परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

समस्या नै समस्याको पोको राजधानी !

देशको राजधानी काठमाडौँ समस्यै समस्याको पोको बनेको छ । देशका अन्य भागबाट राजधानी नदेखेका नागरिक कत्रो कौतूहलताका साथ जब काठमाडौँ उपत्यकाभित्र छिर्छन्, तब उनीहरू छाँगाबाट खसेजस्तो बन्छन् । दुर्गन्ध, घाम लागे कुइरीमण्डल धुलो र पानी परे धान रोप्ने सीमखेत जस्तो हिले सडकयुक्त राजधानी काठमाडौँ देखेर उनीहरू भन्छन् – छिः, यो त रौरव नर्कै पो रहेछ ! खुट्टा र लुगामा लागेको हिलो धुन पुग्ने पानी समेत छैन काठमाडौमा । ट्याङ्कर र जारबाट किनेको पानीका भरमा लाखौँ काठमाडौँवासीको अभावपूर्ण जीवन चलिरहेको छ ।
काठमाडौँबासी आम सर्वसाधारणको दैनिकीबारे एकछिन् घोत्लिउँ न त ! घर बस्दा पनि सुख छैन, निस्कँदा पनि सुख छैन । घर÷डेरा बस्दा फोहोर, मयल, पसिना पखाल्ने पानी छैन । खाँदा पनि फारु गरेर खानुपर्ने पानी ! घरबाट निस्केपछि पानी परेको रहेछ भने रोपाई गर्न गएको अवस्थामा हिँड्नुपर्ने । त्यो पनि कहाँ बल्र्याङ्ग चिप्लेर पछारिने हो र कहाँ गाडीवालले हिलो छ्यापेर बिजोग पार्ने हो, टुङ्गो छैन । बस स्ट्याण्डमा पुग्यो, अब गाडी छैन । गाडी भेट्इिगयो त भैरव अर्यालले चार दशकअघि लेखेको व्यङ्ग्य कविता अझ बढी सान्दर्भिक भएर गिज्याउँछ–
‘पथ सात फुटे, बस नौ गजको
बीस सीट भए भीड सौ तकको !
छ त अन्त कतै सुविधा यसरी
अमरावती कान्तिपुरी नगरी !’
अझ एक ठाउँको बाटो–किनार र चोकको फोहोरको उरुङ, हिलो, लिच्चड र उग्रगन्ध पार गर्न पाएको छैन, अर्को चोक र किनार उस्तै लाचारीले स्वागत गरिरहेको हुन्छ । अरु त अरु, बाटामा दिसा-पिसाबले च्याप्दा एक मिनेट/पाँच मिनेट जाने ठाउँ पाउन समेत गाह्रो छ । यसअघि पनि बेला बेलामा भए जस्तै सिसडोल ल्याण्डफिल साइट बन्द छ । बञ्चरेडाँडा गफमै सीमित छ । सडक नरक छ । वास्तवा पुराना धर्मशास्त्रहरूले कल्पना गरेको नर्कका प्रायः सबै गुण राजधानीमा व्याप्त छन् । सरकारले कागजमा तोड्यो भनेको सिण्डिकेट व्यवहारमा कतै नतोडिएको सन्दर्भमा अहिले त सरकारले नै सिण्डिकेटको म्याद बढाइदिएपछि ‘के खोज्छस् ? खुँदो!’ भएको छ बस व्यवसायीहरूलाई ! चुनावमा भोट माग्दा चिप्ला र मीठा कुरा गर्ने नेतागण, मन्त्रीगण र जनप्रतिनिधिलाई तात्न फेरि अर्काे चुनाव नै चाहिन्छ । जुन अहिले बेलै भएको छैन । देशको नोकरशाही आम नागरिकको पक्षमा छैन । राजनीति, नोकरशाही, व्यापार र अपराधको मिल्ती भोग्न बाध्य छन् आम सुतिथाती गरिखाने जनता ।
यस्तो बेहाल अवस्थामा देखिनुपर्ने सबै विकृति सतहमाथि नै आएका छन् । दूधदेखि खानेपानीसम्म सुरक्षित छैन । चार पैसा कमाउन विदेश जानेदेखि चार गाँस जोड्न दुःख गर्ने सबै कुनै न कुनै हिसाबले ठगिएकै छन् । अर्थतन्त्र र बजार विचौलियाको हातमा छ । एकमुठी तरकारी बिना कारण तीनगुणासम्म महँगो हुन्छ । त्यही पनि किनेर खानुको विकल्प छैन र त्यसमा खाने सरोबरी विष हो । सडकका पेटी या त बाटो बढाउने नाममा सकिए या व्यापारीले सामान राखेर ओगटिए । यो विकृति केही समययताको मात्रै भने हैन । यसले लामो समयदेखि जरा गाडेको छ । धरहरा र सुनधारा वरपरका सडकका पेटी नाङ्ग्ले व्यापारीले कब्जा गरे भनेर २०४९ सालमा तत्कालीन राजा वीरेन्द्रको जन्म दिन पारी विष्णुमतीको किनारमा रातारात ठूलो खर्चमा ह्युमत् बजार खोलियो । राँगाका हड्डी र फोहोरले दुर्दान्त त्यो क्षेत्र कहिल्यै व्यापारिक थलो बन्न सकेन । अहिले धरहरा क्षेत्र फेरि पनि तिनै व्यापारीको कब्जामा छ । रत्नपार्क र पुरानो बसपार्क आसपासका फुटपाथे व्यापारीका लागि भृकुटीमण्डपमा पालको बजार बनाइयो । त्यो पालको बजार अहिलेसम्म पनि काठमाडौँको कुरुपता बढाउने र अबैध हिसाबले स्टल किनबेच गर्ने ठाउँ बनेको छ । पहिलो कुरा त सडक पेटी मास्ने अभियानमा सरकार नै लागेको छ । दोस्रो, बचेखुचेका सडकपेटी मान्छे हिँड्दा फसेर खुट्टा भाँच्चिने खालका छन् । फेरि पनि बचेखुचेका सडकपेटी जे–जस्ता अवस्थामा छन्, तिनको अतिक्रमण तिनै फुटपाथे पसलेले गरिरहेकै छन् ।
यी उदाहरणबाट देखिन्छ,–यो राजधानीमा जसले जसो गरे पनि हुने भएको छ । व्यापारीले जस्तो सामान दिएर जति ठगे पनि भएको छ । भाडाका सवारी साधन जस्ता भए पनि भएकै छ । जति मान्छे कोचेर जति पैसा उठाए पनि भएकै छ । तीन तीन तहको राज्यको संरचना राजधानीवासीलाई कागलाई बेल पाक्नु जस्तै भएको छ । यी संरचना कर असुली केन्द्र जस्तै मात्रै देखिन थालेका छन् । यो समस्यै समस्याको पोको राजधानीको नरक अवस्थाबाट कसले कसरी मुक्ति देला ? यसको खोजी आम राजधानीवासीले गरिरहेका छन् । महानगर ? ब्युँझेकै छैन । प्रदेश सरकार ? कहाँ छ थाहै छैन । केन्द्रीय सरकार ? फाइफुट्टीमा फुर्सदै छैन । नगरवासी ? निरीह छ । लाचार छ ।

अन्य आकर्षणहरू

धर्म परिवर्तन

बुढ्याइँ दुखेको छ मेरो !

च्यातिएको रुपियाँ

मिलेन दक्ष सारथी

Facebook Comments