विश्वकप फुटबल, ब्राजिल र म
एक खेल-प्रेमीको विश्लेषणात्मक अनुभूति
बच्चा बेलामा पेलेको जादुगरी सुनेर हुर्केको परियो । यस्तो छलाउँछ, उस्तो छलाउँछ, यसरी हान्छ, उसरी हान्छ । खुट्टामा बल परेपछि सबैलाई माछा झैं छलाइदिने, गोल त त्यसै किपरसँगै जालीभित्रै छिराइदिने । जाली नै च्यात्तिने गरी बल हान्दिने । के के हो के के । नदेखेको र थाहा नपाएको कुरालाई बाल मस्तिष्कले कल्पना गरेर आफ्नै प्रकारको इमेज बनाउँदो रहेछ । बालसुलभ कोमल मष्तिस्कमा जे हालियो, जे रोपियो त्यसको असर, प्रभाव जीवनभर हुने रहेछ । यस्तै सुनेर होला, पेलेको छाप रगतभरि नसा-नसामा बगिरह्यो र ब्राजिलको समर्थक भइयो सधैँभरि ।
अचेल स्कुलहरूले बच्चाहरूलाई जर्सी लगाएरै स्कुल आउनुपर्ने खालका घोषित, अघोषित उर्दी जारी गरेका छन् । ठीक बेठीक, छलफल, बहस मनोविद्हरूले भन्लान्, गर्लान् । यो मेरो विषय परेन । मलाई लाग्छ- त्यो समयमा अधिकांश फुटबल दर्शकहरू म्याराडोनाको खेल हेरेर अर्जेन्टिनाको समर्थक र पेलेको कहानी सुनेर ब्राजिलको समर्थक धेरै भएको हुनुपर्छ । सन् १९९० देखि २०१० का विश्वकपसम्म आइपुग्दा ब्राजिलको खेलमा बिभिन्न उतारचढाव आइरहे, त्यसरी नै मेरो मनस्थितिमा पनि । सुखद र दुःखद अनुभूतिसँगै । १९९० को विश्वकप प्रतिस्पर्धा अझै विशेष रह्यो । १९९० मा अर्जेन्टिनासँग प्रि-क्वार्टरमा ब्राजिल हारेपछि अन्य टिमहरूको समर्थन गरियो । क्वार्टरफाइनलमा युरोपको म्याराडोना भनिने युगोस्लाभियाको स्टाइकोभिचको टिमको समर्थन गरियो, म्याराडोनालाई छाडेर । सेमीफाइनलमा मनै नपर्ने बल ढुकुवा ईटालीका सिलाचीले पनि गोल हान्दियोस् जस्तो हुने । र अन्त्यमा, फाइनलमा जर्मनीले जित्दा बेहद् खुशी भइयो । जर्मनीको जितमा भन्दा पनि अर्जेन्टिनाले हार्दा । म्याराडोनाको खेलकौशल मन परे पनि ब्राजिललाई हराएकोले मन परिरहेको थिएन । लगभग पुरै खेल आफ्नो अधिनमा लिएको ब्राजिलले त्यो खेल हार्दा सहनै गाह्रो भएको थियो, अत्यन्त पीडादायी ।
त्यो खेलमा म्याराडोनाले ३, ४ जनालाई छलाएर क्यानेजियालाई दिएको पास अत्यन्त उत्कृष्ट थियो र त्यही एउटै मौका सदुपयोग गरेर १-० ले जितेको थियो अर्जेन्टिनाले । विश्वकप सकिएपछि आफैंलाई स्व-मूल्याङ्कन गरें – म किन यस्तो बेचैन भएँ र अर्जेन्टिनाप्रति शत्रुताको भाव राखें भनेर । त्यसपछि भने आफैंलाई परिवर्तन गर्दै लगें । १९९४ को रोमारियो र बेबेटोको उत्कृष्ट जोडीले विश्वकप जितायो । खुशी स्वाभाविक थियो । रोमारियोको ड्रिब्लिङ र फिनिसिङ क्षमता गज्जबकै थियो । १९९८ मा फाइनल हार्यो । जिदानको उत्कृष्ट खेलले २००२ मा फ्रान्सले ३-० ले हरायो । फाइनलमा जिदानको फ्रान्सको सामुन्ने ब्राजिल निरीह देखियो । रोनाल्डो फिट थिएनन् र पनि उनलाई खेलाइएको थियो । जिदानको बल होल्ड गर्ने र छलाउने र सुटिङ रेञ्ज अद्वितीय थियो । महान् खेलाडी जिदान अहिले रियल म्याड्रिडमा कोचको रूपमा पनि त्यत्तिकै सफल छन् ।
भर्खरै मात्र युरोपियन च्याम्पियन्स लिग बिजेताको रूपमा सफलता चुमे । २००२ मा फोर आर ९ रोनाल्डो, रिभाल्डो, रोनाल्डिन्हो र रोबर्टो कार्लोसको उत्कृष्ट तालमेलले ब्राजिलले फाइनल सहजै जित्यो जर्मनीको बिरुद्ध २-० ले । उक्त दुबै गोल महान् खेलाडी रोनाल्डोले नै गरे । सर्वाधिक महान् खेलाडीहरुको गणनामा नछुट्ने नाम हो रोनाल्डो । २००६ मा इटालीले फ्रान्सलाई टाईब्रेकरमा हराएको यो विश्वकपमा ब्राजिल नाम बाहेक टिमको रूपमा भने राम्रो पनि थिएन । जिदानद्वारा प्रेरित फ्रान्सले ब्राजिललाई क्वार्टरफाइनलमै घर फर्काइदिएको थियो । जिदानको खेल उत्कृष्ट, दर्शनीय, अद्वितीय थियो । उनकै लामो सुन्दर पासलाई पोल नजिकैबाट थियरी हेनरीले एक टचमै जाली चुमाएका थिए । त्यै एक गोल नै ब्राजिललाई घर फर्काउन पर्याप्त बन्यो । यो खेल फ्रान्सकै नियन्त्रणमा थियो । ब्राजिलियन खेलाडीहरू हतास र खेल चाँडै सकाउन पाए हुन्थ्यो भन्ने मनस्थितिमा देखिन्थे, सानो कुरामा पनि विपक्षीसँग आक्रोशित भैहाल्ने, झगडा गरिहाल्ने खालका देखिन्थे ।
२०१० को क्वार्टरफाइनलमा रोवेन, स्नाइडर प्रेरित नेदरल्याण्डले स्नाइडरको २ गोलको मद्दतले २-१ गोलले ब्राजिललाई घर फर्काइदियो । २०१४ को त सेमिफाइनलमा जर्मनीसँग १-७ खाएको घाऊ अझै ताजा नै छ । २०१० विश्वकपपछि भने एउटा निर्णय लिएँ । अबदेखि ब्राजिलप्रति आसक्त नहुने । अब ब्राजिलको समर्थकबाट अलग हुने । त्यसपछि निरपेक्ष भावमा फुटबल हेर्ने निर्णय । यसले गर्दा भैदियो के भने २०१४ मा जर्मनीसँग ७ गोल खाँदा पनि मन त्यति धेरै दुःखित भएन, पीडित भएन । २०१४ मा नेयमारले राम्रो खेलोस्, ब्राजिलको सदा झैं उत्कृष्ट खेल हेर्न पाइयोस् भन्ने चाहना मात्रै थियो । एकपछि अर्को गोल खाएको पचाइरहेकै थिएँ । तैपनि चित्तको गहिराइमा बसेको ब्राजिलप्रतिको आफ्नोपनले थोरै दुःखित चैं बनायो। नसा-नसामा बगेको, चित्तको गहिराइमा गढेको ब्राजिलप्रतिको आसक्ति त्यति चाँडै निमिट्यान्न त के होओस् ? यसपालि बिना कसैको समर्थक बनेर केही खेलह/”को मजा लिँदैछु । ब्राजिलप्रतिको आसक्ति भाव छैन ।
तर यसको अर्थ मन नपराएको भन्ने हैन । प्रेम त छ नै । प्रेमको उल्टो पनि प्रेम नै हुन्छ । आसक्तिको उल्टो घृणा हुन्छ बरु । अत्यन्तै मन पर्ने टिमको हार पनि सहजै स्वीकार्न सक्ने भएको छु झैं लाग्छ । न जितमा उन्माद नै छ । यो अझ प्रेमको विस्तृत रूप हो भन्ने मलाई लाग्छ । बरू पहिलेको ब्राजिलप्रतिको भाव प्रेमको नभएर आसक्तिको अर्को रूप थियो कि भन्ने झैं लाग्छ आजकल ! हरेक विश्वकप, हरेक खेल ब्राजिलले जित्नेपर्छ भन्ने हठ, जुन पहिले थियो, त्योबाट मुक्त छु । जिते पनि हारे पनि आफ्नो खेल खेल्दिए हुन्छ । विश्वकपले हरेक पल्ट ल्याउने गरेको उत्तेजना अचेल मनभित्र छैन, गायव भएको छ । मन अशान्त छैन, उत्तेजित छैन । फुटबल हेर्दैछु ।