परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हाम्रो सन्देश जनस्तरमा पुर्‍याउन सकेका छैनौ ।

गङ्गाप्रसाद ओली
अध्यक्ष
रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान

गैरनाफामूलक, गैरराजनीतिक र गैरसरकारी सामाजिक संस्थाका रूपमा २०६७ सालमा झापा जिल्लामा स्थापित ‘रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान’ ले हरेक वर्ष चारवटा विधामा राष्ट्रिय पुरस्कार वितरण गर्दै आएको छ । प्रतिष्ठानद्वारा स्थापित र हरेक वर्ष प्रदान गरिने राष्ट्रिय स्तरका पुरस्कारहरूमा एक लाख एक हजार एक सय एघार रुपैंयाँ कोषको रुद्रप्रसाद ओली स्मृति कृषि पुरस्कार, त्यति नै राशी रहेका गौरादेवी ओली स्मृति आदर्श आमा पुरस्कार र अम्बिकादेवी ओली स्मृति पत्रकारिता तथा साहित्यिक पुरस्कार छन् । त्यसैगरी देवी ओली स्मृति बाल पुरस्कार एकाउन्न हजार एक सय एघार रुपैंयाँ राशीको पुरस्कार पनि हरेक वर्ष पुरस्कार वितरण गर्दै आएको छ । यसका साथै प्रवास र एक नम्वर प्रदेशका स्रष्टाहरूलाई सम्मान गर्न एकाउन्न हजार राशीको साहित्यिक पुरस्कार पनि प्रतिष्ठानले स्थापना गरेको छ । राम्रो कामलाई प्रोत्साहन गर्ने पवित्र उद्देश्यले स्थपना भएको प्रतिष्ठान हाल के गरिरहको छ ? प्रतिष्ठान आफ्नो लक्ष्यमा कहाँ छ र पुरस्कार वितरणका सन्दर्भमा आइपरेका समस्याहरू के कस्ता छन् भनी प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीसँग परिसंवाद् डट कमले कुराकानी गरेको छ । कुराकानीको मूल अंश यहाँ प्रस्तुत गरेका छौँ ।

ओली प्रतिष्ठान के गरिरहेको छ आजभोलि ?
रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान स्थापना भएको आठ वर्ष भयो । यसले बीचमा पाँच पटक पुरस्कार वितरण गरेको छ । आठ वर्षमध्ये दुई वर्ष यसका प्रमुख संरक्षकको निधन भएका कारण पुरस्कार वितरण हुन असम्भव भयो । त्यसैगरी एक वर्ष भने भूकम्प पीडितलाई सहयोग गरेका कारण पुरस्कार वितरण हुन   सकेन । हामीले पाँच वर्ष पुरस्कार वितरण गरिसकेका छौँ ।

यो त विगत भयो, आजभोलि के गरिरहेको छ ?
आजभोलिको कुरा गर्नुहुन्छ भने पाँचाैं पुरस्कार वितरण सम्पन्न गरी छैठौँ पुरस्कार छानोटको प्रक्रियामा सरिक भइरेहका छौं । हामीले हरेक वर्षको साउन महिनाभित्र अर्को वर्षको पुरस्कार छनोटका लागि निर्णायक मण्डल बनाउने थिति बसालेका छौँ । यो प्रक्रियामा सरिक भएर निर्णायक मण्डल निर्माणको तयारीमा छाैँ ।

यो पुरस्कार स्थापनाको मूल उद्देश्य चाहिँ के हो ?
यसको मूल उद्देश्य हो, समाज सकारात्मक दिशातर्फ अगाडि बढोस, त्योभन्दा पनि सभ्य र समृद्ध समाज निर्माण होस् र समाज त्यो दिशातर्फ अग्रसर होस् उद्देश्यले प्रतिभा र योगदानको कदर गर्न यी पुरस्कारहरू स्थपना गरिएको हुन् ।

पुरस्कार दिन कोषको व्यवस्थापन चाहिँ कसरी गर्नुभएको छ ?
हाम्रो प्रतिष्ठानले पुरस्कार दिने आधार तथा व्यवस्थापनको कुरा गर्दा यसका प्रमुख संरक्षक श्रीप्रसाद ओलीले नै एक करोड रुपैँयाँको अक्षयकोष खडा गरिदिनुभएको थियो । त्यसमा परिवारका सदस्यहरूको व्यक्तिगत सहयोगबाट यस कोषलाई बृद्धि गर्दै लगिएको छ ।

हाल यस कोषमा कति रकम जम्मा भइसेको छ त ?
यो कोषमा मोटामोटी सवा करोड जति रकम जम्मा भइसकेको छ । यसबाट आउने ब्याजबाट नै यो पुरस्कारको चाँजोपाँजो प्रतिष्ठानले मिलाउँदै आएको छ ।

प्रमुख संरक्षकको सोच अनुसार कोषको निरन्तरता दिन उहाँका सन्तानहरू कति सकारात्मक छन् त ? यस्ता पुरस्कारले निरन्तरता नपाएको उदाहरण पनि छन् नि !हो । त्यस्तो देखिएको छ । तर त्यो अघिल्लो पुस्ताले के संस्कार हस्तान्तरण ग¥यो भन्ने कुरामा पनि भर पर्दो रहेछ । हाम्रा प्रमुख संरक्षकले हामी सन्ततिलाई यस्तो संस्कार दिनुभएको छ कि यसलाई निरन्तरता दिन सकारात्मक मात्र होइन, आफूले गरेको आयबाट केही हिस्सा थपेर कोष बृद्धिमा दत्तचित्त भएर लागेका छौं । यहाँ मात्र होइन, उहाँका सन्तानले त विदेशमा समेत पुरस्कारको स्थापना गर्नुले यो कोष र प्रतिष्ठान अझ अगाडि बढ्छ भन्ने बलियो आधार हो ।

भोलि कुनै कारणवश रकम खर्च गरेर वा सन्तानले बाँडफाँड गरेर यो पुरस्कारले निरन्तरता नपाउने कत्तिको सम्भवना छ ?
यो बिल्कूल सम्भावना छैन । यो घट्ने वा बाँड्ने भन्दा अझ प्रमुख संरक्षकको नाममा केही जग्गा जमिनहरू रहेका छन् । त्यो पैतृक सम्पत्ति बेचेर कोष बृद्धि गर्ने समेत निर्णय गरिसकेका छाँै । जब कि कोषमा जम्मा गरेको त परै जओस् नामसारी गरेर, बाँडफाँड गरेर खान मिल्ने कुरा पनि प्रतिष्ठानको कोषमा राख्न तयार भएका छौँ । अथवा, यसलाई अझ कति थपेर ठूलो बनाउने भन्नेमा हामी लागिपरेका छौं । त्यसलाई बृद्धि गर्ने कार्यक्रम तय गरिसकेका छाैँ । केही समयपछि कोष बृद्धि भएको सबैलाई जानकारी गराउँछौं ।

परिवारका सदस्यहरूमा यसरी कोष बृद्धि गर्नुहुन्न, कोष बृद्धि भएपछि कुनै कालखण्डामा यसको दुरुपयोग पनि हुनसक्छ भन्ने मत वा फरक विचार छ कि छैन ?
छैन । आजसम्म त्यस्तो विचार आएको सुनेको छैन । बरु त्यो कोषलाई ठूलो र आकर्षणको विषय कसरी बनाउने भनेर चिन्ता गरिरहेको पाएको छु । कोष बृद्धि नै गर्नुहुँदैन भन्ने त परिवारका कुनै सदस्य पनि मैले पाएको छैन ।

पुरस्कार छनोटको विधि के हो ?
श्री रुद्र–गौरी अम्बिका ओली प्रतिष्ठानले हरेक वर्ष वितरण गर्ने पुरस्कारका लागि पुरस्कार निर्देशिका तयार गरेर सार्वजनिक गरेका छौँ । निर्देशिकामा मापदण्ड निश्चित गरिएको छ । त्यो मापदण्डको परिधिमा रहेर निर्णायक मण्डलले सिफारिश गर्छ । सबैभन्दा पहिला सबै विषयका पुरस्कारहरूमा सम्बन्धित क्षेत्रमा १५ वर्ष अनुभव भएका एक जना संयोजक सहित २ जना सदस्य रहेको एक निर्णायक मण्डल बनाइन्छ, । यही समितिले नै यसलाई निर्धारण गर्छ । यसमा आएका सिफारिश र सम्भावित नामका बारेमा जनाकारी दिने बाहेक प्रतिष्ठानको भूमिका हुँदैन । पुरस्कृत व्यक्ति वा संस्थाका बारेमा निर्णायक मण्डलहरू नै जवाफदेही हुने प्रणाली विकास गरेका छौँ ।

यहाँले भन्नुभएको निर्णायक मण्डलले कसरी छनौट गर्छ त ?
यसले अहिलेसम्म तीन प्रकारले ब्यक्ति वा संस्थाको छनौटकोे आधार बनाएको छ । पहिलो त उक्त क्षेत्रका मानिस नै सोही क्षेत्रमा रहेको हुँदा पनि समग्र क्षेत्रको बारेमा समितिले र समितिमा रहेका सदस्यको सूचनालाई पनि आधार बनाउन सक्छ । दोस्रो भनेको कुनै पनि नेपाली नागरिकबाट कुनै पनि नेपाली नगरिक राष्ट्रिय पुरस्कार पाउन लायक छ भनी प्रतिष्ठानमा सिफारिश गरिआएको विषयलाई आधार बनाउँछ, जुन सिफारिश फारम हाम्रो वेभसाइटमा सबैले पाउने गरी उपलब्ध गराइएको छ । तेस्रो भनेको प्रतिष्ठानका कार्यकारणी वा सल्लाहकारहरूले विभिन्न सूचनामार्फत् आएको नाम उक्त निर्णायक मण्डललाई सम्भावित नामको सूचीमा राख्न निर्णायक मण्डललाई दिने गरिएकोे छ ।


पाँचौ वर्षसम्म पुरस्कार दिँदा तपाई र तपाईका आफन्तलाई पुरस्कार दिनुभएको छ कि छैन ? दिनुपर्छ भनेर निर्णायक मण्डललाई दवाव दिनु भएको छैन ?
अहिलेसम्म त्यस्तो भएको छैन । यो पुरस्कारका लक्षित समूह परिवार र अफन्त हुँदै होइनन् । कसरी दिने? दवाव दिने कुरै हुँदैन । तपाईलाई अर्को के पनि जानकारी दिउँ भने प्रतिष्ठानका पदाधिकारी र सल्लहाकार त परै जाऊन् निर्णयक मण्डलका सदस्यको परिवारका सदस्य वा आफन्त पर्ने वाला छ भने त उहाँहरू समेत निर्णयक मण्डलबाट बाहिरिनुपर्ने आचारसंहिता बनाएका छौं । रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान त निर्णायक मण्डलले दिएको नामलाई अन्तिम रूप दिने काम गर्छ । हामी अन्तमा के चाहिँ हेर्छौ भने उक्त व्यक्तिलाई पुरस्कार दिँदा समाजमा त्यसको के प्रभाव पर्छ भन्ने मात्र हेर्छौ र एक पटक छलफल गर्छाैं । नत्र सबै कुराको सर्वेसर्वा निर्णायक मण्डल हो । निर्णयक मण्डलको कुरामा हामी पूर्ण विश्वस्त हुँदै आएका छौँ ।

यस्ता प्रतिष्ठानहरूले बनाउने निर्देशिका त केवल देखाउन मात्र बनाउने तर निर्णायक तथा पदाधिकारीको रोजाईमा परेका मानिस वा संस्थाले पुरस्कार पाउने चलन छ नि ?
अरुको के छ थाहा भएन । तर हाम्रो प्रतिष्ठानको हकमा तपाईले भनेको कुरा लागु हुँदैन । हामी हरेक वर्षको साउन महिनाभरिमा निर्णायक मण्डल निर्माण गरिसक्छौँ । जुन दिन निर्णायक समितिको चयन हुन्छ, सोही दिन नै उक्त निर्देशिकाको प्रति उहाँहरूलाई उपलब्ध गराइन्छ । अहिलेसम्म उक्त निर्देशिकाको परिधिभित्र रहेर निर्णय गर्नुभएको छ । त्यसकै आधारमा पनि हामी दावी गर्न सक्छौँ कि अहिलेसम्मका कुनै पनि पुरस्कारमा कुनै पनि खालको विवाद आएको छैन ।

सिफारिशमा परेका वा निर्णायक मण्डलले अन्तिम रूप नदिएका व्यक्ति वा संस्थाको स्थलगत अवलोकन गरिन्छ कि गरिँदैन ?
गर्छौं । कहिले निर्णायक मण्डलका सदस्य तथा प्रतिष्ठानका सदस्य वा तोकेको मानिसलाई सम्बन्धित ठाउँमा पठाउने गरेका छौँ । प्रतिष्ठित मानिसलाई नै पुरस्कार दिने कुरामा निर्णायक मण्डल पुगेको विषयमा बाहेक नयाँ अनुहारको नाम आउनसाथ उक्त क्षेत्रमा नै गएर अवलोकन गर्ने गरिएको छ ।

उक्त कोषमा जम्मा गरिएको रकमको स्रोत चाहिँ कस्तो हो ?
हाम्रा पिताजी श्रीप्रसाद ओलीले कृषि पेशाबाट व्यवसाय शुरु गर्नुभएको थियो । उहाँले ब्यापार पनि गर्नुभयो । उहाँले काठ लकडीको ठेक्कापट्टा पनि गर्नुभयोे । त्यसको आम्दानीले झापाको सुरुङ्गा लगायतका ठाउँमा जग्गाजमीन किन्नुभएको रहेछ । सोही जग्गाहरू बेचविखन गरेर उक्त रकम जम्मा गर्नुभएको हो । एक करोड रकम जम्मा उहाँले नै गर्नुभएको हो । हामीले होइन । यसमा हाम्रो सहमति लिनुभएको मात्र होइन, प्रतिष्ठान नै बनाउन हामीलाई सक्रिय गराउनुभएको थियो ।

पुरस्कारलाई सर्वस्वीकार्य बनाउन र गरिमा बढाउन प्रतिष्ठानले के गरिरहेको छ ?
पुरस्कार जस्तो कुरामा सर्वस्वीकार्यता समय सापेक्षित हुन्छ होला जस्तो लाग्छ । तर सकारात्मक रूपमा नै यसलाई अगाडि बढाउने काम हामीले गरिरहेका छाैँ । निर्देशिकाको परिधिभित्र परून् भन्ने कुरामा सचेत भने पक्कै छौँ । यसका लागि जनस्तरबाट सिफारिशहरू अलि कम भइरहेको महसूस गरिरहेका छौं । अतः जनस्तरबाट सिफारिश अलि बढी पाउन सके यसको गरिमा उच्च हुन्छ भन्ने लाग्छ ।

प्रतिष्ठानले कुनै सार्वजनिक आव्हान पनि गर्ने गर्नुभएको छ कि ?
विगतमा हामीले रेडियो, टिभी, पत्रपत्रिका माफर्त आव्हान गर्नुका साथै हाम्रो वेभ साइट www.rugsaof.org.np  मा आव्हान गर्ने गरेका छौं । यो साइटमा फाराम राखिएको छ । त्यो निवेदन होइन । सिफारिश फारम हो । त्यसमा जो कसैले पनि सिफारिश गर्न सक्नुहुन्छ । हामी तपाई मार्फत् पनि सोही आव्हान गर्न चाहन्छौँ ।

यसरी सिफारिश नहुनुमा कुन पक्ष जिम्मेवार छ जस्तो लाग्छ ?
मेरो विचारमा हाम्रो सन्देश हामीले जनस्तरमा पु¥याउन नसकेर सिफारिश कम आएको जस्तो लाग्छ । प्रतिष्ठानको त्यस्तो बलियो सञ्जाल पनि छैन । सङ्गठनात्मक संरचना सशक्त छैन । अर्को आयस्रोत पनि एकदमै कम छ । एक करोडबाट १० लाख पनि आउँदैन । त्यसमा पनि सरकारले १५ प्रतिशत कर राज्यले काटिदिन्छ । यस्ता संस्थाहरूलाई वर्गीकरण गरी ब्याजकर छुट नेपाल सरकारले दिनुपर्नेमा उल्टै लिइरेहको छ । जम्मा ८ लाख ५० हजार रकमले के पो गर्न सकिन्छ र ? निर्णायक मण्डलका सदस्यहरूले स्वयंसेवा गरेर जुन हौसला प्रदान गरिरहनुभएको छ । यसबाट मात्र यो सम्भव भइरहेको छ ।

प्रतिष्ठान पुरस्कार मार्फत कति जिल्लामा पुगेको छ ?
प्रतिष्ठन पुरस्कारको माध्यमबाट मेचीदेखि महाकालीसम्म पुगेको छ । किनभने यो वर्ष कैलालीका गहुँबाली विशेषज्ञ मदनराज भट्टले पुरस्कार पाउनुभएको थियो । दाङ देउखुरीकी महिलाले आदर्श आमा पुरस्कार पाउनुभएको छ । त्यस्तै अछामकी मथुरादेवी कुँवरले पनि यो पुरस्कार पाइसक्नु भएको छ । तनहुँका सन्तबहादुर गुरुङले कृषि पुरस्कार पाउनुभएको छ । पूर्व मोरङबाट सीता पोखरेलले आदर्श महिला पुरस्कार पाइसक्नुभएको छ । योभन्दा पहिलाको पत्रकारिताको पुरस्कार झापाका चन्द्र भण्डारीले पाइसक्नु भएको छ भने काठमाडौँका भैरव रिसालले पाउनुभएको छ । काठमाडौँकै भद्रकुमारी घलेले नै आदर्श महिला पुरस्कार पाइसक्नुभएको छ । यसरी हेर्दा पुरस्कारका हिसावले प्रतिष्ठान मेचीदेखि महाकालीसम्म नै बिस्तार भइसकेको छ ।

यहाँहरूले ज–जसलाई पुरस्कृत गर्नुभएको छ, त्यसको प्रभाव र उपयोग कसरी भइरहे जस्तो लाग्छ ?
धेरै राम्रो प्रभाव परेको जानकारी प्रतिष्ठानलाई प्राप्त भइरहेका छन् । आदर्श महिला पुरस्कार पाउनुहुने भद्रकुमारी घलेले सोही रकममा आफूले केही रकम थप गरी ‘भद्रकुमारी घले ओली कोष’ नै बनाउनुभएको छ । त्यसबाट प्राप्त रकमले उहाँ साहित्यकारहरूलाई सम्मान गरिरहनुभएको छ । गोधुली सेवा भन्ने संस्थामार्फत् यसलाई अगाडि बढाइरहनुभएको छ । हाम्रो प्रतिष्ठानबाट पहिलो आदर्श पुरस्कार पाउने सीता पोखरेलले पुरस्कार ग्रहण कार्यक्रममा कोष बनाउने भनेर घोषणा गर्नुभएको थियो । गत वर्ष हामीले भेट्दा उक्त कोषमा २५ लाख पुगेको जनाकारी दिनुभयो । सन्तबहादुर गुरुङले गाउँको किसानको भलाईमा लगाउँछु भनेर भन्नुभएको छ । कृषि पुरस्कार पाउनुहुने कृष्ण घिमिरेले पनि उक्त रकमलाई व्यक्तिगत रूपमा खर्च नगरी समाजिक क्षेत्रमा लगाउनुभएको छ । त्यसैगरी, हामीले पुरस्कृत गरेको दुई हजार दुई सय महिला सदस्य रहेको झापाको महारानी कृषि आयोजनाले प्राप्त पुरस्कार रकम कृषिको आधुनिकीकरण गर्न प्रविधि भित्र्याउने कुरामा लगानी गरेको छ । सो रकम पनि संस्थाको विकासमा लगाइएको छ ।

यसको अर्थ जे उद्देश्यले प्रतिष्ठान स्थपना भएको थियो, त्यसतर्फ निरन्तर कार्यहरू एकीकृत ढङ्गले अगाडि बढिरहेका छन् ?
स्थपना भएको पाँच सात वर्षमा नै प्रतिष्ठानको उद्देश्यतर्फ बिस्तारै उपलब्धि देखिन थालेका छन् । हामी यसबाट अत्यन्तै खुशी र उत्साहित भइरहेका छाैं ।

Facebook Comments