अनसन, मार्सी र विभाजित समाज
तीन हप्ता यता डा. गोविन्द केसी र मेडिकल कलेज निकै चर्चामा आए । डा. केसी र मेडिकल कलेज चर्चामा आएको योपल्ट मात्रै हैन । उहाँ यसअघि चौधौँ पटक अनसन बसिसक्नुभएको थियो भने मेडिकल कलेज पनि उहाँसँगै चर्चामा तानिँदै आएको थियो । अहिले सरकार र डा. केसीबीच सहमति भइसकेको छ र उहाँको १५ औँ अनसन पनि तोडिइसकेको छ ।
तर यसपल्टको डा. केसीको अनसनसँग थरीथरीका आयाम तानिएर आए । सबैभन्दा बढी त मार्सी धानको चामल नै तानियो । जुम्लामा चिसो र फाँटमा फल्ने मार्सी चामल यति चर्चामा कहिल्यै पनि आएको थिएन । वास्तवमा धेरै नेपालीले मार्सी चामलको नाम पनि सुनेका थिएनन् । तर अहिले मार्सी चामल एकाएक सहरी डिपार्टमेन्टल स्टोरमा शानदार खाद्यवस्तु बन्न पुग्यो । विभिन्न पोर्टल र पत्रपत्रिकामा यसको बजार भाउ नै छापियो – प्रतिकिलो २४० देखि ३०० रूपैयाँसम्म । तत्कालीन नेकपा (एमाले) र नेकपा (माके) बीच एकता वार्ता गर्ने क्रममा झापाका मेडिकल कलेज संस्थापक दुर्गा प्रसाईको घरमा दुबै पार्टीका अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मार्सी चामलको भात खाएको तस्बिर प्रसाईले सामाजिक सञ्जालमा पोष्ट गरेका रहेछन् । त्यो पोष्ट नै वास्तवमा सामाजिक मिडियामा यति धेरै भाइरल भयो दुर्गा प्रसाई र प्रधानमन्त्रीलाई उडाउने मार्सी चामल बन्यो । मार्सीको भात भनेको मानौँ निकै ठूलै कुरा खाएको हो जस्तोगरी प्रचार भएपछि प्रधानमन्त्रीले एउटा कार्यक्रममा मार्सीको भात खासै मीठो नभएको प्रतिक्रिया नै दिएको पाइयो ।
समाजशास्त्रका अन्वेषक सुजित मैनालीले मार्सी चामलको चर्चा धेरै चलेको पाएपछि केही वर्षको तुलनात्मक बजार भाउ नै ट्वीट गरेको पाइयो । त्यो बजार भाउ यस्तो थियो– वि.सं. २०१५ बैशाख ३१ गते मार्सी चामलको भाउ– प्रतिमाना ५३ रूपैयाँ । वि.सं. २०१६ बैशाख ३१ गते मार्सी चामलको भाउ– प्रतिमाना ५३ रूपैयाँ । वि.सं. २०१६ बैशाख ३१ गते मार्सी चामलको भाउ– प्रतिमाना ५२ रूपैयाँ । उहाँको प्रश्न रहेछ, अहिले यसको भाउ कति होला? प्रतिकेजी २४० रूपैयाँलाई अहिलेको बजारभाउ मान्दा पनि प्रतिमाना मार्सी चामलको अहिलेको भाउ १२० रूपैयाँ भन्न सकिन्छ – एक किलोमा सरदर दुई माना हुन्छ भनेर मान्दा । तर गोर्खापत्रको पहिलो अंक वि.सं. १९५८ साल बैशाख २४ मा प्रकाशित हुँदा छापिएको विज्ञापनमा भने मार्सी चामल मोरू. १ मा १ पाथी ७ माना ५ मुट्ठी पाइने उल्लेख गरिएको रहेछ । बरु अहिलेको झण्डै मन्सुली चामलको ठाउँ लिएको तौली धान चाहिँ १९५८ सालमा मोरू १ को २ पाथी १ माना र पाँच मुट्ठी आउँदो रहेछ ।
अहिले किलोमा बानी परेका कतिपय युवा पाठकलाई मानो र पाथीको मापनको हेक्का नहुन सक्छ– एक पाथीमा आठ माना । त्यसो त मार्सी चामल त्यतिखेरै पनि महँगो नै रहेछ । अहिले त जुम्लाबाटै मगाएर डिपार्टमेन्टल स्टोरहरू यसको व्यापार चम्काउँदैछन् भने कस्तो हुँदोरहेछ भनेर चाख्नकै लागि पनि एक–दुई किलो घर लैजाने र मार्सी चामलको भातको फोटो खिचेर सामाजिक मिडियामा हाल्ने पनि फेसन जस्तै भएको छ । तर जुम्लाको आडिलो मार्सी चामल चाहिँ राम्रै बजार पाउन सफल भयो ।
बाङ्ग्लादेशको पढाइ
मार्सी चामलको चर्चासँगै बाङ्ग्लादेशमा पढ्न गएका छात्राहरूको प्रसङ्ग पनि निकै तीतो र घिनलाग्दो गरी कुचर्चामा आयो । बाङ्ग्लादेशमा पढ्नगएका छात्राले प्रमाणपत्र पाउन शरीर सुम्पनुपर्छ भन्ने आरोप उनै मार्सी चामललाई चर्चामा ल्याउने दुर्गा प्रसाईले यसो भन्दैगरेको भिडियो सामाजिक मिडियामा के भाइरल भएको थियो र सर्वत्र विरोध हुँदैथियो, कानून मन्त्री शेरबहादुर तामाङलाई यही प्रसङ्गले मन्त्री पदबाट राजीनामा दिन बाध्य पार्यो । आखिर मन्त्री तामाङले रुँदै राजीनामा दिनुपर्यो ।
यो प्रसङ्ग सेलाउन नपाउँदै नेपाली कांग्रेसका नेता गगन थापाको नेपालबाट बाङ्ग्लादेश, चीन र अन्य देशमा प्रमाणपत्र हातमा आउने पक्का भएपछि मात्र पढ्न जाने गरेका छन् भन्ने अभिव्यक्ति भाइरल हुनपुग्यो । यो अभिव्यक्तिको पनि सर्वत्र विरोध भयो ।
विभाजित मिडिया र समाज
डा. गोविन्द केसी जुम्लामा अनसन बसेदेखि नै नेपाली समाज दुई कित्तामा उभियो । केसीको पक्षमा र विपक्षमा । पक्ष र विपक्षका भिडन्त सामाजिक मिडियामा निकै तल्लास्तरका शब्दसहित हुन पुगे । त्यसै पनि सामाजिक मिडिया प्रयोगकर्तामध्ये अधिकांशको अरूको मानहानि भएको र चरित्रहत्या भएको हेक्कै नराखी निकै निकृष्ट शब्द लेख्ने संस्कृति नै बन्दै गएको छ, जुन सामाजिक र कानूनी अपराध पनि हो । यसको शिकार नेपाली समाज यसपल्ट पनि बन्यो ।
भर्खरै चुनावमा हार व्यहोरेको प्रतिपक्षी नेपाली कांग्रेस र साझा पार्टीले यो अनसनलाई आफ्नो राजनीतिक शाख उठाउने अवसरका रूपमा लिए । सरकार र सत्तारूढ दलहरूलाई मेडिकल माफियाको हितमा काम गरेको आरोप उनीहरूले लगाए र सडक तताए भने सरकारी र सत्तारूढ दलका नेताहरूले भने विपक्षीले अनसनमा आफ्नो राजनीतिक रोटी सेकेको र सिन्डिकेटिङ गर्न खोजेको आरोप लगाए । नेपाली कांग्रेसले ल्याएको र म्याद सकिएको स्वास्थ्य अध्यादेश र अहिलेको सरकारले ल्याएको स्वास्थ्य विधेयक दुबै आलोचनामुक्त रहेनन् । त्यसो त अनसनकारी डा. केसीको नाम पनि निकृष्ट र तल्लास्तरका शब्दले निर्वाचित प्रधानमन्त्रीलाई सम्बोधन गरेपछि आलोचित हुनबाट बचेन ।
यो अनसनमा नेपालका चलेका पत्रपत्रिका र अनलाइनका १४ सम्पादकहरूले अनसनकारी डा. गोविन्द केसीको पक्षमा विज्ञप्ति निकालेर सामुहिक तस्बिर खिचाएको विषयले पनि सामाजिक मिडियामा निकै ठूलो चर्चा पायो र विरोध पनि भयो । यद्यपि सम्पादकहरूले आफ्नो बचाउ सामाजिक मिडियामै गरेको पनि देखियो ।
अब डा. केसी र सरकारबीच सहमति भइसकेको अवस्थामा यी तिक्तता र आरोप–प्रत्यारोपले रङ्गिएका सामाजिक मिडियाका भित्ता अलिक सफा देखिन थालेका छन् । तर, लामो समयदेखि काठमाडौँ उपत्यकामा थुप्रेको फोहोरको समस्यालाई भने डा. केसीको अनसनले छायाँमा पारिदियो ।