विश्व कपः मेसीको महानता र अर्जेन्टिनाको भाग्य दुबै सङ्कटमा
हिजोआज केही चर्चामा छ त, फिफा विश्व कप–२०१८ नै । रुस नै पुगेर झन्डै १५ लाख व्यक्तिले प्रत्यक्ष नियालिरहेको यो विश्व कप विश्वभरमा झण्डै ३ अर्ब मानिसले टेलिभिजनबाट हेरिरहेका छन् ।
यो विश्व कपले कतिपयका मुहार हँसिलो त कतिका मुहार निन्याउरो बनाएको छ । कतिको भविष्य उज्ज्वल बनाएको छ त कतिको भविष्यमा पूर्णविराम लगाउने सुरसार कस्दैछ । नेपालमा सम्भवतः सबैभन्दा बढी समर्थक रहेको अर्जेन्टिनाले अहिले सबैलाई निरास बनाउँदैछ । स्पष्ट भन्ने हो भने यो विश्व कपपछि लियोनल मेसीको अन्तर्राष्ट्रिय खेल जीवन समाप्त हुँदैछ । सदा झैँ उनको खेल क्लबमा नै खुम्चिने छ । महानताको कसीमा उनी पछाडि परेका छन् । उनका प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोले उनलाई पछि पारिसकेका छन् । पोर्चुगललाई युरो–२०१६ को उपाधि जिताएर नै रोनाल्डोले आफुलाई महान खेलाडीको सूचीमा अगाडि बढाइसकेका थिए । यो विश्व कपमा ती दुईको खेल दाँज्दा रोनाल्डो झनै अगाडि बढेका छन् ।
लियोनल मेसीको मनलाई जीवनभर एक मात्र अपुरो सपनाले चस्काइरहने, झस्काइरहनेछ । आफ्नो राष्ट्र अर्जेन्टिनालाई कुनै ठूला उपाधि जिताउन नसकेको अफसोचले । यो विश्व कपपछि उनको समर्थकको संख्यामा कमी त नआउला तर उनको बजार भाउ भने पक्कै घट्ने छ । उनी पेले वा डियगो म्याराडोना झैं महान खेलाडी होइनन् भन्ने पक्का पनि भएको छ ।
हुनसक्ला, यही आयोजनामा अर्जेन्टिनाले विश्व कप समेत जित्न सक्ला । तर, अब त्यो सम्भावना मेसीबाट पूरा हुँदैन भन्ने उनको खेलले देखाइसकेको छ । एउटा मात्र सम्भावना छ, उनको खेलमा नाटकीय परिवर्तन आए वा अर्को कुनै खेलाडी चम्किएको खण्डमा ।
नेपाली फुटबलका पूर्व कप्तान राजुकाजी शाक्य पनि मेसीका समर्थक हुन् । तर मेसी समर्थकको भरोसामा खरो उत्रिन नसकेको उनी पनि स्वीकार्छन् । भन्छन्, ‘मेसी राष्ट्रका लागि होइन, क्लबका लागि जन्मिएका रहेछन् । राष्ट्रका लागि खेल्न नसक्ने अनि उपाधि दिलाउन नसक्ने खेलाडी कदापि महान बन्न सक्दैन ।’
पेलेले ३ पटक ब्राजिललाई विश्व विजेता बनाए । म्याराडोनाले एकल प्रयासमा अर्जेन्टिनालाई विश्व कपको सुनौलो ट्रफी उपहार दिए । त्यसैले उनीहरू महानताको शिखरको उचाइमा छन् । जुन उचाइँ छुन अबका खेलाडीलाई कठिन नै छ । विश्वमा फुटबलको शैलीमा व्यापक परिवर्तन आइसक्यो । अब एउटा खेलाडीको भरमा होइन, सम्पूर्ण टोलीको आडमा फुटबल खेलिन्छ । राम्रा खेलाडी जितको आधार बन्न सक्लान् तर, टोलीलाई सधैं काँधमा बोकेर हिड्न भने असफल नै रहन्छन् ।
शाक्यकै भनाइमा म्याराडोनाले राष्ट्रलाई काँधमा बोकेका थिए, उनी सफल भए । मेसी क्लबलाई बोक्छन्, क्लबबाट सफलता कमाइरहेका छन् ।
राष्ट्रलाई काँधमा बोक्ने यस्तै एउटा खेलाडी जन्मिएका थिए, नेपालमा पनि । केही समयअघि अल्पायुमा नै संसारबाट बिदा भए । स्व. मणि शाह पनि अर्जेन्टिना र डियगो म्याराडोनाका अति प्रशंसक थिए । म्याराडोनाका प्यारा खेलाडी मेसी पनि फुटबल नक्षत्रमा चम्किएको हेर्न चाहन्थ्ये, उनी । उनले जहिलेसम्म मेसीको खेल हेरे, मेसी उचाइमा नै थिए । उनी पनि त्यही मेसीका समर्थक थिए । तर, उनको जीवन भने म्याराडोना झैं अस्तव्यस्त बन्यो ।
विश्वमा म्याराडोनाले खेलाडीका रुपमा जुन छाप छाडेका छन् शाहले पनि नेपाली फुटबललाई माया गर्नेहरू माझ त्यही छाप छाडेका छन् । उनको चाहना समेत मेसीले म्याराडोनाको बिंडो सम्हालुन् अनि अर्जेन्टिनालाई फेरि एक पटक विश्व विजेता बनाऊन् भन्ने थियो । उनको त्यो चाहना जीवनपर्यन्त पूरा हुन सकेन । शायद् उनले साचेको त्यो सपना अब कहिल्यै पूरा नहुन पनि सक्ला । अर्जेन्टिनाको जीतको सम्भावना एउटै छ । त्यो हो–सो मुलुकले अब कुनै अकल्पनीय खेल पस्किएमा वा मेसीको खुट्टा आफ्नो क्लब बार्सिलोनाका लागि खेले जस्तै लयमा चल्न थालेमा मात्र !