परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बालबालिकाको खाजामा जङ्कफूड रोकौँ

देखासिकी र अल्छे आमा-बाबु पत्रु खाजाका कारक

केही दिन पहिले छोरीलाई विद्यालय खाजामा मालपुवा पकाएर टिपिन बट्टामा राखिदिएकी थिएँ । अपराह्न ४ बजे विद्यालयबाट फर्केपछि टिपिन बट्टा खोल्दा जस्तो लगेकी थिइन् उस्तै फर्काएर ल्याएकी थिइन् । अर्थात् टिपिनको बट्टा नै नखोलिएको जस्तो । यो देखेर मैले सोधैँ, छोरी किन विद्यालयमा खाजा खाइनौ, जस्तो राखिदिएकी थिएँ उस्तै छ त ? छोरीले, ‘कस्तो अनमार्क फूड,’ जवाफ दिइन् । जङ्कफूड खानुहुन्न भनेर सिकाइरहेकी मैले, छोरीको यस्तो जवाफ सुनेर एकछिन कराएँ । साथीभाइका अगाडि यस्ता खानेकुरा त्यत्ति राम्रो हुँदैनन् भन्ने उनको आशय थियो ।
पहिलेको तुलनामा अहिले केही विद्यालयले जङ्कफूडलाई प्रतिबन्ध नै लगाएका छन् । मकै, भट्मास, हलुवा, रोटी, मालपुवा, च्यूरा, भुटेको भात लगायतका खानेकुराहरू ल्याउनु भनेर विद्यालयका शिक्षकले भनिरहेका हुन्छन् । पोहोर छोरीकै विद्यालय जाँदा विद्यार्थीले चोकोपाई खाजा ल्यायो भनेर विद्यालयका शिक्षकले अभिभावकसँग गुनासो गरिरहँदा मनमनै खुसी लागेको थियो । तर प्रत्येक दिन बच्चाको खाजा के छ भनेर जाँच गर्न शिक्षकहरूलाई पनि पर्याप्त समय हुँदैन । यद्यपि कतिपय विद्यालयले जङ्कफूडमा प्रतिवन्ध लगाए पनि केहि अभिभावकहरू आफना बच्चालाई चोकोपाई, फ्राइड चाउचाउ, बर्गर लगायतका खानेकुराहरू खाजामा पठाउने गरेका छन् । यही देखासिखी गरेर घरमा पाकेका खानेकुराहरू खिर, मालपुवा, हलुवा, रोटी तरकारी लगायतका खानेकुरा लैजाँदा साथीहरूबीच लाज हुने भएकाले यस्ता खानेकुरा विद्यालयको खाजामा लैजान बालबालिकाहरू मन गर्दैनन् ।
समाज दिनप्रतिदिन विकसित हुँदैछ । प्रविधिमा भएको विकासले त आजका वालवालिकाहरू धेरै अगाडि   छन् । टेलिभिजनमा देखाइने अधिकांश विज्ञापनमा बालबालिकालाई प्रयोग गरेर जङ्कफूडको प्रचार गरिएको हुन्छ । क्याल्सियम, भिटामिन, प्रोटिन प्राप्त हुन्छ भनेर बनाइएका यस्ता विज्ञापनहरू मन लोभ्याउने खालका त हुन्छन् नै साथै, यस्ता जङ्कफूडको प्रचार टेलिभिजनमा देखेपछि चाख्नकै लागि भए पनि एकचोटी किनिदिन छोराछोरीहरूले आफ्ना अभिभावकहरूलाई हुरुक्कै बनाउने गर्छन् । बच्चाले दुःख दिएपछि कुन चाहिँ अभिभावक नकिनी बस्न सक्लान् र ?  एकचोटी स्वाद थाहा पाइसकेपछि आमाबाबुले नकिनिदिए पनि बालबालिकाहरूले घरका अन्य सदस्यहरूलाई यस्ता खानेकुरा किन्न लाइहाल्छन् । त्यसैले आमा–बाबुले मात्र नभएर, जङ्कफूडका कारण हाम्रो शरीरलाई पुरयाउने हानिका बारे हरेक घरका ठूला सदस्यले साना नानीहरूलाई सम्झाइरहनु अति नै आवश्यक छ ।
विज्ञापनमा देखाइएका यी जङ्कफूडहरू निकै नै आर्किर्षत देखिन्छन् । तर स्वास्थ्यका लागि कत्ति पनि लाभदायक हुँदैनन् । त्यसैले डा. अरुणा उप्रेती, यस्ता जङ्कफूडलाई पत्रु खानाको संज्ञा दिने गर्नुभएको छ । यस्ता खानेकुराले बच्चालाई तुरुन्तै असर नपारे पनि पछि गएर रोग लाग्न सक्ने सम्भावना रहेको धारणा पोषण विद्हरूको छ । फेरि यस्ता खानेकराले न बच्चाको बौद्धिक विकास नै हुनसक्छ न त शारीरिक नै । उल्टो बढ्नुपर्ने बच्चा बढ्न सक्दैन, बच्चामा हुनुपर्ने फुर्ती पनि हुँदैन । नून, तेल र चिनीको मात्रा बढी राखेर बनाइने यस्ता जङ्कफूडले केही समयका लागि त मुख मिठ्याइदिन्छ, भोक पनि मेटाइदिन्छ तर अन्तमा बच्चालाई अरु खानेकुराहरू खान मन नलाग्ने अजिर्ण समेत बनाउँछ । तपाईंले कत्तिको याद गर्नु भएको छ, जून दिन बच्चाले लेज, चाउचाउ लगायतका जङ्कफूड खाने गर्छन्, त्यो दिन भात खान मन गर्दैनन् । बाबुआमाको करबलले खाए पनि निकै कम खाने गर्छन् । कत्तिपय बालबालिकाले त राती वान्ता समेत गरिदिन्छन् ।
अहिले मानिसहरू धेरै व्यस्त छन् । धेरैजसो आमा–बुवा काम गर्छन् । घरमा खाजा बनाएर हरेक दिन बच्चालाई पठाउन गाह्रो पनि छ । त्यसैले कत्तिले यस्ता जङ्कफूडले फाइदा गर्दैनन् भन्ने थाहा पाउँदापाउँदै पनि बच्चालाई त्यही चाउचाउ, लेज, चोकोपाई जस्ता जङ्कफूडहरू किनेर खाजा हाल्नेगर्छन् । कत्ति अल्छी आमा–बाबुले खाजा बनाउन अल्छी मानेर पनि यस्ता खानेकुरा किनेर खाजामा हाल्ने गर्छन् । तर विहान ७ बजे भात खाएर विद्यालय जाने विद्यार्थीका लागि विद्यालयको खाजा कत्ति महत्वपूर्ण हुन्छ भनेर हेक्का समेत राख्दैनन् । किनभने कुनै पनि विद्यार्थीले विद्यालयमा मात्र ८ घण्टा विताउने गर्छन। बिहान ७ बजे भात खाएको बच्चालाई दिउँसो अलिकति भए पनि पेट भर्ने र पोषिलो खानेकुराको जरुरत पर्ने गर्छ । हैन भने केही सिक्न र गर्न विद्यालय पुगेका बालबालिकाले कसरी आफनो बौद्धिक विकास गर्न सक्लान् र ?
जङ्कफूडको कानुनी परिभाषा छैन । जङ्कफूड भन्ने शब्द अमेरिकी प्रोफेसरले प्रयोग गरेको भन्ने भनाइ छ । तेल, नून , चिनी बढी प्रयोग गरिएका तथा कम पोषक भएका खाद्यपर्दाथहरू नै जङ्कफूड हुन् । यस्ता खानेकुराहरू स्वास्थ्यवद्र्धक त छैनन् नै । यद्यपि यस्ता चीजमाथि रोक लगाउनु कानुनी हिसावले गाह्रो देखिन्छ । खानु हुँदैन, स्वास्थ्यलाई हानि पुर्याउँछ भनेर भन्दै गइयो भने मानिसहरू यसको प्रयोग स्वाभाविक रूपले कम गर्ने गर्छन् र यो हाम्रो देशमा भइरहेको पनि छ । अहिले धेरै अभिभावकहरू आफ्ना बालबालिकालाई जङ्कफूड खुवाउनुहुँदैन भन्ने पक्षमा नै छन् ।
छिमेकी देश भारतमा सर्वोच्च अदालतले सन् २०१२ मा सरकारी विद्यालय वरपर जङ्कफूड बेच्न नदिनू भन्ने आदेश दियो । सर्वोच्च अदालतले सरकारी विद्यालयमा कस्तो खाजा दिनुपर्छ भनेर पोषण विभागबाट फर्मूला ल्याउन र जङ्कफूडको विकल्पमा सातु, हलुवा आदिको व्यवस्था गर्न आदेश दिएको थियो । त्यसपछि आमिरखान लगायतका केही कलाकारलाई बोलाएर कोक, लेज लगायतका विज्ञापनमा नखेलिदिन साइन्स एण्ड टेकनोलोजीका व्यक्तिहरूले अनुरोध गरेको प्रसङ्ग नै छ ।
त्यसैले अब हाम्रा नानीहरूलाई घरको खानेकुरामा कसरी अभ्यस्त पार्ने भन्ने कुरा अभिभावककै हातमा छ । अल्छी लागेको दिनमा आ…ऽ एक दिन त हो नि भन्दै लेज, चाउचाउ, लगायतका खानेकुराहरू खाजा बट्टामा हाल्दै नहालौँ । घरको कामले भ्याइएन भनेर पनि यस्ता जङ्कफूड खुवाउने बानी गर्दै नगरौंँ । घरको काम आमाले मात्र गर्नुपर्छ भन्ने छैन । आमाले खाजा बनाउछिन् भने बाबाले बच्चालाई लुगा लगाइदिने, पुस्तक मिलाइदिने लगायतका काम मिलीजुली गरयो भने पोषकतत्व कम भएको खानेकुरा बच्चाको टिफीन बक्समा हाल्नु पर्ने स्थिति आउँदैन । बच्चालाई पनि यस्ता जङ्कफूड खानु धेरै हानिकारक छ भन्ने शिक्षा दिनु नै जरुरी छ । विद्यालयमा यस्ता जङ्कफूडमाथि पूर्ण बन्देज गराइयो र अभिभावकलाई समेत सचेत गराइयो भने हाम्रा ससाना नानीहरूको पेटमा यस्ता पत्रु खाना अवश्य पर्ने छैनन्।

अन्य आकर्षणहरू

सर्जक पदम गौतमको विश्रामपुर !

यात्रा

यहाँ अझै मानिस बाँकी छन्

नेपालगन्जिया

Facebook Comments