, मानवअधिकार, विकास, सुशासन जस्ता विषयको प्रत्याभूत दिन नसकेमा इमरान खानको लोकप्रियताको व्यारोमिटर तलै झर्न सक्छ । त्यसमाथि इमरान खानको सत्ता अनुभवको अभाव पनि उनका लागि चुनौती नै हो । साना पार्टी र स्वतन्त्र सांसदहरूलाई मिलाएर मात्रै संयुक्त सरकार बनाउनुपर्ने भएकाले यस्तो सरकार एकमना जति शक्तिशाली हुन नसक्ने र सरकार टिकाउन सत्ता सहभागी दल र सांसदहरूसँग सम्झौता गरिरहनुपर्ने बाध्यता पनि इमरान खानले व्यहोर्नुपर्ने छ । सरकारका साझेदार दलहरूको बार्गेनिङ क्षमता बढी हुनाले कतिपय मुद्दामा कि सम्झौता गर्नुपर्ने कि सरकारै गिर्ने चुनौती सधैँ रहनेछ । त्यसमा अनुभवी राजनीतिक खेलाडी विपक्षीले संसद्मा हुँडेल्ने विषयवस्तु र पकाउने खिचडीले ल्याउने परिणाम पनि खानको सत्तायात्राको चुनौती रहनेछ । सीमित साधनस्रोतले मतदाताको अपेक्षा पूरा गर्न नसक्नुले पनि खानको लोकप्रियता क्षय हुनसक्छ ।
पाकिस्तानको अदालत पनि राजनीतिक अस्थिरत को जड बन्दै आएको पृष्ठभूमिमा भोलि अदालतले नै पनि इमरान खानलाई कुनै पनि अभियोग लगाएर पदमुक्त गर्न सक्दैन भन्न सकिन्न । प्रतिशोधपूर्ण र षडयन्त्रपूर्ण राजनीति गर्न माहिर प्रतिपक्षी राजनीतिक दलहरूले मौका कुरेर घात गर्ने कुरामा कुनै सन्देह छैन । स्वस्थ लोकतान्त्रिक संस्कारको विकास र संरक्षण गर्नु तथा राजनीतिक स्थायित्व कायम गर्नु निकै ठूलो चुनौतीपूर्ण कार्यभार रहेको छ ।
३) बाह्य चुनौतीः अहिलेसम्म सानाठूला गरेर आधा दर्जन जति युद्ध गरेको भारतले आफ्नो विरोधी छवि भएका इमरान खानको विजयलाई सजिलै पचाउन सकेको छैन । पाकिस्तानका लागि सबैभन्दा बलियो शत्रु पनि भारत नै हो । भारतसँग सीँधै युद्ध लड्दा जहिले पनि हारेको पाकिस्तानको राष्ट्रियता नै सेनाको हातमा छ । सेनाको हातमा परराष्ट्र नीति पनि हुने भएकाले निर्वाचित प्रधानमन्त्री नै भए पनि इमरान खान सेनाको धारणा र नीति बाहिर गई भारतसँग सम्बन्ध राख्न बाध्य हुनेछन् । छिमेकीसँग उनले सन्तुलित सम्बन्ध राख्ने र क्षेत्रीय सङ्गठन सार्कलाई जीवन्तता दिने चुनौती पनि इमरान खानलाई थपिनेछ । उदाउँदो विश्व शक्ति चीन र महाशक्ति राष्ट्र अमेरिकासँगको सम्बन्धलाई खानको सरकारले कसरी सन्तुलनमा राख्न सक्छ, उनको भविष्य निर्धारणमा यसको महत्व रहनेछ ।
भारतसँग परिरहने टक्कर कम गरी सम्बन्ध सुधार्नु र चीनको विश्वासपात्र रहिरहनु इमरान खानका लागि त्यति सहज छैन । काश्मिर मुद्दा बल्झिरहने घाउ बनेको छ । भारतसँग कडा नदेखिँदा भित्रैबाट सेना र अनुदारवादी शक्तिले सत्ताच्यूत गर्ने वा ज्यानै लिनेसम्म चुनौती छ भने अनुदार मात्रै बनिरहँदा दक्षिण एशियामा पाकिस्तानको कुनै भूमिका देखिने छैन र झगडा या युद्ध मात्रैले पाकिस्तानको आन्तरिक विकासमा पनि बाधा पुग्ने छ । आतड्कवादलाई समाप्त गर्ने अमेरिकी र युरोपेली देशहरूको इच्छा पूरा गर्न नसक्दा उनीहरूसँगको सम्बन्ध राम्रो बन्ने छैन भने चीन पनि सशङ्कित नै रहने छ । भारतले त विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा यही विषयलाई उछालेर पाकिस्तानको तेजोबध गर्दै जाने नै छ ।
क्षेत्रीय सन्देशः
इमरान खानका अगाडि बग्रेल्ती चुनाैती रहे पनि यो आमचुनावले दक्षिण एशिया र बाँकी विश्वलाई एउटा सन्देश दिएको छ । त्यो के हो भने जनता सुशासन, विकास र जनआकांक्षा विपरीत चल्ने दल जति नै इतिहास बोकेका भए पनि तिनका पक्षमा जाँदैनन् र बिकल्प खोज्छन् । भारत र नेपालमा यसअघि नै लामो एेतिहासिक पृष्ठभूमि बोकेका दलहरू भारतीय कांग्रेस (आाई) र नेपाली कांग्रेसलाई नराम्री हराएर दुबै देशका जनताले यही सन्देश दिएका थिए भने अब यो सन्देश पाकिस्तानी मतदाताले दिएका छन् । इमरान खानको विजयले भ्रष्टाचारको विरोधमा र सुशासनको पक्षमा त्यहाँका जनता छन् भन्ने सन्देश दिएको छ । किनभने इमरान खानले आफूलाई जिताए भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने कसम खाएका थिए । लामो समयदेखि भ्रष्टाचार, बेथिति र अस्थिरताका कारण वाक्क भएका पाकिस्तानी जनताले इमरानलाई मत दिएका हुन् । यसर्थ, नेपाल, भारत, बांगलादेश, माल्दिभ्स लगायतका सार्क देशका राजनीतिक दल र नेताहरूलाई पनि यो एउटा सन्देश हो ।
अन्तिममा यौटा प्रश्नः के त इमरान खान क्रिकेटको रन जोड्नमा जस्तै सत्ता सञ्चालनको रन स्कोरमा पनि सफल र लोकप्रिय बन्लान् ? यो प्रश्नको उत्तर माथि लेखिएका चुनौतीको सामनामा भर पर्छ । (समाप्त)